भर्खरै :

स्वास्थ्यकर्मीको सुरक्षा

तेस्रो चरणको कोरोनाको लहरमा देशभरका अस्पताल र स्वास्थ्य केन्द्रहरूमा स्वास्थ्यकर्मीहरू बढी सङ्क्रमित भएको देखियो । राजधानीकै कतिपय अस्पतालहरूमा धेरै सङ्ख्यामा चिकित्सक र स्वास्थ्यकर्मीहरू सङ्क्रमित भएपछि बिरामीको स्वास्थ्योपचार प्रभावित भयो । जनशक्ति अभावको कारण कतिपय अस्पतालमा सङ्क्रमित स्वास्थ्यकर्मीहरूले नै पीपीई लगाएर सेवामा लागेको देखियो । त्यसो त पूर्ण मात्रा खोप र अझ प्रवद्र्धक खोपसमेत लगाइसकेका स्वास्थ्यकर्मीको निम्ति तेस्रो लहरले घातक प्रभाव पारेन । ओमिक्रोन भेरियन्ट विगतका कोरोना भाइरसभन्दा तेज गतिमा सङ्क्रामक भए पनि काम घातक भएकोले स्वास्थ्यकर्मीहरूको सङ्क्रमणबाट खराब परिणाम भोग्नुपरेन । तर, स्वास्थ्यकर्मीहरू नै भाइरसबाट अधिक सङ्क्रमित हुनु सोचनीय विषय हो ।
पहिलो लहरमा तुलनात्मकरूपमा चिकित्सक र स्वास्थ्यकर्मीहरू आफै पनि भाइरसबारे कममात्र जानकार थिए । त्यसकारण, व्यवस्थापन गर्न खोज्दा खोज्दै पनि कतिपय स्वास्थ्यकर्मी सङ्क्रमित भए । संसारभर नै चिकित्सकहरूको ठुलो सङ्ख्याले भाइरसको कारण ज्यान गुमाउनुप¥यो । दोस्रो चरणमा भने कतिपय अस्पताल र स्वास्थ्य संस्थामा चुस्त व्यवस्थापनको कारण उच्च जोखिमबीच स्वास्थ्यकर्मीहरू सकभर सङ्क्रमणबाट टाढा रहे । तर, कतिपय अस्पतालमा आवश्यक पूर्वाधार र व्यवस्थापनको कमीले गर्दा स्वास्थ्यकर्मीहरू सङ्क्रमित भए ।
तेस्रो लहरमा आइपुग्दा संसारलाई कोभिड महामारीबाट जोगिने वैज्ञानिक तरिकाबारे धेरै कुरा थाहा भइसकेको छ । तथापि, धेरै सङ्ख्यामा स्वास्थ्यकर्मीहरू सङ्क्रमित हुनु हाम्रो स्वास्थ्य प्रणालीको कमजोरी हो । अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीहरूको सुरक्षामा लापरबाही भएकैले धेरै सङ्ख्यामा सङ्क्रमण भएको हो ।
महामारीसँग लड्न सबभन्दा अग्रमोर्चामा लड्ने सिपाहीहरू नै सङ्क्रमित हुँदा मानिसले यो लडाइँ कदापि जित्न सक्दैन । स्वास्थ्यकर्मीहरू महामारीविरूद्धको लडाइँका सिपाहीहरू हुन् । उनीहरूको सुरक्षाको निम्ति राज्य गम्भीर हुन जरूरी छ । संसारमा कोभिडको महामारी समाप्त भइसकेको छैन । वैज्ञानिकहरू अझै नयाँ भेरियन्ट फैलिन सक्ने बताइरहेका छन् । त्यसको अर्थ खतराको बादल अझै हटिसकेको छैन । ओमिक्रोन भेरियन्ट कम घातक भएकोले हामीले तेस्रो लहरमा ठुलो क्षति भोग्नुपरेन । तर, भविष्यमा आउनसक्ने भेरियन्ट यही प्रकृतिको हुन्छ भन्ने कुरा ग्यारेन्टी गर्न सकिन्न । त्यसकारण, तेस्रो लहरमा धेरै स्वास्थ्यकर्मी बिरामी भएको अनुभव र कारण पत्ता लगाई हाम्रा स्वास्थ्य केन्द्र र अस्पतालका कमी–कमजोरी सच्याउने प्रयास थालनी गर्नुपर्छ । पहिलो लहरमा मास्क, स्यानिटाइजर आदिको अभाव, दोस्रो लहरमा अक्सिजनको अभाव र तेस्रो लहरमा धेरै सङ्ख्यामा स्वास्थ्यकर्मीहरू सङ्क्रमित भएबाट हामीले शिक्षा लिनुपर्छ । समयले सिकाएको यो अनुभवलाई हामीले उपेक्षा नगरौँ । राज्य र स्वास्थ्य क्षेत्रका लागि जिम्मेवार निकायले अहिले नै भविष्यमा आउन सक्ने सङ्कटमा स्वास्थ्यकर्मीलाई सुरक्षित राख्न अध्ययन, तालिम र पूर्वाधारको बन्दोबस्त गर्न जरूरी छ । बाघ आएको भनी गाउँलेलाई तर्साउने बालकले एक दिन साँच्चै बाघ आउँदा पछुताएको कथाबाट सिक्न ढिलाइ नगरौँ । आपत् पर्दामात्र हतारमा तयारी गर्ने कमजोरी नगरौँ । अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीहरूको सुरक्षा गर्न राज्यले गम्भीरतापूर्वक अग्रसरता लेओस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *