भर्खरै :

रोऊँ कि हाँसू !

भाषिक त्रुटि वा कमजोरीलाई विद्वान्हरूले तीन भागमा बाँडेका छन् :
(क) व्याकरण वा शब्दार्थसँग सम्बन्धित, (ख) वाक्य र तिनले दिने अर्थसँग सम्बन्धित र (ग) भनाइको आशयसँग सम्बन्धित । यीमध्ये ‘शब्दार्थसँग सम्बन्धित’ गल्तीलाई मात्र लिएर मैले पठाएको सानो र सामान्य लेख (नेपाली भाषामा शुद्धता र एकरूपता हराउँदै) लाई मजदुर दैनिकको यही १९ माघको अङ्कमा ससम्मान स्थान दिनुभएकोमा आभारी छु ।
उक्त लेखमा मैले अशुद्ध लेखिने केही शब्द र ती शब्दका शुद्ध रूप दुवै लेखेको थिएँ । शुद्धाशुद्धिको सन्दर्भमा यसरी नै तुलनात्मकरूपमा बुझाउँदा कुरो प्रस्ट हुन्छ । तर, एउटा अनुच्छेद छापिने बेलामा त्यहाँ उल्लिखित शुद्ध रूपमात्र छापिएको देख्दा, कुनै पुस्तकको अन्त्यमा भएको/हुनुपर्ने भनी छापिएको शुद्धिपत्रका दुवै लहरमा हुनुपर्ने/हुनुपर्ने मात्र छापिएजस्तो सम्झेँ । (जस्तो कि मेरो लेखको वास्तविक अंश यस्तो थियो : त्यस्तै तामाङ, खोटाङ, भञ्ज्याङ, इन्जिनियरिङ, डाइभिङ, ट्रेनिङ लेखिनुपर्नेमा, थप दुःख गरीगरी जताततै तामाङ्ग, खोटाङ्ग, भञ्ज्याङ्ग, इन्जिनियरिङ्ग, ड्राइभिङ्ग, ट्रेनिङ्ग लेखेर ‘परम्परा जोगाउने’ हरू पनि पाइन्छन् । ‘डाइभिङ ट्रेनिङ सेन्टर’ ले ‘ड्राइभिङ्ग ट्रेनिङ्ग सेन्टर’ को परिचयपाटी टाँसेर गल्ती गर्नु स्वाभाविकै भयो । तर, ‘सरस्वती मावि वरभञ्ज्याङ’ र ‘इन्जिनियरिङ कलेज’ ले वरभञ्ज्याङ्ग, इन्जिनियरिङ्ग लेखेर सरस्वतीको अपमान नगर्नुपर्ने हो ।)
एकपटक चीनमा एकजना विद्वानले भाषिक अशुद्धिका बारेमा लेख लेखेका थिए रे । त्यसको पर्सिपल्ट, त्यही लेखमा प्रयोग भएका चार दर्जन अशुद्धि औँल्याउँदै अर्का विद्वानको लेख छापियो रे ! यस्तै कुरा सम्झेर मलाई यतिखेर रोऊँ कि हाँसू भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *