भर्खरै :

मेडिकल माफियाहरू र जनताको मृत्यु

नेपाल समाचारपत्रले माघ २, २०७८ मा सिंहदरबारभित्रै अभद्र व्यवहार भन्ने शीर्षकमा समाचार प्रकाशित ग¥यो । मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको बारे सर्वपक्षीय छलफलबाट फर्किने क्रममा काठमाडौँ मेडिकल कलेजका कार्यकारी अध्यक्ष एवं नेपाल मेडिकल काउन्सिल तथा एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका महासचिव डा. सुनिल शर्मामाथि विद्यार्थीहरूले अभद्र व्यवहार गरेको घटनाले मेडिकल माफियाहरू त्रसित भए । चोर प्रहरीदेखि डराउनु स्वाभाविक छ ।
नेपालका मेडिकल कलेजले नाफाको निम्ति चर्को शुल्क उठाउँदै आएको छ । भर्नाको समयमा रु. ४० लाख लाग्ने भने पनि फेरि शुल्क तिर्नुपर्ने बताइयो । एउटा साधारण परिवारका व्यक्तिले ४०–४० लाखको व्यवस्था गर्नुपर्दा परिवारलाई मानसिक तनाव उत्पन्न हुनु स्वाभाविक हो । मेडिकल कलेजले विद्यार्थीलाई डर, धम्की र विद्यार्थीका परिवारलाई मानसिक यातना दिई नीति, नियम र कानुनलाई ठाडो चुनौती दिएको छ । यसरी गरिब जनतालाई शोषण गर्ने मेडिकल माफियाहरूलाई अभद्र व्यवहारमात्र होइन, हदैसम्मको सजाय दिनुपर्छ । यस काण्डको प्रकरण सिंहदरबारमा होइन सडक दोबाटोमा ल्याउनुपर्छ । यस किसिमको सजाय किसान आन्दोलनमा पनि देखिन्थ्यो । विद्यार्थी र अभिभावकलाई हतोत्साहित हुने गरी शुल्क असुल्ने अपराधीलाई सुरक्षा प्रदान गर्ने होइन बरु पीडित विद्यार्थीमाझ लगेर छोड्नुपर्छ र विद्यार्थीको पैसा फिर्ता गर्नुपर्छ ।
काठमाडौँ मेडिकल कलेज, नोबेल मेडिकल कलेज, विराटनगर र मणिपाल मेडिकल कलेज पोखरामा विगत डेढ महिनादेखि चिकित्सा शिक्षाका एमबीबीएस, एमडी नर्सिङ्गका विद्यार्थीहरू मेडिकल कलेजको चर्को मारमा छन् । नेपालको मेडिकल शिक्षा निजी क्षेत्रलाई सुम्पिएकोले मेडिकल शिक्षा अपराधीको खेल मैदान बन्दै छ । विद्यार्थी डाक्टर बनिसकेपछि उपचार र सेवा गर्ने होइन उसले तिरेको शुल्क कहाँबाट उठाउने भन्ने सोच्न बाध्य बनाउँछ ।
उपचार पनि चर्को हुने भयो । गरिब जनता उपचारबिना मर्नुपर्ने स्थिति हुन्छ । मेडिकल कलेजको घट्दो सार्वजनिक महत्वले पनि मेडिकल कलेजमा व्यवसायीकरणलाई बढावा दिएको हो । उनीहरू नाफाभन्दा पर केही देख्दैनन् । उनीहरू नाफाको निम्ति जस्तोसुकै अपराध गर्न तयार हुन्छन् । उनीहरूमा सर्वसाधारणको निम्ति सेवाभाव थोरै पनि हुँदैन । नाफा नै उनीहरूको अन्तिम लक्ष्य हुने गर्दछ । त्यसैले मेडिकल शिक्षा निःशुल्क हुनु आवश्यक छ । नत्र उपचारबिना जनता मर्नुपर्ने हुन्छ ।
कोरोना, चीन र क्युवा
कोभिड–१९ सँगको लडाइँ जनताको लागि जनताले गर्ने लडाइँ हो । अहिलेसम्म भएको घटनाक्रमले भाइरसलाई पूर्णतः पराजित गर्न सकेको छैन । मानिसको जीवनमा सम्भावित प्रभाव न्यूनीकरण गर्न र हाम्रो समाजमा सुव्यवस्था कायम राख्नु महत्वपूर्ण छ । कोभिड–१९ को सङ्क्रमणको निदानमा समाजवाद र पुँजीवादको भिन्नता देखिएको छ । चीनले समयमै खोप अनुसन्धान गरी सबै देशहरूमा खोप वितरण गरी अन्तर्राष्ट्रिय कर्तव्य पूरा ग¥यो र आफ्नो अनुभव र भौतिक उपचार सामग्रीसमेत मित्र देशहरूसँग आदानप्रदान ग¥यो । समाजवादको लहरले गर्दा विश्वकै कामदार वर्गले सहजरूपमा आफ्नो जीवन बिताउन पाइरहेका छन् । कोभिड–१९ को पहिलो लहरमै क्युवाली डाक्टर र स्वास्थ्यकर्मीहरू संसारको कुना काप्चा पुगेर सेवा गरे । यदि चीनले खोप आविष्कार र उत्पादनलाई जोड नदिएको भए हामीमध्ये धेरैले खोप लगाउन पाउने थिएनौँ । नयाँ ओमिक्रोनले धेरै सास्ती र पीडा दिन्थ्यो । धेरै घातक नभए पनि खोप नलगाएका जनतामा त्रास बढ्ने थियो । पुँजीपति तथा व्यापारी कालाबजारियाहरूले देशका जनतालाई अझ धेरै ठग्थे । अवस्था अत्यन्तै भयावह हुने थियो ।
अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकार पुँजीले सहयोगको नाममा थिचोमिचो र हस्तक्षेपको कार्यलाई बढावा दिन्थे । एकै दिन दस हजार जनाभन्दा बढीमा कोरोना सङ्क्रमण फैलिएको छ । नेपाल सुरुदेखि नै उच्च जोखिममा देखिन्छ । सङ्क्रमणको दर धेरै भए पनि दुवै डोज खोपले गर्दा केही मात्रामा सहजताको अनुभूति विश्वका आम जनताले लिइरहेका छन् । कोभिड–१९ महामारीविरुद्ध चिनियाँ जनताको सङ्घर्ष र विजय एवम् संसारका राजनीतिक दलहरूसँग आफ्नो अनुभव र उपलब्धि आदानप्रदान गर्ने कार्यले संसारलाई आश्चर्यचकित मात्र बनाएको छैन बरु कठिनाइ सामना गर्ने आशाको किरण बनेको छ । समाजवाद चिनियाँ जनताको लागि मात्र नभई विश्वकै जनताका लागि एक महत्वपूर्ण पाटोको रूपमा देखिएको छ । अहिले विश्वकै सचेत कामदार जनताले यो अनुभव गर्दै छन् । चीनले विकसित देशहरूलाई खोप उपलब्ध गराई अन्तर्राष्ट्रिय सहकार्य दृढतापूर्वक अघि बढाएको देखिन्छ । चीनको यो सौहार्दपूर्ण व्यवहारले आज संसारका कामदार जनता र विश्वकै कम्युनिस्ट पार्टीमा आशाका किरणहरू पुग्न थालेको छ ।
विश्वलाई संस्कार दिने, सहयोग गर्ने, भाइचाराको सम्बन्ध बढाउने भरपर्दाे छिमेकीको रूपमा हामीले चीनलाई लिनसक्छौँ । यसरी चीनले खोप अन्तर्राष्ट्रवादको भूमिका निभाएर विश्वको मन र भावना जितेको छ । जनस्वास्थ्य र स्वास्थ्य विज्ञान क्षेत्रमा चीन र क्युवाले एक अर्काेलाई टेवा पु¥याउँदा विश्वकै जनताको स्वास्थ्यमा सहयोग पुगेको देखिन्छ ।
cartoon: Himalkhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *