भर्खरै :

ठाउँको नाम परिवर्तन गर्न नहुने

भक्तपुर नपा वडा नं. १० स्थित लाँचा पलि
कुनै ठाउँको नामले इतिहास बोकेको हुन्छ, संस्कृति बोकेको हुन्छ, किंवदन्ती र भूगोल बोकेको हुन्छ भने कुनै ठाउँको नामले छुट्टै पहिचान र गौरव बोकेको हुन्छ । कुनै ठाउँको नाम कसरी रहन गयो ? त्यसको महत्व के छ भन्ने खोतल्ने जिज्ञासा हुनु स्वाभाविक हो । कुनै वस्तु, जातजाति, समाज, संस्कृति, इतिहास आदिको नाम र विकासको उत्थान र पतनबारे जान्ने, बुझ्ने, सुन्ने इच्छा र उत्सुकता सबैमा हुने गर्दछ । कुनै ठाउँको नामको ऐतिहासिक, सांस्कृतिक, आर्थिक, सामाजिक, वैज्ञानिक कारण र महत्व हुने हुँदा भइरहेको ठाउँको नाम बदल्नु या त्यसको ठाउँमा अर्काे नाम राख्नु हुँदैन । कसैले जानेर वा नजानेर ठाउँको नाम फेरबदल गरेमा या अर्काे राखेमा त्यसको ऐतिहासिक, सांस्कृतिक, सामाजिक, आर्थिक, भौगोलिक, सामाजिक महत्व लोप भएर जानेछ । आज जानेर नजानेर विकास र आधुनिकताको नाममा देशी विदेशीको प्रभाव र दबाबमा अन्ध नक्कल गरे नेपालको आˆनो छुट्टै पहिचान, चिनारी र महत्व मेटिनेछ ।
प्रसङ्ग भक्तपुर कमलविनायकबाट करीब पाँच सय मिटर पूर्वतिर मूलबाटोमा अवस्थित ‘लाँचा पलि’ (पाटी) को हो । विगतमा यस पाटीलाई समयमा जीर्णोद्धार गर्न नसक्दा, नगर्दा भत्केको अवस्थामा रहेकाले यसलाई कसैले जानेर, नजानेर भत्केको पाटी भनियो । पछि नाम लिन सहज हुने गरी कसैले त्यसलाई भत्क्या पाटी भनियो । यो पाटी पहिले गोरेटो बाटोसँगै रहेको हुँदा त्यसको नाम लाँचा पलि (पाटी) हुन गएको भनाइ सुनिन्छ । त्यो ठाउँ प्रजापति (कुमाले) हरूको माटोको भाँडा बनाउने माटो लिने ठाउँ हो । भाँडो बनाउने माटो र त्यो भाँडोलाई सुकेपछि राम्रो बनाउन पोत्ने (रङ्गाउने) माटो लाँचा लिने ठाउँमा बनाइएको पाटी भएकोले त्यसको नाम लाँचा पलि (पाटी) हुन गएको हो कि भन्ने गरिन्छ । यसको सही के हो त्यो संस्कृति र इतिहासविद्हरूले अनुसन्धान गरेर यथार्थ बाहिर ल्याउनेछन् ।
संस्कृति र इतिहासका अध्येता एवम् युवा संस्कृृतिविद् ओम धौभडेलका अनुसार पाटीलाई नेपालभाषामा फल्चा (पाटी) भनिन्छ । पाटीमा स्थानीय ज्येष्ठ, अशक्त नागरिकहरू आराम गर्ने र घाम ताप्ने गर्दछन् । खेती सिजनको समयमा कामको लागि बाहिर गाउँबाट आउने कृषि मजदुरहरू बस्ने, सुत्ने गर्दछन् भने अनाथ, असहाय मानिसहरू पनि बास बस्ने गर्दछन् । यसमा स्वास्थ्यको हिसाबले बस्न सहज हुने गरी काठका फल्याकहरू बिछ्याइएको हुन्छ । यस्ता पलिहरूमा भक्तपुर बाहिरका या अन्य जिल्लाका नागरिकहरू काम विशेषले, व्यापार व्यवसाय गर्न भक्तपुर सहर आउँदा राति बास बस्न र खाना बनाउन प्रयोग गरिन्छन् ।
यो लाँचा पलि (पाटी) लाई अहिले भक्तपुर नगरपालिकाले स्थानीय जनताको साथ र सहयोगमा उपभोक्तामार्फत पुनः निर्माण गरिसकेको छ । त्यसको अगाडि परम्परागत शैलीमा आकर्षक बगैँचा बनाइएको छ । यो पाटीको दक्षिणपट्टि बाटो वरिपरि÷नजिकै ढुङ्गेधारा थियो जुन पुरिएको अवस्थामा छ । यसबाट आउने पानी बास बस्ने र बटुवाहरूले खाना पकाउने र खान उपयोग गर्ने गर्थे । त्यस्तै त्योभन्दा पूर्वतिर खरिपाटी सैनिक व्यारेकको छेउनिर मूल बाटोमा नै ह्वगाँ पलि रहेको छ भने त्यसभन्दा अलि पूर्वतिर व्यारेकभित्रै मूल बाटोको उत्तरपट्टि छेउमा टुवारे पलि रहेको छ । अहिले भग्नावशेषको रूपमा बाँकी होला । त्यो पाटीको अगाडि बाटोपारि दक्षिणतिर व्यारेकभित्र ढुङ्गेधारा थियो । त्यस्तै माथि मुहानपोखरीसम्म ठाउँ–ठाउँमा पलि र ढुङ्गेधाराहरू थिए । कति लोप भइसकेका छन् । ती ‘पलि’ पाटीकै नामबाट ठाउँको नाम रहेको पाइन्छ । यता भक्तपुर नगरतिर मूलढोका बजारको ढुङ्गेधारासँगै पूर्वपट्टि ‘पलि’ (पाटी) भएको बताइन्छ । त्यस्तै ढुङ्गेधारासँगै पूर्वजहरूले पाटीहरू बनाएका थिए । भक्तपुुरका राजा जितामित्र मल्लको पालामा नगरकोट फेदी मुहानपोखरीबाट राजकुलो बनाई ती सबै ढुङ्गेधारामा पानी आइरहेको इतिहासका जानकारहरू बताउँछन् । त्यस्तै भक्तपुर नगर वरपर ठाउँ–ठाउँमा बाहिरबाट आउने नागरिकहरू बास बस्न पुर्खाहरूले बनाएका गःपलि, नःपलिजस्ता थुप्रै पलिहरू (पाटी) अहिले पनि पाइन्छन् । त्यस्तै पाटीको नामबाट अहिले त्यस टोल वा ठाउँको नाम चिनिन्छ ।
हामी जिल्लाको दक्षिणतिर गयौँ भने सूर्यविनायक, घ्याम्पे डाँडा, रानीकोट, बाघ भैरव, डोलेश्वर आदि देवता स्थल, भूगोल र इतिहाससँग सम्बन्धित ठाउँको नामकरण गरिएको पाइन्छ । ती ठाउँहरू धार्मिक र पर्यटकीय महत्वका छन् । घ्याम्पोजस्तो अग्लो ठाउँ देखिएकोले त्यस ठाउँको नाम नै घ्याम्पे राखिएको थियो । अहिले त्यहाँ घ्याम्पोको प्रतीक आकर्षक घ्याम्पो बनाइएको छ । त्यसको पेटतिर उपयुक्त ठाउँमा डेढ, दुई वर्ग फिटको भैरवको सिमेन्ट बुट्टाको सट्टा तामाको मुकुण्डो राख्न सके त्यसको अझ महत्व र आकर्षण बढ्ने हो कि ! भैरव महादेवको अर्काे रूप पनि हो किनकि घ्याम्पो देवताको प्रतीक मानिन्छ । त्यसमा घ्याम्पोकै रङ्गरोगन गर्नु उपयुक्त हुन्छ । बत्ती बालेर आकर्षक बनाउनको लागि हो कि ! बत्तीको उपकरण नराखिकन त्यसको लागि वरिपरि नजिकै उपयुक्त ठाउँमा फोकस लाइटको बत्ती राखेर त्यसबाट रङ्गीचङ्गी उज्यालो केन्द्रित गर्न पाए राति घ्याम्पोको दृश्य राम्रो र आकर्षक हुने थियो । सूर्यविनायक तलतिर सिमी गाले (सिमीको जस्तो खाल्डो भाग) माथिको उठेको ठाउँ (टार) लाई त्यहाँका जनताले दार्जिलिङ हाइट नाम राखिएको सुनिन्छ । त्यसको ठाउँमा सिमीटार, डोलेश्वरटार, सिपाटार, डोलेश्वर हाइट, सूर्यविनायक हाइट वा स्थानीय पहिले चलेको नाम भए स्थानीय तह वा स्थानीय आदिवासी जनतासँग सोधेर त्यसको नाम राख्दा ठीक हुने हो कि !

Leave a Reply

Your email address will not be published. Required fields are marked *