भर्खरै :

कहाँ छन्, समृद्धिका नाराका कर्महरू ?

प्रिय देशान्ता,
असीम सम्झना !
यहाँ म सन्चै छु । आशा छ, तिमीलाई पनि सन्चै होला ।
मलाई अझै सम्झना छ, म कक्षा १० मा पढ्दा तिमीलाई लेखेको पहिलो चिट्ठी २०५१ सालको साहित्य गोष्ठीमा वाचन गरेँ । दोस्रो चिट्ठी २०५१ सालमा लेखेँ र त्यसलाई क्याम्पसको भित्ते पत्रिकामा टासेँ  । मेरो पढ्ने र लेख्ने क्रम चल्दै थियो । तिम्रै सम्झनाले स्नातक पढ्दै गर्दा तेस्रो चिट्ठी लेखेँ र मजदुर दैनिकमा प्रकाशित भयो ।
आज २० वर्षपछि तिम्रै नाममा चिट्ठी लेख्दै छु ।
हुन त वि. स. २०६१ सालमा पुष्प विज्ञानसम्बन्धी स्थलगत अध्ययन गर्ने क्रममा सिक्किम भ्रमण गर्दा त्यहाँको प्राकृतिक एवम् राजनैतिक हावापानीको बारेमा तिमीलाई बताउन चाहेको थिएँ । लेन्दुप दोर्जेको पोस्टर देखेपछि घृणा जागेको थियो । टिस्टा नदी देखेपछि सुगौली सन्धिमा हस्ताक्षर गर्ने गजराज मिश्र र चन्द्रशेखर उपाध्यायदेखि झोक चलेको थियो । त्यसबेला रिसले जीउको तापक्रम बढेको आभास भयो । अहिले पनि देशघाती, एसियाघाती एमसीसी सम्झौता संसद्बाट पारित गराउन मै हुँ भन्ने बुद्धिजीवीहरू डलर, युरो, आईसीको स्वाद चाखेका सिता खाएर गीता गाउनेहरू, प्रभुकै कृपाले अपडेट भएका राजनीतिक खोल ओढेका राजनैतिक पाखण्डीहरू, मजदुर किसानको श्रम र पसिना चुसी मोटाएका ठूला व्यापारी र ठेकेदारहरू लाग्दै छन् । ती पात्रहरूको नाम र ठेगाना हरेक देशभक्तहरूले रातो मसीबाट अन्डरलाइन गर्न जरुरी देखिन्छ ।
दुई पटक सिक्किम जाँदा पनि तिमीलाई पत्र लेख्न पाइएन । हुन त केही टिपोटहरू डायरीमा अझै छन् । तर, दृश्यहरू धमिलिँदै छन् । हुन त यसपालि दसैँमा अपर मुस्ताङबाट फर्कँदा तिम्रो सम्झना नभएको पक्कै होइन ।
अहिले मेरा टिपोटहरू पल्टाउँदै गर्दा मेरो दृश्य भैरहवाको बुद्ध चोकमा पुगेर टक्क अड्यो । दुई वर्षअघि जाँदा र अहिलेको अवस्था हेर्दा भैरहवा खराब नै पाएँ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले गर्दा होटल व्यवसाय फस्टाए पनि मजदुरको तलब वृद्धि भएको पाइनँ । समृद्ध नेपाल, सुखी नेपालीको नारा दिएका केपी ओलीलाई बुद्धचोकको आकासे पुलमा झुन्ड्याएको अर्धकदको दायाँ हातको पाँच औँला उठाएको फोटोले गिज्याइरहेको आभास मिल्छ । एकछिन आकासे पुलबाट उत्तर–दक्षिणको बाटो र पूर्व–पच्छिमका घरहरू नियाल्दै आफैले आफैलाई सोधेँ, कहाँ छन् समृद्धिका नाराका कर्महरू ?
यता भैरहवामा सिमसिम पानीले बाटो हिलोमय भएको थियो, उता काठमाडौँ चन्द्रागिरीतिर हिउँ पर्दै थियो । युवा युवतीहरू हिउँ प¥यो फुरुरु.. गीत गाउँदै थिए । भाइहरू सुत्नको लागि बैङ्क रोडतिर बिस्तरा किन्दै थिए । अटोरिक्सावाला दाजुले मतिर हेर्दै जाने हो सर भनी प्रश्न तेर्साए । “हो दाजु”, मैले तुरुन्तै जवाफ फर्काएँ । गन्तव्य मेरो लुम्बिनी रोड थियो । भाडाको रिक्सावालाको कमाइ खान, लाउन, बच्चाहरूलाई पढाउन, घर भाडा तिर्नलाई मात्र ठिक्क छ । उसको अनुहार निरास देखिन्छ । स्थानीयबाहेक अरूलाई अटोरिक्साको लाइसेन्स नदिने रहेछ । उसको औसत कमाइ रु. बा¥ह सय रहेछ । मेरो गन्तव्यमा पुग्दा उसको बिहान सात बजेदेखिको कमाइ मलाई देखाउँदै गन्दा सात सय पुगेछ । ओर्लने बेला उसले सत्तरी रूपैयाँ भाडा माग्यो । मैले नाइनास्ती नगरी दिएँ ।
बेलुका ६ बजेतिर खाजा पसल छिरेँ । पसलमा काम गर्ने व्यक्तिको दिनको ज्याला पाँच सय रहेछ । भाइको घर भारत रहेछ । उसको मलिन स्वर, थकित अनुहार र उदास अवस्था देख्दा दिउँसोको रिक्सावाला पोखरेल दाइको सम्झना भयो । त्यसबेला वरिष्ठ वामपन्थी नेता एवम् नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँको भनाइ स्मरण भयो– भारतीय कामदार जनता र नेपाली कामदार जनताको दुःख एउटै हो ।
बेलुका होटल पुग्दा दिउँसोको रिक्सावाला दाइ र बेलुकाको भारतीय भाइसँग भएको छोटो संवाद पुनः सम्झन थालेँ । केही दिनअगाडि मात्रै हो, जनकपुरका शिवनारायणजीसँग काठमाडौँको बुढानीलकण्ठमा भेट भएको थियो । पेशाले इन्जिनियर उनी वि. स. २०५५ सालदेखि काठमाडौँमा बस्दै आएका थिए । पैसा कमाउन विदेशिएका उनी आशातीत कमाइ नहुँदा फर्के । मसँगको कुराकानीमा उसको विचार चम्किलो देखिएन, मानौँ उसलाई ग्रहण लाग्दै छ । हुन त २०५१ सालतिर जनकपुरकै पण्डित थरका इन्जिनियरसँग भेट हुँदा पनि जीवनप्रति निराशा भाव नै मैले देखेँ ।
सारमा, पुँजीपतिले श्रमिकलाई मर्न पनि दिँदैन, राम्रोसँग बाँच्न पनि दिन्न भन्ने थाहा भयो । हुन त मजदुरहरूको एउटा कार्यक्रम हुँदा श्रमलाई उत्पादनका साधन मान्नुहुँदैन भन्ने कुरा राखेको थिएँ ।
प्रिय, तिमीलाई थाहै छ । पुँजीवादी व्यवस्थामा पुँजीको चलखेल बढी हुन्छ । यसको मार कामदार वर्गले नै व्यहोर्नुपर्छ ।
फेरि तिमीले भन्ला, पुँजीवादी व्यवस्थाको विकल्प छैन त ? उत्तर प्रस्ट छ, नविन विचारले युक्त समाजवादी व्यवस्था । जुन कामदार वर्गको स्वर्ग हो ।
ल त प्रिय, फेरि पछि पत्र लेखुँला । अहिलेलाई बिदा हुन्छु । धन्यवाद !
उही तिम्रो
प्रशान्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *