भर्खरै :

जनप्रतिनिधिहरूले किरियाको समयमा पनि घर बस्न नपाइने रहेछ

कोभिड– १९ को महामारीले मानिसहरूमा एक किसिमको भयावह अवस्था थियो । नेपाल सरकारले कडाइका साथ पहिलो पटक लकडाउन गरेको समय थियो । मानिसहरू नयाँ किसिमको रोग भएकोले डराएका थिए । टोल सुनसानजस्तै थियो । समाचारहरू सुन्दा विश्वव्यापीरूपमै भयावहरूपमा कोरोना फैलिएको अवस्था थियो । नेपालमा पनि कोरोना फैलिरहेको थियो । म आमाको मृत्यु भएकोले किरियामा बसेको थिएँ । किरियामा बसेको र लकडाउन पनि भएकोले म वडा कार्यालय गएको थिइनँ । तापनि सेवाग्राहीहरूको फोन लगातार आइरहेको थियो । आफ्नै वडामा दिनको चार पाँच जना कोरोना लाग्ने बिरामी देखा परिरहेको थियो । कोरोना लागेको घरमा सिलबन्दी गर्न म साथीहरूलाई अनुरोध गरिरहन्थेँ ।
त्यस्तो परिस्थितिमा एक दिन दिउँसो एक अपरिचित महिलाको कल आयो । म घरमै आराम गरिरहेको थिएँ । कल रिसिभ गर्ने बित्तिकै उहाँले भन्नुभयो, “नमस्कार भाइ, म तपाईँको छिमेकी भाउजू हुँ । रामदुवालकी श्रीमती हुँ । मेरो श्रीमान् राम र माइतीको भाइको कोरोना पोजेटिभ आयो । मलाई घरमा रासन पठाई दिनुप¥यो ।” त्यस समयमा वडामार्फत कोरोना पोजेटिभ भएको व्यक्ति बाहिर नआओस् भनेर घर–घरमै हामीले आवश्यक सामानहरू पु¥याउने कार्य गरिरहेका थियौँ । त्यसको लागि स्वास्थ्यकर्मी र स्वयम्सेवकहरू परिचालन गर्दै आएका थियौँ । सायद त्यही भएर उहाँले पनि घरमै रासन पु¥याउन अनुरोध गर्नुभयो । मैले भाउजूलाई सोधेँ, “राम दाइलाई कस्तो छ ? अनि भाइलाई नि ? तपाईँ अलग बस्नुभएको हो कि होइन ? तपाईँ र छोरा छोरी सुरक्षित हुनुहोस् ।” मेरो घर नजिकै गल्लीभित्रको भाउजू भएकोले मलाई उहाँको घरको बारेमा थाहा थियो । उहाँले जवाफमा भन्नुभयो, “श्रीमान्लाई त ठिक्कै छ । तर, मेरो भाइ अलि फरक किसिमको छ । भाइको दिमागले काम गर्दैन । घरमै नबसिकन घुमिरहन्छ । अहिले छिँडीमा बसिरहेको छ । उसलाई आइसोलेसन केन्द्रमा लान पाए हुन्थ्यो । तपाईँ एकचोटि घरमा आउनुप¥यो । छोरा, छोरी र म अलग कोठामा बसेका छौँ । श्रीमान्लाई अलगै कोठामा राखेर खाना दिँदै आएकी छु । तर, घरमा रासन सकिन लाग्यो । भाइले पठाई दिनुप¥यो ।”
मैले फोनमा भनेँ, “हुन्छ भाउजू, म एकछिनमा आउँछु । तपाईँ आवश्यक सामानहरूको लिस्ट बनाउँदै गर्नुहोला । म तुरुन्त पठाइदिन्छु । तर, तपाईँहरू बाहिर नआउनु होला । तपाईँको घरमा सिल गरुँ कि नगरुँ ? तपाईँ बाहिर आउनुभयो भने त सिलबन्दी गर्नुपर्ने हुन्छ । त्यसैले घर बाहिर नआउनु होला ।” उहाँले सिलबन्दी नगर्न अनुरोध गर्नुभयो ।
आफू किरियामा बसेको भए तापनि घरसँगै भएकोले राम दाइ र भाइलाई भेट्न गएँ । भाइ छिँडीमा बसेर खाना खाँदै थियो । मैले भाइलाई आइसोलेसन केन्द्रमा जानलाई अनुरोध गरेँ । तर, उहाँले केही जवाफ दिनुभएन । भाउजूलाई बोलाएर भन्न लगाएँ । तर, भाइको दिमागले काम नगरेको रहेछ । उहाँले हामीलाई केही जवाफ दिनुभएन र खाना खान सकिएपछि भाइ फटाफट जानुभयो । त्यसपछि भाउजूसँग आवश्यक सामानहरूको लिस्ट लिएँ । लामो लिस्ट रहेछ । मैले नजिकैको पसलमा ती सामानहरू लिनको लागि लिस्ट दिएँ । पसलको दाइ पनि परिचित व्यक्ति नै थिए अनि छिमेकी पनि । उहाँले लिस्टअनुसारका सामानहरू प्लास्टिकको झोलामा हाल्न थाल्नुभयो । एकैछिनमा उहाँ रिसाउनुभयो । उहाँले भन्नुभयो, “मान्छेलाई जति सुविधा दिए पनि नपुग्ने रहेछ । यस्तो कोभिडको समयमा त अत्यावश्यक सामानहरूमात्र मगाए पनि हुने हो । राम दाइले त नचाहिने सामानहरू पनि मगाउनुभएको रहेछ । होइन जनप्रतिनिधिहरूलाई त नोकर नै सम्झने हुन् कि क्या हो ? । आवश्यक चामल, दाल, साबुन, मास्क, स्यानिटाइजर, नुन, खुर्सानी, तरकारी, गेडागुडीमात्र मगाए भइहाल्यो । यहाँ त ट्वाइलेटमा हाल्ने हर्पिक, ब्रुस, तेजाव पनि मगाउनुभएको छ । यस्तो बेलामा हार्डवेयर पसल खोल्दैन भन्ने पनि थाहा छैन कि के हो, राम दाइलाई । अनि कुरकुरे पनि मगाएको रहेछ । ल, ठीक छ कुरकुरे त बच्चालाई भइहाल्यो । हर्पिक, ब्रुस, तेजाब पनि अहिले माग्ने चिज हो । पसलको दाइको कुरा सुनेपछि मैले होइन होला भन्दै लिस्ट मागेँ । उहाँले लौ हेर्नुस् भन्दै दिनुभयो । मैले लिस्ट हेरेँ । हो रहेछ । मलाई पनि अलि रिस उठ्यो । किन ट्वाइलेटको सामान मगाएको होला भनेर । कोरोनाबाट मुक्त भएपछि आफै लिन जानुपर्ने सामान पनि मगाएको देख्दा मलाई अलि रिस उठ्यो । मैले भनेँ, “यहाँ भएको मात्र दिनुस् न दाइ तपाईँले । कोरोना लागेको मान्छेसँग रिसाएर हुन्छ र ?”
दाइले भन्नुभयो, “रिसाएको होइन । तपाईँ किरियामा बसिरहनुभएको छ । बाहिर आउनै नहुने मान्छे आएर सामान लिन आउनुभएको छ । अनि त्यसमाथि आवश्यक सामान मात्र नमगाइकन पछि भए पनि हुने सामान माग्नु भनेको त तपाईँलाई हेपेको होइन ? मैले त सित्तैमा दिनुपर्ने होइन नि । मानिसमा अलिकति भए पनि माया, ममता र नैतिकता हुनुपर्छ ।” मैले भइहाल्यो दिनुस् भनेर सबै समान लगेर राम दाइलाई दिएँ ।
सामानहरू करिब पाँच हजार रूपैयाँको जति थियो । सामान पु¥याएको केही समयपछि भाउजूको नम्बरबाट फोन आयो । फोन रिसिभ गर्नेबित्तिकै उहाँले भन्नुभयो, “होइन वडाध्यक्ष भाइ, तपाईँलाई त्यत्रो लामो लिस्ट दिएको त, सामानहरू नै आएन । अनि खुर्सानी पनि नक्कली पठाउनुभयो । के हो ? वडा कार्यालय र नगरपालिकाले सामाजिक सञ्जालमा घर–घरमा स्वयम्सेवकहरूले रासन दिने भनेर प्रचार गर्ने अनि भाइले हामीलाई चाहिने सबै सामानहरू नदिने ? खोइ हर्पिक, ब्रुस र तेजाब । खुर्सानी त्यो सुकुलढोकाको इनारसँगैको पसलबाट ल्याउनु के । त्यहाँ भए अलि बढी पिरो हुने खालको छ । तपाईँ लोकल पसलबाट ल्याएको खुर्सानी काम छैन भाइ ।”
भाउजूको कुरा सुन्ने बित्तिकै मलाई रिस उठ्यो । तापनि, मैले नरम स्वरमै भनेँ, “भाउजू अहिले लकडाउन चलिरहेको तपाईँलाई थाहा नै छ । म आफू पनि किरियामा बसेको छु । अनि सुकुलढोकाको त्यो पिरो खुर्सानी पसल कहाँ खुल्छ ? अनि सूर्यविनायकको हार्डवेयर पसल कहाँ खुल्छ ? अनि कसरी हर्पिक, ब्रुस र तेजाव ल्याउने ? बरु तपाईँलाई ट्वाइलेट सफा गर्ने हो भने वडा कार्यालमा क्लोरिन छ, त्यसले सफा गर्नुहोला ।”
उहाँलाई मेरा जवाफ सायद चित्त बुझेन । उहाँले तुरुन्तै जवाफ फर्काउनुभयो, “होइन मलाई लकडाउनको के मतलब । तपाईँहरूको वडा वडामा पचास जना स्वयम्सेवकहरू छन् नि ! अनि ती स्वयम्सेवकहरू के गर्दै छन् ? यस्तो बेलामा जनताको सेवा गर्नको लागि त हो नि ! मगाएको सामान पनि दिन नसक्नेले घर–घरमा सामान पु¥याउने भनेर किन प्रचार गर्नुपर्ने हो ?”
मैले भनेँ, “म तपाईँलाई ट्वाइलेटमा हाल्ने क्लोरिन र वडामा भएको एउटा हर्पिक पठाइदिन्छु अहिले नै । तपाईँ नरिसाउनु होला । बरु रामदाइलाई अलि ख्याल गर्नुस् । तपाईँ र नानु बाबुलाई अलि सुरक्षित राख्नुहोला ।” उहाँले हस् भनी फोन राख्नुभयो ।
जनप्रतिनिधिहरूले किरियाको समयमा पनि घर बस्न नपाइने रहेछ । अनि घर गएर सामान पु¥याउँदा पनि जस नपाउने रहेछ । यस्तो लकडाउन भएको अवस्थामा जसरी भए पनि सबै सामान चाहिने रहेछ । नगरपालिकाले त अत्यावश्यक सामान पो पु¥याउने आदेश दिएको हो हामीलाई । सबै सामानहरूकहाँ पु¥याउन सकिन्छ र ? टोलमा कस्ता कस्ता मान्छे पनि हुँदोरहेछ । मैले वडामा कल गरेँ र वडाको एउटा हर्पिक र सुकुलढोकाबाट एउटा पिरो खुर्सानीको पाकेट ल्याउन निर्देशन दिएँ । नभन्दै वडाका कार्यालय सहायक एउटा नयाँ हर्पिक र खुर्सानीको प्याकेट लिएर आउनुभयो र भाउजूको घरमा पु¥याइदिनुभयो ।
त्यसको केही दिनपछि फेरि भाउजूले अर्कै लामो लिस्ट दिनुभयो । हामीले उहाँलाई करिब एक्काइस दिनसम्म पटक–पटक गरी सामानहरू पु¥याई घरमै रहनलाई सहयोग ग¥यौँ । करिब एक महिनापछि मैले राम दाइलाई बाहिर बाटोमा फूर्तिलो देखेँ । मैले कोरोनालाई जितेर आएँ भन्ने भाव उहाँको अनुहारमा झल्किन्थ्यो । तर, उहाँले हामीलाई धन्यवादसम्म दिनुभएन । तापनि, उहाँ स्वस्थ भएको हेर्न पाएकोमा खुसी र गर्व लाग्यो र उहाँलाई बधाइ दिएँ । सम्भवतः उहाँलाई चाहिने सबै सामानहरू पु¥याउन नसकेकोले रिसाएको अनुभव गरेँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *