भर्खरै :

यशपाल : म जिउने कामनाले, जिउन सक्ने प्रयत्नका लागि लेख्छु

यशपालको लागि साहित्यिकता आफ्नो विचारहरू एक ठूलो जनसमुदायसम्म पु¥याउने माध्यम थियो । तर, यस साहित्यिकताको निर्माण विद्रोह र क्रान्तिको जुन चेतनाबाट भएको थियो, त्यही यशपालका समस्त लेखनको केन्द्रीय भाव रह्यो । त्यो उनको क्रान्तिकारी चेतना नै थियो जुन हर यथास्थितिवादमाथि प्रश्न खडा गथ्र्यो ।
पञ्जाबको फिरोजपुरमा ३ डिसेम्बर १९०३ मा जन्मेका यशपालको परिचयका कैयौँ सूत्र छन् । क्रान्तिकारी, समाजवादी –माक्र्सवादी विचारक, लेखक, साहित्यिक पत्रकार, सामाजिक अभियन्ताजस्ता सबै सूत्र उनीसँग जोडिन्छन् । एकातिर उनी भारतको स्वतन्त्रता आन्दोलनमा भगतसिंह, चन्द्रशेखर आजादजस्ता क्रान्तिकारीहरूसित काँधमा काँध मिलाएर हिँडेका सहयोगी थिए भने त्यहीँ उनी पचास वटा भन्दा बढी किताबहरूका लेखक हुन्, जसमा बढीजसो किताबहरू कथासङ्ग्रह, उपन्यास, निबन्ध र आत्मकथाहरू छन् । प्रेमचन्दपछि सम्भवतः हिन्दीमा सबैभन्दा बढी नैसर्गिक र गम्भीर रचनाकार पनि उनी थिए ।
उन्नाइसौँ शताब्दीको अन्तमा पञ्जाबमा आर्य समाजको आन्दोलनको पृष्ठभूमिमा यशपालको वैचारिकताको आविर्भावलाई बुझ्न सकिन्छ । उनकी आमा आर्य समाजका कार्यकर्ता भएकी कारण घरका समग्र संस्कार नै एक यस्तो विचारबाट निर्मित थियो जहाँ वैदिक मूल्यमान्यता र शिक्षामाथि जोड स्वाभाविक थियो ।
यशपालको प्रारम्भिक शिक्षा हरिद्वारको एक आर्य समाजी विद्यालयमा भएको थियो । त्यहाँ गुरुकुल परम्परामाथि आधारित शिक्षाबाट यशपालको जीवन–जगतसम्बन्धी आधारभूत मूल्यमान्यताको बीज रोपियो । आफ्नो आत्मकथा ‘सिंहावलोकन’ मा यशपाल आफ्नो विचारहरूको निर्माणमा आफ्नी आमाको भूमिका स्वीकार गर्छन् । उनकी आमा केटाकेटीहरूको शिक्षाका लागि प्रतिबद्ध थिइन् ।
मात्र सात वर्षको उमेरमा घर छोडेर गुरुकुल बस्न जाने समग्र स्थितिबाट नै सम्भवतः यशपालमा त्यस अनासक्त क्रान्तिकारी भावनाको बिउ रोपिएको थियो । जसको प्रतिफल पछि गएर उनी एक प्रखर क्रान्तिकारी बन्नुमा देखिएको छ । गुरुकुलको कठोर अनुशासन र प्रायोगिक अध्ययन–मन्थनले उनको जीवनमा परिश्रम, संयम र लगनशीलताको जग राखिदिएको थियो ।
विद्यालय शिक्षा सकिँदा नसकिँदै यशपाल राजनीतिक चेतनाले दिप्त एक किशोरका रूपमा परिवर्तित भइसकेका थिए जसले माक्र्स र लेनिनजस्ता विचारकहरूका गहन विचार अध्ययन गरेका थिए । भारतीय राष्ट्रिय काङ्ग्रेसको स्वयम्सेवकको रूपमा उनले गाउँगाउँ घुमेर किसानहरूलाई काङ्ग्रेसका कार्यक्रमहरूको बारेमा सम्झाउने बुझाउने गरेका थिए । तर, यसै प्रक्रियामा उनलाई केन्द्रीय स्तरमा बसेका काङ्ग्रेसका शीर्ष तहका नेताहरू समाजको आधारभूत तहका समस्या तथा किसानहरूको अवस्थाबारे पूरै अबुझ छन् र यसैकारण उनीहरूको कार्यक्रम पनि किसानहरूको आवश्यकताको आधारमा बनाइएका हुँदै होइनन् भनी लाग्न थालेको थियो । तर, त्यस समग्र अभ्यासको फलस्वरूप यशपाललाई तल्लो तहका जनतासित जोडिएर काम गर्ने उद्देश्य मिल्यो र उनी भारतीय अर्थव्यवस्था एवम् समाज व्यवस्थाबारे अझ बढी गहिरोसित बुझ्न लागि परे ।

जीवन सङ्गिनी प्रकाशवतीका साथ यशपाल


सुरुमा आफ्नी आमाको सपनाअनुसार नै यशपालले पनि वकालत गर्न चाहेका थिए । तर, त्यतिबेला त्यो समय थियो जब युवा पुस्तामा काङ्ग्रेसको संवैधानिक र शान्तिपूर्ण तरिकासित मोहभङ्गको प्रक्रिया सुरु भइसकेको थियो तथा क्रान्तिकारीहरूका रूपमा उपनिवेशवादको विरोधमा एक नयाँ वर्गले आफ्नो राजनीतिक स्थान बनाउन लागेको थियो ।
विशेषगरी जब यशपाल गुरुकुलको शिक्षा पूरा गरेर उच्च शिक्षाको लागि लाहौरको नेसनल कलेजमा भर्ना भए तबदेखि नरम दल काङ्ग्रेस र त्यसको रणनीतिहरूसित रहेको उनको मतभेद प्रस्ट हुँदै गयो । त्यस कलेजको स्थापना प्रसिद्ध राष्ट्रवादी नेता लाला लाजपत रायद्वारा भएको थियो र त्यहीँ नै उनी यशपाल भगतसिंह अनि सुखदेवजस्ता क्रान्तिकारीहरूको सानिध्यमा पुगेका थिए । साँचो अर्थमा यशपालको राजनीतिक जीवनको सुरुआत त्यहीँबाट भयो जब उनी हिन्दुस्तान सोसलिस्ट रिपब्लिकन आर्मी (एचएसआरए) को सदस्य बने र क्रान्तिकारी उग्रवादको पछाडि काम गर्ने वैचारिकतालाई बुझ्ने प्रयास गर्न थाले । त्यस समग्र समयको चेतना, त्यसका अनुभवहरूलाई यशपालले ‘सिंहावलोकन’ मा उल्लेख गरेका छन् ।
एक क्रान्तिकारीको भूमिकामा यशपालले भगतसिंहसँगै कैयौँ कामहरू गरेका थिए । भगतसिंह जेल जाने स्थितिमा यशपाल र उनका सहयोगीहरूले भगतसिंहका योजनाहरू अगाडि बढाउने र कार्यान्वयन गर्ने अभिभारा लिएका थिए । अगाडि गएर यशपालले चन्द्रशेखर आजादसित मिलेर भायसराय लर्ड इरविनमाथि हमला गर्ने योजना बनाएका थिए , त्यस हमलामा भायसराय इरविनको गाडी त क्षतिग्रस्त बनेको थियो तर इरविन बाँच्न सफल भए । हत्याको यस षड्यन्त्रको आरोपमा दुवै क्रान्तिकारीहरूको धरपकड सुरु भयो जसमा आजाद इलाहावादको अल्फ्रेड पार्कमा शहीद भए र यशपाललाई पनि अन्ततः पञ्जाबमा जनवरी १९३२ मा पक्राउ गरियो र उनलाई १४ वर्षको सश्रम कारावासको सजाय सुनाइएको थियो ।
यसै जेल जीवनकै क्रममा उनले आफ्नो पहिलो कथासङ्ग्रह ‘पिँजडाको उडान’ लेखे । यशपालको लामो जेलजीवन उनको अध्ययन र लेखनका लागि मात्र महत्वपूर्ण र उल्लेख्य साबित नभई, अर्को एक प्रसङ्गले पनि उल्लेखनीय छ । उनी ब्रिटिस भारतमा एक मात्र यस्ता राजनीतिक कैदी थिए जसको प्रकाशवतीसित विवाह जेल परिसरमा भएको थियो । उनीसँग यशपालको परिचय हिन्दुस्तान सोसलिस्ट रिपब्लिकन आर्मीको गतिविधिकै दिनहरूमा भएको थियो । प्रकाशवती पनि त्यही सङ्गठनमा भर्ती हुन घरबाट भागेर आएकी थिइन् । एचएसआरएको क्रान्तिकारी कम्युनमा प्रेम र विवाहमाथि कठोर प्रतिबन्ध थियो, जसकारण जब यशपाल र प्रकाशवतीको प्रेमको चर्चा हुनासाथ सङ्गठनले उनीहरूका विरुद्ध फतवा (मृत्युदण्ड) जारी गर्दै देखिनासाथ गोली हानिदिने आदेश जारी ग¥यो ।
सिंहावलोकनमा यशपालले यसबारेमा विस्तृतरूपमा उल्लेख गरेका छन् र कसरी निकै कठिनाइपूर्वक त्यस समग्र स्थितिलाई सम्हाले र फतवालाई निरस्त गराउन सफल भए भनी वर्णन गरेका छन् । जब उनी जेलमा कैद थिए तब प्रकाशवतीले जेलका शीर्ष अधिकारीसित यशपालसित विवाह गर्नका लागि अनुमति मागिन् । यसमा ती अधिकारीले जेलका ऐन–नियम सङ्ग्रह पल्टाए र ती कुनैमा पनि जेलमा विवाह हुन नसक्ने भनी लेखिएको नपाइएको स्थितिमा अनुमति नदिनुपर्ने कुनै कारण देखेनन् । र, यसप्रकार जेल परिसरमै उनीहरूको विवाह सम्पन्न भयो ।
त्यो घटना जेलको इतिहासमा त अभूतपूर्व थियो नै, इतिहासको लागि पनि अनौठो नै रहन गयो किनभने त्यस घटनापछि नै भारतीय जेलहरूको नियमावलीमा जेलमा रहेका कैदीको जेलभित्र वा बाहिर कतै पनि विवाह हुन नसक्ने नियम थपियो । जेलमा रहँदै विधिवत् विवाह भएको इतिहास भने यशपाल–प्रकाशवतीकै मात्र रह्यो । त्यतिमात्र नभई जेलमा रहँदै यशपालले फ्रान्सेली, रूसी र इटालियाली भाषाहरू पनि सिके र ती भाषाका साहित्यहरूको पनि अध्ययन गरे, जसले उनको वैचारिक एवम् साहित्यिक मानसिकताको लागि प्रेरणाको काम ग¥यो ।
यशपालको आचरणबाट कुनै खतरा नदेखिएकोले ब्रिटिस भारत सरकारले सन् १९३८ मै उनलाई रिहा गरिदियो र यही बिन्दु उनको राजनीतिक जीवनको अन्त्यजस्तै भयो । त्यसपछिको जुन यशपाललाई भारत र सारा विश्वले चिन्दछ, उनी भौतिक रूपमा क्रान्तिकारी त थिएनन् तर एक क्रान्तिकारी चेतनाले युक्त, एक परिपक्व विचारक, लेखक, समाजसेवी यशपाल बनेका थिए । यसप्रकार हेर्ने हो भने त्यस बिन्दुलाई लेखक यशपालको जन्मको रूपमा पनि लिन सक्छौँ, हुन त उनले त्यसअघि पनि नलेखेका होइनन् । तर, त्यसपछि जति परिमाणमा उनले लेखे र जति गुणवत्तापूर्ण लेखे त्यसरी कमै लेखकले मात्र लेख्न सक्छन् ।
जेलबाट निस्केपछि यशपालले पत्नी प्रकाशवतीसित मिलेर ‘विप्लव’ साहित्यिक पत्रिकाको प्रकाशन र सम्पादन गरे । त्यसको सिलसिला उनको जीवनपर्यन्त चल्यो । उनले निकै र विविध विषयहरूमा आफ्नो लेखनी चलाए । विस्तार र घनत्व दुवै नै यशपालको रचनात्मकतामा देख्न सकिन्छ । एक क्रान्तिकारीको रूपमा आफ्नो अनुभवहरूलाई यशपालले ‘अगर दादा कामरेड’ (१९४१), ‘देशद्रोही’ (१९४३) र ‘पार्टी कामरेड’ (१९४६) मा आवाज दिएका छन् । त्यहीँ इतिहासलाई पनि समसामयिक प्रासङ्गिकतासित जोडेर हेर्ने कार्य ‘दिव्या’ (१९४५), र ‘अमिता’ (१९५६) मा गरेका छन् । यशपाललाई उनको रचना ‘मेरीतेरी उसकी कसम’ (१९७४) का लागि साहित्य एकेडेमी पुरस्कार प्रदान गरिएको थियो ।
यशपालको साहित्यिकतापछाडि पनि सोचिसम्झिएको वैचारिकता थियो जसको प्रकट उनले आफ्नो एक लेखमा गरेका छन् । ‘म किन लेख्छु ?’ शीर्षक लेखमा उनले भनेका छन् ः “आफ्नो चेतना र विश्वासमा सधैँ सप्रयोजन नै लेखिरहेको छु …… म जिउने कामनाले जिउन सक्ने प्रयत्नका लागि लेख्ने गर्छु । आफ्नो अभिव्यक्ति अथवा रचना–प्रवृत्तिलाई म आफ्नो समाजको परिस्थिति, अनुभूति र कामनाहरूको सचेत प्रतिक्रिया नै सम्झन्छु र तिनलाई आफ्नो चेतना एवम् सामथ्र्यअनुसार आफ्नो सामाजिक हितको प्रयोजनका लागि अभिव्यक्त गर्ने गर्छु ।”
यसकारण, यशपालको लागि साहित्यिकता आफ्नो विचारहरूलाई एक ठूलो जनसमुदायसम्म पु¥याउने माध्यम थियो । तर, यस साहित्यिकताको निर्माण विद्रोह र क्रान्तिको जुन चेतनाले भएको थियो त्यो उनको समस्त लेखनको केन्द्रीय भाव रह्यो । किनकि, यही यशपालको क्रान्तिकारी चेतना नै थियो जुन हर यथास्थितिवादमाथि प्रश्न खडा गथ्र्यो ।
यसको सबैभन्दा पहिलो प्रमाण तब मिल्छ जब हामी यो देख्छौँ कि जुन गुरुकुलको कांगडीको परम्परामा यशपालको शिक्षा–दीक्षा भएको थियो, त्यसको कठोर आचरणको अनुशासन, दैहिक संयम र आचारसंहिताको अत्यधिक आग्रहमाथि अथवा त्यसको अतिवादमाथि प्रश्न गर्दै ‘धर्म रक्षा’ कथा लेखेका थिए । त्यसमा उनले देखाएका थिए कि कसरी गुरुकुलका एक शिक्षक, जो आफ्नो दमित इच्छाहरूलाई गुरुकुलको कठोर अनुशासनका कारण अभिव्यक्त गर्न नसकी अन्ततः आफ्नै एक नोतदारका साथ जबरजस्ती दुष्कर्म गर्न पुग्छ । यसप्रकार दमित चेतनाहरूको जुन मनोविश्लेषणात्मक आधार फ्रायडले दिएका थिए, यशपालले त्यसलाई आफ्नो सिर्जनात्मकताले त्यसको यथार्थवादी प्रतिफल समेत देखाएका छन् ।
यशपाल कम्युनिस्ट पार्टीसित सम्बद्ध रहेपनि नेतृत्वसित उनको वैचारिक मतभेद सधैँ बनिरह्यो । त्यसकारण, भारतीय कम्युनिस्ट पार्टीको नेतृत्व तहतिर उनी कहिल्यै लागेनन् । यशपालको रचनादृष्टिले जुन प्रकारले महिलाहरूको प्रतिनिधित्व गर्छन्, त्यो सम्भवतः त्यस युगको संवेदनशीलताभन्दा धेरै नै अगाडिको कुरा थियो र पार्टी नेतृत्वसित मतभेदका कैयौँ बिन्दुमध्ये यो पनि एक महत्वपूर्ण विषय थियो । उनका उपन्यास र कथाहरूमा महिलाको चित्रण तिनका सबैभन्दा नैसर्गिक, स्वाभाविकरूपमा भएका छन् र कुनै पनि प्रकारको दैवीय आभारहित एक मानवीका रूपमा महिलाहरू यशपालका कथाहरूमा आएका छन् । चाहे ती ‘दिव्या’ होऊन् वा ‘अमिता’ महिलाहरू त्यहाँ आफ्नो मानसिक र दैहिक आवश्यकता एवम् अधिकारहरूप्रति सजग तथा पितृसत्तात्मकतालाई चुनौती दिइरहेका देखापर्छन् ।
यशपालको रचनादृष्टिले त्यस समयको स्वतन्त्रता आन्दोलनमा स्वतन्त्रताको राष्ट्रवादी प्रश्नहरूको एक तरिकाले अझ बढी विस्तार गरिदिएको थियो किनभने महिलाहरूको मुक्तिको प्रश्न हरेक स्तरमा एक उपेक्षित विषय रहेको थियो । यस्तोमा यशपाल सम्भवतः एक यति संवेदनशील रचनाकार रहेका थिए, उनले भारतको विभाजनलाई आधार बनाएर लेखेको ‘झूठा–सच’ जस्तो विशद् उपन्यास रचना गर्दा पनि महिलाहरूको भूमिकालाई बेवास्ता गरेनन् । तारा, बंतीजस्ता पात्रहरूको माध्यमले यशपालले भारतको विभाजनलाई अन्ततः महिलाहरूमाथि गरिएको अत्याचारको रूपमा पनि हेर्ने पहिलो दृष्टि दिए, जसलाई इतिहासको एक लामो अवधि बितिसकेपछिमात्र अनुभव गरियो । होइन भने भारतमा जैनेन्द्र र अज्ञेयको परम्परामा महिलाहरूको यौनिकतालाई एक वस्तु वा ज्यावलको रूपमा प्रयोग गर्ने गरिन्थ्यो र महिलालाई लिएर भारतको तत्कालीन समाजको पितृसत्तात्मक राष्ट्रिय–सांस्कृतिक व्याख्या पनि उस्तैउस्तै थियो ।
आलोचक संजीवकुमारले यसलाई अझ स्पष्ट पार्दै लेखेका छन् कि कसरी देशको विभाजनलाई नारीवादी दृष्टिले हेर्ने काम नारीवादी इतिहासकारहरू जस्तो कि उर्वशी बुटालिया, कमला भासिन, ऋतु मेननले सन् १९८० पछि गरे तर यशपालले त १९६५ मै विभाजनको हिंसामा लपेटिएका महिलाहरूको चित्रणको माध्यमले पहिल्यै वास्तविक रूप देखाइसकेका थिए ।
यशपालको साहित्यलाई तिनको वैचारिकताका लागि मात्र नभई तिनको मानवीय मूल्यमान्यताप्रतिको अत्यन्त ठूलो आस्थाको लागि पढ्न र बुझ्न आवश्यक छ । उनको लेखकीय अडानलाई समाजका अधिकार र अवसरबाट वञ्चितहरू र गरिबहरूप्रतिको उनको एकनिष्ठताको सहउत्पादन सम्झन जरूरी छ । हुन त यथार्थमा यशपाल एक क्रान्तिकारी, एक सर्जक र एक विचारकको रूपमा सामाजिक समस्या एवम् सामाजिक विषमताहरूका समाधान खोजिरहेका थिए ।
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *