भर्खरै :

बोस्टनको जात्रा नेपालमा पनि ?

संरा अमेरिका बेलायतको उपनिवेश थियो । बेलायतले सन् १७६०–१७६३ सम्म त्यहाँ फलामको केही पनि सामान बनाउन दिएन, उत्पादन गरेको सामानमा बढी कर लगाई अमेरिकामा बेच्ने गथ्र्याे । आफू सास्ती भोग्नु परेपछि त्यहाँका जनताले विरोध गरे । जहाजबाट चिया ल्याउँदा महँगी बढेपछि अमेरिकीहरूलाई बोस्टनका जनताले सबै चिया समुद्रमा फाले । सामानमा धेरै कर लगाउँदा महँगी बढेपछि अमेरिकीहरूलाई दैनिकी चलाउन नै गा¥हो भयो । महँगीले थलिएका त्यहाँका जनताले कर उठाउनेलाई नै अलकत्रा दलेर जिउभरि चराका प्वाँखहरू टाँसी गाडामा राखेर घुमाउँथे, टीन र भाँडाकुँडा बजाएर जात्रा गर्थे । स्वतन्त्रता आन्दोलनको सुरूआत त्यसरी भयो ।
अहिले नेपालका मेडिकल माफियाहरूले १०–१२ लाखले पढ्न पाउने चिकित्साशास्त्रका विद्यार्थीहरूबाट नाफाका निम्ति ४०–८० लाख असुल्ने गरेका छन् । यसले गर्दा सर्वसाधारण जनताको होस नै उडाएको छ । गरिब र आर्थिकरूपले कमजोर भएकोले मेडिकल क्षेत्रमा पढ्नै नपाउने वातावरण सिर्जना गरिएको छ । भ्रष्टाचार र शोषण गरी आफ्नो कार्यकर्ता पाल्ने शासक दलहरूको क्रियाकलापले जनतामा राजनीतिप्रति वितृष्णा देखिन्छ । जसरी बोस्टनमा कालोमोसो दल्ने जात्रा सुरू भएको थियो त्यसरी नै नेपालमा पनि शोषण र अत्याचारले सीमा नाघेपछि बोस्टनको जात्रा मनाउन थालेको देखिन्छ । गुण्डा, नाइके, ठेकेदार र कालाबजारिया सबै पुँजीवादी राजनीतिक पार्टीमा प्रवेश गरी प्रधानमन्त्री र मन्त्रीहरूको संरक्षणमा छन् । आफ्नो पार्टीको भोट बढाउनको निम्ति जनतालाई निर्वाचनको समयमा लुगा, पैसा र सामानहरू बाँड्नको लागि तस्करी र कालाबजारियासँग मिली उनीहरू पैसा असुल्ने गर्छन् । निर्वाचनको समयमा गाउँ र आफ्नो जिल्ला पस्ने उनीहरू अरू समयमा काठमाडौँ बसी ठेक्का–पट्टाजस्ता काम गरी घर बनाइबसेका हुन्छन् । तर, जनता पिउने पानी र गाँसबासको अभावमा चिसो भुइँमा बस्न बाध्य छन् । सरकारले समयमा नै नसोच्ने हो भने यस्ता भ्रष्टाचारी र अत्याचारीहरूलाई पनि बोस्टनका जनताले जस्तै कालोमोसो दल्ने र गाउँ घुमाउने दिन टाढा छैन ।
अहिले नेपालमा बहुउद्देश्यीय सहकारी संस्थाहरू च्याउसरि छन् । जनताले दुःख गरी आफ्नो भविष्यको लागि भनी बचत गर्छन् । हरेक घर र घरका कोठा–कोठाबाट बचतको नाममा रकम सङ्कलन गर्छन् । करोडौँ रकम जम्मा भइसकेपछि सञ्चालक नै बेपत्ता भइदिन्छ । जनताले कसलाई समात्ने भन्ने समस्या देखिन्छ । सञ्चालक वा सम्बन्धित व्यक्तिलाई मात्र होइन बचत सङ्कलन गर्न आएकालाई पनि समात्नुपर्छ । त्यहाँका कर्मचारीहरूलाई समाती कारबाही गरी आफ्नो रकम फिर्ता लिनुपर्छ । सामाजिक परिवर्तनको निम्ति, समाजको सेवा गर्न आत्मनिर्भर र उत्पादनमुखी काम गर्नको लागि व्यक्तिलाई सहकारीको आवश्यकता छ । सहकारी सङ्घ–संस्थाका सञ्चालकहरूले आफ्नो निहित स्वार्थका लागि स्थानीय जनतालाई दुःख कष्ट दिएमा बहुउद्देश्यीय सहकारी सङ्घ–संस्थाहरू स्थानीय आधारभूत नियमअनुरूप सञ्चालन गर्नुपर्छ । अन्यथा, सहकारी माफयाहरूलाई पनि नेपाली जनताले बास्टनका जनताले झैँ कालोमासो दली टोल–नगरमा घुमाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *