भर्खरै :

रासायनिक मल कारखाना सरकारले नै खोल्नुपर्छ

स्वदेशमै रासायनिक मल कारखाना खोल्नुपर्ने माग नेपाल मजदुर किसान पार्टीको हो, नेपाल क्रान्तिकारी किसान सङ्घको हो । नेपालमै रासायनिक मल कारखाना खोल्नुपर्ने नेमकिपाको माग आजभन्दा चार दशकअघिको हो । मल कारखाना सरकारले नै खोल्नुपर्छ । सरकारले मल कारखाना खोले जनतालाई पनि राहत हुन्छ, सरकारको आयस्रोत पनि बढ्छ । मल कारखाना खोलेपछि जस पनि सरकारले नै पाउँछ । यो सरकारको आफ्नो दायित्व हो, कर्तव्य हो । हरेक उद्योग र कलकारखाना निजी क्षेत्रलाई मात्र दिनु हुँदैन । देशको लागि उत्पादन गर्नुपर्ने सबै काम निजी क्षेत्रलाई दिने भए सरकारको जिम्मेवारी के ? के छिनछिनमा सरकारको नेतृत्व फेर्नु नै सत्तारुढ दलको काम हो ? के भागबन्डामा अल्झेर शासन गर्नुमात्र सरकारको काम हो ?
नेकाको नेतृत्वमा बनेको सरकारमा रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी र राजमोजस्ता आफूलाई क्रान्तिकारी, कम्युनिस्ट भनिने दलहरूले सरकारले नै मल कारखाना खोल्न आग्रह गर्नुपर्छ र दबाब दिनुपर्छ । सरकारको नेतृत्व गर्ने दलले सरकारमा सामेल रहेका दलहरूसँग कुनै नयाँ कार्य गर्न परामर्श लिनुपर्छ । प्रम देउवाले सत्तासीन दलहरूको परामर्शविना कुनै नयाँ कुरा गर्न पाउँदैन र गरिएको खण्डमा सोको विरोध गर्नुपर्छ । प्रम निवास बालुवाटारमा प्रम देउवाले रासायनिक मल कारखाना खोल्न निजी क्षेत्रलाई आग्रह गरे । त्यो आग्रह प्रम देउवाको मात्र हो कि सत्तारुढ दल सबैको हो ! के त्यो आग्रहमा सत्तासीन अन्य दलहरूको अनुमति छ ?
मल कारखाना खोल्न पहल गर्ने र अगुवाइ गर्ने जिम्मेवारी सरकारले नै लिनुपर्छ । मल कारखाना खोल्ने जिम्मा निजी क्षेत्रलाई दिनु सरकार पन्छिनु हो । बरु सरकारले निजी क्षेत्रको साथ र सहयोग लिन सकिन्छ । सरकारले उद्योग, कारखाना खोले घाटा हुने र निजी क्षेत्रले सञ्चालन गरे नाफा हुने भ्रम सत्तासीन दलका नेताहरूमा छ । त्यो भ्रम सबभन्दा बढी नेकामा नै देखिन्छ । सरकारले चलाएमा घाटा या डुब्छ भन्ने तर्कले सरकारले खटाएका प्रबन्धक, निर्देशक या जिम्मेवार व्यक्तिहरू इमानदार नभएको थाहा हुन्छ । सरकारले राखेका उच्चपदस्थ व्यक्तिहरूले अनियमितता र चुहावट गरेको या अनावश्यक मानिस राखेको थाहा हुन्छ । यसको कारण सरकारले नियुक्त गरेका उच्चपदस्थ व्यक्तिहरू व्यक्तिगत स्वार्थमा डुब्नु हो, देश र जनताप्रति जिम्मेवार नबन्नु हो । अतः रासायनिक मल कारखाना सरकारले नै स्वदेशमा खोल्नुपर्छ, सरकारकै लगानीमा खोल्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *