भर्खरै :

जनरल चाल्र्स दे गाल : एक अध्ययन – १३

विजय ¥याली
फ्रान्समा कुनै क्रान्ति भयो भने सभाहलमा त्यसको उद्घोष गर्ने परम्परा थियो । क्रान्तिबाट डराएका दे गालले त्यस्तो घोषणा गर्नुपर्दैन भने र छोटकरीमा आफू नै अब फ्रान्सको राष्ट्रपति भएको बताए । उनले पुरानो शासन नै चालु रहने जनाए । यसको अर्थ नयाँ खालको शासन अनावश्यक भएको उनको ठहर थियो । भोलिपल्ट एउटा लामो जुलुस गर्नुपर्ने कार्यक्रम बन्यो । त्यतिबेला जर्मन सेना पेरिसभन्दा ८० किलोमिटरको दूरीमा थियो र उसले बमवर्षक विमानबाट बमबारी गर्दै थियो । तैपनि जोखिम मोलेरै यस्तो जुलुस गर्नुपर्ने दे गालको विचार रह्यो ।
अगस्त २४ शनिबारको दिन थियो । दिउँसो ३ बजे जनरल दे गाल, उनका जनरल, प्रशासक र प्रतिकार समूहका कमान्डरहरू जुलुसमा सहभागी भए । दे गाल आफूलाई फ्रान्सको असली शासकको रूपमा उभ्याउन चाहन्थे । तर, फ्रान्सका जनता एकखाले उदात्त भावनाले यो जुलुसमा सहभागी भए । उनीहरूलाई दे गालको भित्री मनसायसँग सरोकार थिएन । उनीहरू फासीवादलाई पराजित गरेको खुसियाली साटासाट गर्न त्यहाँ भेला भएका थिए । तर, दे गालले सारा फ्रान्सेलीहरूले आफूलाई शासक रोजेको, आफूलाई आशाको किरण र नायक देखेको भनी त्यो जुलुसलाई अथ्र्याए ¤ दे गालले आफ्नो महत्वाकाङ्क्षी चरित्र देखाउने गरी यो जुलुसबारे आफ्नो आत्मसंस्मरणमा झिलिमिली अनुच्छेदहरू लेखेका छन् । यसबाट उनको व्यक्तिगत महत्वाकाङ्क्षा प्रकट हुन्छ, साथै उनले जिम्मेवारीबोध गरेको पनि देखिन्छ ।
जुलुसमा हिँड्दै गर्दा दे गालको वरपर जस्ता मानिसहरू थिए, त्यसबाट उनको व्यक्तित्व प्रस्ट हुन्छ । उनीसँगै नोरम्यान्डीका उद्योगपति लानिएल थिए । लानिएल पहिले पेताँका सहयोगी थिए । पछि उनले प्रतिरोध सङ्घर्षको पक्ष लिएका थिए । दे गालको देब्रेतिर क्याथोलिक पार्टीका बिदौ थिए । ज्याँ मौलीँको निधनपछि उनी प्रतिरोध परिषद्मा आएका थिए । पछि उनी दक्षिणपन्थी बन्दै गए र अन्तमा उनी फासीवादी बने । दे गालको पछाडि हिँड्ने जनरल जुइँ र कोइनिग पुरानो सैन्य खानदानका मान्छे थिए । वास्तविक प्रतिरोध सङ्घर्षका योद्धाहरू कताकति मात्र देखिन्थे । साँझपख जुलुस नोत्रेदाम पुग्यो । त्यहाँका पुजारीले पहिले पेताँलाई आशीर्वाद दिएका थिए, त्यसैले उनी प्रतिरोध सङ्घर्षका योद्धाहरूसामु पर्न चाहेनन् । सानो प्रार्थनासँगै जुलुस समापन भयो । जनताको सहयोग र समर्थन पाएर दे गाल प्रफुल्लित थिए ।
जुलुसको प्रशंसा गर्दै दे गालले त्यसलाई विशुद्ध फ्रान्सेलीहरूको जुलुस भनेका थिए । त्यसमा विदेशी मित्र देशका प्रतिनिधि थिएनन् । तर, वास्तविकता जनरल आइजनहावरको पुस्तक ‘युरोपमा धर्मयुद्ध’ ९ऋचगकबमभ ष्ल भ्गचयउभ० मा पढ्न पाइन्छ । खासमा दे गालले सो जुलुसमा शक्ति प्रदर्शन गर्नलाई अमेरिकासँग दुई डिभिजन सेना मागेका थिए । यस्तो प्रदर्शनबाट फ्रान्समा आफू स्थापित हुनसक्ने उनको बुझाइ थियो । अमेरिकाले यस्तो कार्यलाई समयको बर्बादी भनेर उनलाई सहयोग गरेन । अमेरिकाले आशङ्का गरेजस्तो जर्मनहरूले पेरिसमा धेरै विध्वंस मच्चाएनन् । बरु, फ्रान्सेली जनताको मन जित्न कुनैबेला उनीहरूले त्यहाँ जोन अफ आर्कको मूर्ति स्थापना गरेका थिए, नेपोलियनका छोराको अस्तु पेरिसमा ल्याएका थिए । तिनताक पेरिसवासीहरू उनीहरूलाई व्यङ्ग्य गर्थे, “हामीलाई हड्डी होइन, खानलाई मासु चाहिएको छ ।”
युद्धपछिको फ्रान्स
जर्मन सेनाले फ्रान्सलाई तहसनहस पारेर छोडेको थियो । रेलमार्ग काम नलाग्ने भइसकेको थियो । हजारौँ पुलपुलेसा भत्केका थिए । उद्योगहरूको उत्पादन युद्धअघिको भन्दा एकतिहाइमा झरेको थियो । २० लाख फ्रान्सेली युवाहरूलाई जर्मनहरूले श्रम शिविरमा लगेका थिए । कालो बजारमा धेरै मूल्यमा जे पनि पाइन्थ्यो । बजारमा सस्तोमा सामान पाइँदैनथ्यो । रु. १० को सामानलाई १०० रुपियाँ तिर्नुपथ्र्याे । ती मालसामानका व्यापारीहरू र सेवाका ग्राहकहरू युद्धबाट नाफा कमाएका व्यक्तिहरू मात्र हुन्थे । कालाबजारियाहरू मोटाएका थिए । भिशे सरकारका समर्थकहरूले छानीछानी देशभक्तहरूको हत्या गर्दै थिए । पुँजीपतिहरू आर्थिक गतिविधिमा आउन मानिरहेका थिएनन् । उनीहरू प्रतिरोधी योद्धाहरूसँग डराइरहेका थिए किनभने ती योद्धाहरू समाजवादी र उदारवादी सोचका थिए । पुरानो सामाजिक व्यवस्था जगैबाट हल्लिएको थियो । त्यसलाई जोगाउने जिम्मेवारी दे गालले काँधमा लिए । त्यो उद्देश्य पूरा गर्न उनले फ्रान्सको गौरव फिर्ता गर्ने नारा दिए । खासमा उनी आफूलाई देशको मुक्तिदाता साबित गर्न जेसुकै गर्न तयार थिए ।
युद्धपछिको फ्रान्सको इतिहास प्रतिरोधी सङ्घर्षको घाँटी निमोठ्दै सुरु भयो । सन् १९४० जून १८ मा फ्रान्सेली प्रतिकारको राँको बाल्न आह्वान गर्ने दे गालले हतारिँदै त्यो आगो निभाउन खोजे । १९४४ अगस्त २८ मा प्रतिकार समूहका २० जना मुख्य नेताहरूलाई बोलाएर उनले हतियार बिसाउन भने र आफ्नो सेनामा आउन अनुरोध गरे । एफएफआई जस्तो जुझारु प्रतिकार समूह बन्द गर्न लगाएपछि सेप्टेम्बरमा उनले जनअदालतहरू भङ्ग गरे । प्रतिकार समूहहरूले बिस्तारै राजनीतिक पार्टीको रूप लिन थाले । उनीहरूले १९४४ मार्च १५ मा ल्याएको कार्यक्रम लागु गर्न खोजे । त्यो कार्यक्रममा दे गालले पनि सहमति जनाएका थिए । तर, अहिले उनले प्रतिकार समूहहरूका त्यस्ता क्रियाकलापको विरोध गरे । यसले राष्ट्रको एकता भाँड्ने उनको तर्क थियो । प्रतिरोध सङ्घर्षको भावना ब्यूँतिने कुनै पनि गतिविधिमा उनले छुट दिएनन् । तिनलाई उनले राज्यविरोधी हानिकारक प्रयासहरू भने ।
पेरिसमा दे गालले जे गरे अन्य जिल्लामा पनि उनले त्यसै गरे । झन्डै आधा फ्रान्स प्रतिकार सङ्घर्षका योद्धाहरूले मुक्त गरेका थिए । यसमा अमेरिकी र बेलायती सेनाको कुनै भूमिका थिएन । सन् १९४४ को शरद यामसम्म प्रतिरोधी सङ्घर्षमा ५ लाख लडाकु थिए । उनीहरूले पेरिसबाहेक मार्सेइ, लियोन, तुलोँ, तुलुइ, मोँपेलिए, लिमोगसजस्ता थुप्रै सहर मुक्त गरेका थिए । ती सहरमा उनीहरूले भिशे पक्षधरहरूलाई फालेर आफ्नै प्रशासन खडा गरेका थिए । यस्तो गर्दा केही अराजक गतिविधि हुनु स्वाभाविक थियो । तर, यस्ता गतिविधितिर औँल्याउँदै दे गालले कम्युनिस्ट र देशभक्त योद्धाहरूलाई गाली गरे । खासमा कम्युनिस्टहरू अराजकताविरोधी थिए । त्यसैले उनीहरूले दे गाललाई शासन गर्न बाटो छोडेका थिए । खासमा प्रतिरोधी योद्धाहरूको समर्थनबेगर दे गाल सत्तामा आउन सम्भव थिएन ।
पेरिस मुक्त भएको २ महिनापछि दे गाल अन्य जिल्लाहरूको भ्रमणमा निस्के । कतिपय स्थानको स्थिति सामान्य थियो । धेरै स्थानमा भिशे सेनामै काम गरेका अफिसर र निजामति कर्मचारीहरूले दे गाललाई सघाउन थालेका थिए । उनले धेरै स्थानमा ‘शान्ति सुव्यवस्था’ देखे । आफ्नो गृह जिल्ला लिले र उत्तरका केही खानी क्षेत्रहरूमा घुमेपछि उनले देशमा सामाजिक परिवर्तन खाँचो महसुस गरे । जनताको दयनीय स्थितिबाट उनी मर्माहत भए । तैपनि उनले आफ्नो बाबुसाहेब प्रवृत्ति छोड्न सकेनन् । उनले जनताको गरिबी र दरिद्र जीवनलाई कम्युनिस्टहरूले सङ्घर्षको विषय बनाउनसक्ने ‘खतरा’ देखे । खासमा कम्युनिस्टहरूले युद्धमा जति बलिदान दिएका थिए त्यसको तुलना अरू कसैले गरेका थिएन । उनीहरू क्रान्ति गर्ने सोचमा थिएनन् । बरु प्रतिरोध परिषद्कै कार्यक्रममा सहमत थिए ।
दे गालले आफ्नो कम्युनिस्टविरोधी दृष्टिकोण कायम राखे । त्यसले गर्दा आफूले पुँजीपतिहरूको सहयोग र बफादारी पाउने उनलाई थाहा थियो । तिनीहरूलाई आफूले हिटलरको नाजीवाद र अमेरिकी–बेलायती हस्तक्षेपबाट मात्र नभई कम्युनिस्टहरूबाट पनि जोगाउने कुरा दे गालले व्यवहारबाटै देखाउन चाहन्थे । यसकारण, उनले प्रतिरोध सङ्घर्षको घाँटी निमोठे । साथै, कम्युनिस्टहरूले राजनीतिक र सशस्त्र विद्रोह गर्न थालेको वा सर्वहारा अधिनायकवाद लाद्न खोजेको जस्ता हल्लाहरूबाट उनले फाइदा लिए । बाहिर जे भने पनि उनको मन्त्रीमण्डलमा दुईजना कम्युनिस्ट मन्त्री राखिएको थियो । यो उनको बाध्यता थियो । मन्त्रीमण्डलमा तीनजना समाजवादी, चारजना परिवर्तनवादी (रेडिकल), तीनजना धार्मिक प्रजातन्त्रवादीहरू थिए । युद्धअघिको संसद्मा अन्य केही प्रतिनिधि पनि थिए । केही बैङ्कपति र पुँजीपतिहरू पनि सरकारमा अटाएका थिए । यसरी दे गालको सरकार अडबाङ्गे उँटजस्तो थियो । तैपनि सर्वोच्च सत्ता दे गालको हातमा थियो ।
सेप्टेम्बर १२ मा दे गालले भावी फ्रान्ससम्बन्धी आफ्नो योजना अघि सारे । लामो भाषण गर्दै उनले युद्ध नसिद्धिएसम्म आफ्नो सरकारले काम गर्ने बताए । उनले आफ्नो सरकारले कैदीहरूको आदानप्रदान गर्ने, राष्ट्रियसभाको चुनाव गराउने र सोही सभाले फ्रान्सको भाग्य लेख्ने बताए । उनका कार्यक्रम प्रतिरोध परिषद्कै जस्तो थियो । उनले आफू प्रजातन्त्रको बाटोमा हिँड्ने, देशद्रोहीहरूलाई दण्ड दिने, जर्मनीका सहयोगीहरूको धनसम्पत्ति जफत गर्ने, अर्थतन्त्रको केही भाग राष्ट्रियकरण गर्ने, बजारभाउ स्थिर गर्ने र जनताको जीवनस्तर उकास्ने बताए । अझै अगाडि बढेर उनले व्यक्तिको हितभन्दा राष्ट्रिय हितलाई माथि राख्ने र जनताको जीवनस्तर उकास्न प्राकृतिक स्रोतसाधनको उपयोग गर्ने बताए । निजी सम्पत्तिलाई बढावा दिने कुरा गरेर उनले पुरानो अर्थव्यवस्था कायम राख्ने मनसाय देखाए । साथमा युद्धपछि जर्मनीलाई तह लगाउने र संसारको नक्सा कोर्ने अन्तर्राष्ट्रिय मञ्चमा फ्रान्सलाई लग्ने र महान् बनाउने आफ्नो मूल उद्देश्य भएको उनले उद्घोष गरे । भाषणपछि आठ हजार प्रतिनिधिहरूको करतल ध्वनीले सभा भवन गुञ्जियो । त्यहाँ व्यापारिक घराना, राजनीतिक दल, मजदुर सङ्घ (ट्रेड युनियन), राज्यका विभिन्न निकाय र प्रतिरोध समूहका प्रतिनिधिहरू उपस्थित थिए ।
अलगथलग फ्रान्स
सन् १९४४ को शरदमा संयुक्त राष्ट्रसङ्घको स्थापना गर्न संसारका ४ शक्ति देशहरूको बैठक बस्यो । त्यसमा फ्रान्सलाई बोलाइएको थिएन । सन् १९४० मा एकाएक पराजित भएकैले फ्रान्सलाई लन्डनमा भइरहने उच्चस्तरीय बैठकहरूमा पनि डाकिएन । यो कुराले दे गाललाई बिझायो । सोभियत सङ्घबाहेक अन्य शक्तिशाली राष्ट्रले खुलेर उनको सरकारलाई मान्यता दिएका थिएनन् । आफ्नो विदेश नीति प्रभावशाली बनाउन उनी समय पर्खिरहेका थिए । जर्मनी पराजित हुँदै जाँदा उनले फ्रान्सलाई युरोपको केन्द्र बन्दै गरेको देखे । त्यसैले उनले आइसल्यान्डदेखि इस्तानबुलसम्म र जिब्राल्टरदेखि युरालसम्म युरोपको एकतामा जोड दिए । फेरिफेरि उठ्न नदिन उनले जर्मनीलाई टुक्र्याउनुपर्ने सोच बनाए ।
सन् १९४४ को अक्टोबरमा दे गालले बेलायती प्रम चर्चिल र अमेरिकी राष्ट्रपति रुजवेल्टलाई पेरिस बोलाए । रुजवेल्ट आएनन् । चर्चिल नोभेम्बर १० मा पेरिस आए । दे गालले फ्रान्सेली सेनालाई आपूर्तिको बन्दोवस्त गर्न भने । यसमा चर्चिलले बेलायतले धेरै गर्न नसक्ने बताए । जर्मनीलाई विभाजित गरी रुहर, राइन र सार प्रान्तलाई दे गाल जर्मनीबाट अलग्याउन चाहन्थे । यसमा चर्चिलले ठोस विचार राखेनन् । त्यस्तै, सिरिया र लेबनानको मामिलामा पनि चर्चिलले प्रस्ट बोलेनन् । चर्चिलले फ्रान्स र बेलायतको मैत्री सन्धिको कुरा निकाले । दे गालले विश्वयुद्धपछि दुवै देश कमजोर बन्ने हुनाले बेलायत र फ्रान्सको गठबन्धनले अन्य साना देशलाई आफूतिर आकर्षित गरेर अमेरिका र रूसबीचको शत्रुतामा खेल्नुपर्ने धारणा राखे । यसमा चर्चिललाई चित्त बुझेन । उनले अमेरिकाको साथ छोड्न नसकिने बताए । वार्ता विफल भयो । तैपनि पेरिसमा चर्चिलले राम्रै सम्मान पाए ।
जर्मनीको पञ्जाबाट मुक्त भएपछि फ्रान्स र आफू शक्तिशाली बन्ने दे गालको सोच थियो । तर, त्यो हुन सकेन । फ्रान्ससँग स्रोतसाधनको अभाव थियो । उसले लाखौँ सेनाको भर्ती लिन सक्थ्यो । तर, उनीहरूलाई दिन सक्ने फ्रान्ससँग केही थिएन । फ्रान्सको स्वाभिमान कमजोर थियो । अन्तर्राष्ट्रिय मञ्चहरूमा नडाकेर फ्रान्सलाई एक्ल्याइएको थियो । बेलायत र अमेरिकाले फ्रान्सलाई पुनः शक्ति राष्ट्रको रूपमा उठाउन चाहन्नथे । यस्तैमा फ्रान्सको गरिमा उठाउन दे गालले सोभियत सङ्घको सहारा लिने सोचे । तर, यसको लागि फ्रान्सका क्याथोलिक धर्मगुरु र पुँजीपतिहरूको अर्को छेकबार थियो । दे गाल कम्युनिस्टहरूप्रति लहसिनु हुन्न, बरु कम्युनिस्टविरुद्ध लड्नुपर्छ भन्ने उनीहरूको विचार थियो । दे गालले फ्रान्सका हुनेखानेहरूको मनबाट ‘भिशे सोच’ गइनसकेको बुझे । उनीहरूले आफ्नो वर्गीय स्वार्थ जोगाउन देशको गरिमा दाउमा राख्न चाहेको देखियो । भिशे सरकारको पतनबाट उनीहरूले केही सिकेका थिएनन् ।
सोभियत सङ्घमा
सोभियत सङ्घको मद्दतले दे गालले फ्रान्सको गरिमा उठाएरै छोड्ने निधो गरे । यसको लागि देशको ढुकुटीमा कति पैसा छ, कति डिभिजन सेना छ वा उत्पादन कति हुन्छ भन्दा पनि अलग्गै विदेश नीति छ कि छैन भन्ने कुरा महत्वपूर्ण हुने दे गालको ठम्याइ रह्यो । नोभेम्बर २२ मा उनले मस्को, लन्डन र पेरिसको एकता युरोपको लागि फलदायी हुने बताए ।
नोभेम्बर २४ मा आफ्ना विदेशमन्त्री बिदोसँगै उनी सोभियत सङ्घतिर लागे । दुई दिनमा उनी रूसको बाकु पुगे । त्यहाँबाट उनलाई मस्को लगियो । प्रसिद्ध स्तालिनग्राद नगर, रूसको औद्योगिक प्रगति र खेतखलियान हेर्दै उनी क्रेमलिन दरबार पुगे । दुई हप्तासम्मको रूस बसाइमा उनले रूसलाई नजिकबाट चिन्ने मौका पाए । खासगरी रुसी सेनाबाट उनी औधी प्रभावित भए । अक्टोबर क्रान्तिले नै रूसलाई महान् बनाएकोमा उनले विमति नराखे पनि रूसलाई उनले परम्परागत आँखाले हेरे । आर्थिक सामाजिक दृष्टिकोणलाई एकातिर राखेर दुई देश पुरानै सम्बन्धको डोरीले नजिकिनुपर्ने उनको विचार थियो ।
डिसेम्बर २ मा दे गाल मस्को पुगे र स्तालिनसँग उनको भेट भयो । चर्चिल र रुजवेल्टसँग भेटिसकेका दे गालले कम बोल्ने र धेरै सुन्ने शैली अपनाउन खोजे । तर, थोरै बोलेर स्तालिनले दे गाललाई नै बढी बोल्ने बनाउनुभयो । करिब १५ घण्टाको कुराकानीमा मैत्री सन्धिको विषयवस्तुमा गम्भीर छलफल भयो । बैठक चलिरहेकै बेला चर्चिलले बेलायत, फ्रान्स र रूसबीच त्रिपक्षीय सन्धि गर्ने प्रस्तावसहित स्तालिनलाई पत्र पठाए । यस्तो सन्धिले फ्रान्स छायामा पर्नसक्ने थियो । त्यसैले त्यो प्रस्तावलाई अस्वीकार गरियो । दुवै पक्ष भविष्यमा जर्मनीको खतरा कम गर्नुपर्ने विचारमा सहमत थिए । तर, तरिकामा मतभेद देखियो । रूस फासीवाद र सैन्यवादको जरो उखेल्नुपर्ने पक्षमा थियो । तर, दे गालले रुहर, राइन र सार प्रान्तलाई जर्मनीबाट अलग्याउनुपर्ने र राइन नदीको पश्चिमी भाग फ्रान्सलाई दिनुपर्ने अडान लिए । यसको लागि स्तालिनले अमेरिका र बेलायतसँग पनि बैठक बस्नुपर्ने बताउनुभयो ।
बैठकमा एउटा बाधा आइलाग्यो । तिनताका पोल्यान्ड सरकार बेलायतमा निर्वासित थियो । दक्षिणपन्थी मन्त्रीहरूले गर्दा त्यो सरकार सोभियत सङ्घविरोधी थियो । यता जर्मनीसँग लडेको देशभक्तहरूको राष्ट्रिय मुक्ति समितिले पोल्यान्डको मुक्त इलाकामा आफ्नै सरकार बनाएको थियो । दे गालले त्यो लुब्लिन समितिलाई मान्यता दिनुपर्ने स्तालिनले प्रस्ताव राख्नुभयो । यहाँनिर दे गालले रुजवेल्टले फ्रान्सको विषयमा राखेको धारणा राखे । उनले युद्धपछि पोल्यान्डमा निर्वाचनमार्फत जो सरकारमा आउँछ, त्यसैलाई मान्यता दिइने बताए । कुनै बेला दे गालको सरकारलाई मान्यता दिन नसक्ने भन्दै रुजवेल्टले यस्तै तर्क राखेका थिए । यही अडानले गर्दा रूस र फ्रान्सबीच हुने भनिएको सन्धि नहुने देखियो ।
डिसेम्बर १० को दिन फ्रान्सेली टोली देश फर्किनुपर्ने थियो । दे गाल खालि हात फर्किनुपर्ने कुराले आत्तिइरहेका थिए । मध्यरातमा स्तालिनकहाँबाट दूतावास फर्केर उनले आफ्ना दुई प्रतिनिधिलाई छलफलको लागि क्रेमलिन पठाए । फ्रान्सेली प्रतिनिधिले लुब्लिन र पेरिसबीच प्रतिनिधिहरू आदानप्रदान गर्ने बताए । यसरी बिहान ४ बजे मैत्री सन्धिमा हस्ताक्षर भयो । दे गालले स्तालिनलाई फ्रान्स आउन निम्तो दिए । ठट्यौली पारामा स्तालिनको उत्तर थियो, “कसरी आउने ? बुढो भइसकेँ । अब छिट्टै मर्छु होला !”
प्रस्तुति : सुरेन

Leave a Reply

Your email address will not be published. Required fields are marked *