भर्खरै :

नेमकिपा समाजवादी वितरण प्रणालीको पक्षमा

नेपाल मजदुर किसान पार्टी सिद्धान्त र विचारमा अडेको कम्युनिस्ट पार्टी हो, अन्तर्राष्ट्रवादी पार्टी हो । नेमकिपा देशमा होस् या विदेशमा प्रतिगामी कदमको विरोध गर्छ, थिचोमिचोको विरोध गर्छ । नेमकिपा योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त गर्ने समाजवादी वितरण प्रणालीको पक्षमा छ । मजदुरहरूलाई बाँच्न पुग्ने ज्यालाको बन्दोबस्त गराउन र उद्योग वरिपरि नै मजदुर बस्तीको विकास गर्नुपर्ने पक्षमा नेमकिपा उभेको छ । शिक्षालाई उत्पादन श्रमसँग मिलाई शैक्षिक बेरोजगारी हटाउन, नेपालमै रासायनिक मल कारखाना स्थापना गराउन, वैज्ञानिक खेती र प्राङ्गारिक मलको विकाससँगसँगै गराउन नेमकिपाले आवाज उठाइरहेको सबैमा आलै छ ।
नेमकिपाले कमैया, बाँधा, बँधुवा, हरूवाचरूवालाई पनि मोहियानी हक दिलाउन आवाज बुलन्द गर्दै आएको हो । वर्षौँदेखि जोत्दै आएको जग्गामा मोही कायम हुनुपर्छ भन्ने नेमकिपाको विचार हो । पुस्तौँदेखि जोत्दै आएको जग्गामा मोही हक लाग्छ भनेरै तत्कालीन देउवा सरकारले द्वैधस्वामित्वको अन्त्य गर्ने निर्णय र कमैया मुक्त घोषणा ग¥यो । त्यो निर्णय मोही हक कायम भएपछि गर्नुपर्ने थियो । तत्कालीन देउवाको सो निर्णयले लाखौँ किसानहरू भूमिबाट वञ्चित भए, हजारौँ कमैयाहरू विचल्लीमा परे ।
नेमकिपाले सुकुमवासीहरूलाई काम, माम र बसोबासको बन्दोबस्त गर्न पनि सरकारको ध्यानाकर्षण गर्दै आएको हो । देशका पुरातात्विक र ऐतिहासिक स्मारक र क्षेत्रहरूलाई संरक्षण गर्न सांस्कृतिक नगर या गाउँ घोषणा गर्नुपर्ने माग पनि नेमकिपाको हो । नेपाली जनताको जीवनस्तर उठाउन, सन्तुलित विकास गर्न र विकास सबै ठाउँमा पुगोस् भन्ने उद्देश्यले देशको उत्तरी र दुर्गम क्षेत्रसम्म यातायातको विकास हुनुपर्छ भन्ने नेमकिपाको मान्यता हो । निजीकरण र विश्वव्यापीकरणको नाउँमा देशलाई भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको नवउपनिवेश बनाउन नहुने नेमकिपाको जोड हो । यही उद्देश्यले नेमकिपा भारत र अमेरिकाको हस्तक्षेपविरूद्ध आन्दोलित छ ।
जलस्रोतको धनी देश नेपालमा देशभर बिजुली पु¥याउन, सिँचाइको बन्दोबस्त गरी उत्पादन बढाउन, नेपाल र नेपाली जनताविरोधी कुनै पनि सन्धि–सम्झौता नगर्न, भएका सन्धि–सम्झौता खारेज गर्न र देशलाई भ्रष्टाचारमुक्त बनाउनुपर्ने माग नेमकिपाको हो । विदेशीको भरमा नेपाल बस्न नहुने, विदेशी सहयोग नै नेपाल विकास हुन्छ भन्ने मान्यता राख्न नहुने र विदेशीको ऋणमा बजेट तयार गर्न नहुने नेमकिपाको धारणा हो । विदेशी ऋण, विदेशी सहयोग र विदेशीको भरमा रहेसम्म नेपाल कहिले पनि आत्मनिर्भर हुनेछैन । देशलाई आत्मनिर्भर बनाउन देशका स्रोत र साधन परिचालन गर्न र आधारभूत आवश्यकता परिपूर्ति हुने उद्योग खोल्नु जरूरी छ । यस्तो आवश्यकता यो पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने सरकारले पूरा नगर्ने हुँदा देशमा समाजवादी बन्दोबस्तको लागि नेमकिपा सङ्घर्षरत छ । नेमकिपा समाजवादी व्यवस्था स्थापना गर्न लागिपरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *