भर्खरै :

खबरदारी जुलुस र सभाको समाचार खोज्दा

नेपाल मजदुर किसान पार्टीले पुस १६ गते देशघाती एमसीसी सम्झौता पारित नगर्न खबरदारी गर्दै खारेज गर्न जुलुस र सभा ग¥यो । संसद् भवनको तीन दिशाबाट अगाडि बढेको खबरदारी जुलस संसद् भवन घेराउ गर्दै तीन स्थानमा विरोध सभा भएको थियो ।
यस खबरदारी जुलुस र विरोध सभामा आफू कारणवस सहभागी हुन सकिनँ । त्यसैले त्यस दिन साँझतिर वेबसाइटहरूमा त्यसबारेको समाचार खोज्दै भेटिएका समाचार र तस्बिरहरू हेर्न थालेँ ।
एमसीसी सम्झौता देशको हितमा छ कि अहितमा ? यो आजको जल्दोबल्दो विषय हो । देश हित कि देशघातको विवादमा देशघाती भन्नेहरूको तर्क र विचार सशक्त छ । संरा अमेरिकी उच्चाधिकारी र एमसीसीका जिम्मेवार पदाधिकारीकै अभिव्यक्ति अनि एमसीसी सम्झौताकै प्रावधानका प्रमाणको आधारमा देशहित भन्नेहरूको तर्क र विचार कमजोर छ, फितलो छ । यद्यपि, यस्ता बुद्धि नभएका बृद्धिजीवीहरूले जथाभावी लेखिरहेका छन्, बोलिरहेका छन् । अमेरिकी उच्चाधिकारीहरूले एमसीसी हिन्द–प्रशान्त रणनीतिअन्तर्गतको भनिसकेपछि पनि तिनीहरू ‘होइन, हुँदै होइन’ भनी बुर्कुसी मार्नुको कुनै अर्थ छैन । त्यस्तै एमसीसी सम्झौतामा नै नेपालको कानुनभन्दा सम्झौताका प्रावधान प्रभावकारी र बाध्यकारी हुने स्पष्ट लेखिसकेपछि पनि देख्नेले भन्दा सुन्नेले जिद्दी गर्नु सद्दे दिमागको परिचय हुनैसक्दैन । यसले एमसीसीलाई देश हित देख्ने ती बिकेका हिमायतीहरूले आफूलाई शेरबहादुर देउवाको स्तरमा झारेका छन् भन्दा अत्युक्ति हुँदैन । देउवाले हिजो माओवादीलाई आतङ्ककारी भन्दै सेना परिचालन गरेका थिए भने आज माओवादीको वैशाखी टेकेर सत्तामा बस्न पाउँदा उसलाई नै ‘आतङ्ककारी’ प्रचण्डको गुणगान गर्न फुर्सद पाइरहेको छैन । त्यसैले मरीचमानले फाइलमा भ्रष्टाचार नदेखेझैँ देउवाले एमसीसी सम्झौतामा देशघातका प्रावधान नैै देख्न छोडेका छन् । सित्तै पाए चारमाना चुक खानेहरूले देश र जनताको हित गर्दैनन्, स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्दैनन्, यो प्रमाणित भइरहेको छ ।
एमसीसी आजको राष्ट्रिय विषय हो । त्यसैले, यसको चर्चा स्वाभाविकरूपमा देशभरि भइरहेको छ । यसका हिमायतीले पक्षमा र विरोधीले विपक्षमा गतिविधि गरिरहेका छन् । त्यसबारे जनतालाई सुसूचित गर्नु सञ्चार माध्यमको दायित्व हो । आफूलाई ‘राष्ट्रिय’ संज्ञा दिनेहरूको त कर्तव्य नै हो । त्यो कर्तव्य निर्वाह भएको विभिन्न पत्रिका र विद्युतीय सञ्चार माध्यममा देखियो । परन्तु, पुस १६ गतेको खबरदारी जुलुस र विरोध सभाको उल्लेखसम्म कतिपय ‘राष्ट्रिय’ दैनिकहरूमा भएको देखिएन । तिनीहरूले एमसीसीको मुद्दा राष्ट्रिय महत्वको नठानिएको हो वा नेमकिपाको कार्यक्रम भएकोले अथवा एमसीसीविरुद्धको समाचार भएकोले माओवादीहरूलाई झैँ अप्ठ्यारो भएको हो थाहा भएन । स्मरणीय छ सर्वहारा क्रान्तिको डीङ हाक्ने माओवादीले ‘अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद’ भन्न सक्दैनन् किनभने हिजो नुन खाएकोले आज मौन हुन बाध्य छ ।
यस सन्दर्भमा पञ्चायतकालमा भएको एक प्रशिक्षण कक्षाको स्मरण भयो । त्यसबेला पत्रकार, कानुन, अर्थशास्त्री शिक्षा, साहित्यलगायतका विद्वानहरूलाई आमन्त्रण गरी नेमकिपाले गोप्यरूपमा प्रशिक्षण कक्षा सञ्चालन गथ्र्याे । यसैक्रममा वरिष्ठ पत्रकार मदनमणि दीक्षितले भन्नुभएको थियो, “समाचार नदिनु वा नछाप्नु पनि एक प्रकारको विरोध हो ।” तब के ती ‘राष्ट्रिय’ दैनिकहरूले राष्ट्रिय महत्वको विषयमा नेमकिपाको एमसीसीविरुद्धको कार्यक्रमको समाचार नलिनु विरोधको विरोध अर्थात् प्रतिकार पो हो कि ?
‘सातै प्रदेशबाट प्रकाशित पहिलो राष्ट्रिय दैनिक नयाँ पत्रिकाले भने गजबकै समाचार दियो । पुस १७ गतेको उक्त पत्रिकामा एउटा तस्बिर छाप्दै दीपेन्द्र ढुङ्गानाले ‘एमसीसी चाहिँदैन’ शीर्षकमा लेखेका छन्, एमसीसी सम्झौताको विरोधमा नेपाल मजदुर किसान पार्टीले शुक्रबार भक्तपुरमा खबरदारी सभा ग¥यो । एमसीसी राष्ट्रघाती भएको भन्दै सभाअघि भक्तपुर क्षेत्रमा नेमकिपाले ¥याली निकालेको थियो ।
यो समाचारले देशको जिल्लाको सिमाना नै हेरफेर पारेको छ । ‘¥याली’ माइतीघर, पुरानो बानेश्वर र कोटेश्वरबाट सुरु भई तीन कोणमा सभा भएको थियो । काठमाडौँ र भक्तपुरको सिमाना मनोहरा नदीले छुट्याउँछ र उपरोक्त सबै ठाउँ काठमाडौँ जिल्लामा पर्छ । काठमाडौँ क्षेत्रलाई भक्तपुर क्षेत्र लेख्दा कसको के स्वार्थ पूरा हुन्छ ? उनीहरू नै जानून् ¤
त्यो समाचार पढिरहँदा ७२ सालको भूकम्पको एउटा समाचार स्मरण भयो । यदि स्मरणशक्तिले धोखा दिएको छैन भने त्यो नयाँ पत्रिका नै हुनुपर्छ जसमा ‘मेरो आँखाअगाडि भक्तपुर लाय्कूको ५५ झ्याले दरबार गल्र्यामगुर्लुम् ढल्यो भन्ने .. समाचार लेखिएको थियो । (त्यो समाचार अहिले वेबसाइटबाट हटाइएको छ ।) यथार्थमा ५५ झ्याल दरबारलाई भूकम्पले कुनै असर गरेको थिएन, आज पनि सग्लो छ बरु वत्सला मन्दिर, केदारनाथ मन्दिर, शिलु महादेव, लामो सत्तल आदि भत्केका थिए । आश्चर्य त के छ भने उक्त समाचारमा नभत्केको दरबार ढलायो तर भत्केको सम्पदाको उल्लेख नै भएन ।
उपयुक्त ‘गलत’ कुरालाई पनि ‘सत्य’ समाचार बनाउनुको अर्थ के हो थाहा भएन तर मनसायमा खोट भने सहजै अनुमान गर्न सकिन्छ । यस्तै खोटयुक्त समाचार ‘अन्नपूर्ण पोस्ट’ को वेबसाइटमा भेटियो । गोरखामा नेमकिपाले २०७८ मङ्सिर २ गते एमसीसीको विरोधमा जुलुस र सभा गरेको थियो । शिव उप्रेतीले समाचारमा लेखे, केही बेर कोणसभा गरेको थियो । जुलुसमा भक्तपुरबाट आएका प्रदर्शनकारीहरू सहभागी थिए ।
यस समाचारमा प्रयुक्त ‘केही बेर’ ले कोण सभाको समयावधि कति हुनुपर्ने हो भन्ने प्रश्न स्वाभाविकरूपमा उठ्छ । प्रदर्शनकारीहरू भक्तपुरबाट आऊन् या तनहुँबाट वा अन्यत्रबाट महत्वपूर्ण कुरा एमसीसीको विरोध हो । तब समाचारमा ‘भक्तपुरबाट आएका’ लेखिएबाट काठमाडौँमा जुलुस सभा गर्न के काठमाडौँका मात्र उपस्थित हुनुपर्ने अर्थ लाग्दैन ? त्यस्तो अर्थ लाग्छ भने पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म काठमाडौँमा आएर राजनीति गर्नेहरूलाई के ‘कृपया, आ–आफ्नै जिल्लामा भएर राजनीति गर्नुस्’ भन्नुपर्ने त होइन ? अनि पत्रकार, कानुन व्यवसायी, प्राध्यापक, उद्योगी–व्यापारीलगायत मोफसलका नागरिकता हेर्दै तिनीहरूलाई सम्बन्धित जिल्लामा फर्काउनुपर्ने सन्देश त्यो समाचारले दिन्छ कि दिँदैन ?
नेमकिपाले मात्र होइन सबै दलले आफ्ना नेताहरूलाई विशेष जिम्मेवारी र कार्यभार दिएर जिल्ला–जिल्लामा पठाउँछन् । नेमकिपाले पनि समाजवादी गणतन्त्रको प्रचार अभियानमा जस्तै एमसीसी सम्झौताको विरोधमा कार्यक्रम गर्न आफ्ना नेता कार्यकर्ता परिचालन गरेको छ । अहिलेसम्म ३३ भन्दा बढी जिल्लाको ८५ भन्दा बढी ठाउँमा देशघाती एमसीसीबारे जनतालाई सचेत पार्ने काम गरिसकेको छ । यसमा कर्णालीका तराईमा, पूर्वका पश्चिममा उपत्यकाका विभिन्न जिल्लामा परिचालन भएका छन् र कार्यक्रमलाई सफल बनाएका छन् । के यसमा कुनै अस्वाभाविकता छ र ?
हामीलाई थाहा छ, युरोप अमेरिकामा हुने वातावरण, जातिवाद, औद्योगिक आदिको ठूला सम्मेलन हुँदा विश्वव्यापी समस्या समाधानका माग सुनाउन गरिने विरोध प्रदर्शनमा महादेशका मानिसहरू पुग्छन् । तब के जुलुस प्रदर्शनीमा फलानो फलानो देशका नागरिक आएका थिए भनेर माग र विरोधको महत्व न्यूनीकरण गर्न मिल्छ ? यति सामान्य कुरा पत्रकारको बिल्ला भिर्नेहरूले बुझ्नुपर्ने जस्तो लाग्छ ।
नेमकिपाको एमसीसी सम्झौताविरुद्धको जुलुस र विरोध सभामा बालबालिकाको प्रयोग भएको कुरा केही समाचारमा उल्लेख छ ।
यस्ता जुलुस सभामा ‘बालबालिकाको प्रयोग’ का कुरा नेमकिपाले गर्दा मात्र होइन अन्य दलले गर्दा पनि बरोबरमै आफ्ना स–साना बाबु–नानी बोकेर भाग लिएको पनि नदेखिएको होइन । कतिपय यस्ता जुलुस प्रदर्शनमा या बालक केटाकटीहरू कोही बुझेर, कोही रहरले, कोही अभिभावकको पछि लागेर आएको पनि देखिएकै कुरा हो । विगतमा भक्तपुर–काठमाडौँ पैदल ¥यालीमा भाग लिन आएका ६–७ कक्षाका विद्यार्थीहरूलाई फकाएर फर्काउनु परेको पनि देखेकै घटना हो ।
बालबालिकाको प्रयोग र सहभागितालाई विश्लेषण नगर्दा अर्थको अनर्थ हुनसक्छ । भक्तपुरमा विगतमा विद्यार्थी हित समिति’ सक्रिय थियो जसमा १० कक्षासम्मका विद्यार्थीहरू संलग्न हुन्छन् । तिनीहरूले अन्य कार्यक्रमका साथै जुलुस र सभा पनि गर्छन् । त्यसमा युवा, वयष्क र प्रौढको सहभागिता ‘वक्ताको रूपमा बाहेक’ हुँदैन भन्दा फरक पर्दैन । त्यस्तो कार्यक्रम प्रयोग कि सक्रियता ? कानुनी कि गैरकानुनी ?
विश्वमा साम्राज्यवाद र उपनिवेशवादको विरोधमा भएका स्वतन्त्रता र मुक्ति आन्दोलनमा बालबालिकाको प्रयोग भएको इतिहास धेरैले पढेका छन् । ती बालबालिकाको क्षमताअनुरूपको योगदानले कतिपय देशका स्वतन्त्रता र मुक्ति प्राप्तिमा घेर थोर सघाएको पाइन्छ । के त्यो गलत थियो ?
कतिपय नेताको जीवनी पढ्दा सानै उमेरदेखि सङ्घर्ष, आन्दोलन र विद्रोह गरेको कुरालाई साहस, उत्साह र प्रेरणाको रूपमा लिने गर्छन् र अरूलाई सिको गर्न उत्पे्ररित गर्छन् । हिजोका नेताले सानो उमेरदेखि नै अत्याचारीविरुद्ध आवाज उठाएको, दमनकारीको प्रतिकार गरेको, उपनिवेशवादीका सिपाहीलाई गुलेली हानेको, क्रान्ति र आन्दोलनलाई हुलाकी भएर, गुप्तचरी गरेर, सघाएको ठीक हो भने भविष्यका नेताहरू आज जुलुस सभामा जानुलाई कसरी बेठीक भन्ने ? जुलुस र सभामा सहभागी भएका आजका कतिपय ‘बालबालिका’ भनिएका नवयुवाहरूले भविष्यमा म सानो छँदै एमसीसीविरुद्धको जुलुस सभामा भाग लिएको गर्वसाथ बताउनेछन् । पङ्क्तिकारलाई यस्तै लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *