भर्खरै :

सहिद दिवस र युगको आवश्यकता

देशका लागि आफूलाई बलिदान दिने सहिदहरूको सम्झनामा सोमबारदेखि सहिद सप्ताह सुरु भयो । सायद कोभिड महामारीको कारण सहिदको सालिकमा माल्यार्पणबाहेक खास गतिविधि भएको पाइन्न । हुन त सहिद दिवस औपचारिकतामा सीमित भएको अहिलेमात्र होइन । सहिद दिवस मनाउने तर सहिदको बाटोमा नहिँड्नु पाखण्डबाहेक के होला ¤ गरिबजन मरून्, आफ्नो स्वार्थमा फिटिक्कै धक्का नहोस् भन्ने शासक पार्टीका नेताहरूको प्रवृत्ति नै नेपालीको दुःखको कारण हो ।
देशको निम्ति मर्न तयार हुनु आफैमा अतुलनीय र महान कर्म हो । ज्यानको अर्पणभन्दा अरू ठूलो अर्पण के होला ¤ सबभन्दा सर्वोच्च त्यागको नमुनाको नाम हो शहादत । आजको स्वार्थीको हालिमुहाली भएको समाजमा, देशको बागडोर सम्हालेका नेताहरूको अल्पदृष्टि र आफ्नो नीहित स्वार्थमा अलमलिएको देख्दा त्यस्ता महान् मानवहरूको जन्म पनि भएको रहेछ भन्ने आश्चर्य भाव उत्पन्न हुन्छ ।
शासक दलहरूको निम्ति प्रजातन्त्र मागीखाने भाँडो भएको छ । प्रजातन्त्रलाई लत्याएर सहिद दिवस मनाउनु पनि बेमेल प्रतीत हुन्छ । आज शासनसत्तामा जानेले सहिदको भावनालाई कुल्चिरहेका छन् । देश र जनताको स्वतन्त्रताको सपनामाथि बलात् आक्रमण सत्तामा जाने नेताहरूले गरिरहेका छन् । देशको सार्वभौमिकता बन्धकमा राखेर आफ्नो तुच्छ स्वार्थ पूर्ति गरिरहेका छन् ।
शुक्रराज शास्त्रीले टेकू खरिबोटमा सहादत प्राप्त गर्नुभएको थियो । जेलसजाय भोगिरहेकै बेला राणा शासनविरुद्ध देश विदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाई शास्त्रीलार्ई १९९७ माघ १० गते टेकू पचलीस्थित खरिबोटमा झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो । सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा र गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभाभगवतीमा गई माल्यार्पण कसैले गर्दैमा उसले सच्चा श्रद्धाञ्जली अर्पण गरेको ठहरिन्न ।
विसं १९५० मा बनारसमा जन्मनुभएका शुक्रराज शास्त्री धार्मिक गतिविधिमार्फत जहानियाँ शासनविरुद्ध जागरण अभियानमा सक्रिय हुनुहुन्थ्यो । यसै क्रममा काठमाडौँको इन्द्रचोकमा प्रवचनका माध्यमबाट जनतालाई प्रजातन्त्रको पक्षमा उक्साएको आरोप लगाएर उहाँलाई पक्राउ गरिएको थियो । यसमानेमा धार्मिक गतिविधिमार्फत देशमा राजनीतिक परिवर्तनको आह्वान गर्ने शास्त्रीको ‘पुनर्जन्म’ को आवश्यकता अनुभव हुन्छ । धर्मको नाममा देशमा शोषण भइरहेको अवस्थामा धर्मलाई नै उपयोग गरी थप राजनीतिक परिवर्तनको अभियान सञ्चालन गर्नुपर्ने युगको आवश्यकता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *