भर्खरै :

सहिदको सपना र भावना

माघ १६ गते नेपाली जनताले आ–आफ्नै तरिकाले सहिद दिवस मनाउँदै छन् । सहिद दिवस मनाउनु भनेको वर्षको एकचोटि श्राद्ध गरेजस्तै कार्यक्रम गरेरमात्र हुँदैन । उनीहरूको भावनाअनुसार नेपाली जनताको गाँस, बास, स्वास्थ्य, शिक्षा, रोजगारीको बन्दोबस्त गर्नुपर्छ । निरङ्कुश राणा शासनको विरुद्धमा देशमा प्रजातन्त्र प्राप्तिको लागि लड्दा लड्दै वि.स. १९९७ सालमा चार जना वीर सपुतहरूले सहादत प्राप्त गरेका थिए । ती वीर सपुतहरूले निरङ्कुश राणा शासनको अगाडि मृत्युलाई स्वीकारे तर शिर झुकाएनन् ।
वि.स. १९९७ माघ १० गते राणाहरूले सहिद शुक्रराज जोशी (शास्त्री) लाई टेकु पचलीस्थित खरिको बोटमा झुन्ड्याएर मारेका थिए भने वि.स. १९९७ माघ १३ गते सहिद धर्मभक्त माथेमालाई काठमाडौँको सिफलमा बकाइनाको रुखमा झुन्ड्याएर मारेका थिए । झुन्ड्याइएको पासो फुट्किएर, रुखको हाँगो लत्रेर, भाँचिएर पटक–पटक बचेका धर्मभक्तलाई झुन्ड्याउन आदेश दिन नजिकै उभिएका नर शमशेरले पछि अरू जल्लादहरू लगाएर कुटीकुटी धर्मभक्तलाई मारेका थिए ।
वि.स. १९९७ माघ १४ गते काठमाडौँको शोभा भगवती मन्दिरनिर विष्णुमतीको बगरमा बाँसको खम्बामा बाँधेर पहिला दशरथ चन्द र त्यसपछि गंगालाललाई उही नर शमशेरले गोली ठोकेर मारेका थिए । गंगालाल श्रेष्ठ भर्खरको २२ वर्षको केटो भएकोले फकाउँदा, तर्साउँदा डराएर माफी माग्छ कि भन्ने सोचले सम्झाउने र तर्साउने प्रयत्न गरिएको थियो । नर शमशेरहरूले गंगालाललाई माफी माग्नभन्दा गंगालालले ती नरपिपासुलाई जनतालाई दुःख कष्ट दिने तिमीहरू अपराधी हौ, अत्याचारी हौ, माफी मैले होइन तिमीहरूले माग भनेर जवाफ दिएका थिए । त्यसको झोकमा उही नर शमशेरले पहिलो र दोस्रो गोली घुँडामुनि, तेस्रो गोली तिघ्रामा, चौथो गोली पेटमा र पाँचौँ गोली कोखामा हानेर हत्या गरेका थिए । गंगालालको अमानवीय तरिकाले हत्या गरिएको कुरा इतिहासमा पढ्न पाइन्छ । यी सहिदहरूले व्यक्तिगत स्वार्थको निम्ति, पदको निम्ति र पुनः भौतिक जीवन पाउनको निम्ति माफी मागेनन् । उनीहरू देशमा प्रजातन्त्र ल्याउनको निम्ति सहिद भएका थिए ।
तर, आज यी सहिदहरूको नाम जपेर शासक दलका नेताहरूले तिनीहरूको सपना र भावनामाथि घात गरिरहेका छन् । यी नेताहरू हिजो विद्यार्थी छँदा यी नै सहिदहरूको बलिदानबाट प्राप्त ऊर्जाले निरङ्कुशताविरुद्ध जीवन मरणको सङ्घर्ष गरेका थिए । टाउकोमा कात्रो बाँधेर आन्दोलन गरेका थिए । सहिदको त्याग सपना र भावना पूरा गर्न उनीहरूले नै हिजो आफूहरू शिक्षक छँदा, प्राध्यापक छँदा विद्यार्थी, समाजका सबै वर्ग र पेशाका जनतालाई निरङ्कुश पञ्चायती व्यवस्थाको विरुद्धमा होम्न प्रेरित गरेका थिए । आज यिनीहरू नै राणा र पञ्चायती व्यवस्थाको ठाउँ ओगट्न गइरहेका छन्, त्यसलाई अझ माथ गर्दै छन् । यिनीहरूले पटक–पटक सत्ताको स्वाद चाखिसकेका छन्, अझै चाख्न हात थाप्दै छन् । तर, यिनीहरूले यी सहिदका सपना र भावनाअनुसार जनताले अनुभव गर्नसक्ने गरी केही काम गर्न सकेका छैनन् । नेपालमा बहुसङ्ख्यक जनता गरिब छन् । हिमाल, पहाड र तराईका गाउँ–गाउँमा गरिब जनताको जीवन हेरे थाहा हुन्छ । यिनीहरू गाउँमा किन जाँदैनन् र बस्दैनन् ? यिनीहरू खाली आफ्नो परिवार, नातागोता देख्छन् अनि गुट उपगुटलाई मात्र देख्छन्, हेर्छन् । प्रधानमन्त्री र मन्त्री हुन उनीहरूले पार्टी फुटाएका छन् । यो प्रजातन्त्रको मर्म थिएन, सहिदको सपना र भावना थिएन ।
शासक दलका नेताहरू सत्तामा नपुग्दासम्म सहिदको नाम लिन्थे र बखान गर्थे । सहिदको सपना शिरमा राख्थे, आन्दोलनमा लाग्थे । उनीहरूमध्ये कोही तीन चोटि प्रम, कोही चार चोटि प्रम त कोही पाँच चोटि प्रम भइसकेका छन् । त्यसैले उनीहरू अब राजनैतिक आन्दोलन आवश्यक छैन, त्यसको औचित्य छैन भन्न थालेका छन् । उनीहरू गरिबहरूको हित गर्ने, सेवा गर्ने समाजवादको ‘स’ पनि उच्चारण गर्न चाहँदैनन् ।
उनीहरूले स्वदेशी र विदेशी शक्तिको प्रभाव र दबाबमा प्रजातन्त्रको जग बलियो बनाउने र भविष्यको नेतृत्व तयार पार्ने काम पनि गर्न छोडे । सत्तासीन दलहरूबाट देश र जनताप्रतिको घात प्रतिघात भइरह्यो, विकृति, विसङ्गतिले ठाउँ पाइरह्यो । शासक दलहरू प्रजातन्त्रका हिमायती या प्रजातन्त्रवादी हुनसकेनन् ।
हिजो ओलीले संसद् विघटन गर्दा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले त्यसलाई औचित्यपूर्ण कदम भनेका थिए । किनकि, सरकारको बागडोर सम्हाल्ने व्यक्तिलाई त्यो भरेको बन्दुक (अधिकार) आवश्यक हुन्छ । संसदीय व्यवस्था चलेको मुलुकमा प्रमलाई संविधानतः त्यो अधिकार दिइएको हुन्छ । नत्र, उनले सरकार चलाउने सामथ्र्य राख्दैन भनेका थिए । यो सरकारमा दक्षिण र पश्चिम सरकारको प्रभाव र दबाब छैन भनेर भन्न सकिने अवस्था छैन । सबैलाई जसरी पनि प्रधानमन्त्री, मन्त्री, प्रधानन्यायाधीश पद चाहिने भएका छन् । प्रजातन्त्रको आधार संवैधानिक सर्वाेच्चतालाई कुण्ठित गरेर दिन, समय र व्यक्ति तोकी राष्ट्र प्रमुखलाई आदेश दिएर हुकुमी परमादेश गर्नु र प्रधानमन्त्री बन्नलाई पार्टी फुटाउनु के सहिदको सपना र भावनामा चोट पु¥याउनु होइन ?
सबै ठाउँमा नैतिक मूल्य र मान्यता, आचरण–व्यवहार, जवाफदेहीता र पारदर्शिता छैन । अदालतमा वर्षाैँ वर्षसम्म गरिब र अशिक्षित कैदीबन्दीको सुनवाइ हुँदैन, बहस पैरवी हुँदैन । तर, धनी कैदीहरूको तुरुन्तै सुनुवाइ र बहस पैरवी हुन्छ । धनी अपराधी कैदीहरू तुरुन्तै छुटिन्छन् । न्यायाधीशहरू आफ्नो पदको मर्यादालाई बन्धकमा राखेर, कानुन व्यवसायीको छवि, नैतिकता, इमानदारितालाई धुलोमा मिलाएर दुहुनो गाई खोज्न हानथाप गरिरहेका छन् ।
स्थानीय निकायको पाँचवर्षे म्याद २०७९ जेठ ५ गतेबाट सकिँदै छ । स्थानीय निकायमा पदाधिकारी रिक्त हुने कल्पना संविधान र कानुनले गरेको छैन । त्यस्तो प्रजातन्त्रको जगलाई बलियो बनाउने संविधान र कानुनको प्रावधानलाई आफ्नो स्वार्थ अनुकूल कुण्ठित पारेर हालका परमादेशी गठबन्धनको देउवा सरकार विभिन्न बहानामा स्थानीय तहको निर्वाचनलाई पर धकेल्दै छ ।
आज उनीहरू निर्वाचनमा हार्ला भन्ने डरले, सरकारी सुविधाबाट फाल्ला भन्ने डरले स्थानीय निकायको चुनाव पर सार्ने प्रयास गर्नु प्रजातान्त्रिक पार्टीको लागि सुहाउने काम होइन । यदि उनीहरू प्रजातन्त्रवादी भएका भए, कम्युनिस्ट भएका भए निर्धारित समयमा स्थानीय निकायको चुनावको मिति घोषणा गर्नुपथ्र्यो, चुनावको वातावरण बनाउनुपथ्र्यो । उनीहरूले वीर सपुतहरूको सपना, भावना पूरा गर्न, बहुसङ्ख्यक गरिब र अशिक्षित जनताको शिक्षा, स्वास्थ्य, रोजगारी, गाँस, बासको बन्दोबस्त गर्न, शोषण र उत्पीडनबाट मुक्त गर्न कुनै चासो देखाएनन् । जनतालाई निःशुल्क शिक्षा र स्वास्थ्यमा पहुँच पु¥याउने वाचा खाएर पटक–पटक सरकारमा गए पनि गरिबका छोराछोरीहरूले निःशुल्क शिक्षा पाएका छैनन्, स्वास्थ्य उपचार पाएका छैनन् । आज पनि गरिब जनताका छोराछोरीहरू सामन्त, जमिनदारका नोकरचाकर बन्न बाध्य छन्, झुपडीमा बस्न बाध्य छन् ।
भारतको स्वतन्त्रतापछि जवाहरलाल नेहरूले हिमाली राज्यहरू नेपाल, भुटान, सिक्किम, बर्मा भारतीय सुरक्षा क्षेत्रभित्र परेको घोषणा गरेका थिए । आज भारतले सिक्किम निलिसकेको छ, भुटानको रक्षा र परराष्ट्र भारतकै नियन्त्रणमा छ । संविधान सभाबाट संविधान घोषणा गर्ने दिन नजिकिँदै गर्दा २०६९ वैशाखमा भारतका पूर्वसैन्य जनरल अशोक मेहताले तराईका २२ जिल्लालाई दुई वा तीन प्रदेश बनाउन नेका, एमाले र माओवादी नेताहरूलाई सुझाव दिएका थिए । उनी तराईलाई कुनै पनि हालतमा पहाडसित जोड्न नहुने पक्षमा थिए । त्यसैले सहिदहरूको सपना, भावना पूरा गर्ने काममा आजैदेखि सबै नेपाली जनता कम्मरकसेर लाग्नु आवश्यक छ ।
                                            (सन्दर्भः सहिद दिवस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *