भर्खरै :

भक्तपुरका असुरक्षित अभिलेख– १

इतिहास निर्माणका मूल आधार शिलापत्रहरू पनि हुन् । तत्कालिक समयमा महत्वपूर्ण मानिएका सार्वजनिक स्थलका संवेदनशील स्थानमा स्थापित विभिन्नकालका शिलापत्रहरूमा आफ्नो कालका अनेक प्रामाणिक कुराहरू जीवन्तरूपले बाँचिरहेका छन् । तर दुःखको कुरो छ, इतिहासको कालप्रवाहमा कतिपय शिलापत्रहरू आफ्नो मूलस्थानबाट यत्रतत्र छरिएका छन्, टुटे फुटेका वा खण्डित अवस्थामा छन् । जमीनभित्र दबिएका अवस्थामा होलान्, मूलस्थानबाट विचलित शिलापत्रमाथि धान, गहुँ चुट्दा ढुङ्गा बजार्दा वा गुच्चा ठोक्दा निकै मिहेनत गरी कुँदिएका सुन्दर अक्षरहरू छियाछिया परेका पनि छन् । अनि त्यस्तै कतिपय शिलापत्रहरू (भक्तपुरको सन्दर्भमा अहिलेको पुस्तासम्मन् आइपुग्दा घर, पसल, मन्दिर आदिका आँगन, पेटी र सिँढी आदिमा निर्माण सामग्रीका रूपमा सामान्य ढुङ्गा सरह प्रयुक्त । ऐतिहासिक महत्व नबुझ्दा) भएका पनि छन् । ती शिलापत्रहरूमाथि असंख्य मानिसहरूले प्रत्येक दिन पाइला टेक्छन् वा कुल्चन्छन् । यस्ता केही महत्वपूर्ण शिलापत्रहरू निम्नलिखित हालतमा देखापर्छन् —
तुलाछेँ टोलको शिवदेव+अंशुवर्माको शिलापत्र
(धनवज्र बज्राचार्यको लिच्छविकालका अभिलेख (काठमाडौँ, नेपाल र एसियाली अनुसन्धान केन्द्र, विसं २०३०) को ६२ सङ्ख्या, पृ. २५३–५६ मा अनुवाद र व्याख्यासहित यस शिलापत्रको अभिलेख छापिएको छ ।)
मेरा श्रद्धेय गुरू इतिहासकार स्व. श्री धनवज्र वज्राचार्यज्यूले यस शिलापत्रको स्थान परिचय यसरी दिनुभएको छ– “भक्तपुर तुलाछेँ टोलमा यो अभिलेख कुँदिएको शिलापत्र पहिले रहेको थियो। हाल भक्तपुर सङ्ग्रहालयमा लगी यो राखिएको छ ।” (सोही, पृ.२५३)

हाल तलेजु मूलचोक बाहिरको पेटीमा रहेको शिवदेव र अंशुवर्माकालीन शिलालेख


तथापि आफ्नो मूलस्थानबाट विचलित भई ठाउँ सर्दै यो शिलापत्र अहिले जुन स्थानमा ल्याई राखिएको छ, त्यस आधारमा यसको स्थान परिचय यसरी दिनुपरेको छ– “पहिले तुलाछेँ टोलमा रहेको यो शिलापत्र पछि भक्तपुर सङ्ग्रहालयमा लगी राखिएको थियो, केही वर्ष अघिसम्मन् त्यहाँ सङ्ग्रहित वा प्रदर्शित (भक्तपुर सङ्ग्रहालयको कार्यालय बसेको मालती चोकभित्र) यो शिलापत्र अहिले भक्तपुर राजदरबारको मूलचोकको उत्तर पूर्वी कुनाको (बाहिरपट्टि) पेटीमा अवशिष्ट रूपका ढुङ्गे कलाकृतिले थिचिएर सा¥है नै उपेक्षित अवस्थामा रहेको छ ।
(केही समयपूर्व मेरा श्रद्धेय गुरु डा. श्री मुकुन्द अर्याल एवं श्री ज्ञानमणि नेपालज्यूका साथ भक्तपुर राजदरबारको स्थलगत अध्ययन अनुसन्धान गर्न जाँदा पहिले नै त्यस पेटीमा लम्पसार अवस्थामा राखिएको सो शिलापत्रमाथि त्यसरी अन्य कलाकृति खप्ट्याएर राखिएको थिएन, अभिलेख कुँदिएको पाटो उध्र्वाभिमुख अवस्थामा थियो, त्यताबाट ओहरदोहर गर्दा अभिलेखमाथि कुल्चिई अक्षरहरू नष्ट हुनसक्ने हुँदा त्यसको सुरक्षार्थ हामीले सो अभिलेख कुँदिएको पाटोलाई तल पर्ने गरी पल्टाएर राखिदिएका थियौँ, अहिले पनि उस्तै अवस्थामा छ ।)
त्यस शिलापत्रमा उत्कीर्ण अभिलेख यस्तो छः
१. स्वस्ति मानगृहादपरिमितगुणसमुदयोद्भासि–
२. तयशा बाप्पंपादानु ध्यातो लिच्छविकलकेतुर्भ–
३. (ट्टा) रकमहाराजश्री शिवदेवः कुशली खुपुङग्रामे
४. आसूर्यविध्वद्याग्रान्निवासिनः प्रधानपुरस्सरान्ग्राम–
५. कुटुम्बिन कुशलपरिप्रश्नपूर्व समाज्ञापयति विदि–
६. तम्भवतु भ (वतां यथाने) न प्रख्यातामलविपुलयशसा–
७. स्वपराक्र (मोपशमि) तामित्त्रपक्षप्रभावेन श्रीमहा–
८. सामन्तांशु (वम्र्मणा) विज्ञापितेन मयैतद्गौरवाद् युष्म–
९. दनुकम्प (याचकुथे) र्वृत्यधिकृतानामत्र समुचितस्त्रिक–
१०. रमात्त्रसाधनायैव प्रवेशो लेख्यदानपञ्चापराधा–
११. द्यत्र्थन्त्वप्रवेशं इति प्रसादो वः कृतस्तदेववेदिभि–
१२. रस्मत्पादप्रसादोपजीविभिरन्यैव्र्वा न कैश्चिदयमन्य–
१३. था करणीयो यस्त्वेतामाज्ञा विलङ्ध्यान्यथा कुय्र्यात्कारये–
१४. द्वा तमहमतितरान्न मर्षयिष्यामि येपि मदूद्ध्र्वम्भू–
१५. भुजो भवितारस्तैरपि धम्मगुरूभिर्गुरू (ग्र्गुरुकृ) त प्रसादा–
१६. नुवत्र्तिभिरियमाज्ञास (म्यकप) रिपालनीयेति समा–
१७. ज्ञापना (दूतकश्चात्र भो) गबगोमी संवत ५००,
१८. १०,६ … … … (शु) क्लदिवा (प) ञ्चम्याम्
अहिले अलपत्र अवस्थामा यस पेटीमा पल्टिन आइपुगेको यस शिलापत्रको सार्वजनिक महत्व लिच्छविकालीन खुपुङग्राम (अहिलेको नेवार लोकजीवनमा लोकप्रिय ‘ख्वप’ शब्द उहिले अनेककालका लोकजीवनमा अनेक नामले व्यवहृत हुँदै आएको कुरा यस विषयका आभिलेखिक प्रमाणहरूका आधारमा जानिन्छ । त्यस्तै अहिलेको मूल नगरबस्ती (उत्तरमा खासाङखुसुङ र दक्षिण्मा हनुमन्ते खोलाको बीचमा, अष्टमातृकापीठ, अष्टद्वारभित्र अवस्थित तात्कालिक गढरूपको मूलबस्ती) भित्र लिच्छविकालमा खुपृङ, माखोपृङ, माखोदुलु आदि अनेक नामका बस्तीहरू थिए र समग्रमा पुरै बस्ती (भक्तपुर भेक) ‘खोपृङ’ नामले प्रसिद्ध रहेको जानिन्छ । यताबाट ‘खृपुङ’ खोपृङभित्रकै एक ग्रामबस्ती थियो । अझ यो खोपृङको मध्तगमा बसेको बस्ती थियो भन्ने कुरा थाहा पाइन्छ ।) को तात्कालिक लोकजीवनमा निकै रहेको बुझिन्छ । यो शिलापत्र रहेको पहिलो मूलस्थान तुलाछेँ टोल हो भन्ने कुरो ज्ञात हुन आएको परिप्रेक्षमा अहिलेको यस टोलपरिसरमा उहिले ‘खृपुङ’ नामको प्राचीन ग्रामबस्ती आवाद रहेको थियो भन्ने कुरो दृष्टिगोचर हुन्छ । (डा. पुरुषोत्तमलोचन श्रेष्ठ– ‘भक्तपुर नगरको नामाकरण’ पासुका, वर्ष १, अङ्क १०, आषाढ २०५४ वि.सं, प. ४–५ खृपुङसँगै रहेको पूर्वपट्टिको बस्ती ‘माखोपृङ (अहिलेको गोलमढी टोल परिसर) थियो । खोपृङग्रामभित्रका अन्य बस्तीहरूको तुलनामा यो बस्ती निकै समृद्धरूपको थियो । भर्खरैमात्र फेला परेको सुकुलढोका टोलको उत्तरप्राचीन कालको अभिलेखका आधारमा वृजिकहरूको बसोबास खृपुङ तथा माखोपृङमा पनि थियो भन्ने सङ्केत मिल्छ । मध्यकालमा टोल बस्ती लोकप्रिय रह्यो । यसो हुँदा यहाँ तुलाछेँ, गोलमण्डे, सुगलद्वाखा, त्रिप्रकव छेँ आदि अनेक टोलबस्तीहरू देखा परे ।)
लिच्छविकालिक शासन वा प्रशासनिक व्यवस्था, सामाजिक जीवन आदिका केही महत्वपूर्ण पक्षको झलक यस शिलापत्रबाट दृष्टिगत हुन्छ । (त्यस्तै ‘खृपुङ’ नेपाल भाषाको शब्द हो भन्ने मत इतिहासकार हरिराम जोशीज्यूहरूको रहेको छ । यताबाट पनि लिच्छविकालको राजभाषा संस्कृत रहे तापनि तात्कालिक स्थानीय लोकजीवनमा नेपालभाषा प्रचलित थियो भन्ने कुरा थाहा हुन्छ । स्व. बज्राचार्यज्यूले चाहिँ खोपृङ वा खृपुङलाई किराँत परिवारको भाषा भनेका छन् ।
क. हरिराम जोशीः नेपालको प्राचीन अभिलेख, काठमाडौँ, ने रा.प्र.प्र., वि.सं. २०३० पृ. २३५–२३६
ख. बज्राचार्यः पूर्वोक्त वि.सं. २०३०), पृ. २५१))
टौमढीटोल भैरव मन्दिरभित्रको लिच्छविकालीन ढुङ्गे जलपात्र
भक्तपुर टौमढी टोलको प्रसिद्ध भैरवमन्दिरको दक्षिणपट्टि इनारसहितको चोक छ । सोही चोकको उत्तर–पश्चिम कुनामा एउटा ठूलो आकारको जलपात्र (पानी राख्ने भाँडो) अलपत्र अवस्थामा रहेको देख्न सकिन्छ । त्यस जलपात्रको माथिल्लो घेरामा ३ पङ्क्तिको (लिपि–पूर्वलिच्छवि) अभिलेख संवत् ८८ को नरेन्द्रदेवको पालाको कुँदिएको छ । (योगेशराज ‘तवमधि भैरवमन्दिरभित्रको लिच्छविकालीन अभिलेख’ पासूका, वर्ष ३, अङ्क ६, फागुन १, ०५६, पृ. ८–९ मा चित्रसहित यस अभिलेखको मूलपाठ (व्याख्या) प्रकाशित छ ।) सो अभिलेखको मूलपाठ (ठम्याउन सकिने जति) (यस कार्यमा श्री श्यामसुन्दर राजवंशीज्यूले सहयोग गर्नुभएकोमा उहाँप्रति आभारी छु ।) यस्तो छः
१. फ् संवत् ८८ पौष शुक्ल (तीयायाम्) (योगेशराजको पाठ) उमा चतस्य (योगेशराजको पाठ–रूमाचोशात) ल–
२. लितमहेश्वराय आ––– स्वपुण्यप्राप्तय (योगेशराजको पाठ–स्वपुण्याप्राप्तये) ता–
३. म्रकलशं दत्तम् ।। (ङ्ल–न्द–वे–भू) (योगेशराजको पाठ)
संवत् ८८ वि.सं. ७२१) को यस अभिलेखमा वर्णित मुख्य देवदेवी उमा+महेश्वर (ललितमहेश्वर) हुन् । (यस ढुङ्गे जलपात्र रहेको प्राङ्गणमा पूर्वपट्टि इनारसँगै) उमा–महेश्वरको एक प्राचीन प्रस्तर मूर्ति छ । यस मूर्तिमा उमा र महेश्वर दुवैका अनुहार भाग नराम्रोसित चोइटिएको छ, घुँडाका भाग पनि त्यसरी नै चोइटिएका छन् । घामपानीले खिइसकेको यस मूर्तिमा उमा–महेश्वरका अन्य प्राचीन मूर्तिहरूमा झैँ शिव+पार्वती+नन्दीमात्र देखापर्छन् । यसरी यस मूर्तिमा देखापर्ने प्राचीन शैली, बनावट र लक्षण आदिका आधारमा विक्रमको छैटौँ र सातौँ शताब्दीबीचको समयतिरको यो मूर्ति हो भन्ने बुझिन्छ । यस कुराको प्रकारान्तर पुष्टि यस अभिलेखमा उल्लेखित उमा+ललितमहेश्वरबाट पनि हुन्छ । अभिलेखमा वर्णित उमा–महेश्वरले यसै मूर्तिलाई स्मरण गराउछँ औ अभिलेखको समत्न्दा पूर्व नै त्यस क्षेत्रमा यो मूर्ति स्थापना भइसकेको दृष्टिगोचर हुन्छ । यताबाट भक्तपुरमा हालसम्मन् प्राप्त उमा–महेश्वरका मूर्तिहरूमध्ये यो नै पहिलो प्राचीनतम् मूर्ति हो भन्न सकिन्छ ।
लिच्छविकालमा स्वतन्त्ररूपले चलेका अनेक शैव सम्प्रदायहरूमध्ये एक माहेश्वर सम्प्रदाय नरेन्द्रदेवको पालामा विशेष लोकप्रिय अवस्थामा भक्तपुरमा पनि प्रचलित रहेको झझल्को यस अभिलेखले पनि दिएको छ । टौमढी टोलको भैरवमन्दिर क्षेत्र लिच्छविकालदेखि नै तान्त्रिक स्वरूपका शैव–सम्प्रदायीहरूको प्रसिद्ध धार्मिक स्थलको रूपमा रहेको, पञ्चतत्वका प्रतिपादकका रूपमा मात्र नभएर ‘ललितेशाय सर्वज्ञ त्रिगुणात्मक’ वा त्रिपुरसुन्दरी देवीसहितका शिव ललितमहेश्वरको रूपमा उपास्य हुँदै आएको कुरा पनि यसै परिप्रेक्षमा विदित हुन्छ । अहिले पनि भैरवनाथको तीन विशेष रूपमा पूजा चलाइन्छ त्रिपुरसुन्दरी महाविद्या सदृश । भैरवनाथ वा ललितमहेश्वर र यिनका शक्ति त्रिपुरसुन्दरी यस नगरका उच्चतम् देवदेवी हुन्, यसो हुँदा पनि ती नगरको मध्तगमा स्थापित रहेको जानिन्छ ।)
तात्कालिक कुनै एक दाताले यी देवदेवी कहाँ ताम्रकलश (ताम्रधातुलाई शिव–सदृश मानी वा उनको एउटा प्रिय वस्तु यसलाई पनि सम्झी यो धातु वा यसबाट बनेका अनेक कलाकृतिहरू चढाई पूजा गर्ने चलन लिच्छविकालमै प्रचलित भइसकेको थियो भन्ने कुरा यताबाट पनि थाहा पाइन्छ ।) चढाएका थिए र सोही सन्दर्भमा यो अभिलेख राख्न लगाएको ज्ञात् हुन्छ ।

भैरव मन्दिरको दक्षिणपट्टिको चोकमा रहेको यस ढुङ्गे जलपात्रको पाश्र्वभागमा ३ पङ्क्तिका (सं. ८८ को) अभिलेख


झवाट्ट हेर्दा खण्डितझैँ लाग्ने यस जलपात्रको मुख (शीर्षभागको अग्र–घेरा) अर्धगोलाकार छ । यस्तै शैलीका केही ढुङ्गे पात्रहरू अन्यत्र स्थानमा पनि देखापर्छन् । (यस्तै शैली वा आकार प्रकारको, खस्रो खालको एउटा ठूलो ढुङ्गे पात्र कुम्भेश्वर महादेव मन्दिर स्थानभित्र पनि देखापर्छ ।) खौमा टोल नारायण मन्दिर निरको ढुङ्गेपात्र तथा भक्तपुर राजदरबार ज¥हँचोकको जलद्रोणीको पाश्र्वभागको माथि देखापर्ने ढुङ्गेपात्र उदाहरणका रूपमा छन् । (टौमढी टोल खौमा टोलका ढुङ्गे पात्रहरू आकार प्रकारले उत्रै देखापर्छन्, खौमा टोलको पात्रमा पनि खस्रोपन (पात्र बनाउने क्रममा ढुङ्गा ताछ्दा देखिएको खस्रोपन) यस्तै खस्रोपन–विशेषता चाँगुनारायण स्थानभित्रको ढुङ्गे हात्तीमा पनि देखिन्छ । उस्तै छ । तर यो केही लाम्चो परेको छ । शैलीगत विशेषताका आधारमा यो मध्यकालको पूर्वाद्र्धतिर बनेको अनुमान हुन्छ ।
टौमढी टोल र खौमा टोलको ढुङ्गे पात्रका तुलनामा ज¥हेँ चोकको जलद्रोणीको पात्र सानो आकारको छ । ढुङ्गे जलपात्र जलदाणीकै एक भागको रूपमा देखापर्छ, जलद्रोणीमा पानीको स्थानीय स्रोत इनार, दुई धारा आदि) को अतिरिक्त वर्षात्को पानीसमेत जुटाउन यो जलपात्र त्यसरी ठूलो आकारमा बनेको देखिन्छ । मौलिक विचार साभार योगेशराज)
खासगरी जितामित्र मल्लले बनाउन लाएको ज¥हचोकको त्यस जलद्रोणीको ढुङ्गे जलपात्र अवलोकन गरेपछि निम्न कुरा थाहा पाइन्छ–
जलद्रोणी बनाउँदा त्यसमा (जम्मा हुने) पानी पठाउन सजिलो होस् भन्नाका लागि जलद्रोणीको पाश्र्व भागमा माथिपट्टि एउटा जलपात्र पनि रहन्छ । झन्डै पीँधसम्म छुने गरी बनाइएको यसको अर्धगोलाकार मुख वा घेरा जलद्रोणीमा जम्मा हुन पुग्ने निकासको मुख वा घेरा जलद्रोणीमा जम्मा हुन पुग्ने निकासको मुख वा प्वालसित जोडिएको हुन्छ । यसरी बनाइएको जलपात्रमा पानी झ्वार्रै खन्याए तापनि जलपात्रमा जम्मा हुन नपाउँदै जलद्रोणीमा झरेर जम्मा भइहाल्छ ।
यसप्रकार माथि उल्लेख गरिएका सन्दर्भ, उदाहरण–प्रमाणका आधारमा निम्नलिखित कुरा थाहा पाउन सकिन्छ– ‘टौमढी टोलको भैरवमन्दिर क्षेत्रमा एउटा लिच्छविकालीन ढुङ्गे जलद्रोणी थियो, अहिले विच्छिन अवस्थामा देखापर्ने यो ढुङ्गे जलपात्र सोही जलद्रोणीमा पानी पठाउने प्रयोजनका लागि बनाइएको जलद्रोणीकै एक अत्यावश्यक भाग थियो । (यस आधारमा पनि प्राचीन वास्तु रचना शैलीको परम्परागत प्रभाव वा अनुकरण परवर्तीकालमा पछिसम्मन् पनि चलिरहेको थियो भन्ने कुरा थाहा पाइन्छ । ज¥हँचोकको मल्लकालीन जलद्रोणी+जलपात्र उदाहरणका रूपमा देखापर्छन् । लिच्छविकालका अभिलेखहरूमा ‘पाषाणद्रोणी’, ‘शैलद्रोणी नामका ढुङ्गे जलद्रोणीहरू उल्लेख हुन आएको सन्दर्भमा पनि जलद्रोणी बनाउनुपर्दा ढुङ्गाकै बनाउने चलन पछिसम्मन् चलिरहेको थियो । उपत्यकाका यत्रतत्र देखापर्ने मल्लकालीन जलद्रोणीहरू उदाहरण स्वरूप छन् ।)
यसप्रकार ऐतिहासिक पुरातात्विक दृष्टिले महत्वपूर्ण देखिन आएको टौमढी टोलको यो ढुङ्गे जलपात्रले कुनै बेला पवित्र जलको भार बहन गर्ने धार्मिक महत्व बोकेको थियो भने अहिलेको पुस्तासम्मन् आइपुग्दा धेरै वर्षसम्मन् फोहर फ्याँक्ने सागलको ‘गू’ र ‘सू’ को दलदलमा दबिएर, कुल्चँदै, थिचिएर विलुप्त हुँदै, फोहर जम्मा गरी राख्ने ‘कन्टेनर’ को रूपमा प्रयुक्त हुँदै (भैरवनाथ मन्दिर परिसरका स्थानीय बासिन्दाहरूका अनुसार यो जलपात्र अहिले रहेको स्थानभन्दा केही उत्तरतर्फ सागलमा रहेको थियो । यसरी त्यस स्थानमा फ्याँकिन पुगेका यो जलपात्रमा फोहर थुप्रदै धेरै वर्षसम्मन त्यसै दबिएर रहेको देखिन्छ । सायद यसैकारण योगेशराजले पनि ‘रासलाई खोज्दै लामो परिश्रमपछि फेला पारेका’ हुन् ।) फोहर वा अपवित्र वस्तु बोकिँदै आफ्नो आदि स्थानबाट विस्थापित हुँदै यस स्थानमा आइपुगेको छ । (यसरी ठाउँ कुठाउंँ सर्दै, लड्दै, पड्दै अहिले यो जलपात्र यस स्थानमा आइपुगे तापनि मूलस्थान परिसरभित्रै (आफ्नो आदि स्थानबाट विचलित भए तापनि) रहेको विदित हुन्छ । किनकि यो यति ग¥हुँगो छ कि यसलाई उचालेर अन्त सार्न धेरै मानिस चाहिन्छ । त्यस्तै केही अक्षरहरू पढ्नै नसकिने गरी पुरै नष्ट भइसकेका छन् भने केही वाचन गर्न नसकिने वा ठम्याउन नसकिने भइसकेका छन् ।)
(छड्के परेका अक्षरहरू लेखकले मूल स्रोतमा पादटिप्पणीको रूपमा समावेश गर्नुभएको हो ।)
स्रोतः प्राचिन नेपाल (सन् २००१)
बाँकी भोलिको अङ्कमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *