भर्खरै :

भक्तपुरमा पर्यटकबाट दोब्बर आम्दानी

भक्तपुर भ्रमण गर्ने पर्यटकबाट उठ्ने शुल्क आर्थिक वर्ष २०७२-७३ भन्दा आर्थिक वर्ष २०७३-७४ मा दोब्बरले वृद्धि भएको छ ।
भक्तपुर नपाका पर्यटन अधिकृत गौतमप्रसाद लासिवाले गएको आर्थिक वर्ष पर्यटन सेवा शुल्कबाट नपाले १९ करोड ९५ लाख २८ हजार रुपैयाँ आम्दानी गरेको जानकारी दिनुभयो । आर्थिक वर्ष २०७२-७३ मा भने १० करोड ९२ लाख ७५ हजार रुपैयाँमात्रै आम्दानी भएको थियो ।
भक्तपुर नगरपालिकाका अनुसार आर्थिक वर्ष २०७२-७३ मा ९५ हजार ५६ जना बाह्य पर्यटक भक्तपुर पुगेका थिए । गएको आर्थिक वर्षमा भने एक लाख ८१ हजार तीन सय ५० जना पर्यटक भक्तपुर नगर पुगेका हुन् जुन ९०.७८ प्रतिशतले वृद्धि हो ।
नपाले भक्तपुर नगर प्रवेश गर्ने पर्यटकहरुसँग करिब १४ वटा नाकाबाट शुल्क उठाउँदै आएको छ । नपाले चीनसहित दक्षिण एसियाली मुलुकका पर्यटकहरुसँग प्रतिव्यक्ति पाँच सय रुपैयाँ शुल्क लिँदै आएको छ ।
भक्तपुर भ्रमण गर्ने पर्यटकहरुको संख्यामा पनि वृद्धि भएको छ । यो वर्ष ९०.७८ प्रतिशतले जिल्लाको भ्रमण गरेका छन् । विसं २०७२ वैशाख १२ र त्यसपछिका परकम्पले ठप्प हुन पुगेको भक्तपुरको पर्यटन पछिल्लो समय आशा लाग्दो भएको हो ।
पर्यटन सेवा शुल्क भक्तपुर नपाको आन्तरिक आम्दानीको प्रमुख स्रोत हो । पर्यटन सेवा शुल्कबापत उठेको रकमबाट नै ६ वटा कलेजको सञ्चालनसँगै सम्पदा संरक्षण गर्दै आएको नपाले दावी गर्दैआएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *