भर्खरै :

बालबालिकाको मानसिक क्षमता कसरी बढाउने ?

बालबालिका यस धर्तीका सुन्दर सृजनाहरू हुन् । हरेक आमाबुबालाई आफ्नो बालबालिका सक्षम र उत्कृष्ट भएको हेर्ने सपना हुन्छ । तर, सबै अभिभावकले सोचेजस्तो हुँदैन । बालबालिकाको विकासमा अभिभावकको पनि महत्वपूर्ण भूमिका हुने गर्दछ । सामान्यतया बुबाआमाहरूले नै आफ्नो सन्तानको क्षमताका आधारमा विभिन्न तहमा बाँड्ने गर्दछन् । तर, हरेक बच्चाले जन्मजातै केही न केही विशेष गुण बोकेर आएको कुरा विभिन्न अनुसन्धानले देखाएको छ । आफ्नो बच्चालाई अरूसँग दाज्नु हुँदैन । यसो गर्नाले बच्चाको मनोबलमा असर पर्न जान्छ । राम्रो वातावरणमा हुर्केका बालबालिका शारीरिक र मानसिकरूपमा सक्षम र क्षमतावान हुने गर्दछन् । सही कुराको अनुसरण गरेमा हरेक बच्चाहरूले सिक्ने, सम्झने र आफ्नो व्यवहारमा पनि लागु गरी सजिलै सफलता हासिल गर्नसक्दछन् । बालबालिकाका लागि अभिभावकहरूले पनि घरपरिवारमा राम्रो वातावरण बनाउनुपर्दछ । बच्चाले सिकेन ,राम्रो अङ्क ल्याएन भनेर बच्चालाई गाली गर्ने हाम्रो बानी छ । यसमा परिवर्तन आएमा मात्र बालबालिकाको अवस्थामा सुधार आउँछ । सामान्यतया स्मरणशक्ति अल्पकालीन, क्रियाशील र दीर्घकालीन हुने गर्दछ । बालबालिकाले छोटो समयको लागि केही कुरा सम्झन्छन् र त्यसपछि फेरि बिर्सन्छन् भने कुनै कुरा दीर्घकालीन समयसम्म रहिरहने गर्दछ ।
बालबालिकाको स्मरण क्षमता बढाउन विभिन्न प्रयासहरू गर्न सकिन्छ । बालबालिकाको इच्छा के हो त्यसको बारेमा राम्रो बुझ्नुपदर्छ । अब पुरातन ढाँचामा हामी अगाडि बढ्न सक्दैनौँ । अभिभावकले चाहेजस्तो डाक्टर, इन्जिनियर, पाइलट नै बनाउन खोजेर हँुदैन । हरेक बच्चाको आ–आफ्नै क्षमता हुन्छ । उनीहरूको रुचि फरक–फरक हुनसक्छ । त्यही रुचि र क्षमतालाई पहिल्याउन सक्नुपर्छ । बच्चाको रुचि र क्षमताका आधारमा उनीहरूलाई के कुरा सिकाउने भन्ने निर्णय गर्नुपर्छ । त्यसैलाई हामी शिक्षकलाई सहजकर्ताको रूपमा हेर्ने गर्दछौँ । बच्चालाई जबरजस्ती ज्ञान भरिदिने नभई, बच्चाले सिक्न चाहेको कुरामा सहजकर्ताको भूमिकामा हामी रहनुपर्दछ । बच्चाको इच्छाअनुसार नै उनीहरूलाई सिक्ने वातावरण मिलाई दिनुपर्दछ तब बच्चाले सफलता हासिल गर्नसक्दछ । एउटै कुरा कसैले सजिलै बुझ्न सक्दछन् भने कतिपय बालबालिकालाई त्यो कठिन पनि लाग्न सक्दछ । त्यसैले बालबालिकालार्इं उनीहरूको रुचिअनुसार किताबहरू पढ्न दिने, पढेका कुराहरू व्यवहारिक उदाहरणहरू दिएर बुझाउने, अध्ययन गरेका विषयहरूको समाज कस्तोसँग रहेको छ भनी बुझाउने, उनीहरूका लागि आवश्यक ज्ञानबारे बेला–बेलामा चर्चापरिर्चचा गरे उनीहरूले ती कुराहरू लामो समयसम्म सम्झन सक्दछन् । बालबालिकालाई प्रशस्त मात्रामा पानी पिउन लगाउनु पर्दछ । घरमा बनेका खानेकुराहरू खानको लागि बढी जोड दिनुपर्छ । यसले उनीहरूको क्षमता विकासमा सहयोग गर्दछ । बालबालिकाको खानपानको साथै अभ्यास, निद्रा इत्यादिमा विशेष ध्यान दिनुपर्ने हुन्छ । निद्रा बालबालिकाको लागि महत्वपूर्ण मानिन्छ । क्रियाशील स्मृतिबाट दीर्घकालीन स्मृतिमा लैजान निद्राले बच्चालाई सहयोग गर्दछ । उसले सिकेका कुराहरू लामो समयसम्म सम्झन वा स्मृतिमा राखिरहनका लागि बालबालिका कम्तीमा ९ घण्टा सुत्नुपर्दछ । निदाइरहेको बेलामा मस्तिष्कमा रहेका कुनै पनि जानकारी पुनः प्रवाहित हुन्छ । बालबालिकालाई घरबाहिर खेलिने खेलकुद वा विभिन्न क्रियाकलापहरूमा सहभागी गराउनुपर्छ । यसले गर्दा उनीहरूको बाहिरी दुनियाँसँग सम्पर्क बढ्छ । बानी परेपछि उनीहरू बाहिरी समाजसँग परिचित हुन्छन् । यस्ता क्रियाकलापले बालबालिकाको शारीरिक र मानसिक विकासमा विशेष टेवा दिन्छ ।
बालबालिकालाई सक्षम बनाउने एउटा सिँढीको रूपमा अध्ययनलाई लिइन्छ । बालबालिकालाई अध्ययनशील बनाउन परिवारमा राम्रो वातावरणको निर्माण गर्नुपर्दछ । बालबालिकाको अगाडि अभिभावकहरूले केहधी समय किताबहरू पढेर देखाएमा उनीहरू पनि पढ्न थाल्छन् । अभिभावकले गरेका हरेक कार्यको बालबालिकाहरूले नक्कल गर्ने भएको हुनाले आफ्ना बालबालिकालाई राम्रो बाटोमा लैजान अभिभावकहरूले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् । तर, कतिपय अभिभावकहरू यो विषयमा अनभिज्ञ रहेर आफू हरक्षण मोबाइलमा रमाउने अनि बालबालिकालाई मोबाइल नहेर पढ भन्ने यस्तो क्रियाकलापले बालबालिकालाई मानसिक असर पर्न जान्छ । बालबालिकाले आफ्नो आँखाले देखेको कुरालाई बढी प्राथमिकता दिने गर्दछन् । सुनेका वा भनेका कुरामा उनीहरू विश्वास गर्न वा मान्न तयार हँुदैनन् । त्यसैले आफ्ना बालबालिकालाई कस्तो बनाउने भन्नेबारेमा अभिभावक नै जिम्मेवार हुन्छ । त्यसैले बालबालिकाको क्षमता विकासमा परिवार, स्कूल, साथीभाइ, छिमेकी सबैको बराबर भूमिका हुन्छ । अभिभावकहरू आफ्ना बालबालिकाको अगाडि साथीजस्तो भएर प्रस्तुत हुन जरुरी छ । बढी डर देखाएमा उनीहरूको मानसिक अवस्थामा नराम्रो असर पर्नसक्छ । त्यसैले बालबालिकालाई काँचो माटोसँग तुलना गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *