भर्खरै :

सक्वको म राजदास–११८ / नेपालमा चुनको उत्पादन ४–५ सय वर्षअगाडि नै भएको हुनुपर्छ

नेपालमा सयौँ वर्ष पहिलेदेखि चुन उत्पादन भएको हुनुपर्छ । किनभने, ४, ५ सय वर्ष अथवा त्यो भन्दा पनि पहिले नेपाल खाल्डोमा बनेका धेरै मठमन्दिर र राजप्रासादहरू चुन र सुर्कीबाट बनेका देखिन्छन् । त्यसबेला बनेका सर्वसाधारण जनताका घरहरू काँचो इँटा र माटोले बनेका पाइन्छन् ।
मल्लकालमा बनेका काठमाडौँ, भक्तपुर, पाटन कीर्तिपुर, साँखु, बनेपा, पनौती आदि सहरहरूमा पनि धेरै धार्मिक मठमन्दिर, पाटीपौवा र सत्तलहरू बनेका थिए । प्रायः ती सबै संरचनाहरू चुन र सुर्की (पोलिएका माटोको धुलो) बाट बनेका देखिन्छन् । तर, मल्ल राजाहरूको पालामा अथवा चार–पाँच सय वर्षअगाडि कहाँ र कसरी चुन पोलिएको थियो भन्ने नेपालमा पढ्न र सुन्न पाइन्न । राणा शासकहरूमा बनेका सिंहदरबार, लाल दरबार, सेतो दरबार, बबरमहल, केशरमहल र धरहरा, घण्टाघरजस्ता संरचनाहरू पनि चुन र सुर्कीबाट नै बनेका पाइन्छन् ।
ठूल–ठूला दरबार र पाटीपौवाहरू चुन र सुर्कीबाट बनेको देखिए पनि कमैमात्र सर्वसाधारण जनताका घरहरू चुन सुर्कीले बनेको देखिन्छ । त्यसबेला चुन पोल्ने काम सा¥है थोरै मात्रामा भएको हुनसक्छ । सर्वसाधारण जनताले पोलिएको चुन किन्न नसक्ने अवस्था पनि थियो होला । यद्यपि, दरबारसँग सम्बन्धित धनी मानिसका केही निजी घरहरू भने चुन, सुर्की र पोलिएको माटोको इँटाबाट नै बनाइएको देखिन्छ । हाम्रो शंखरापुर साँखुमा पनि राणाकालीन अवस्थामा विशेष गरेर चन्द्र शमशेरको पालामा धनीमानी व्यक्तिहरू (स्थानीय जमिनदारहरू र दरबारसँग सम्बन्ध भएका कर्मचारीहरू) का घरहरू र पोलिएको उच्चस्तरीय इँटाबाट बनाइएको पाइन्छ । त्यस्ता इँटालाई तैलीय इँटा अथवा नेपालभाषामा चिकं अपाः भनिन्छ ।
ती घरहरूको पर्खाल जोडाइको लागि माटो होइन चुन र सुर्की नै प्रयोग भएको देखिन्छ । तर, धेरैजसो सर्वसाधारण जनताले घर बनाउँदा काठमाडौँ, भक्तपुर र ललितपुरजस्ता सहरमा मध्यम वर्गका हुने खानेहरूका घर पोलिएको इँटाबाट बनेको हुन्थ्यो भने गरिब किसानका घर प्रायः काँचो इँटा (नपोलिएको) र माटोकै जोडाइमै बनाइएका हुन्थे । पक्कि घरहरूको छानामा झिँगटी प्रयोग हुन्थ्यो भने काँचो माटोको घरको छतमा पराल तथा छ्वालीको प्रयोग हुन्थ्यो ।
राणाकालमा ठूलठूला दरबारहरू बनाउन प्रायः काठमाडौँको पश्चिममा पर्ने स्युचाटार डाँडामा चुन पोल्ने गरिन्थ्यो । विसं २०१५/२० सालसम्म त्यहाँ चुन पोल्ने गरिन्थ्यो । स्युचाटारमा चुन पोल्ने भट्टाहरू मैले देखेको थिएँ । राणाकालदेखि पञ्चायत कालसम्म स्युचाटार वरिपरि चुन पोल्ने काम हुन्थ्यो । स्युचाटार डाँडाहरूमा चुनढुङ्गा पाइन्थ्यो । तर, उक्त चुनढुङ्गा धेरै उच्च गुणस्तर नभए पनि सयौँ वर्ष त्यहाँ चुन उत्पादन भएको हुनुपर्छ । काठमाडौँ उपत्यकामा बनाइएका दरबारहरू र अन्य संरचनाहरू त्यहीँबाट उत्पादन भएको चुनबाट बनेको हुनुपर्छ वा केही चुन विदेशबाट पनि आयात भएको हुनुपर्छ । किनकि, राणाहरूले आफ्नो लागि बनाइएका सिंहदरबारजस्ता ठूलठूला दरबारहरू सबै राम्रो खालको सेतो चुनले पोतिएका देखिन्छन् ।
स्युचाटारमा परम्परागत ठाडो भट्टामा पोलिएको र कमसल खालको चुन ढुङ्गाबाट बनेको चुन त्यति राम्रो थिएन । धेरै मात्रामा उत्पादन गर्न सकिने पनि देखिँदैन । जे भए पनि नेपालको निर्माण कार्यमा स्युचाटारको चुन उद्योगले धेरै महत्वपूर्ण योगदान दिएको देखिन्छ । त्यहीँ पहिलो चुन उद्योग स्थापना भएको हुनुपर्छ । यद्यपि, यसको विषयमा विस्तृत अनुसन्धान कतै केही भएको देखिँदैन ।

गोदावरि स्थित मार्बल कारखाना


स्वयम्भु क्षेत्रको दक्षिणतिर रहेको स्युचाटारमा सहरीकरण हुँदै बस्ती बढ्दै गएपछि त्यस ठाउँमा चुन उत्पादन बन्द भएको देखिन्छ । त्यसपछि काठमाडौँको दक्षिणमा पर्ने गोदावरी वन क्षेत्रमा चुन उत्पादनको काम सुरु भयो । गोदावरीको रमणीय वनस्पति उद्यानको पश्चिमतिरको सिङ्गमरमर खानी नजिक एउटा चुन पोल्ने व्यवसाय पनि गरिएको थियो र राम्रो खालको चुन निस्कियो । उक्त कारखानाबाट र गोदावरी मार्बलबाट उच्च गुणस्तरको चुन उत्पादन भयो ।
गोदावरीको डाँडामा एक उच्च गुणस्तरको पिङ्क कलरको सिङ्गमरमर (मार्बल) पाइन्छ । त्यसबेलाको पञ्चायती सरकारको स्वीकृतिमा उक्त पहाडबाट मार्बल उत्खनन गर्ने र बिक्री वितरण गर्ने निजी उद्योग स्थापना भएको थियो ।
मार्बल भनेको रासायनिक भाषामा चुनढुङ्गा नै हो । तर, धेरै उच्च गुणस्तरको चुनढुङ्गा र मार्बल (सिङ्गमरमर) को रासायनिक नाम एउटै हो, क्याल्सियम कार्बोनेट । चुन ढुङ्गामा अक्सर म्याग्नेसियम तत्व मिसिएको हुन्छ भने मार्बलमा शुद्ध क्याल्सियमको भाग हुन्छ । त्यसकारण, मार्बल पोलेर बनाएको चुन धेरै मिहीन र राम्रो हुन्छ । तर, मार्बलको भौतिक संरचना (फिजिकल स्ट्रक्चर) ले गर्दा चुन उत्पादन गर्नुमा भन्दा पनि मार्बल ढुङ्गाकै रूपमा अथवा स्ल्याबको रूपमा बिक्री वितरण गरिन्छ । यसमा धेरै आर्थिक मुनाफा हुन्छ । किनकि, सुन्दरता थप्न सदियौँदेखि मार्बल अथवा सिङ्गमरमर भवन तथा धार्मिक, सांस्कृतिक संरचनामा प्रयोग गरिएको छ । जस्तैः भारतको आग्रामा रहेको विश्व प्रसिद्ध ताजमहल सिङ्गमरमरबाट बनेको हो । त्यो पनि दूधजस्तो सेतो सिङ्गमरमर ।
मार्बलमा फलाम तथा अन्य धातुहरू पनि मिसिएको हुन्छ । यसकारण, कुनै खनिज तत्व कति मात्रामा मिसिएको हुन्छ त्यसअनुसार मार्बलको रङ्ग र स्वरूप विभिन्न अवस्थामा भेटिएको हुन्छ । मार्बलको भौतिक संरचना (फिजिकल स्ट्रक्चर) र रासायनिक मिश्रणले यसको गुणस्तर निर्धारण हुन्छ । सोहीअनुसार यसको बजार मूल्य पनि निर्धारण हुन्छ । अन्तर्राष्ट्रिय बजारमा गुणस्तरअनुसार मार्बलको मूल्य धेरै फरक हुन्छ ।
रुसी महासङ्घको क्रेमलिन दरबारअगाडि रेड स्क्वायरमा रहेको विश्व सर्वहारा नेता रुसी भाषामा ‘माब्जालेई’ भन्ने भ्लादीमिर इलिच्छ लेनिनको समाधिस्थल छ । समाधिस्थलमा लेनिनको शव अद्यापि सुरक्षितरूपमा राखिएको छ । समाधिस्थल हेर्न दैनिक दस हजार स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो लाग्छ । उक्त ‘मोब्जालेई’ पनि उच्च गुणस्तरको ऐनाजस्तो टल्किने सिङगमरमरबाट बनाइएको छ ।
विश्वका धेरै देशहरूमा मार्बलका ठूलठूला खानी पाइन्छन् । ती खानीबाट मार्बल उत्खनन गरी उद्योग व्यवसाय गरिरहेका हुन्छन् । विश्वका धेरै भेगहरूमा पाइने मार्बलमा इटालियन मार्बल विश्व प्रख्यात एवं राम्रो गुणस्तरको छ ।
त्यस्तै हाम्रो छिमेकी मुलुक भारतको राजस्थानी मार्बल धेरै उच्च गुणस्तरको छ । राजस्थानमा ठूल्ठूला मार्बल खानीहरू छन् । आजकल नेपालमा आवास गृहहरू बनाउँदा सर्वसाधारण जनताले पनि आफ्नो घरको सिँढी (भ¥याङ), कोठा र वरन्डाहरू सजाउन मार्बल प्रयोग गर्ने चलन आएको छ । प्रायः यी मार्बल भारतको राजस्थानबाट ल्याइएको पाइन्छ ।
नेपालको गोदावरी क्षेत्रमा पाइने मार्बल पनि राम्रै गुणस्तरको थियो । तर, उक्त मार्बल एकै रङ्ग (गुलाबी अथवा पिङ्क) मा मात्र निस्किन्छ । त्यसकारण, यसको मार्केटिङ्ग राजस्थानी मार्बल जस्तो नभए पनि पचासौँ वर्षदेखि निरन्तररूपमा चलिरहेको थियो । यद्यपि, समय–समयमा वातावरण प्रदूषणका कारण र भू–क्षयको कारण देखाई स्थानीय जनताको विरोधले गर्दा समय समयमा गोदावरी मार्बल उद्योग विवादित भयो ।
गोदावरीबाट निस्कने मार्बल ढुङ्गालाई मेसिनले काटेर विभिन्न साइजमा पलिस गरेर बजारमा बिक्री वितरणको लागि लगिन्थ्यो भने मार्बल फुटाएर काट्दा निस्केका टुक्राटुक्रीहरू बटुलेर उक्त मार्बल उद्योग नजिकै एक चुन पोल्ने भट्टा बनाएर चुन उत्पादन पनि सुरु गरिएको थियो । उक्त चुन काठमाडौँ उपत्यकामा यत्रतत्र पाइन्थ्यो ।
नेपालमा स्युचाटारपछिको दोस्रो चुन उद्योग यही गोदावरी चुन कारखाना थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *