भर्खरै :

सङ्क्रमण फैलिन नदिन सतर्कता आवश्यक

कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुस २७ देखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय ग¥यो । कोभिड –१९ सङ्क्रमण र ओमिक्रोन भेरियन्ट सङ्क्रमणको सङ्ख्या बढेको कारण देखाई विद्यालय बन्दको सिफारिस गरिएको हो । लकडाउनको कारण लामो समयसम्मको विद्यालय बन्दले विद्यार्थीको पढाइको स्तर खस्केको अभिभावकको गुनासो सेलाउन नपाउँदै फेरि विद्यालय बन्दको सूचना जारी भएपछि शिक्षक, अभिभावक र विद्यार्थीहरूमा चिन्ता हुनु स्वाभाविक छ । कोभिडको सङ्क्रमणले विश्वलाई नै असर पारेको अनुभव हामीसँग छ । एकपछि अर्को सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सतर्कता अपनाउनु जरुरी छ । सतर्कता अपनाउनुको अर्थ सङ्क्रमण फैलिन नदिनु हो । यसको सावधानका उपाय अवलम्बन गर्नु हो ।
सरकारले बिदा घोषणा नगरे पनि यसअघि देशका कति विद्यालय हिउँदे बिदामा छ । सरकार बिदा घोषणा गरेपछि कति विद्यालयमा परीक्षा सञ्चालन भइरहेको हुँदा बिदा दिने स्थितिमा छैन । भक्तपुर नगरपालिकाको हकमा भनपाले यसअघि नै माघ १ देखि ८ गतेसम्म हिउँदे बिदा घोषणा गरिसकेको छ । यही बेला सरकारले १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई खोप लगाउने कार्यक्रम सार्वजनिक गरेको छ । यी सबै कार्यक्रम या योजना सफल पार्न स्वास्थ्य मापदण्डको ख्याल गर्नु जरुरी हुन्छ । खोप कार्यक्रम सफल पार्न परीक्षाको कारण खोप केन्द्रमा समय थप गर्नुपर्ने आवश्यकता हुन्छ या विद्यालय प्रशासनले आफ्ना विद्यार्थीहरूलाई अर्को खोप केन्द्र या सम्बन्धित निकायमा सम्पर्क गरेर सबै विद्यार्थीहरूलाई खोप लिनुपर्ने वातावरण तयार गर्नुपर्ने हुन्छ ।
सङ्क्रमितको सङ्ख्या घट्ने या बढ्ने निश्चित हुँदैन । विद्यार्थीहरूको पढाइ चालु राख्न विद्यालयले फेरि अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने स्थिति देखिएको छ । माघ १५ पछि कोरोना र ओमिक्रोनको सङ्क्रमित सङ्ख्या बढेमा बिदाको दिन लम्बिन सक्छ । विद्यालयमात्र होइन अन्य सामाजिक गतिविधि या भेला पनि रोक्नुपर्ने स्थिति आउँछ । अतः सबैले सबै ठाउँमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने जरुरी छ । यसबारे सबैले ख्याल गर्नैपर्छ ।–वस्तुराज ‘शीतल’

Leave a Reply

Your email address will not be published. Required fields are marked *