भर्खरै :

निर्वाचन पनि वर्गीय राजनीतिक सङ्घर्ष हो

राष्ट्रिय सभा, स्थानीय तह, प्रदेश या संसद्को नै किन नहोस् हरेक निर्वाचन एक वर्गीय राजनीतिक सङ्घर्ष हो । हरेक राजनीतिक सङ्घर्ष वर्गसङ्घर्षकै सिलसिला हुने गर्छ । यस्तो निर्वाचनमा नेमकिपाले जित्ने प्रयासमात्र गर्दैन, देशका शोषितपीडित जनतालाई राजनीतिक, वैचारिक र सैद्धान्तिकरूपले शिक्षित र सचेत पार्ने काम गर्छ । राष्ट्रिय सभामा नेमकिपाको उम्मेदवारी पनि वैचारिक सङ्घर्षको एक माध्यम हो ।
निर्वाचनमा हारजित स्वाभाविक हो । तर, निर्वाचनमा जित्नुमात्रै सबथोक होइन । निर्वाचनमा जित्ने जनप्रतिनिधिहरू सिद्धान्तनिष्ठ र विचारबाट सुसूचित हुनुपर्छ । निर्वाचित जनप्रतिनिधिहरू सिद्धान्त र राजनीतिक नैतिकताले बाँधिएका भए तिनीहरू बेचिदैनन्, तिनीहरूले दल परिवर्तन गर्ने छैनन् तथा पद र पैसामा भुल्ने छैनन् । पुँजीवादी पार्टीहरू निर्वाचनमा जितेको उम्मेदवारी सङ्ख्या या प्राप्त बढी मतलाई नै सच्चाइको आधार मान्छन् । पुँजीवादी पार्टीले अनेक जालसाझी र पक्षपात गरी पैसाको खोलो बगाई उम्मेदवारी जितेको हुन्छ । तर, कुन पार्टीले कहाँ कति उम्मेदवारी जित्यो भन्ने महत्वपूर्ण होइन कुन पार्टीले कुन वर्गको पक्ष लिन्छ भन्ने कुरा महत्वपूर्ण हो । निर्वाचनमा जतिसुकै बढी उम्मेदवारी जिते पनि राष्ट्रिय चिन्तन छैन, देशभक्तिपूर्ण भावना छैन, विदेशी हस्तक्षेप र असमान सन्धि र सम्झौताको विरोध गर्दैन भने देश कसरी सुरक्षित हुन्छ ?
निर्वाचनमा जित्ने र हराउने कुरामात्र गरेर दलको उद्देश्य पूरा हुँदैन । निर्वाचनमा दलका नेता तथा कार्यकर्ताहरू जनताको घर आँगनमा पुगेर सभा, भेला र बैठक राख्ने हुँदा त्यसबेला सिद्धान्त र विचारको पनि प्रचार गर्नुपर्छ । सबै दलले आ–आफ्नो पार्टीको घोषणापत्र या पार्टीको सिद्धान्त र विचार प्रचार गरेका भए जनता सचेत हुन्थे । यसले छिट्टै समाज परिवर्तनमा सहयोग पु¥याउँथ्यो । तर, ठूला या सत्तासीन दलका नेता, मन्त्री, सांसद तथा कार्यकर्ताहरू सैद्धान्तिक र वैचारिक कुरा गर्दैनन् । पुँजीवादी पार्टीले यस्तो काम गर्दैन । हो, जनता राजनीतिकरूपले सचेत नभएकै कारण पैसामा बिकेका छन् र लोभमा फसेका छन् ।
निर्वाचनमा समाजवाद र पुँजीवादको भेदबारे जानकारी दिइनुपर्छ । जनताका पीडाबारे सुसूचित पारिनुपर्छ । नेमकिपाले समाजवादी प्रचार अभियानलाई निरन्तरता दिइरहेको छ । निर्वाचनमा प्रतिक्रियावादी, पुँजीवादी, साम्प्रदायिक र क्षेत्रीयवादी उम्मेदवारहरूलाई सजिलै जिताउनु हुँदैन । उनीहरूको दुश्चरित्र, जनविरोधी र उच्छृङ्खल क्रियाकलाप, आचारसंहिताविपरीतका घटनाहरूबारे जनतामाझ छ्यास्नुपर्छ । दल देश र जनताको हितमा लाग्नुपर्छ र देश र जनताप्रति समर्पित हुनुपर्छ । यस्तो अठोट र कार्यदिशा सबै दलको हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *