भर्खरै :

भक्तपुर चीनको पुरानो सहर लिचियाङ जस्तै

भक्तपुरलाई सफा–स्वच्छ सांस्कृतिक नगर, पर्यटकीय गन्तव्यस्थल र शिक्षाको केन्द्र बनाउने यहाँका जनताको साझा लक्ष्य हो ।
सफा–स्वच्छ नगरको लागि फोहरमैला व्यवस्थापन र फोहर ढल उपचारको बन्दोबस्त हुनुपर्छ । यो काम सम्पन्न गर्न ख्वप कलेजको वातावरण विज्ञान र ख्वप इञ्जिनियरिङ कलेजका विद्यार्थी र शिक्षकहरूबाट प्राविधिक सहयोग लिन सकिन्छ । जिल्ला जनस्वास्थ्य कार्यालय, भक्तपुरबाट २५ शैय्याको ख्वप अस्पताल सञ्चालन गर्न भक्तपुर नगरपालिकालाई केही महिना अगाडि अनुमति प्राप्त भयो । अगाडिका जनस्वास्थ्य कार्यालय प्रमुखहरूले यो अस्पतालको अनुमति दिन चाहेका थिएनन् ।
नवौं पञ्चवर्षीय योजनामा भक्तपुरलाई सांस्कृतिक नगर बनाउने योजना उल्लेख थियो । सो योजनाअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक अध्ययन गराई प्रतिवेदन तयार ग¥यो । गत वर्षको बजेट वक्तव्यमा पनि भक्तपुरलाई सांस्कृतिक सहरको रूपमा विकास गर्ने उल्लेख थियो, तर काम भएन । भक्तपुरलाई सांस्कृतिक नगर बनाउने विधेयक संसदबाट पारित गराउन हामीले सरकारलाई ताकेता गरिरहका छौं ।
व्यायामशाला र रङ्गशाला पर्याप्त भए अस्पताल र स्वास्थ्य चौकी थोरै भए पुग्ने यथार्थतर्फ पनि हामीले सरकारको ध्यानाकर्षण गराउँदैछौं । ‘मित्रता, अनुशासन, स्वास्थ्य र सार्वभौमिकताको लागि खेलकुद’को नारालाई विद्यालय र कलेजमा कार्यान्वयन गर्न पनि संसदमा आवाज राख्दैछौं ।
ख्वप विश्वविद्यालयको विधेयक कार्तिक २६ गते संसद सचिवालयमा दर्ता भयो तर यसअघिका शिक्षा मन्त्रीले यो विश्वविद्यालयको महत्वबारे जानकारीमै राखेनन् र आदेश छैन भन्दै संसदमा पेश, छलफल र पारित गराउन चाहनन् हालको उहाँले उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई ख्वप विश्वविद्यालयको विधेयक संसदबाट पारित गराउन ताकेता गर्दैछौं ।
चीनको एउटा पुरानो सहर लिचियाङजस्तै भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थल बनाउन सकिन्छ । बुद्ध जन्मेका देश नेपालमा चिनियाहरूको भ्रमण बढ्दो छ । भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थल बनाउने भित्री र बाह्य पूर्वाधारहरू छन् ।
स्थानीय तहको कार्य सञ्चालन विधेयक तथा सङ्घ, प्रदेश र स्थानीय तहको कर्मचारी समायोजन विधेयक संसदमा विचाराधीन छ । यी दुवै विधेयकमा संशोधन राख्ने मिति भोलिसम्म छ ।

संसद सदस्य प्रेम सुवाल


नेपालको बजेट चालू खर्च अर्थात् कर्मचारी प्रशासनको खर्च सबै हुने तर पूँजीगित खर्च अर्थात् विकास निर्माणमा थोरै हुने अहिलेको स्थितिले आर्थिक वर्षको अन्त्यतिर असार १० गतेदेखि दैनिक ५ अर्ब खर्च भइरहेको समाचार प्रकाशित भयो । विकास बजेट ४५ प्रतिशतमात्र हुने राम्रो सड्ढेत होइन । कूल बजेटको ४० प्रतिशत चालू खर्च र ६० प्रतिशत पू्ँजीगत लगानी हुनु उपयुक्त मानिन्छ ।
संसदमा सहकारी विधेयक पनि विचाराधीन छ । सर्वसाधारण जनताको बचत ठगी गर्ने ओरियण्टललगायत ठगहरूलाई कारवाही गर्ने प्रावधानसहित विधेयक ल्याउन हामीले संशोधन राखेका छौं ।
भूकम्प पीडितहरूको पुनःस्थापनाको काम विलम्ब भइरहेको छ । भूकम्प पीडितहरूको गुनासो समयमै सम्बोधन गर्न सांसदहरूको जिल्ला समन्वय समितिमार्फत हामीले आवश्यक सरकारलाई सुझाव दिइरहेका छौं ।
स्थानीय तहको दुई चरणको चुनाव सम्पन्न भयो तर चुनाव स्वच्छ, निष्पक्ष र धाँधलीरहित भएन । सरकारमा गएका दलहरूले चामल बाँडेको, नक्कली जग्गाधनी प्रमाण पुर्जा बाँडेको, चुनाव चिह्नसहितको सामान बाँडेको, भोजभतेर खुवाएको समाचार व्यापक भयो । यो विषय संसदमा पनि उठ्यो र संसदीय छानवीन विशेष समिति पनि गठन भयो ।
असोज २ गते प्रदेश नं. २ मा स्थानीय तहको चुनाव हुँदैछ । यसअघि भाषा, अङ्गीकृत नागरिकता, प्रदेशको सीमा र सङ्ख्या हेरफेरसहित संविधान संशोधन र स्थानीय तहको सङ्ख्या बढाउने सरकारी तयारी छ । यो तयारी नेपाल र नेपाली जनताको हितविपरीत छ । यो तयारीको हामीले विरोध गर्दैछौं ।
असोजको मसान्ततिर प्रदेशको चुनाव हुने र मंसिरको मसान्ततिर प्रतिनिधिसभाको चुनावको लागि निर्वाचन आयोगको तयारी छ । यो चुनाव गर्ने निर्वाचन आयोगले साउन १ गतेदेखि १५ गतेसम्म तस्वीरसहितको मतदाता नामावली सड्ढलन गर्ने सूचना प्रकाशित ग¥यो । यो सूचनाअनुसार तस्वीर खिच्ने काम निर्वाचन कार्यालयमा हुनेछ । हामीले आयोगको बैठकमा तस्वीर खिच्ने काम वडा वडामा हुनुपर्ने सुझाव दियौं । सदरमुकामस्थित निर्वाचन कार्यालयमा पुगेर तस्वीर खिच्ने काम सुगम सहरमा सजिलो भए पनि दुर्गममा कठिन हुनेछ ।
जनसङ्ख्या वृद्धिसँगै खानेपानीको समस्या पनि बढ्दो छ । पानी बोरिङ गर्न बिजुली आवश्यक छ । तर सरकारले नेपालको नदीनाला भारतलाई दिएर भारतबाट महँगोमा ३६० मेघावाट बिजुली किनेर लोडसेडिङ घटाउँदैछ । यो गलत काम हो ।
२०४८ सालमै मेलम्चीको पानी ल्याएर काठमाडौंको सडक पखाल्ने नारा सरकारले ल्याएको थियो । अहिले मेलम्चीको पानी काठमाडौं ल्याउने सरकारको वाचा तीन दशैं बित्यो । यसपटक पनि दशैंमा पानी ल्याउने बताउँदैछ । तर मेलम्ची आयोजनाले झैं २–३ किमी सुरूङ खन्नुपर्ने हुँदा आउने दशैंमा मेलम्चीको पानी काठमाडौंमा नआउने बतायो । ? नेपाली जनतालाई खानेपानीसमेत व्यवस्था नगर्ने सरकारले अन्य क्षेत्रमा कसरी विकास गर्लान् ?
(नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाको प्रथम नगर परिषद्मा राख्नुभएको मन्तव्य सार–सं.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *