भर्खरै :

हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरिएको प्रजग कोरियाद्वारा जानकारी

प्योङयाङ, २८ पुस (सिन्ह्वा) । प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले मङ्गलबार परीक्षण गरेको भनिएको क्षेप्यास्त्र हाइपरसोनिक क्षेप्यास्त्र भएको जानकारी दिएको छ ।
सो क्षेप्यास्त्र प्रजग कोरियाका सर्वोच्च नेता तथा राष्ट्रिय मामिला आयोगका अध्यक्ष किम जोङ उनको प्रत्यक्ष रेखदेखमा परीक्षण गरिएको पनि प्रजग कोरिया सरकारले जानकारी गराएको हो ।
प्रजग कोरियाले उक्त हाइपरसोनिक क्षेप्यास्त्रको सफल परीक्षणले इतिहासमा जुछे नेतृत्वको रक्षा उद्योगमा कोरियाली मजदुर पार्टीले चामत्कारिक उपलब्धि हासिल गरेको जनाएको छ ।
प्रजग कोरियाको सरकारी समाचार संस्था केसीएनएले मङ्गलबार प्रहार गरिएको क्षेप्यास्त्रको बारेमा सो जानकारी दिएको हो । साथै सो समाचार संस्थाले उक्त क्षेप्यास्त्र एक हजार किलोमिटर परको निसानासम्म नै पुगेको पनि जनाएको छ ।
प्रजग कोरियाले एक हप्तामा नै दुई पटकसम्म क्षेप्यास्त्र परीक्षण गरेको हो । नयाँ वर्ष सन् २०२२ को अवसरमा दिएको सन्देशमा सर्वोच्च नेता किमले उत्तर कोरियाको प्रतिरक्षा प्रणाली बढाउने बाचा गर्नुभएको थियो ।
त्यसपछि एकै साताभित्र दुईवटा क्षेप्यास्त्र परीक्षण भएका छन् । सो क्षेप्यास्त्र परीक्षणको जापान, संरा अमेरिका र दक्षिण कोरियाले विरोध गरेका छन् ।
बुधबार उत्तर कोरियाली समाचार संस्था केसीएनऐ उक्त क्षेप्यास्त्र हाइपरसोनिक भएको र त्यो उच्च गतिको भएको पनि बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *