भर्खरै :

ताइवानको इतिहास – १ / चीनले झेलेका साम्राज्यवादी आतङ्क

पहिलो अफिम युद्धपछि चीनको तत्कालीन राजधानी नानकिङमा बेलायती अधिकारी र चिनियाँ सरकारी प्रतिनिधिबीच भएको सन्धि गर्दाको तस्बिर । तस्बिरः विकिपेडिया
चीनबारे दुष्प्रचारको प्रवृत्ति
विश्व राजनैतिक घटनाक्रममा युक्रेन सङ्कटको पारो चुलिँदै गर्दा ताइवान र चीनबीचको सम्बन्धलाई पनि पश्चिमा मिडियाले उत्तिकै उछाल्ने काम गरिरहेको देखिन्छ । एक स्वतन्त्र र सार्वभौमसम्पन्न सानो टापु ताइवानलाई शक्तिशाली छिमेकी चीनले आक्रमण गर्न तयारी गरिरहेको र यसलाई अमेरिकाले रक्षा गर्दै छ भन्ने आभास आउने गरी नियोजित समाचारहरू सम्प्रेषण भइरहेका छन् । नयाँ पुस्ताका पाठकहरूमा यस विषयमा धेरै अन्योल र गलत धारणाहरू पनि देखिन्छन् । इतिहास नपढ्ने तर पश्चिमा मिडियाका प्रचारहरूलाई नै वास्तविकता मान्नेहरू, चीनविरुद्ध हात धोएर लाग्नेहरू र एमसीसीका पक्षधर एक तप्का बुद्धिजीवीहरूले समेत यही भ्रम पालेर चीनविरुद्ध विषवमन गरिरहेको पाइन्छ । अहिलेको परमादेशी सरकार र सत्ता साझेदारी पार्टीहरूको रवैयालाई हेर्ने हो भने यिनीहरू अमेरिका र भारतको दलाली गर्न र नेपाल र नेपालीले जति दुःख पाए पनि चीनको विरोध गर्न नै ल्याइएको झन्झन् प्रस्ट हुँदै छ । हालको राजदूत नियुक्ति प्रकरणले पनि यसलाई पुस्टि गरेको छ ।
ताइवान र चीनबीचको सम्बन्धलाई उछाल्ने काम चीन घेर्ने अमेरिकी नीतिकै एक हिस्सा भएको अनुमान गर्न आममानिसलाई गा¥हो हुनसक्छ । हुन त हङकङ, मकाउ, ताइवान र तिब्बतलाई छुट्टै सार्वभौम देशको रूपमा प्रपोगन्डा गर्ने कार्य पनि नयाँ प्रवृत्ति होइन । चीनको १९ औँ र २० औँ शताब्दीको इीतहास, पहिलो र दोस्रो विश्वयुद्धपश्चात् पूर्वी एसियामा पश्चिमा शक्तिहरूको हैकमवादी नीति, कोरिया प्रायद्वीपको युद्ध (सन् १९५२–१९५३), भियतनाम युद्ध (सन् १९६४–१९७३) र सन् १९४९ को चिनियाँ क्रान्तिको पृष्ठभूमिले मात्र वर्तमान ताइवानको वास्तविकता बुझ्न मद्दत गर्छ ।

डा. सनयात सेन


चीन एक परिष्कृत सभ्यताको देश
वर्तमान विश्व मानचित्रमा क्षेत्रफलको आधारमा चीन, रुस र क्यानडापछि तेस्रो ठूलो देश हो । तर, प्राचीन चिनियाँ सम्राटहरू आप्mनो भूमि चीनलाई विश्वको केन्द्र ठान्थे । उनीहरू आफूलाई स्वर्गको सन्तति (Son of Heaven) र संसार स्वर्गकै मातहत शासित भएको मान्थे । उनीहरू त्यस्तो किन दाबी गर्थे ? यो वास्तविकता हो वा मिथक ! थप अनुसन्धानको विषय होला । हाम्रा हिन्दू आर्यहरू पनि आफूलाई सूर्यवंशी र चन्द्रवंशी ठान्थे । तर, इतिहासले चीन मामुली देश पक्कै होइन भन्ने देखाउँछ । विश्वमा एउटा युग आयो जसलाई ‘खोज अभियानको युग’ (Age of Expedition/Discovery) भनिन्छ । वायुको वेगको आधारमा चल्ने समुद्री जहाज (Sailing sheep) को विकासले युरोपलाई विश्व विचरण गर्ने अवसर मिल्यो । सो¥हौँ शताब्दीदेखि सुरु भएको यो युगको थालनी गर्ने व्यक्ति पोर्तुगाली नागरिक फर्डिनान म्यागेलानलाई मानिन्छ । उनले स्पेन सरकारको लागि यो यात्रा थालेको बताइन्छ । यही ‘खोज अभियानको युगले स्पेन, पोर्तुगल र इटालीलाई सो¥हौँ र सत्रौँ शताब्दीमा अरू देशलाई उपनिवेश बनाई विश्वको केन्द्र बन्न सघायो भने अठारौँ शताब्दीपछि फ्रान्स, बेलायत र नेदरलैन्डलाई । तर, यो युरोपकेन्द्रित इतिहासले पूर्वको एक देश चीनले के के उपलब्धि हासिल ग¥यो भन्ने पत्तै पाएन । युरोपमा थालनी भएको त्यो ‘खोज अभियान युगको’ करिब सय वर्ष पहिल्यै (करिब सन् १४०४ देखि १४३३ बीच) चीनको एडमिरल जेनरल जेङ्ग हीको (Zheng He) नेतृत्वमा मिङवंशी चिनियाँ सम्राटले विशाल समुद्री्र यात्राको लागि पहल गरिसकेका थिए । सो यात्रा अफ्रिका महादेशको पूर्वी किनार हालको सोमालिया समुद्री किनार (Horn of Africa) र वर्तमान इरानको दक्षिण सागर (Strait of Hormuz) सम्म पुगिसकेको थियो । विशिष्टताको दृष्टिकोणले चिनियाँ सभ्यता संसारका अरू सभ्यताभन्दा कुनै पनि दृष्टिमा कम नभएको इतिहासकारहरू मान्छन् । आजसम्म पनि करोडौँ चिनियाँहरूले लेख्ने लिपी शाङवंशको काल (ईसापूर्व १६००–१०४६) मै विकास भइसकेको थियो र यतिबेला शास्त्रीययुनानी सहरी राज्यहरू अस्तित्वमै आएका थिएनन् । रोमन सभ्यता त अझै सहस्राब्दी परै थियो । आधुनिक संसारका केही प्रमुख वस्तुहरू जस्तैः बारुद, कागज, नोट, सिल्क, छपाइ, सेरामिक, दिशा पत्ता लगाउने कम्पासको आविष्कार चीनमै भयो । पानीजहाज र नाविक प्रविधि पनि विश्वको लागि चिनियाँ उपहार नै थियो । पन्धौँ शताब्दी पूर्वाद्र्धमा (अथवा, कोलम्बसको अमेरिका यात्राको सय वर्ष पहिल्यै) विकास गरेको एडमिरल जेङ्ग हीको त्यो जहाज १२२ मिटर लामो र ५० मिटर चौडा थियो जुन कोलम्बसले अमेरिका यात्रा गरेको ‘सान्ता मारिया’ जहाजभन्दा चारगुणा विशाल थियो । यस्तो हजारौँ वर्षको अमूल्य कला, साहित्य र संस्कृति एवम् सभ्यताको इतिहास बोकेको चीन कैयौँ वर्षसम्म एसियाको शक्तिको रूपमा स्थापित थियो । यता, दक्षिण एसियामा भारत वर्ष पनि यस अवधिमा सभ्यता, कला कौशल र आर्थिक उन्नतिको शिखरमै थियो । तर, यूरोपमा सुरु भएको औद्योगिक क्रान्तिपश्चात्को घटनाक्रमले संसारले कोल्टे फे¥यो । बेलायत, फ्रान्सलगायतका अन्य युरोपियन देशहरूले आप्mनो देशमा उत्पादित सामानको लागि बजार र उद्योगको लागि कच्चा पदार्थको खोजीमा उन्नाइसौँ शताब्दीमा विश्वभर चलाएको साम्राज्यवादी अतिक्रमणको चपेटाबाट चीन पनि मुक्त हुन सकेन ।
चीनमा पश्चिमा साम्राज्यको आतङ्क
सन् १७९२ मा जर्ज तृतीय बेलायतका राजा थिए । बेलायती सरकारले इस्ट इन्डिया कम्पनीको खर्चमा तत्कालीन चिनियाँ मन्चु साम्राज्यका सम्राट चीङ लुङ्गलाई (Qianlong) आफ्ना दूत जर्ज म्याकार्टने (George Macartney) मार्फत बेलायती सामानको बिक्री चीनमा खुला गर्न पत्रमार्फत अनुरोध गरे । बेलायती दूतको कूटनैतिक स्वागत त भयो तर पत्रको जवाफमा चिङ लङ्गले आफ्नो देशमा विदेशी व्यापारमा लागिरहेको बन्देज यथावतै रहेको कारण बेलायती प्रस्तावलाई स्वीकार्न नसक्ने जवाफ दिए । बेलायतले यसलाई सहजरूपमा पक्कै लिएन होला ! तर, बलियो देखिने मन्चु साम्राज्यसँग तत्काल निहुँ नखोज्ने नीति लिएको देखियो । किनकि, बेलायत त्यतिबेला फ्रान्सेली राज्य क्रान्तिपछि उदय भएका नेपोलियनसँग भिड्दै थियो । पचास वर्षपछि बेलायतले आप्mनो अफिमको व्यापारलाई चीनभित्र जबरजस्ती हुल्दै गर्दा त्यसलाई रोक्न चिनियाँ सरकारले लिएको कडा नीतिको कारण आखिरमा बेलायतसँग लडाइँ भयो । इतिहासमा अफिम युद्धको नामले चिनिने यो युद्धमा चीनले ठूलो मूल्य चुकाउनुप¥यो । चीन उक्त युद्धमा हारेपछि उसलाई सन्धिमा हस्ताक्षर गर्न बाध्य पारियो । सन् १८४२ को ‘नानकिङ सन्धि’ चिनिने यो सन्धिले चीनलाई अपमानित र कमजोर तुल्यायो । यही मौकाको फाइदा उठाई बेलायतबाहेक अन्य पश्चिमी साम्राज्यवादी देशहरूले चिनियाँ भूमिभित्र पस्ने अवसर पाए । यो सन्धिपश्चात् चीनले क्यान्टोन र साङ्घाईलगायत अन्य तीन दक्षिण पूर्वी तटीय सहरहरू विदेशीहरूको लागि खुला गर्नुपर्ने भयो र हङकङ टापुमाथि पनि बेलायतले कब्जा जमायो ।

नेपालले बेलायतसँग यसको ठिक २६ वर्ष पहिले यस्तै अपमानित सुगौली सन्धि गर्नुपरेको थियो । यसरी नानकिङको सम्झौतापछि चीनमा पश्चिमी साम्राज्यवादी देशहरूको अतिक्रमण सँगसँगै चीनले पश्चिमा देशहरूको आर्थिक साम्राज्य पनि खप्नुप¥यो । विभिन्न निहुँमा बेलायत र फ्रान्सले संयुक्तरूपमा हजाराँै वर्षदेखि प्रसिद्धि पाएको भव्य पेचिङको गृष्म दरबारका अपार बहुमूल्य खजाना र सम्पत्ति लुट्दै आगजनिसमेत गरी मानव सभ्यताकै ठूलो धरोहरको रूपमा रहेको ऐतिहासिक सम्पदालाई ध्वस्त पारे । यसरी पश्चिमा साम्राज्यवादीहरूबाहेक १९ सौँ शताब्दीको अन्तसम्ममा उत्तर पश्चिमबाट रुसी जार र पूर्वबाट जापानी, जर्मनी, फ्रान्स, इटाली, अमेरिकी साम्राज्यवादसम्मको आक्रमणलाई चीनले सहनुप¥यो । यस अवधिभर विदेशी शोषण र दबाब एवम् थिचोमिचोबाट चीन करिब भित्रबाट खोक्रै भइसकेको थियो । विदेशी दबाबसामु लाचार मन्चु शासकलाई विदेशीहरूले एकमाथि अर्को असमान सन्धि र सम्झौताहरू लाद्दै गए । लाचार मन्चु शासनबाट चिनियाँ जनता विरक्तिसकेका थिए । यही पृष्ठभूमिमा सन् १८९४ मा डा. सनयात सेनको नेतृत्वमा ‘चीन पुनर्जागरण समाज’ नामक सङ्गठनको स्थापना भयो । विदेशीहरूले चीनमाथि लादेका असमान सन्धिहरूको विरुद्धमा युवा चिनियाँ जनतालाई पुनर्जागरण समाजले गोलबन्द गर्दै लग्यो र सन् १८९८ मा ती आन्दोलनहरूले ठूलो रूप लिँदै गए । बक्सर आन्दोलनको (Boxer uprising) नामले चिनिने यस आन्दोलनलाई पनि साम्राज्यवादीहरूले निर्मतापूर्वक दबाए ।
गणतन्त्र घोषणा र नयाँ गृहयुद्ध
विदेशी थिचोमिचो र मन्चु सरकारविरुद्ध रहेका सम्पूर्ण जनताको समर्थन पाउन सफल ‘चीन पुनर्जागरण समाज’ सन् १९११ सम्ममा अन्य स–साना सङ्गठनहरूसँग एकीकृत भई ‘को मिन ताङ’ अर्थात् ‘राष्ट्रिय जनता पार्टीको’ रूपमा स्थापित भयो र अक्टोबर महिनादेखि यसले क्रान्तिको थालनी ग¥यो । सन् १९१२ फेब्रुअरी १२ मा मन्चु वंशको अन्त्य र गणतन्त्र स्थापनाको घोषणा भयो, डा. सेन राष्ट्रपति चुनिए । गणतन्त्र चीनको राजधानी नानकिङ सहरलाई घोषणा गरियो । तर, गणतन्त्रवादीहरूको लागि अझै धेरै चुनौति बाँकी नै थियोे । मध्य र दक्षिण चीनमा उनीहरूको प्रभाव कायम रहे तापनि उत्तरी चीन भने ‘युयान सी काई’ नामक एक पूर्व भाइसरायको नियन्त्रणमा थियो । ‘युयान सी काई’ गणतन्त्रवादी थिएनन् र उनी मौका छोपी पूरा सत्ता हत्याई नयाँ चिनियाँ सम्राट बन्ने दाउमा थिए । उनको यस कलुषित उद्देश्यबाट अनभिज्ञ गणतन्त्रवादी डा. सेनले देश फेरि गृहयुद्धमा नफसोस् भन्ने अभिप्रायले राष्ट्रपतिबाट स्वेच्छाले हटिदिएपश्चात् ‘युयान सी काई’ राष्ट्रपतिमा चुनिए । तर, उनले विदेशीको आडमा संसद् भङ्ग गर्दै कोमिनताङलाई विघटन नै गरे । परिणामस्वरूप पहिलो विश्वयुद्धको सङ्घारमा चीनमा दुई फरक सरकारहरू अस्तित्वमा आए । दक्षिणमा डा. सेनको नेतृत्वमा र उत्तरमा युयानको नेतृत्वमा ।
‘राष्ट्रिय जनता पार्टी’ अर्थात् कोमिन्ताङको अगुवाइमा सन् १९१२ मा स्थापित गणतन्त्रले साम्राज्यवादी शक्तिका सामु लाचार मन्चु वंशको पतन गर्न ऐतिहासिक अहम् भूमिका त खेल्यो तर यसभित्रका पुँजीपति वर्ग, अन्य बुर्जुवा वर्ग र दक्षिणपन्थीहरूका साथै साम्राज्यवादकै ठूलो वर्चस्वको कारण यो गणतान्त्रिक सरकार ती शक्तिहरूको विरुद्धमा सशक्तरूपमा जान सक्ने अवस्थामा रहेन । युयान सी काईले सत्ता हत्याएपश्चात् त गणतन्त्र नाममात्रको हुनपुग्यो । हुन पनि डा. सन यात सेन आफै आमूल परिवर्तनका लागि क्रान्ति गर्नुपर्छ भन्ने खेमाका नभई एक सुधारकमात्र थिए । उता युयान सी काई बिनासिद्धान्तका युद्धसरदारमात्र थिए जो पछि साम्राज्यवादीहरूकै कठपुतली बन्न पुगे । यसरी चीन अर्को गृहयुद्धमा धकेलियो । गणतन्त्र स्थापित भई साम्राज्यवादीहरूको दबाबबाट देश र जनता मुक्त हुने सपना देखेका चिनियाँ जनता एकपल्ट फेरि दुःखको आहालमा डुब्न बाध्य भए ।
युयान सी काईको १९१६ मा मृत्युपश्चात् उत्तरी चीनका विभिन्न प्रान्तहरू, सानाठूला युद्ध सरदारहरू तथा हतियारधारी समुहहरूको कब्जामा गयो र त्यसलाई सञ्चालन गर्नेहरू समाजका कुलीन वर्ग तथा पश्चिमा साम्राज्यवादी शक्तिहरू थिए । आखिर गरिब किसान र अन्य तल्लो वर्गका चिनियाँ जनता उल्टै उनीहरूकै शोषण दमनको चक्रमा पिल्सिन पुगे । उनीहरूको जीवन सुध्रिनुभन्दा अझ दयनीय हुन पुुग्यो । ‘माछो तावाबाट भुङ्ग्रोमा’ भन्ने उखान उनीहरूको लागि चरितार्थ भयो । यसरी अत्यधिक सङ्ख्यामा रहेका ती गरिब किसान र शोषितहरूको मुक्तिका लागि लड्ने कुनै शक्ति अगाडि देखापरेन । उता रुसमा लेनिनको नेतृत्वमा सन् १९१७ मा सम्पन्न अक्टोबर क्रान्तिले संसारमै नयाँ तरङ्ग ल्याइसकेको थियो । बहुसङ्ख्यक गरिब, शोषित र पीडितका पक्षका यस घटनाले नयाँ ऊर्जा थपिसकेको थियो ।
(यस लेख मूलतः चीनको सङ्क्षिप्त परिचय र यसको आधुनिक इतिहाससँग सम्बन्धित छ । लेखको अर्को भागमा ताइवानको वास्तविक इतिहाससम्म पुग्न यसले पाठकलाई सहयोग गर्नेछ । सम्पादक)
१५ माघ २०७८–

Leave a Reply

Your email address will not be published. Required fields are marked *