भर्खरै :

‘आजको भारत : भारतीय लेखकहरूको दृष्टिमा’ पढ्दा

पत्रकार समाज, नेपालद्वारा प्रकाशित ‘आजको भारत : भारतीय लेखकहरूका दृष्टिमा’ पुस्तक पाठकहरूको हात–हातमा छ । समयसान्दर्भिक तथा जानकारीमूलक पाठ्यसामग्रीले पाठकको मन लोभ्याउने छ । आजको भारतको राजनीतिक, सामाजिक तथा आर्थिक अवस्थाबारे जानकारी लिन यो पुस्तक सहयोगसिद्ध बन्ने विश्वास छ ।
हामीले छिमेकी देश भारतको इतिहासबारे अध्ययन गरेका छौँ । करिब दुई सय वर्षसम्म भारतमा बेलायती शासन चल्यो । भारतीय जनताले देशको स्वतन्त्रता र सार्वभौमिकता रक्षाका लागि अनेक सङ्घर्ष गरे । देशको मुक्तिको लागि धेरै जनताले जीवन बलिदान दिए । यस्तो गौरवपूर्ण इतिहास बोकेको भारत आज कस्तो स्थितिमा छ ? देशका शासकहरूको चरित्र कस्तो छ ? भारतीय जनता के सोच्छन् ? भारतीय कामदार जनताको जीवनस्तर कस्तो छ ? आदिबारे जानकारी लिन यो पुस्तकको अध्ययन अपरिहार्य छ भन्नु अतियुक्ति नहोला ।
गणतन्त्र भारतको निर्माण बेलायती औपनिवेशिक शासनको जगमा भएको हो । यस व्यवस्थाको ढाँचा निर्माण बहुसङ्ख्यक कामदार जनताको सेवाभन्दा पनि अत्यन्त कुलीन र धनाढ्य भारतीयहरूको सेवा गर्नका लागि गरिएको हो । छिमेकी भारतको शासक वर्गको विस्तारवादी चिन्तनप्रति नेपाली जनता सजग छन् ।
‘आजको भारतः भारतीय लेखकहरूका दृष्टिमा’ पुस्तक ‘श्रमिक साप्ताहिक’ र ‘मजदुर दैनिक’ केही अङ्कहरूमा प्रकाशित लेखहरूको सँगालो हो । भारतीय जनताको अवस्थालाई चित्रण गर्न भारतीय लेखक, प्राध्यापक, वकिल, पूर्वप्रशासक, कवि, पत्रकारलगायतले लेखेका रचनाहरूको सङ्कलन नै यो पुस्तक हो । पुस्तकका रचनाहरू अध्ययन गर्दा भारतीय जनताको विचार, दृष्टिकोण, विश्लेषणबाट भारतीय शासकहरूको कु–नियत, बेइमानी, कु–शासनबारे जानकारी मिल्नेछ ।
पुस्तकलाई विभिन्न शीर्षक गरी ५ खण्डमा विभक्त गरिएको छ । ‘कोभिड महामारीमा भारत’ शीर्षकको पुस्तकको दोस्रो खण्डबारे केही चर्चा गर्ने प्रयास गर्न चाहन्छु । यस खण्डमा विभिन्न क्षेत्रमा संलग्न १४ लेखकका अत्यन्त महत्वपूर्ण १६ रचनाहरू समावेश छन् ।
विश्वको पाँचौँ ठूलो अर्थतन्त्र भएको, विश्वको दोस्रो ठूलो सेना र अन्तरिक्ष केन्द्र भएको, आणविक शस्त्रअस्त्र सम्पन्न र औषधि उत्पादनमा समेत विश्व शक्ति रहेको भारतले किन आफ्ना बिरामी नागरिकहरूका लागि आधारभूत आवश्यकता अक्सिजन र औषधिको समेत व्यवस्था गर्न सकेन ? कोभिडले मरेकाहरूको शव दहन गर्नका लागि दाउरासम्म उपलब्ध गराउन नसक्नुका कारणहरूबारे पुस्तकको यस खण्डले प्रकाश पारेको छ । भारतको गलत नेतृत्वका कारण कोभिड महामारी अझ तीव्रगतिमा फैलिएको र भारतको स्वतन्त्रता आन्दोलनपछिको यो ‘महाविपत्ति’ हो भन्ने लेखकहरूको निष्कर्ष छ । सरकारले कोभिड महामारी रोकथामका लागि उचित व्यवस्थापन गर्न नसक्दा भारतीय जनताले भोग्नुपेरेको पीडा, दुःख, समस्याबारे मार्मिक चर्चा गरिएको छ ।
भारतमा अनियन्त्रितरूपमा कोभिड सङ्क्रमण बढ्नुको कारण चुनाव र हरिद्वारको कुम्भ मेलाजस्ता महासङ्क्रामक गतिविधिमाथि मोदी सरकारले नियन्त्रण गर्न जाँगर नदेखाउनु हो । महामारीमाथि प्रारम्भिक विजयको घोषणालगत्तै अप्रिल १५ मा भारतको उत्तर प्रदेशका आसाम, बङ्गाल, केरला, तामिलनाडु र पाण्डुचेरी राज्य गरी ५ स्थानमा स्थानीय तहको चुनाव गर्ने घोषणा गरियो । पार्टीहरूले ठूल्ठूला चुनावी सभा र जुलुसको आयोजना गरे । अन्य ठाउँमा रहेका मानिसहरू पनि चुनावको मतदान गर्न उत्तर प्रदेशमा उत्रिए । हरेक राज्यमा जसरी भएनि बढीभन्दा बढी शक्ति हत्याउने सत्तालिप्सा बोकेको नेतृत्वले महामारीको सङ्कटलाई ठूलो चासोको विषय बनाएन । चुनाव स्थगित गर्ने प्रस्ताव सरकारले अस्वीकार गर्दा हजारौँ मानिसले ज्यान गुमाउनुप¥यो । निर्वाचन प्रचारका लागि विभिन्न जिल्ला, नगर र गाउँहरूबाट मानिस भेला भई गरेको बृहत् आमसभाहरूले गर्दा सङ्क्रमण तीव्र बनेको लेखकहरूको मत छ । हजारौँ जनता मृत्युसँग लडिरहेका बेला गृहमन्त्री र प्रधानमन्त्रीलगायतका नेताहरूले चुनावलाई मुख्य प्राथमिकतामा राखे । यसबाट राज्य र सरकार जनताप्रति पटक्कै संवेदनशील नभएको कुरा पुष्टि हुन्छ ।
उत्तराखण्डको हरिद्वारमा हिन्दू धर्मावलम्बीहरूको बाह्र वर्षे कुम्भमेला हुन्छ । केही ज्योतिषी र धार्मिक नेताहरूको मागअनुसार पहिलेभन्दा एक वर्षअगाडि नै अर्थात् एघारौँ वर्षमै आयोजना गर्ने अनुमति सरकारले दियो । हरिद्वारको एक सानो घाटमा लाखौँ भक्तजनले गङ्गास्नान गरे । जसले गर्दा कोभिड–१९ सङ्क्रमण व्यापकरूपमा फैलिएको कुरा धेरै सहभागी सङ्क्रमित भएको तथ्यले बताउँछ । उत्तराखण्डका मुख्यमन्त्रीले ‘कोभिड–१९ को नाममा कोही पनि नरोकिने किनभने भगवानप्रतिको आस्थाले भाइरसको भय दूर गर्ने’ अवैज्ञानिक तर्क प्रचार गरेका थिए । यसबाट नरेन्द्र मोदीको सरकारले जनताको जीवनलाई तुच्छ ठानेर कोभिडजस्तो घातक रोग फैलिन दिनमा भूमिका खेल्यो ।
भारतमा नरेन्द्र मोदीले जनताको सेवाभन्दा पनि आफ्नो व्यक्तिगत प्रचारबाजीमा बढी चासो देखाएको इतिहासकार रामचन्द्र गुहाको लेखमा उल्लेख छ । कोभिडको खोप लगाएकालाई दिइने प्रत्येक प्रमाणपत्रमा आफ्नो तस्बिर छाप्ने र भारतकै सबभन्दा ठूलो क्रिकेट रङ्गशालालाई नरेन्द्र मोदी रङ्गशाला पुनः नामकरण गर्ने निर्णयले उनको व्यक्तिपूजाको चाहना प्रस्ट हुन्छ । साथै अप्रिल १७ मा भएको चुनावी सभाको जनसहभागिता देखेर मख्ख मोदीले ‘हेर्नाेस् त र मेरो कुरा सुन्न कति धेरै मानिस जम्मा भएका छन् आज ।’ भन्ने हास्यास्पद सम्बोधनले भारतीय जनतामा आक्रोश पैदा हुनु स्वाभाविक हो । भारतीय शासक नेताहरूको असंवेदनशीलता र निकृष्टताको यो पराकाष्ठा हो ।
फेब्रुअरी महिनाको सुरूमा महामारीमाथि विजय हासिल गरेको भन्दै केही अन्धभक्तहरूले मोदीलाई ‘युग पुरूष’को संज्ञा दिए । साथै थाल ठटाउने र दियो बाल्ने कार्यक्रमको आयोजना गरे । नरेन्द्र मोदी आफैँ पनि आत्मतुष्टिमै रमाए । तर, दोस्रो चरणको कोभिड महामारीले भारतमा विकराल रूप लियो । कोरोना वनको डढेलोजस्तै फैलियो । भारतमा त्यस्तो कुनै घर बाँकी रहेन जुन घरबाट कोभिड–१९ को कारण कम्तीमा एक जना सदस्यले मृत्युवरण नगरेको होस् । मसानघाट परिसरभित्र र बाहिर जलिरहेका सयौँ वा हजारौँ लासको दृश्यको भयावह अवस्था संसारले देख्योे । दुःखको सागरमा डुबेको भारतीय जनताले नचिताएको जीवन बाँच्नुप¥यो ।
‘भारतको दयनीय स्वास्थ्य क्षेत्र’ शीर्षकको प्रभात पटनायकको लेखमा भारतीय स्वास्थ्य प्रणाली दयनीय भएको र संसारकै सबभन्दा खराब भएको कुरा तथ्य तथ्याङ्कसहित प्रस्तुत छ । भारतको कुल गार्हस्थ उत्पादनको १.२८ प्रतिशतमात्र जनस्वास्थ्यमा लगानी भएको जुन न्यून आय भएका देशहरू श्रीलङ्का, भुटान र नेपालजस्ता छिमेकी देशहरूको भन्दा पनि न्यून रहेको कुराले लेखक भारत सरकारप्रति आक्रोश व्यक्त गर्छन् । विश्वमा कुल गार्हस्थ उत्पादनबाट स्वास्थ्य क्षेत्रमा सबभन्दा बढी खर्च (११.७४ प्रतिशत) गर्ने देश क्युवा हो जसले जर्मनी, बेलायत र फ्रान्सलाई समेत उछिनेको छ ।
कोरोना महामारीको समयमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरू जोखिम मोलेर बिरामीको उपचार सेवामा संलग्न थिए । तर, उनीहरूले नियमित तलब पाइरहेका थिएनन् । उनीहरूले न बिदा पाए न त सुरक्षा नै । यो भारतीय पुँजीवादी व्यवस्थाले व्यहोरेको सङ्कटको तस्बिर हो भन्नु उपयुक्त होला ।
त्यस्तै नवउदारवादी सरकारले स्वास्थ्य सेवा निजीकरण गरेको हुनाले स्वास्थ्य उपचार महँगो भयो । भारतको महँगो स्वास्थ्य उपचारका लागि ऋणमा डुब्नुपर्ने बाध्यताका कारण कैयौँ किसानहरू आत्महत्या गर्न बाध्य भएको कुरा यस लेखमा उल्लेख छ ।
‘असफल भएको खोप कार्यक्रम’ उपशीर्षकमा लेखक जयती घोष लेख्नुहुन्छ, “भारत विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनीहरूको देश हो र यहाँ भ्याक्सिन उत्पादन गर्न सक्षम कैयौँ कम्पनी छन् । कोरोना महामारीभन्दा अगाडि विकासशील विश्वका बालिबालिकालाई दिइने खोपमध्ये ६० प्रतिशत भारतमा उत्पादन हुन्थ्ये । खोप उत्पादनको लामो अनुभव हुँदाहुँदै पनि भारतले घरेलु प्रयोगकै लागि पनि पर्याप्त खोप तयार गर्न नसक्नुको कारण केन्द्र सरकारले खोपलाई अनावश्यक ठान्नु र अपेक्षा नगर्नु हो ।”
स्वास्थ्यकर्मीलगायत जोखिममा रहेका मानिसले समेत खोप पाउन नसक्नुको कारण सत्तामा रहेका र शक्तिशाली राजनीतिकर्मीहरू तथा उच्चपदस्थहरूले नातावाद–कृपावादको आधारमा आफ्ना मानिसलाई पहिले खोप दिलाउनु र कोभ्याक्सिन उत्पादनका लागि भारत बायोटेकलाई सरकारको तर्फबाट शीघ्र उत्पादनको अनुमति नदिनु हो । लेखक घोषले भारतमा अपर्याप्त परीक्षण, सङ्क्रमित र मृत्यु भएकाहरूको सबैको तथ्याङ्क नराखिएको यथार्थले सरकारको बेइमानीलाई मात्र छर्लङ्ग पारेको छैन बरू भारतको स्वास्थ्यप्रणालीको योजनाविहीनता र ठूला कमजोरीहरू पनि उदाङ्गो भएको कुरा बताए ।
लेखक सत्यसागरले कोभिड–१९ को दोस्रो लहर नियन्त्रण गर्न नसक्नुमा सरकारको असक्षमता, विपक्षीहरूको विचारप्रतिको असहिष्णुता र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आफ्नैमात्र प्रचार मन पराउने प्रवृत्तिका कारण देशको वास्तविक अवस्था र राष्ट्रिय प्राथमिकता छायामा पारिएको तथ्य उजागर गरेका छन् । भारतमा जातीय विभेद वा रङ्गभेदका कारण पिछडिएका वर्गले स्वास्थ्य उपचारमा सेवा सुविधा नपाएको उल्लेख छ । धनीमानीको हातमा रहेको भारतको शासन व्यवस्थामा गरीब जनताले उपचार खर्च व्यहोर्न नसक्दा आत्महत्या वा अकाल मृत्युको विकल्प रोज्न बाध्य भएका छन् ।
भारतको नयाँ दिल्लीमा मुसलमानहरूको स्वयम्सेवी सङ्गठन तब्लिघी जमातको एउटा विशाल भेलामा सहभागी केही मानिसमा कोरोना भाइरसको सङ्क्रमण पुस्टि भएको थियो । सोही घटनाका आधारमा भारतमा भाइरस फैलिनुमा मुसलमान जिम्मेवार छन् भनी उनीहरूमाथि हिंसा गरिएको कुरा प्रो. अपूर्वानन्दको लेखमा प्रस्तुत छ । यद्यपि, संसारकै ठूलो लोकतन्त्र मानिएको भारतमा आज मुसलमान समुदायविरूद्ध नयाँ तरिकाको रङ्गभेद कालो अध्याय बनेको कुरामा लेखक खेद प्रकट गर्छन् ।
‘महामारी नियन्त्रणमा भारत सरकारका गल्तीहरू’ शीर्षकको लेखमा शशी थरूरले मोदीले कोभिड–१९ विरोधी लडाइँमा हिन्दू राष्ट्रवादको प्रयोग गरेको, विश्व स्वास्थ्य सङ्गठनको सल्लाह उपेक्षा गरेको र अति केन्द्रियता लादेको जस्ता गल्तीका कारण कोभिड नियन्त्रण गर्न नसक्दा अराजकता फैलिएको हो भनी विश्लेषण गरेका छन् ।
प्रगति रविद्वारा लिखित ‘भारतमा लकडाउनले घरेलु मजदुरहरूमा पारेको प्रभाव’ शीर्षकको लेख अत्यन्त मार्मिक छ । कोभिड महामारीका कारण घरेलु मजदुरहरूले भोग्नुपरेको पीडा, दुःख र गरीबीबारेमा स्वरोजगार महिला सङ्गठनले गरेको अध्ययनको सारसङ्क्षेप यस लेखमा प्रस्तुत छ । दोस्रो लहरमा घरेलु मजदुरहरूलाई पनि भाइरसको वाहक भन्न थालेपछि उनीहरूलाई काम गर्न गा¥हो भएको र सरकारबाट पाउनुपर्ने राहतसमेत पाउन नसकेकोमा आपत्ति जनाए ।
‘भारतमा महामारीको कालोबजार भुक्तभोगीको अनुभव’ शीर्षकको लेख मर्मस्पर्शी छ । ‘रेमडेसिभिर’ नाउँको औषधिको अभावमा थुप्रैको ज्यान गइसकेको र लेखककी आमा पनि गम्भीर अवस्थामा पुग्दा ६ मात्रा लगाएपछि मात्र निको हुने भारू. १००० पर्ने उक्त औषधी रू.१५००० तिरेर उपचार गरेको यथार्थ टीठलाग्दो छ ।
अतः भारतमा कोभिड–१९ तिव्र गतिमा फैलियो । मानिसले खोप पर्याप्त मात्रामा पाएनन् । दोस्रो लहर झन् भयावह थियो । हजारौँको सङ्ख्यामा मानिसहरूको मृत्यु भयो । अस्पतालको राम्रो व्यवस्था थिएन । भेन्टिलेटर, अक्सिजन, औषधिको अभावमा धेरैले अनाहकमा ज्यान गुमाए । सरकारको लापरबाही तथा पूर्वतयारी नभएका कारण देशले यस्तो स्थिति भोग्नुप¥यो । शासक दलहरूले कोभिड महामारीलाई केही होइन भनी बेवास्ता गरे । जनताको जीवनको ख्याल गरिएन । राज्यले दिनुपर्ने स्वास्थ्यसुविधाबाट वञ्चित कामगरी खाने गरीब जनताले मृत्युवरण गर्नुप¥यो ।
कोभिड महामारी आज पनि फैलँदो छ । कोभिड महामारीले विश्वलाई नै भयावह अवस्थामा पु¥याइरहेको छ । अझ नयाँ भेरियन्ट ओम्निकोन अमेरिका, भारत लगायतका देशहरूमा व्यापकरूपमा फैलिरहेको छ । नेपालमा नआउला भनी निश्चिन्त बन्न सकिन्न । बेलैमा विश्व मानव समुदाय सचेत र सजग हुन जरूरी छ । विगतको गल्तीबाट सिकेर मानव जीवन रक्षामा अग्रसर हुन आवश्यक छ ।
‘कोभिड महामारीमा भारत’ खण्डका लेखहरूले सबैलाई एकछिन सोच्न बाध्य पार्नेछ । साथै सबैलाई सजग र सुरक्षित रहन आह्वान गरिरहेको अनुभूत हुन्छ । भाषा सरल छ ।
पुस्तकको हरेक पृष्ठको माथिल्लो खाली मार्जिनमा पुस्तकको नाम उल्लेख गर्नु आवश्यक छ या छैन भन्नेबारे छलफल गर्न सकिन्छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *