भर्खरै :

“श्रमको सम्मान गर्ने नयाँ पुस्ता तयार गर्नुपर्छ”

भक्तपुर, २९ पुस । नेपाल मजदुर किसान पार्टीका सचिव तथा सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को २८ औँ स्थापना दिवस बिहीबार सम्पन्न भयो ।
कोभिड–१९ महामारीलाई ध्यानमा राखी स्वास्थ्य मापदण्ड पालना गरी सिद्धि गणेश हलमा कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा सांसद सुवालले संस्थाले सदस्य र तिनका परिवारलाई आत्मनिर्भर बनाउन डकर्मी, सिकर्मी, प्लम्बर (खाने पानी पाइप जडान) पानी तान्ने पम्प मर्मत, लुगा धुने मेसिन मर्मत, बिजुली जडान, फर्निचर निर्माणलगायत तालिम दिने कार्यक्रम सञ्चालन गर्नु जरूरी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “खाद्यान्न तथा तरकारीसमेत विदेशबाट आयात भइरहेको हुँदा तरकारीलगायत खाद्यान्न उत्पादन गर्ने किसानहरूलाई सहुलियतमा ऋण व्यवस्था गर्नु आवश्यक छ । श्रमप्रति सम्मान गर्ने नयाँ पुस्ता तयार गर्न सांस्कृतिक स्तरसम्बन्धी शिक्षा दिनु जरूरी छ ।”
बचत तथा ऋण सहकारीले दैनिक उपभोग्य वस्तुको बिक्री पसल सञ्चालन गरेर सदस्यहरूलाई सहुलियतमा सामग्री उपलब्ध गराउनुपर्ने र यसको लागि ऐन–नियमको बन्दोबस्त गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “सबै वस्तुमा विदेश निर्भर भएर देश विकास हुँदैन र जनता सुखी हुँदैनन् । भारतले नाकाबन्दी दोहो¥याए नेपाली भोकै मर्नुपर्ने अवस्था आउनेछ । यसकारण, कृषि उत्पादनलाई जोड दिनुपर्दछ ।”
उहाँले भन्नुभयो, “सुगौली सन्धियताको इतिहास पल्टाउँदा भारतले नेपालको भूभाग थिचोमिचो र अतिक्रमण गर्दै आएका धेरै उदाहरण छन् । सुगौली सन्धिपछि नेपाली युवालाई गोर्खा भर्तीको नाममा बेलायत, भारत, सिङ्गापुरमा ‘भाडाको सिपाही’ बनाइएको हो ।”
भारतीय प्रम मोदीले हालै नेपालको भूमि लिपुलेकमा सडक विस्तार कार्य जारी राख्नु नेपालको सार्वभौमिकतामाथिको हस्तक्षेप भएको चर्चा गर्दै उहाँले भारतले सन् १९६०–६२ मा नेपाली भूमि कालापानीमा तैनाथ सेना हालसम्म नहटाएको उल्लेख गर्नुभयो ।
“बेलायती साम्राज्यवादबाट भारत सन् १९४७ अगस्त १५ मा स्वतन्त्र भयो । तर, भारतीय शासकहरूमा बेलायती साम्राज्यवादको छाप यथावत छ । सुगौली सन्धिपूर्वको नेपाली भूमि फिर्ता गरिएको छैन, गोर्खा भर्ती खारेज भएको छैन”, उहाँले भन्नुभयो ।
नेपालका शासक दलहरू पनि सिंहदरबारसँगै सहकारी संस्था, वन, सार्वजनिक जग्गा, भवन कब्जा गर्दै छन्, मेडिकल माफियाहरू सरकारकै संरक्षणमा विद्यार्थी र अभिभावकसँग करोडौँ र अर्बौँ रूपियाँ ठगी गर्दै छन्, ललिता निवासको सरकारी जग्गा, नारायणहिटी सङ्ग्रहालयको भवन कब्जा र केएमसी तथा नोबेल कलेजका एमबीबीएस अध्ययनमा भर्ना भएका विद्यार्थीहरूसँग करोडौँ रूपियाँ ठगीका घटना पछिल्ला उदाहरण हुन्, सांसद सुवालले थप्नुभयो ।
विकास निर्माण सरकार र सहकारीबाट सम्भव नहुने तर कुनै एक व्यक्तिबाट सम्भव हुने दाबी सत्य होइन । ठेकेदारले जिम्मा लिएका खर्बौँ रूपियाँको सडक, पुल निर्माण अधुरै अवस्थामा रहेका धेरै उदाहरण छन्, सांसद सुवालले थप्नुभयो ।
भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले जनसमुदायको जीवनस्तरमा हुुने सकारात्मक परिवर्तनलाई साँचो विकासको रूपमा लिने भएकोले सिद्धि गणेश साकोसले समाजको बृहत् विकासको लागि कार्य गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पुँजीवादी व्यवस्थाभन्दा समाजवादी व्यवस्था राम्रो रहेको कुरा हालको महामारीले पनि प्रमाणित गरिसकेको छ भन्नुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष कृष्णगोविन्द लाखाजुले राजनीतिकरूपमा सचेत युवाहरूले इमानदारिता तथा पारदर्शिताको सिद्धान्त आत्मसात गरी सिद्धि गणेश साकोस स्थापना गरेको स्मरण गर्दै यो संस्था नमुना सहकारी हुन सफल भएको छ भन्नुभयो । उहाँले सङ्घले सहकारी ऐन तथा नियमावलीमा रहेका केही अव्यावहारिक व्यवस्थाहरू खारेजी तथा संशोधनको लागि निरन्तर खबरदारी गर्दै आइरहेको जानकारी दिनुभयो ।
निवर्तमान अध्यक्ष हरिरत्न गोर्खालीले संस्थाको पृष्ठभूमिबारे स्मरण गर्दै राजनीतिबाट सहकारी अभियान अछुटो नरहेको र वर्तमान समयमा राजनीतिक संरक्षण तथा नियामक निकायको आर्थिक तथा भौतिक प्रलोभनले अनियन्त्रितरूपमा बहुउद्देश्यीय सहकारी संस्थाहरू दर्ता भई सञ्चालनमा आएको बताउनुभयो ।
संस्थापक अध्यक्ष राजेन्द्र दुमरूले संस्थाको सफलता समुदायको साथ र सहयोगसँगै समूहको एकताले निर्धारण गर्ने भएकोले सामूहिक एकतालाई प्राथमिकतामा राखेर कार्य गर्दै आइरहेको बताउनुभयो ।
संस्थाका उपाध्यक्ष विष्णुराम दुमरूले सहकारी संस्था एक स्वयम्सेवी संस्था रहेकोले सहकारी अभियानलाई आर्थिक प्रलोभन तथा लोभलालचबाट मुक्त राख्नुपर्छ भन्नुभयो ।
अध्यक्ष राजन लाखाजुको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा उहाँले सचेत युवाहरूले समाजको आर्थिक, सामाजिक, शैक्षिक तथा सांस्कृतिक पक्षको विकास गर्ने उद्देश्यका साथ सहकारीले उल्लेखनीय योगदान पु¥याउन सफल भएको विचार व्यक्त गर्नुभयो ।
का.मु.व्यवस्थापक शिला गोसाईंले स्वागत मन्तव्य दिनुभएको सो कार्यक्रममा संस्थाका सचिव रूद्रनारायण लाखाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *