न्यायालय पनि लामो समयदेखि दबाबमा बाँच्ने गरेको देखिन्छ
- बैशाख ७, २०८३
काठमाडौँ । ‘माओवादी’ को आठौँ राष्ट्रिय महाधिवेशन धेरै दिनअगाडि नै टुङ्गियो । तर, त्यसबारे धेरै राजनीतिक र वर्गीय प्रश्नहरू उठेका छन् । प्रचण्डले पढेको केन्द्रीय प्रतिनिधिको नामावली जात–जाति र भाषा–भाषी, पुरुष, महिला र युवाको आधारमा थियो (राजधानी, १९ पुस २०७८) ।
माक्र्स र एँगेल्सको पार्टी घोषणापत्र र त्यसबेलाको पार्टी सङ्गठनहरूमा जुनसुकै देशका भए पनि ‘मजदुर वर्ग’ कै विषय प्रमुख हुन्थ्यो । रुसी क्रान्तिमा पनि जात र भाषाको आधारमा पार्टी सदस्यता दिइएको वा कोही पार्टी नेतृत्वमा पुगेको देखिँदैन । चिनियाँ क्रान्तिमा पनि मजदुर र किसानहरू (कामदार वर्ग) लाई नै प्राथमिकता दिइएको थियो । तर, हरेक जात–जाति र भाषा–भाषीहरूको वर्गीय तथा सैद्धान्तिक स्तर उठाइएको थियो ।
नेपालका ‘कम्युनिस्ट’ तथा ‘समाजवादी’ भन्ने शासक दलहरूले संसद्मा मत प्राप्त गर्ने उद्देश्यले मधेसी, मुस्लिम, जनजाति, महिला, दलित, युवा र पिछडिएको क्षेत्रको नाउँमा सङ्गठन गरे । मन्त्री, उपप्रधानमन्त्री, सहायकमन्त्री, प्रदेश र संसद्को उम्मेदवारी, राष्ट्रियसभाको उम्मेदवारी र मनोनीतमा त्यसरी नै छनोट गरे । हुँदा हुँदा विदेशी पुँजीका दलालहरूबाट समेत करोडौँ रुपियाँ लिएर तिनीहरूलाई कहिले नेकाले, कहिले एमालेले र कहिले अन्य शासक दलहरूले सांसद र मन्त्रीसमेत बनाए । यसरी नेपालका ‘कम्युनिस्ट’, ‘समाजवादी’, ‘माक्र्सवादी–लेनिनवादी’, ‘माओवादी’ भन्नेहरूले देश र जनतामा भ्रम फैलाई निर्वाचनमा मत माग्ने, उपहारको नाममा सामान र पैसा बाँड्ने, नोकरी दिलाउने र लाभका पदहरूमा नियुक्ति गर्ने लोभलालच देखाएर मत लिने काम गरे । उनीहरूले खस–आर्य (बाहुन–क्षेत्री), दलित र जनजातिको गैरराजनीतिक एवम् गैरवर्गीय नारा लिएर जनताबीच सामाजिक तथा र्धािर्मक फूट ल्याए ।
इटालीको मुसोलिनी र जर्मनीको हिटलर पनि पहिले आफूलाई ‘समाजवादी’ भन्थे र पेशाले पत्रकारिता गर्थे । पछि, पुँजीपति वर्गको कम्युनिस्टविरोधी चङ्गुलमा फसेर तिनीहरूले प्रजातन्त्रको विरोध गर्दै सबै दलहरूमाथि प्रतिबन्ध लगाए र प्रजातन्त्रवादी एवम् सच्चा कम्युनिस्टहरूलाई पक्राउ गरे, यातना दिए र कतिपयलाई मारे ।
मुसोलिनी र हिटलर दुवैले जात, धर्म र सङ्कीर्ण राष्ट्रवाद एवम् अन्धराष्ट्रवादको नारा दिएर छिमेकी देशहरूमाथि आक्रमण गर्न थाले । मुसोलिनीले भने – “रोमको गौरव फर्काउने हो ।” क्याथोलिक धर्मका नाइकेहरू अर्थात् क्याथोलिक चर्चको आशीर्वाद पाएर, उनले धर्मकै नाममा अफ्रिकाको इथियोपियासमेत कब्जा गरे । मुसोलिनीले एक लाख युवा अर्धसैनिक दलको सङ्गठन गरेर रोममा मार्च गरेका थिए र उनी सत्तामा पुगेका थिए ।
हिटलरले जर्मन रगत ‘आर्य’ भएको हुँदा आफूसँग संसारलाई शासन गर्ने नैतिक अधिकार भएको घोषणा गरे । जर्मन जाति जहाँ जहाँ छन् ती छिमेकी देशहरूलाई कब्जा गर्दै हिटलरले युरोप र रूसमा समेत सशस्त्र आक्रमण गरी दोस्रो विश्वयुद्ध गरे । त्यस युद्धमा लाखौँ होइन करोडौँ जनता मारिए । हिटलरले पनि सुरुमा युवा अर्धसैनिक दल खडा गरेका थिए । विदेशी पुँजीपति वर्गले तिनीहरूलाई सहयोग गरेको थियो । उद्योग–धन्दा बढाउँदै विदेशमा बजार खोज्दै हिटलरले युद्धको चाँजो–पाँजो मिलाएका थिए ।
भारतमा भाजपाको मोदी सरकार र उनको आरएसएस (अर्धसैन्य सङ्गठन) मुसोलिनी र हिटलरकै बाटोमा छन् । मोदी सरकार उग्र हिन्दू र अन्ध तथा बडाराष्ट्रवादको नारा लगाएर मुसलमान, दलित, अन्य धर्म (शिख, बौद्ध, जैन, क्रिश्चियन) माथि हमला गर्दै करोडौँ जनतालाई आपसमा भिडाउँदै छ, त्यसको पछाडि अमेरिकी साम्राज्यवाद र अमेरिकी श्वेत आतङ्कवाद वा अमेरिकी फासीवाद छ ।
नेकपा (माओवादी) केन्द्रका नेता प्रचण्डले २०२८ सालमा पुष्पलाल समूहबाट पार्टी सदस्यता लिएको, २०३१ मा माक्र्सवादी अध्ययन समूहको गठन गरेको र २०३४ सालमा चौथो महाधिवेशन अर्थात् मोहनविक्रम समूहमा प्रवेश गरेको बताएका छन् (अन्नपूर्ण, २० पुस २०७८) । तर, उनले किन र कसरी भारत सरकारबाट सैनिक सहायता पाए ? उनलाई भारतले पठाएको रकम, हातहतियार र जवानहरूबारे सबै अनभिज्ञ छन् । प्रचण्ड ८ वर्षसम्म भारतको एक पाँचतारे होटलमा भारत सरकारको पाहुना भएर बसे । प्रचण्ड–बाबुराम भट्टराईको पार्टीले तीन पटक सरकारको नेतृत्व ग¥यो । तर, कम्युनिस्ट पार्टीले गर्ने ‘क्रान्तिकारी भूमिसुधार’, निःशुल्क शिक्षा र स्वास्थ्य सेवाको बन्दोवस्त, बालबालिकाको निम्ति शिशुशाला र बालोद्यानको व्यवस्था, ज्येष्ठ नागरिकहरूको निम्ति ‘आदर निकेतनको स्थापना’, युवाहरूको निम्ति योग्यताअनुसार रोजगारी र कामअनुसारको ज्यालाको बन्दोवस्त, देशको औद्योगिकीकरण आदि विकासका कामहरू किन गरेन ? योग्य विद्यार्थीलाई निःशुल्क चिकित्सा शास्त्रको छात्रवृत्तिको बन्दोवस्त किन गरेन ? यस्ता प्रश्नहरू माधव नेपाल र झलनाथ खनालप्रति पनि तेर्सिन्छन् । पाँच पटक प्रधानमन्त्री भएका नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई प्रश्न गर्नु त ‘भैँसीको अगाडि बेन्डबाजा’ भनेजस्तै हो । “के माधव नेपाल र प्रचण्ड मिलेर एमसीसी पारित गराउन नै अल्पमतको पार्टीका नेतालाई प्रधानमन्त्री बनाएका हुन् ?” भन्ने प्रश्न चारैतिर उठ्दै छ । समयले यसको उत्तर दिने नै छ ।
Cartoon: Nepali Times
Leave a Reply