भर्खरै :

नेतृत्व नयाँ पुस्तामा

नयाँ पुस्ता सैद्धान्तिकरूपमा नै सचेत तथा सङ्गठित भएन भने राजनीति पुस्तान्तरण हुन सम्भव हुँदैन । पुस्तान्तरण जति सहजरूपमा भन्ने गरिन्छ व्यवहारमा त्यति सहज छैन । यो चेत पार्टीका केही नेताहरूमा मात्र देखिन्छ । प्रायः मान्छे आफूलाई मात्र योग्य, सक्षम र विशिष्ट ठान्छ । यो कमजोरी धेरै मान्छेमा पाइन्छ । अझ पार्टी नेतृत्वमा त यस्तो मनोविज्ञान बाक्लो छ । समाज, घर परिवारमा पनि यो मनोविज्ञान बलियो छ । समाजमा स्थापित हुन कहाँ त्यति सजिलो छ र ? कति जना समाज बदल्न खोज्छन् तर समाजले उसैलाई पो त बदलेको प्रशस्त देखिन्छ । तब ऊ हतासिन्छ । समाज बदल्ने दृष्टिकोण भएको मान्छे स्वयम् बदलियो भने समाज कसले बदल्ने ? यसका लागि सिद्धान्त नै बलियो आधार हो । जनतालाई सचेत एवम् सङ्गठित गर्नु नै यसको एउटामात्र उपचार हो । नयाँ पुुस्तालाई अर्काको जमिन कमाएको, बाली वा कुत तिर्नुपर्ने, बाली तिरेको भर्पाइ हुनुपर्ने, भर्पाइ पनि सक्कली हुनुपर्ने, कतिपय जग्गाधनीले नक्कली भर्पाई दिनेबारे सुसूचित पार्नुपर्छ । तसर्थ मोही किसानलाई सुरक्षित राख्न अनेक गर्नुपर्ने जस्ता झन्झट नयाँ पुस्तालाई पटक्कै थाहा नहुनसक्छ । यसका लागि पार्टीका प्रकाशनहरूमा यस्ता शब्दहरू पर्नु प¥यो ता कि नयाँ पुस्ताले त्यस्ता पुराना अवशेषहरूबारे बुझ्न सकोस् । म कार्यकर्ता हुँदा जान्ने बुझ्नेहरूले यस्ता कुरा सिकाउँथे, हामी कार्यकर्ता किसानलाई सिकाउँथ्यौँ ।
पुराना निरक्षकसँग सिकौँ न ?
कहिले तिनै कुरा सामान्य हुन्थे किनकि चलनचल्तीमा थिए । अब चलनचल्तीमा नभएपछि सैद्धान्तिक हुनपुगे । यसर्थ, पार्टीका प्रकाशनहरूमा जग्गाधनी वा बिर्तावाल, कुत, बाली, तिरो, भर्पाइ दोहोरी, सरुवा, कलुवा, तेरोमेरो भन्नेजस्ता शब्दहरू परिभाषासहित बेलाबेलामा हामीले नयाँ पुस्तालाई सिकाउनु पनि पर्ने जस्तो लाग्छ । यी कुरा पुरानो पुस्ताका लागि सामान्य नयाँ पुस्ताका लागि कतै सैद्धान्तिक, कतै दुरुह, कतै नबुझ्ने रूपमा प्रयोग भइरहने हुन्छ । तसर्थ, हिजोको कतिपय मान्यता र व्यवहार आज सैद्धान्तिक तहमा पुुग्ने र हिजोका कतिपय सैद्धान्तिक कुरा आज व्यावहारिकरूपमा बदलिने रहेछन् । तसर्थ, सबै कुरा सधैँ एउटै श्रेणीमा कायम नहुने रहेछ । यसको सरलीकरण भनेको नयाँ र पुराना पुस्ताबीच समय–समयमा नियमित छलफल एवम् अन्तरक्रिया चलाइरहनुपर्ने रहेछ । गरी हेरौँ न पुरानो पुस्ताका निरक्षर महिला पुरुष किसान, मजदुर, सफाइ मजदुर, पाएमा धोबी, मेहत्तर, पुजारी, शिक्षकहरू भेला गराई गरिहेरौँ न । यदि यसरी निरक्षर ज्येष्ठ किसान, डकर्मी, सिकर्मी, ज्यामीलाई मुख्य वक्ताको रूपमा आमन्त्रण गरी अन्तरक्रिया गराई नयाँ प्रयोग गरौँ त ? पहिलोपल्ट जुलुस जाँदाको अनुभव, पहिलोपल्ट पक्राउ परी प्रहरीले दिएको कठोर यातना, परिवारका सदस्यले गरेको व्यवहार, आफ्ना इष्टमित्र र नातेदारहरूले गरेको व्यवहार र सम्पर्क, छोराछोरी नातिनी नातिको बिहे गर्न परेका अप्ठेरो आदिमा अन्तरक्रिया कस्तो हुने रहेछ । सोच्ने होइन ?
चौका दाउले जित्छ
देशमा भइरहेको व्यापक भ्रष्टाचार, कर छल्ने प्रवृत्ति नियन्त्रण गर्न सके के विवादास्पद एमसीसीजस्ता सहयोग नलिँदा पनि विकासका काम नरोकिने थिए र ? आज एउटा खरो प्रश्न उठेको छ । हाम्रो विकास पैसो नभएर रोकिएको हो वा भएको पैसो खर्च गर्ने योग्यता, आँट र क्षमता नभएर नभएको हो भन्ने मुद्दा छिनौँ त । बजेटले छुट्याएको रकम ६÷६ महिनासम्म १.९६ प्रतिशतमात्र खर्च गर्नसक्ने एकातिर अर्कोतर्फ एमसीसीजस्ता नाममा विवादास्पद पैसा लिन मरिहत्ते गर्ने प्रवृत्ति एवम् मनोवृत्तिले के देखाउँछ ? एमसीसी वस्तुतः सहयोग होइन मान्छे मार्ने बल्छीमा हालेको गड्यौलामात्र हो । संरा अमेरिकाले आजसम्म कुनै राष्ट्रलाई पनि दान दिएको देखिँदैन । जहाँजहाँ अमेरिका पस्छ त्यहाँत्यहाँ ती देशलाई बर्बादमात्र गरेको छ । ल्याटिन अमेरिकामा अमेरिकी सहयोग पाएका देश हेरौँ, कुन–कुन देशले विकास गरेको छ ? जुन–जुन देशमा अमेरिकी सरकार सहयोगको झोला लिएर मसिनोसँग पसेको छ, फर्कँदा त्योभन्दा धेरै लिएर फर्केको छ । अझ इराक, अफगानिस्तान, लिविया, सिरिया जहाँ–जहाँ पस्यो ती देश बर्बाद भएका छन् । आफूले भनेको नमान्ने सरकारहरूलाई अपदस्थ गराउँछ । त्यहाँ आफूले भनेको मान्ने सरकार सङ्गठित गर्न आकास–पाताल जोर्छ, आफ्नो हुकुम मान्ने सरकार बनाउँछ, हातहतियार बेच्छ, विद्रोह गर्ने गराउँछ । राष्ट्रपतिका दुवै उम्मेदवारलाई युद्ध सामग्री उद्योगका ठूला उद्योगीहरू प्रशस्त चन्दा दिन्छन् । जसले जिते पनि उनीहरूको चौका दाउले जित्छ ।
पश्चात्तापमात्र बाँकी रहन्छ
संरा अमेरिका कहीँ केही लिएर पस्छ कतै केही । चीन पस्यो उहिल्यै अफिम युद्ध लिएर । चीनलाई अफिममा लट्ठ पा¥यो । अहिले संरा अमेरिका आफैँ सोझै वा भारत भएर नेपाल प्रवेशको कोसिसमा छ । तत्कालको लागि लोभलाग्दो गाँठी चाहिँ ५५ करोड अमेरिकी डलरको पोको छ । यो रकम सडक चौडा पार्ने र बिजुलीको यातायात प्रसारण लाइनमा खर्च गर्छ । अमेरिकी स्वतन्त्रता आन्दोलनमा बेलायती साम्राज्यवादको पक्ष लिनेहरू अमेरिकाबाट लखेटिएझँै एमसीसीको पक्षमा बोल्नेहरूलाई एक दिन नेपालीहरूले पनि लखेट्नेछन् । त्यो बेला के खाएर चुठ्ने ? यसो हेक्का राखे राम्रो । पैसाका लागि एमसीसी पारित गर्नु भनेको तिर्खा लाग्यो भनेर विष खानुजस्तै हो । अहिले एमसीसी पारित गर्नु पहिले नै बुद्धि पु¥याउनु राम्रो पछि पछुताउनु बुद्धिमानी हुँदैन । नेपालमा कस्ता–कस्ता पार्टी सरकार बनाउँछन् । भएभरका उद्योग सुचारुरूपले चलाएर जनतालाई सामान र वस्तु उपलब्ध गराएर देशलाई आत्मनिर्भर बन्न सहयोगमा आएका उद्योगधन्दा कौडीको भाउमा बेचेर या निजीकरण गरेर भारतबाट माल वस्तु आयात गरेर परनिर्भर गराउनेहरूले भारतको तावेदारी गरेको होइन र ? नेमकिपाले एमसीसीको विरोधमा मुलुकव्यापी आन्दोलन गरेर देशको सरोकार व्यापक गराइरहेको छ । एमसीसीभित्र के के पकाइएको छ त्यो अहिले स्पष्ट देखापर्दैन । सम्झौता कार्यान्वयन गर्न थालेपछि यसका स्वरूपहरू स्पष्ट हुँदै जान्छन् । तर, परिस्थिति यति पर पुगिसकेको हुन्छ । पश्चातापबाहेक केही शेष रहँदैन । तसर्थ, अहिल्यै बुद्धि पु¥याऔँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *