भर्खरै :

शिक्षा र स्वास्थ्य क्षेत्रमा एकाधिकार पुँजी चुलिँदै ?

‘सिंहदबारभित्रै अभद्र व्यवहार’, ‘हातखुट्टा बाहिर राखेर आउनुस् भन्न मिल्दैन – गृह प्रवक्ता’, ‘यस्तै भए कलेज र अस्पताल बन्द गर्छाैँ : अध्यक्ष अन्सारी’ – २ माघ २०७८ को ‘नेपाल समाचारपत्र’ का शीर्षक र उपशीर्षकहरू हुन् यी ।
केही दिन अगाडिका पत्रपत्रिकाहरूमा एमबीबीएस पढ्न ४० लाख रुपियाँमा थप ४० लाख रुपियाँ अर्थात् ८० लाख रुपियाँ पर्ने समाचार छापिएको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल आफै दुई पटक काठमाडौँ मेडिकल कलेज (केएमसी) पुगेर पनि समस्या समाधान नहुँदा शुक्रबार मन्त्रालयमै चिकित्सा शिक्षा आयोग, विश्वविद्यालय, कलेज, विद्यार्थी र अभिभावकलाई राखेर झन्डै चार घण्टा छलफल भएको थियो । तर, समस्या समाधान भएन ।
नेपालमा हाल १८ वटा मेडिकल कलेज सञ्चालित छन् । काठमाडौँ मेडिकल कलेज, नोबेल मेडिकल कलेज विराटनगर र मणिपाल मेडिकल कलेज पोखरामा विगत डेढ महिनादेखि चिकित्सा शिक्षाका एमबीबीएस, बीडीएस र बीएनएसका विद्यार्थीहरू मेडिकल कलेजको अतिरिक्त शुल्क, अनिवार्य होस्टेललगायत हटाउनुपर्ने विषयका मागसहित आन्दोलनरत रहेको समाचारमा बताइएको छ ।
विद्यार्थी र अभिभावकहरूको विपक्षमा काठमाडौँ मेडिकल कलेज
(केएमसी) का कार्यकारी निर्देशक तथा निजी मेडिकल कलेज र दन्त चिकित्सा कलेज नेपाल (एसोसियसन अफ प्रात्ेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपाल) का महासचिव डा. सुनिल शर्मा र त्यस संस्थाका अध्यक्ष बसुरुद्दिन अन्सारी छन् । सिंहदरबारको बैठक सफल नभएपछि ४ जना प्रहरीसँगै शर्मालाई सम्भावित घटनाबाट सुुरक्षा दिइएको थियो । तर, सीसीटीभीमा कालो मोसो दल्ने त्यस्तो केही देखिएको थिएन । त्यसबारे संस्थाका अध्यक्ष अन्सारीले ‘मेडिकल व्यवसायीसँग धैर्यको बाँध फुटिसकेको अवस्थामा अब सबै मेडिकल कलेजहरूमा ताला लगाउने बाहेक विकल्प नरहेको’ र कोरोनाको बिगबिगीबाट देश र जनताले पीडा भोगिरहेको बेला ‘कलेज र सबै अस्पताल बन्द गर्नुपर्ने अवस्था आउन सक्ने’ चेतावनी दिए ।
त्यस मेडिकल संस्थाका महासचिव सुनिल शर्मा र अध्यक्ष अन्सारीले ‘अभद्र व्यवहार’ गरेको आरोपमा ५ जना विद्यार्थीलाई प्रहरीद्वारा नियन्त्रण गर्न लगाएको पनि समाचारमा बताइएको छ ।
तर प्रश्न छ, भद्रता के हो र ‘अभद्र व्यवहार’ को अर्थ के हो ? विद्यार्थी र अभिभावकलाई ‘डर, धम्की एवम् मानसिक तनाव दिई नीति, नियम र कानुनलाई ठाडो चुनौती’ दिने काम के भद्रता हो ? भद्र मानिसलाई कसले अभद्र व्यवहार गर्छ ?
जनता र सरकारको ऐन – कानुनसँग समेत डर नमान्ने सो संस्थाका महासचिव डा. सुनिल शर्मा र अध्यक्ष अन्सारीको पछाडि को छ भन्नेबारे बुद्धिजीवी समुदायमा व्यापक चर्चा छ । तर, आश्चर्यको विषय हो – त्यसमा आउने नामहरू – वर्षमान पुन, बतास, राष्ट्रिय स्वास्थ्य आयोगका श्रीकृष्ण गिरी, डा. गोविन्द के.सी, आरजु देउवा, गगन थापा आदि ।
भनिन्छ– गएको निर्वाचनमा यस संस्थाले नेपाली काङ्ग्रेस, एमाले र माओवादी केन्द्रलाई करोड होइन अर्बाैँ रकम ‘चढाएको’ थियो । पोस्ट ग्राजुयटको निम्ति २ करोडको रकमबारे दुर्गा प्रसाइँ र श्रीकृष्ण गिरीको नाम चर्चामा आएको थियो । यी सबै चर्चा एवम् परिचर्चाको सत्य तथ्यबारे खुलासा भए जनता ढुक्क हुने थिए र निर्दाेष व्यक्तिहरूको भनाइबाट जनताले सच्चाइ थाहा पाई अपराधीहरू उदाङ्गिने थिए ।
तर, नेपालजस्तो गरिब र विकासशील देशमा शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने थियो । जसरी सोभियत सङ्घमा क्रान्तिलगत्तै भएको थियो । सोभियत सङ्घ २० – ३० वर्षभित्र शिक्षा, विज्ञान र प्रविधिमा संसारको सबभन्दा अगाडि बढेका देशमध्येमा परेको थियो । ख्वप नर्सिङ कलेजजस्तो देशभरमै कम शुल्कमा पढाइ हुने एक सार्वजनिक कलेजलाई जानेर वा नजानेर वा गलत ऐन नियम घुसारेर पढाइ बन्द गर्न लगाउने शिक्षामन्त्री देवेन्द्र पौडेल नै हुनुहुन्छ । मन्त्रीको काम भएका गलत ऐन कानुनको सट्टा संसद्बाट संशोधन वा विधेयक पारित गरी देशलाई अगाडि बढाउने र जनताको सेवा गर्ने हो । सो कर्तव्य पूरा भएन भन्ने आवाज सानो छैन । प्राज्ञिक र वित्तीय दृष्टिले नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्रमा आज एकाधिकार पुँजीको प्रभाव बढ्दै जाने सम्भावना चुलिँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *