भर्खरै :

जथा नेता तथा कार्यकर्ता

पहिला बुज्रुकहरू भन्थे–जथा राजा तथा प्रजा । हिजोआज जनता भन्छन्– जथा नेता तथा कार्यकर्ता । नेता जस्ता हुन्छन्, कार्यकर्ता पनि उस्तै हुन्छन् । प्रसङ्ग–एमाले अध्यक्ष केपी ओलीको ।
कोभिड–१९ महामारीले सर्वत्र प्रभावित बनाएको बेला उनीमात्र अपवाद रहेनन् । अघिल्ला दुई चरणमा राज्यको सुख–सुविधाबीच बसेका उनी त्यत्तिबेला सङ्क्रमणबाट जोगिए । यो पटक अत्यन्त सङ्क्रामक ओमिक्रोन भेरियन्टबाट भने उनी जोगिन सकेनन् । सङ्क्रमित भएपछि अनिवार्यरूपमा पालना गर्न राज्यले केही नियम बनाएको छ । अन्तर्राष्ट्रिय अनुभव र वैज्ञानिक अनुसन्धानको आधारमा बनाइएका ती नियमको पालनाले सङ्क्रमण रोकथाम गर्न भूमिका खेल्छ । सङ्क्रमणको नियन्त्रणमा आफ्नो ठाउँमा सहयोग गर्नु सबै सचेत नागरिकको कर्तव्य हो । नेपालको संविधान २०७२ मा राज्यले नागरिकको अधिकारमात्र सुनिश्चित गरेको छैन । बरु राज्यप्रति नागरिकको दायित्व र कर्तव्यको पनि उल्लेख छ । कोभिड–१९ महामारीले सिङ्गो संसार प्रभावित बनेको बेला राज्यले जारी गरेको जनस्वास्थ्यको नियमको पालना गर्नु संविधानले निर्देश गरेका राज्यप्रति नागरिकका दायित्व हुन् । त्यस्तो नियम पालना गर्नु सबै नागरिकको दायित्व हो ।
तर, कोभिडबाट सङ्क्रमित पूर्वप्रधानमन्त्री तथा एमाले नेता केपी ओली भने सरकारी नियम उल्लङ्घन गर्दै सङ्क्रमण मुक्त भएको पुष्टि नभई अथवा एकान्तवासमा बस्ने अवधि नसकिँदै सयौँ मानिसको सहभागिता रहेको सार्वजनिक कार्यक्रममा सहभागी बने ।
नेताहरूको यस्तो व्यवहारले एकातिर सर्वसाधारणमा जनस्वास्थ्यको नियमको उल्लङ्घन गर्न उत्साहित गर्नेछ । नेतृत्वले नै अनुशासन नदेखाएपछि सर्वसाधारणको लागि पनि त्यो नियमको पालना अनिवार्य हुँदैन । त्यसले महामारी फैलाउन अझ टेवा पु¥याउनेछ । दोस्रो, राजनीतिक नेतृत्वप्रति जनताको विश्वास कम हुँदै जानेछ । अझ राजनीतिक नेतृत्वको यस्तो अनुशासनहीन कामबाट राजनीतिप्रति जनताको वैराग बढ्दै जान्छ ।
ओलीले यसअघि पनि कोरोना भाइरसको विषयमा अनेकन भ्रमपूर्ण कुरा गरेका थिए । प्रधानमन्त्री रहँदै उनले कोभिड–१९ महामारीको प्रतिरोधको निम्ति वैज्ञानिक पद्धतिको अवलम्बनलाई ध्यान दिनुभन्दा अप्रमाणित कुरा गरेर महामारीलाई न्यूनाङ्कन गर्न जनतालाई उत्साहित गरेका थिए । देशमा अक्सिजन र अस्पतालमा शय्याको अभाव भएर मानिसले ज्यान गुमाइरहेको अवस्थामा उनले कोभिड व्यवस्थापनमा सरकार सफल भएको जस्ता कुरा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा बोलेर जनतालाई निराश बनाएका थिए ।
उनले गुर्जो, बेसार पानी आदिले कोभिड निको बनाउने, नेपालीहरूको प्रतिरोध क्षमता बढी भएको र हाँछ्यु गरेर कोरोना भगाउने जस्ता अप्रमाणित कुरा गरेर महामारीप्रति जनताको बेवास्ता बढाएको र त्यसले महामारी फैलाउन भूमिका खेलेको थियो ।
‘ओलीको स्वास्थ्य लाभको कामना गर्दै’ आयोजित कार्यक्रममा सङ्क्रमित ओली आफै सहभागी बन्नु गैरजिम्मेवारीको हद हो । एमालेका युवाहरूले नेताको चाकडी बजाएजस्तो देखिने यस्ता कार्यक्रमले जनस्वास्थ्यमा पार्न सक्ने अथवा कोभिड महामारीमा पालना गर्नुपर्ने नियम मिच्न जनतालाई उत्साहित गर्दाको मूल्य देशको जिम्मेवार नेताले बेहोर्न तयार हुने वा नहुने ?
बेलायतका प्रधानमन्त्री बोरिस जन्सनले महामारीको समयमा आयोजित रात्रिभोजमा सहभागी बन्दा उनको सत्ता धरापमा परेको घटना हालसालैको हो । राजनीतिक नेतृत्व धेरै मानिसको निम्ति आदर्श र उदाहरण हुन्छ । उनीहरूले गर्ने राम्रो कामको समाजमा राम्रो र नराम्रो कामको नराम्रो प्रभाव पारेको हुन्छ । ओलीले महामारीको नियम मिच्दा सर्वसाधारण जनतामा पर्ने नकारात्मक असरले उनको कदलाई अझ होचो बनाएको छ । यस्ता गल्ती नेतृत्वबाट भएपछि सभ्य र सुसंस्कृत समाजको कसरी अपेक्षा गर्न सकिएला !

Leave a Reply

Your email address will not be published. Required fields are marked *