लिम्पियाधुरा अतिक्रमणलाई संस्थागत गर्न भारतद्वारा अघि सारिएको कथित बङ्गलादेशी मोडेल
- जेष्ठ २१, २०८३
गत हप्ता, क्युवाको मोलिक्युलर इम्युनोलोजी केन्द्र (CIM) ले फोक्सोको क्यान्सरको खोप उपचार ‘भ्याक्सिरा’ (VAXIRA) को विकाससँगै स्वास्थ्य क्षेत्रमा एउटा ठुलो सफलताको घोषणा ग¥यो । यो एक उल्लेखनीय उपलब्धि हो, जसलाई क्युवाको फोक्सोको क्यान्सरविरुद्धको यो दोस्रो खोप हो भन्ने तथ्यले थप प्रभावशाली बनाएको छ ।
यस खोपले क्यान्सरका कोषिकाहरूसँग लड्न बिरामीको रोग प्रतिरोधात्मक क्षमताको विकास गरी क्यान्सर फैलिनबाट रोक्छ । यसले मानिसको आयु उल्लेख्य रूपमा बढाउने प्रमाणित भइसकेको छ । सन् २०१३ देखि, १,३०० भन्दा बढी बिरामीहरूमा यस खोपको निगरानी, परीक्षण र जाँच गरिएको छ । १० वर्षको अवधिमा, बिरामीहरू औसतमा ७६.६ महिनासम्म बाँच्न सफल भए, जसमा ‘भ्याक्सिरा’ दिइएका कुल बिरामीमध्ये २० प्रतिशतले अप्रत्याशित रूपमा लामो समयसम्म बाँच्न सफल भए । गत वर्ष क्युवाको स्वास्थ्य सेवामा पु¥याएको योगदानको कदर गर्दै भ्याक्सिरालाई क्युवामा ‘प्राविधिक नवप्रवर्तन पुरस्कार’ प्रदान गरिएको थियो । यो मानव जाति र क्यान्सरविरुद्धको लडाइँका लागि एक अविश्वसनीय सफलता हो र यो सफलता इतिहासकै सबैभन्दा लामो र गम्भीर नाकाबन्दी खेपिरहेको देशले हासिल गरिरहेको छ ।
सन् २०११ मा, क्युवाले ‘सिमाभ्याक्स’ (CIMAvax) को विकास गरेको थियो, जुन अझै पनि फोक्सोको क्यान्सरका लागि विश्वकै एक मात्र स्वीकृत खोप हो । यस खोपले क्यान्सरका कोषिकाहरूको वृद्धिलाई रोक्न र ट्युमरको फैलावटलाई ढिलो पार्न रोग प्रतिरोधात्मक प्रणालीलाई सक्रिय बनाउने काम गर्छ । यो खोपले विश्वभरका ५,००० भन्दा बढी र क्युवामै अन्य हजारौँ मानिसहरूको उपचार गरिसकेको छ । यस खोपको अत्यधिक महत्वलाई ध्यानमा राख्दै संरा अमेरिकाले यसलाई आफ्नो देशमा परीक्षण गर्नका लागि एउटा विशेष सम्झौता ग¥यो । न्युयोर्कस्थित रोज्वेल पार्क क्यान्सर इन्स्टिच्युटले सन् २०१८ देखि ‘CIM’ सँग मिलेर क्लिनिकल ट्रायल (क्लिनिकल परीक्षण) सञ्चालन गर्दै आएको छ । उनीहरूले अमेरिकामा सिमाभ्याक्सको पहिलो क्लिनिकल परीक्षण गरेका हुन् । जुन राष्ट्रले क्युवामाथि विनाशकारी नाकाबन्दी थोपरिरहेको छ, त्यही राष्ट्रले स्वास्थ्य क्षेत्रका यी ऐतिहासिक उपलब्धिहरूबाट फाइदा पनि उठाइरहेको छ ।
क्यान्सर उपचारका लागि चिकित्सा क्षेत्रमा भएका यी ठुला विकासहरू क्युवाका एकमात्र विस्मयकारी स्वास्थ्य उपलब्धिहरू भने होइनन् ।
कोभिड–१९ महामारीको समयमा, क्युवाले पाँचवटा खोपहरू उत्पादन ग¥यो : अब्दाला (Abdala), सोबेराना ०१ (Soberana), सोबेराना ०२ (भSoberana 02), सोबेराना प्लस (Soberana Plus) र माम्बिसा (Mambisa) । क्युवा पश्चिमी गोलाद्र्धमै सबैभन्दा क कोमभिड मृत्युदर भएका देशहरूमध्ये एक थियो । सन् २०२१ सम्ममा, विश्वव्यापी औसत मृत्युदर २.२ प्रतिशत रहेको तुलनामा क्युवाको मृत्युदर मात्र ०.५९ प्रतिशत थियो । यी खोपहरू उत्पादन गर्न विशेष रेफ्रिजरेसनको आवश्यकता पर्दैनथ्यो, जसको अर्थ यिनीहरूलाई सजिलैसँग ओसारपसार गर्न र यस्ता पूर्वाधारहरूमा पहुँच असम्भव भएका विश्वका अन्य स्थानहरूमा पनि वितरण गर्न सकिन्थ्यो । चाँडै नै, भेनेजुयला, इरान, भियतनाम, सेन्ट भिन्सेन्ट एन्ड द ग्रेनाडिन्स र मेक्सिको सबैले आफ्ना नागरिकको सुरक्षाका लागि यो खोप प्रयोग गर्न थाले ।
सन् २०२३ सम्ममा, प्रति १,००,००० मानिसमा खोप लगाउने दरमा क्युवा विश्वमै तेस्रो स्थानमा थियो । अमेरिकाले क्युवालाई आफ्नै जनतालाई खोप लगाउन आवश्यक पर्ने सिरिन्जहरू आयात गर्न प्रतिबन्ध लगाएको तथ्यका बाबजुद क्युवाले यो सफलता हासिल गरेको हो । यसै पृष्ठभूमिमा, क्युवा आफ्ना विद्यालयहरू सुरक्षित रूपमा पुनः सञ्चालन गर्ने प्रयासस्वरूप साना केटाकेटी र बालबालिकाहरूलाई खोप लगाउने विश्वकै पहिलो देश बन्यो ।
अमेरिकाले जस्तै क्युवाले पनि विश्वसामु आफ्ना कोभिड खोपहरू उपलब्ध गरायो । क्युवाले सेन्ट भिन्सेन्ट एन्ड द ग्रेनाडिन्सलाई खोपहरू दान ग¥यो र अन्य देशहरूलाई सकेसम्म सस्तो मूल्यमा बेच्यो, तर अर्कोतर्फ अमेरिकाले भने खोपहरू उपलब्ध गराउनका लागि विभिन्न देशहरूलाई आफ्ना दूतावासका भवन र सैन्य शिविरजस्ता सम्पत्तिहरू धितो राख्न बाध्य पार्दै धम्क्याउने काम ग¥यो । यो खोप प्राप्त गर्नेहरूले भविष्यमा खोप उत्पादक कम्पनीविरुद्ध गर्न सक्ने कानुनी कारबाहीबाट कम्पनीलाई ‘सुरक्षित’ राख्नका लागि गरिएको थियो । यही नाफामूलक मानसिकता नै विश्वभर कोभिड सुरक्षाको वितरणमा देखिएको ‘खोप रङ्गभेद’ को मुख्य कारण थियो । अगस्त २०२४ सम्मको तथ्याङ्कअनुसार, उच्च आय भएका देशहरूमा प्रति १०० जनामा २२२ भन्दा बढी डोज खोप वितरण गरिएको थियो भने न्यून आय भएका देशहरूमा यो सङ्ख्या ४६ भन्दा कम थियो । सन् २०२१ मा, कोभिड खोप उत्पादन गर्ने अमेरिकी फर्मास्युटिकल कम्पनीहरू (मोडर्ना, फाइजर, जोनसन एन्ड जोनसन) ले ३१ अर्ब डलरजस्तो आँखा तिरमिराउने आम्दानी गरे । महामारीको समयमा कम्पनी र सेयरधनीहरूले पैसा कमाउनुपर्छ भन्ने अवधारणा आफैँमा पूर्ण रूपमा निन्दनीय हुनुपर्ने हो ।
जैवप्रविधि (Biotechnology)
क्युवा खोपको क्षेत्रमा भएका अभूतपूर्व विकासहरूमा विश्वको नेतृत्व गर्दछ । तर, यो सब कसरी सम्भव भयो त ? क्युवाले चिकित्सा क्षेत्रमा विश्वकै नेतृत्व गर्ने खालका स्वास्थ्य सफलताहरू हासिल गर्नु कुनै संयोगमात्र होइन । क्युवाले एक विश्वस्तरीय जैवप्रविधि क्षेत्रको विकास गरेको छ जुन सरकारी स्वामित्वमा छ । यसले नाफाका लागि नभई जनताको हितमा काम गर्छ । त्यहाँ खोप उत्पादन गर्नमा कुनै नाफामूलक उद्देश्य हुँदैन† अनुसन्धान र विकास सामूहिक हितका लागि गरिन्छ । वैज्ञानिक विकासको प्रक्रियालाई अझ राम्रो बनाउन स्रोतहरू साझा गरिन्छन् । यो पुँजीवादी देशहरूको स्थितिभन्दा पूर्ण रूपमा विपरीत छ, जहाँ जैवप्रविधि औषधि कम्पनीहरूको प्रभुत्व रहेको एउटा ठुलो प्रतिस्पर्धाको क्षेत्र हो, जो पूर्ण रूपमा नाफाबाट प्रेरित हुन्छन् । यसको परिणामस्वरूप, स्वास्थ्य क्षेत्रमा ठुला विकासहरू हुँदा पनि तिनीहरू सर्वसाधारणको पहुँचमा पुग्न सक्दैनन् ।
सन् १९८१ मा क्युवाले ‘बायोलोजिकल रिसर्च सेन्टर’ (जैविक अनुसन्धान केन्द्र) स्थापना ग¥यो । यद्यपि, नाकाबन्दीका कारण उपकरण, सामग्री, अनुसन्धान पत्रिकाहरूमा पहुँच र औषधिहरूको आयात पूर्ण रूपमा रोकिएको थियो । स्थापनाको पहिलो ९ वर्षमा यस केन्द्रले तीनवटा उत्पादनहरू तयार ग¥यो । सन् १९९० देखि २००० को बिचमा यसले १८ वटा र सन् २००१ देखि २०१० को बिचमा ४० भन्दा बढी उत्पादनहरू तयार ग¥यो । आज यो सङ्ख्या निरन्तर बढिरहेको छ । यही केन्द्र मौलाएर एक विश्वस्तरीय जैवप्रविधि क्षेत्रका रूपमा विकसित भयो । यसले स्वास्थ्य क्षेत्रमा ठुलठुला सफलताहरू हासिल गरेको छ । क्युवाले ‘हेमोफिलस इन्फ्लुएन्जा टाइप बी’ (Haemophilus influenzae type B) का लागि कृत्रिम एन्टिजेन (Synthetic Antigen) भएको विश्वकै पहिलो मानव खोप उत्पादन ग¥यो ।सन् १९८९ मा देशमा मेनिन्जाइटिस बीको गम्भीर प्रकोप फैलिएका बेला क्युवाले विश्वकै पहिलो ‘मेनिन्जाइटिस बी’ (Meningitis B) विरुद्धको खोप उत्पादन ग¥यो । मेनिन्जाइटिस बीबाट जोगाउनका लागि उत्पादन गरिएको यो इतिहासकै पहिलो खोप थियो र यसलाई ल्याटिन अमेरिकाका विभिन्न देशहरूमा नागरिकहरूको सुरक्षाका लागि निर्यात गरिएको थियो । अमेरिकाले भने मेनिन्जाइटिस बीका लागि आफ्नो पहिलो खोपलाई सन् २०१४ मा मात्र स्वीकृति दिएको थियो ।
त्यसको अर्को वर्ष, क्युवाले हेपाटाइटिस बीविरुद्धको खोप उत्पादन ग¥यो । योसँगै क्युवा हेपाटाइटिस बी खोप उत्पादन गर्ने विश्वका अन्य पाँच देशहरू (फ्रान्स, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका, इन्डोनेसिया र बेलायत) को सूचीमा सामेल भयो । अमेरिकी नाकाबन्दीका कारण यो खोप आयात गर्न लगभग असम्भव र अत्यधिक महँगो भएपछि, क्युवाले आफ्नै खोप उत्पादन ग¥यो र १५ वर्षभन्दा कम अवधिमा देशबाट हेपाटाइटिस बीलाई पूर्ण रूपमा उन्मूलन ग¥यो ।
सन् २००६ मा, क्युवाले ‘हेबरप्रोट–पी’ (Heberprot–P) को विकास ग¥यो, जुन मधुमेहका कारण खुट्टामा हुने घाउ (Diabetic foot ulcers) का बिरामीहरूको खुट्टा काट्नुपर्ने अवस्थालाई ७५ प्रतिशतसम्म कम गर्ने विश्वकै एक मात्र औषधि हो । १० वर्षभित्रै यसको प्रयोग २३ वटा देशहरूमा हुन थाल्यो । यसले खुट्टामा घाउ भएका ४,००,००० भन्दा बढी मानिसहरूको उपचार गरिसकेको छ । सन् २०२४ मा त अमेरिकाले आफ्नै नाकाबन्दीलाई समेत तोड्दै यस औषधिलाई परीक्षण र प्रयोगका लागि स्वीकृति दियो । मधुमेहबाट पीडित अमेरिकीहरू क्युवाविरुद्धको दुष्प्रचार सुन्दै र उनीहरूलाई नै मद्दत गरिरहेका क्युवाली अनुसन्धानकर्ता तथा वैज्ञानिकहरूविरुद्धको युद्धका लागि कर तिर्दै, क्युवाली औषधिबाटै उपचार पाइरहेका छन् भन्ने विचारले नै यो नाकाबन्दी कति अमानवीय छ भन्ने कुरा छर्लङ्ग पार्छ ।
सन् २०१५ सम्ममा, क्युवा आमाबाट बच्चामा एचआईभी र सिफिलिसको सङ्क्रमण सर्ने प्रक्रियालाई पूर्ण रूपमा रोक्ने विश्वकै पहिलो देश बन्यो । क्युवाले आफ्नो समाजवादी मोडलका कारण यो सम्भव बनाएको हो । यही कारणले गर्दा नै अमेरिकाका मुख्यधारका सञ्चारमाध्यमहरूमा यसको प्रशंसा गरिँदैन र यसलाई स्वास्थ्य क्षेत्रको प्रगतिको केन्द्रका रूपमा हेरिँदैन । यो ऐतिहासिक विश्वव्यापी उपलब्धि क्युवाको सर्वसुलभ स्वास्थ्य प्रणालीको परिणामस्वरूप सम्भव भएको हो, जसले मातृ तथा बाल स्वास्थ्य कार्यक्रमहरूलाई एचआईभी र यौनजन्य सङ्क्रमण (STI) को उपचारसँग एकीकृत गरेको छ । सन् २००१ देखि निःशुल्क वितरण गर्दै आएको ‘एन्टिरेट्रोभाइरल’ (Anti-retroviral) उपचारका कारण क्युवामा एड्स (AIDS) को दर विश्वमै सबैभन्दा कम र अमेरिका महादेशमै सबैभन्दा न्यून रहेको छ । यसको खोप कार्यक्रमले विश्वभर अझै पनि मृत्यु र पीडाको कारण बनिरहेका रोगहरूलाई जरैदेखि उखेलेको छ, जसमा सन् १९७९ मा भ्यागुते रोग (Diphtheria), सन् १९९३ मा दादुरा (Measles), सन् १९९४ मा लहरे खोकी (Whooping cough) र सन् १९९५ मा रुबेला (Rubella) सामेल छन् । क्युवाले रक्तचाप (Blood pressure) नियन्त्रणमा पनि विश्वमै सबैभन्दा उत्कृष्ट सफलता हासिल गरेको छ ।
जुन सिद्धान्तहरूका कारण क्युवाले चिकित्सा क्षेत्रमा विश्वकै नेतृत्व गर्ने खालका अभूतपूर्व सफलताहरू हासिल ग¥यो, तिनै सिद्धान्तहरू देशबाट रोग उन्मूलन गर्ने क्युवाको सफलतासँग पनि मिल्दाजुल्दा छन् । क्युवाको खोप अभियानको मुख्य उद्देश्य आफ्ना जनताको रक्षा गर्नु हो । सन् १९६२ मा सुरु भएको ‘राष्ट्रिय खोप कार्यक्रम’ ले कम्तीमा ५,६०,००० बालबालिकाको ज्यान जोगाएको छ, जो यो कार्यक्रम नभएको भए विभिन्न प्राणघातक रोगहरूको सिकार हुने थिए । यो कार्यक्रम चारवटा मुख्य निर्देशिकाबाट प्रेरित छ ः खोप वितरणमा समानता† प्राथमिक स्वास्थ्य सेवामा खोपको एकीकरण† समुदायको सक्रिय सहभागिता† निःशुल्क रूपमा खोप उपलब्ध गराउनु । यी मार्गदर्शक सिद्धान्तहरूले कर्पोरेट स्वार्थ वा लोभभन्दा पनि सिङ्गो समाजको स्वास्थ्य कति केन्द्रमा छ भन्ने कुरा प्रस्ट पार्छन् ।
स्वास्थ्य सेवा उपलब्ध गराउने क्युवाको यो दृष्टिकोण त्यहाँको क्रान्तिको वास्तविक स्वरूपको परिचायक हो अर्थात् क्युवाली जनता र विश्वभरका उत्पीडितहरूको सेवा गर्नु । सन् १९५९ को क्रान्तिभन्दा अघि क्युवामा प्रत्येक वर्ष ३०० बालबालिका पोलियोका कारण पक्षघात (प्यारालाइसिस) को सिकार हुन्थे । क्रान्तिकारी सरकारले चालेका पहिलो कदमहरूमध्ये एक क्युवाली समाजका लागि खोप अभियान सुरु गर्नु थियो । सन् १९६२ मा भर्खरै गठन गरिएका क्रान्तिकारी कमिटीका १,००,००० सदस्यहरूलाई परिचालन गरी जनसङ्ख्या जनगणना गर्न र सबै बालबालिकालाई खोप लगाउन पोलियो अभियान सुरु गरियो । केही महिनाभित्रै क्युवाबाट पोलियो पूर्ण रूपमा उन्मूलन भयो र क्युवा यस्तो सफलता हासिल गर्ने विश्वकै पहिलो देशहरूमध्ये एक बन्यो । पोलियो अझै पनि विश्वभर पक्षाघात र मृत्युको एउटा प्रमुख कारण बनेको छ ।
यी स्वास्थ्य उपलब्धिहरूले नयाँ उपचार र ओखतीहरूमा पहुँच, किफायती एवं सुलभ खोप तथा औषधिहरू र स्वास्थ्य सेवाका उदाहरणीय मोडलहरूमार्फत विश्वभरका मानिसहरूलाई ठुलो फाइदा पु¥याएका छन् । तर, क्युवाको स्वास्थ्य सेवाको अर्को विस्मयकारी पक्ष भनेको यसको ‘अन्तर्राष्ट्रिय ऐक्यबद्धता’ हो ।
क्युवाले भेनेजुयलासँगको संयुक्त कार्यक्रम ‘अपरेसन मिराकल’ (peration Miracle) मार्फत ४० लाखभन्दा बढी मानिसहरूको आँखाको ज्योति फर्काएको छ । महामारी, कडा सरुवा रोग, प्राकृतिक प्रकोप र अन्य सङ्कटको बेला जहाँ कुनै पनि देशले पाइला टेक्न चाहेनन्, त्यस्ता १६० वटा देशमा क्युवाले चिकित्सा टोलीका रूपमा ६,००,००० भन्दा बढी स्वास्थ्यकर्मीहरू पठाएको छ । क्युवाले ‘ग्लोबल साउथ’ का डाक्टरहरूलाई अझै पनि निःशुल्क तालिम दिइरहेको छ, ताकि उनीहरू आफ्नै देशमा फर्केर चिकित्सा सेवा गर्न सकून् ।
क्युवाले मानव जातिका लागि यी चमत्कारिक उपलब्धिहरू यस्तो नाकाबन्दी भोग्दै हासिल गरिरहेको छ, जसका कारण क्युवाभरका फार्मेसीहरूमा औषधिको अभाव हुन्छ, अनुसन्धानकर्ताहरूलाई स्वास्थ्य पत्रिकाहरू पढ्नबाट रोकिन्छ र अनुसन्धानलाई सहज एवं द्रुत बनाउन सक्ने उपकरण, स्पेयर पाट्र्स तथा प्रयोगशाला सामग्रीहरूको आयातमा बाधा पुग्छ । अमेरिकी नाकाबन्दीलाई मानवतामाथिकै आक्रमणको रूपमा हेरिनुपर्छ । यो एउटा यस्तो साम्राज्यद्वारा गरिएको विनाशकारी युद्ध र अमानवीय कार्य हो, जसले विश्वभर बम, लडाकु विमान र आक्रमणकारी सैनिकहरू निर्यात गर्छ; त्यो युद्ध त्यस्तो देशविरुद्ध छ, जसले विश्वभर डाक्टरहरू निर्यात गर्छ ।
कुनै समय क्युवामा शिशु मृत्युदर विश्वकै सबैभन्दा कम थियो । तर, सन् २०१९ देखि क्युवामाथि २५० भन्दा बढी थप प्रतिबन्धहरू लगाइएका कारण शिशु मृत्युदर १४८ प्रतिशतले बढेको छ । अनुमान गरिएअनुसार यसले गर्दा १,८०० शिशुहरूले ज्यान गुमाउनुपरेको छ । आफ्नो सार्वभौमसत्ता रक्षा गरेकै कारण एउटा देशलाई समाप्त पार्ने, दण्ड दिने र ध्वस्त पार्ने मनसायले लगाइएको नाकाबन्दीको प्रत्यक्ष भौतिक परिणाम यही हो । यति हुँदाहुँदै पनि, क्युवाको शिशु मृत्युदर अमेरिकाको भन्दा अझै कम छ । अमेरिकाले क्युवामाथि यो नाकाबन्दी य सबै प्रपञ्च उसले गरिब अमेरिकीहरूमाझ मृत्यु, टाट पल्टिने अवस्था र पीडा निम्त्याएर विशुद्ध नाफाका लागि सञ्चालित आफ्नो निकृष्ट स्वास्थ्य प्रणालीलाई जोगाइराख्नका लागि गरिरहेको छ सकारण थोपरेको हो, ताकि उसले क्युवालाई एउटा ‘असफल राष्ट्र’ साबित गर्ने प्रयास गर्न सकोस् र क्युवाको सर्वसुलभ एवं निःशुल्क स्वास्थ्य प्रणाली ‘असफल’ भएको दाबी गर्न पाओस्; यी।
सत्य के हो भने, यस्तो विनाशकारी नाकाबन्दीका बिच पनि क्युवाले आफ्नो क्रान्तिका सिद्धान्तहरू र विश्वलाई अझ राम्रो बनाउने आफ्नो उत्प्रेरणालाई जीवितै राखेको छ ।
जसरी सन् २००३ मा फिडेल क्यास्ट्रोले भनेका थिए, “हाम्रो देशले अन्य देशका जनतामाथि बम बर्साउँदैन, न त सहरहरूमा बमबारी गर्न हजारौँ विमानहरू नै पठाउँछ; हाम्रो देशसँग आणविक हतियार, रासायनिक हतियार वा जैविक हतियारहरू छैनन् । हाम्रो देशका दसौँ हजार वैज्ञानिक र डाक्टरहरूलाई जीवन जोगाउने विचारका साथ शिक्षित गरिएको छ । अन्य मानव जातिको ज्यान लिनका लागि कुनै वैज्ञानिक वा डाक्टरलाई हानिकारक पदार्थ, ब्याक्टेरिया वा भाइरस उत्पादन गर्ने काममा लगाउनु यो अवधारणाको पूर्ण रूपमा विपरीत हुनेछ ।”
स्रोत : जेडनेटवर्क
Leave a Reply