भर्खरै :

कोभिड नियन्त्रणको लागि खुला सीमा बन्द गर !

शुक्रबार सार्वजनिक तथ्याङ्कअनुसार देशभर पछिल्लो २४ घण्टामा थप ९६८ जनामा कोरोना सङ्क्रमित भए । यो सङ्ख्या बिहीबारभन्दा झन्डै दोब्बर हो । बिहीबार ५४० जनामा सङ्क्रमण पुष्टि भएको थियो । नेपालमा थप २४ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको खबर छ । ओमिक्रोनका कारण अत्याधिक मात्रा कोभिड–१९ का केशहरू बढ्न सक्ने सम्भावना रहेको भन्दै मन्त्रालयले थप सावधानी अपनाउँदै सबैलाई जनस्वास्थ्यका मापदण्डको पालना गर्न अनुरोध गरेको छ । मन्त्रालयले नयाँ भेरियन्टका कारण बढ्न सक्ने चापलाई मध्यनजर गर्दै सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन अनुरोध गरेको छ । ओमिक्रोन भेरियन्ट अत्यन्तै बढी सङ्क्रामक भएकोले बुढाबुढी, अशक्त वा कुनै दीर्घरोगीलाई यसबाट बचाउनुपर्ने हुन्छ ।
भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्ररूपमा फैलिएसँगै यसको प्रभाव नेपालमा पनि देखिएको हो । नेपाल–भारत नाकाबाट फर्किने अधिकांशमा कोरोना पुष्टि हुन थालेको स्वास्थ्य निर्देशनालयलाई उद्धृत गर्दै बैतडीबाट प्रेसित एउटा समाचारले जनाएको छ ।
भारतमा दिल्ली, कर्नाटक, गुजरातलगायत सहरमा सङ्क्रमण बढ्न थालेपछि काम छाडेर घर फर्किने नेपालीको सङ्ख्या बढिरहेको समाचारहरूमा उल्लेख छ । सीमानाकामै हेल्थ डेस्क स्थापना गरी एन्टीजेन परीक्षणमार्फत परीक्षणको काम भइरहेको बताइए पनि रोगीलाई घरघरमै पठाइँदा जोखिम बढेको पाइन्छ ।
नेपालमा तीव्रगतिमा कोभिड–१९ को सङ्क्रमण फैलिनुको मुख्य कारण भारतसँग खुला सीमा नाका नै हो । विगतमा अवैध नाकाबाट भारतबाट मान्छे आउने गरेकोले जोखिम बढेकोले अब अवैध नाकाबाट आउन नदिनु नै चुनौती हो । त्यसैले यसमा नियमन तथा नियन्त्रण गर्नुपर्ने माग फेरि एकपटक उठेको छ । सीमानाकामा स्वास्थ्य परीक्षण र होल्डिङ सेन्टरको प्रबन्ध नगरिँदा विगतमा महामारीको विकराल स्थिति बेहोर्नु परेको थियो ।
कोभिडको महामारी नियन्त्रण गर्न पीसीआर तथा एन्टिजेन परीक्षणलाई व्यवस्थित गर्नु आवश्यक छ । सामाजिक दूरी कायम गर्ने, स्यानिटाइजरको प्रयोग गर्ने, साबुनपानीले हात धुने, उचित तवरबाट मास्कको प्रयोग गर्ने, भिडभाड हुने कार्यक्रमको आयोजना नगर्नेजस्ता रोकथामका उपाय गर्नु आवश्यक छ । सङ्क्रमितलाई अलग बस्ने बन्दोबस्त गर्ने र आवश्यक उपचारको बन्दोबस्त गर्ने जिम्मेवारी राज्यले नै लिनु आवश्यक छ । पीसीआर वा एन्टिजेन परीक्षणलाई सुलभ र निःशुल्क गर्नु आवश्यक छ । विगतमा अक्सिजनको अभावमा बिरामीले अकाल मृत्यु वरण गर्नुप¥यो । विगतको अनुभवमा कोही पनि बिरामीको मृत्यु रोगको कारणभन्दा उपचारको अभावमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *