भर्खरै :

समाजवादउन्मुख अर्थतन्त्र नाउँमात्र

देशमा धेरै सरकारहरू फेरिए । धेरै नेताहरू प्रधानमन्त्री भए । ठूला दलका नेताहरूले पालैपालो सरकार बनाए । प्रजातान्त्रिक पार्टी, जनवादी पार्टी, ‘कम्युनिस्ट’ पार्टी आदिको सरकार बन्यो । तर, नेपालको अर्थव्यवस्थामा सुधार भएन । स्वदेशी उत्पादन खासै बढेन । अधिकांश उपभोग्य वस्तु आयात गर्नुपथ्र्यो । धेरै सामान आयात र थोरै सामान निर्यात गरेर देशको आम्दानी कसरी बढ्छ ? स्वदेशमै रोजगारीको अवसर दिन सरकारले देशका लागि आवश्यक उद्योग तथा कारखाना खोल्न सकेको छैन । अनि कसरी हुन्छ नेपाल आत्मनिर्भर !
संविधानतः देश समाजवादउन्मुख बनेको छ । तर, समाजवादउन्मुख अर्थतन्त्रको कुनै सङ्केत देखिएको छैन । सरकारले आयात र रेमिट्यान्सलाई जोड दिएर नेपाल कहिल्यै आत्मनिर्भर हुँदैन । देशको अर्थतन्त्र स्वाधीन र आत्मनिर्भर नभएसम्म समाजवादउन्मुख अर्थतन्त्र नाउँमात्रको हुन्छ । सरकारले देशको प्राकृतिक स्रोत र साधन उचित ढङ्गले उपयोग गरेको देखिँदैन । पर्याप्त जलविद्युत् उत्पादन गरिएको छैन । सरकारले कृषि उत्पादन बढाउन कृषि व्यवसाय या खेतीलाई आधुनिकीकरण गर्न सकेको छैन, पर्यटन क्षेत्रलाई पनि खासै विकास गर्न सकेको छैन ।
सत्तारूढ दलको ध्यान सत्तामा मात्र केन्द्रित रह्यो । जसरी भए पनि दल ठूलो बनाउने, बढी सीट जित्ने र सरकारको नेतृत्व गरिरहने दलको उद्देश्य भएको हुँदा देशले समयअनुसार विकास गर्न नसकेको हो । सत्तारूढ दलका नेताहरू इमानदार भएनन्, दूरदर्शी भएनन्, देश र जनताप्रति समर्पित भएनन् । सरकारी निकायका जिम्मेवार व्यक्तिहरू घुस्याहा भए, आर्थिक अनियमिततामा फसे, कमिसनमा फसे । विकासको नाउँमा आउने योजनामा बढी चुहावट भयो । योजनाकै पैसाले कार्यकर्ता पाल्ने या पैसा दिएर पोस्ने काम भयो । यसरी अनियमितता भएपछि, आर्थिक अनुशासनहीन व्यक्तिहरूको हाबी भएपछि देशको आर्थिक अवस्था कसरी मजबुत हुन्छ, सुदृढ हुन्छ ?
सरकारको कमजोरीले बेरूजु बढेको हो, आर्थिक अनियमितता भएको हो, भ्रष्टाचार र विकासमा चुहावट भएको हो । सरकारको नेतृत्व गर्ने दलका नेता, मन्त्री, सांसद र जनप्रतिनिधिहरू इमानदार नहुँदाको परिणाम हो यो । सरकारको नेतृत्व गर्ने दलका नेता र कार्यकर्ताहरू सबै इमानदार भएका भए, निःस्वार्थपूर्वक देश र जनताको सेवामा लागेका भए न भ्रष्टाचार हुन्थ्यो, न अनियमितता हुन्थ्यो । सत्तासीन दलका नेताहरू किंकर्तव्यविमूढ भएकै कारण देश बर्बादीको खाडलमा जाकेको हो । अतः देशको अर्थतन्त्रलाई सही मार्गमा लानुपर्छ, लान तयार हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *