भर्खरै :

चीनमा शीतकालीन ओलम्पिकको शुभारम्भ

छिमेकी देश चीनको राजधानी पेइचिङमा आजबाट शीतकालीन ओलम्पिक सुरु हुँदै छ । शुक्रबारबाट सुरु हुने ओलम्पिक आगामी फेब्रुअरी २० मा समापन हुनेछ । पेइचिङ सहर ग्रीष्मकालीन र शीतकालीन दुवै ओलम्पिक आयोजना गर्ने संसारकै पहिलो सहर बन्दै छ । विश्वव्यापी कोभिड महामारी, मुद्रास्फीति, जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय राजनीतिमा गहिरिँदो विभाजनबीच चीनलाई ओलम्पिकको आयोजना पक्कै सहज होइन । डिसेम्बर–जनवरी महिनामा चीनकै विभिन्न भागमा समेत कोभिडको सङ्क्रमण बढ्दा ओलम्पिकमा सहभागी बन्ने खेलाडी, खेल अधिकारी र कूटनीतिक प्रतिनिधिको सुरक्षाबारे अनेक टीकाटिप्पणी भएका छन् । तर, चीनले अत्याधुनिक प्रविधिको प्रयोग गरी ओलम्पिकमा ‘शून्य कोभिड’ को नीति अपनाएको छ । प्रतियोगिता हुने स्थललाई चीनका अन्य समुदायबाट अलग बायो बबलभित्र राखेर विदेशी पाहुनालाई सङ्क्रमण अथवा उनीहरूबाट सङ्क्रमण दुवै सम्भावनामाथि नियन्त्रण गरेको छ ।
चीनले शीतकालीन ओलम्पिकलाई कार्बन शून्य बनाउन दिएको वचनबद्धताअनुसार प्रतियोगिता हुने सबै क्षेत्रमा नवीकरणीय ऊर्जा प्रयोग गरिएको छ । कार्बन उत्सर्जनको कारण संसारको जलवायुमा मडारिरहेको जोखिम कम गर्न नवीकरणीय उर्जाको प्रयोग गर्न ओलम्पिकले साङ्केतिकरूपमा सन्देह प्रवाह गरेको छ । दिगो नवीकरणीय ऊर्जाको प्रयोग गर्ने चीनको यो कदमले पर्यावरणीय संरक्षणमा चीन सरकारको प्रतिबद्धता झल्काएको छ । उसको यो कदम पर्यावरण संरक्षणबारे ठूल्ठूला कुरा गर्ने तर व्यवहारमा उल्टो काम गर्ने संसारका पुँजीवादी देशहरूका निम्ति चुनौती बनेको छ ।
ओलम्पिकसँग कुनै सरोकार नभएका केही विषयलाई उछालेर संरा अमेरिका र बेलायतले पेइचिङ ओलम्पिकको कूटनीतिक बहिष्कारको घोषणा गरेका छन् । आफ्नै देशमा मानव अधिकार उल्लङ्घनका घटना बढिरहेको समयमा ती देशहरूले चीनमाथि मानव अधिकार उल्लङ्घनको औंला तेर्साउँदा बाँकी चार वटा औंला उनीहरूतिरै तेर्सिएका छन् ।
ओलम्पिकको मूल भावना संसारमा एकताभाव फैलाउनु र सहकार्य प्रवद्र्धन गर्नु हो । महामारीमा संसारले भोगेको वियोग र कष्ट सामना गर्न आवश्यक एकता प्रदर्शन गर्ने उपयुक्त माध्यम हो–शीतकालीन ओलम्पिक । अन्तर्राष्ट्रिय राजनीतिमा देखिएका विभाजनलाई सिलाउने एउटा उपयुक्त साधन हो– पेइचिङ ओलम्पिक । तर, आफूलाई महाशक्ति दाबी गर्ने देशहरूको सङ्कीर्णता र प्रभुत्ववादी मानसिकताको कारण ओलम्पिक भावनाको कदर हुन सकेन । तथापि, पेइचिङ ओलम्पिकको उद्घाटन समारोहमा २१ देशका नेताहरू सहभागी बन्दै छन् । पेइचिङ ओलम्पिकमा अन्तर्राष्ट्रिय नेताहरूको सहभागिताले संसारमा अब संरा अमेरिका नेतृत्वको मोर्चाको एकछत्र राजको अन्त्य भएको सङ्केत गरेको छ ।
शीतकालीन ओलम्पिकमा सामेल खेलका विधाहरूमा भाग लिने नेपाली खेलाडीहरू नहुँदा नेपालका कोही पनि पेइचिङ गएका छैनन् । तर, दक्षिणका सबै देशले सहभागिता जनाएर वा नजनाइकन पनि सो खेल प्रतियोगिताप्रति ऐक्यबद्धता व्यक्त गरेका छन् ।
शीतकालीन ओलम्पिकको सफल आयोजनासँगै चीनको अन्तर्राष्ट्रिय छवि अझ उँचो हुनेछ । संरा अमेरिका–बेलायत मोर्चाले चीनको उदयलाई जतिसुकै रोक्न खोजे पनि उनीहरू पाइला – पाइलामा असफल बन्दै गएको अर्को प्रमाण बन्दै छ–शीतकालीन पेइचिङ ओलम्पिक । संसारमा आफ्नो एकछत्र प्रभुत्ववाद लागु हुनुपर्ने संरा अमेरिकी साम्राज्यवादी चिन्तनलाई यो खुला चुनौती भएको छ । यसर्थ, संसारका साम्राज्यवादी शक्तिहरूले चीनले आयोजना गरेको ओलम्पिकको सफलताको शुभकामना व्यक्त गरेका छन् । संसारभर चीनले प्रवाह गरेको ऐक्यबद्धता र सहकार्यको सन्देशको संसारका शान्तिकामी जनताले कदर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *