कर्णाटकको हिजाब आन्दोलन
जनताले निर्वाचित गरेको सरकारले सधैँ आफूलाई निर्वाचित गरेका नागरिककै भावना मात्र अभिव्यक्त गर्छन् भनी विश्वास गर्नु गलत हो । प्रतिनिधित्व भनेको मतदाता र उनीहरूका प्रतिनिधिहरूबीचको संवाद हो । जनप्रतिनिधिहरू मतदाताको मतबाट चुनावमा निर्वाचित भए पछि उनीहरूले नै आफूअनुकूल निर्वाचन क्षेत्र निर्धारण गर्छन् । हामीले भारतमा यो कुरा प्रस्ट रूपमा देख्न सक्छौँ । भारतमा हामीले हरेक हप्ता नरेन्द्र मोदीका पदचाप सिङ्गो समाजले गहिरो गरी अनुभव गरेको देख्दैछौँ । सन् २०१९ मा मोदी पुनः प्रस्ट बहुमतका साथ चुनावमा निर्वाचित भएपछि धार्मिक कट्टरता अकल्पनीय हिसाबमा जनस्तरको मनस्थितिमा बिजारोपण भएको छ ।
कर्णाटकका कलेजहरूमा मुसलमान छात्राहरूलाई हिजाब लगाएको भन्दै कक्षा कोठामा पस्न नदिएको घटनाबाट बितेका केही दिनमा हामीले भारतमा फैलिएको कट्टरताको गहिराइ मापन गरेका छौँ । हिजाब लगाएकै कारण कक्षा कोठाबाट बाहिर निकालिएका ती छात्राहरूले परीक्षा नजिकिँदै गरेको समयमा भोग्नुपरेको तनावको कुरा मात्र गरेर हामीले यो बहिष्करणको घटनाभित्र निहित ऐतिहासिक महत्वबाट भने उपेक्षा गर्न सक्दैनौँ ।
कर्णाटकको यो घटनाका यी तस्बिर चर्चायोग्य छन् । पहिलो, कुन्दापुरस्थित एउटा कलेजको मूलद्वारमा हामीलाई भित्र पस्न दिन आग्रह गरिरहेका एक हुल छात्राहरूको तस्विर । दोस्रो, मुसलमान छात्राहरूले आफ्नो संविधानले दिएको अधिकार माग्दा रिसाएका हिन्दु विद्यार्थीहरूको हुलले छात्राहरूको प्रतिरोधमा गेरु रङको कपडा ओढेर विद्यालयमा प्रदर्शन गरिरहेका थिए ।
अर्को समय, अर्को स्थान
कर्णाटकमा भएका घटनाका दृश्यहरू हेर्दै गर्दा मलाई अरू केही हृदयविदारक तस्विरहरूको सम्झना भयो । ती तस्विरहरू आजभन्दा ६० वर्षअघि संरा अमेरिकामा खिचिएका थिए । सन् १९५४ मा संरा अमेरिकी सर्वोच्च अदालतले सार्वजनिक विद्यालयहरूमा औपचारिकरूपमा जातीय विभेदको अन्त्यको फैसला ग¥यो । यो फैसला कार्यान्वयनको शिलशिलामा नागरिक अधिकार आन्दोलनकै सबभन्दा चर्चित तस्बिरहरू खिचिए । म सम्झन्छु ती तीन तस्बिर जसमा त्यत्तिञ्जेल गोराहरूले मात्र पढ्ने विद्यालयहरूबाट तीन काला रङका छात्राहरूलाई निकालिएको थियो ।

लिटिल रक नाइन घटना
पहिलो तस्बिर रुबी ब्रिजेजको हो । उनी त्यत्तिबेला भर्खर ६ वर्षकी थिइन् । उनलाई तीन जना फेडरल मार्सलहरूले विद्यालयबाट बाहिर डो¥याउँदै थिए । एक जना रुष्ट विभेदको पक्षधरले रुबीलाई विष खुवाएर मार्ने धम्कीसमेत दिएका थिए । त्यसकारण, मार्सलहरूले उनलाई घरबाट आफैले ल्याएको खाना मात्र खान दिएका थिए ।
दोस्रो तस्बिर, दोरोथी काउन्ट्सको हो । त्यत्तिबेला उनी पन्ध्र वर्षकी थिइन् । उनी एक्लै विद्यालय जाँदै थिइन् । गोराहरूको भीडले उनीमाथि घृणा खन्याइरहेका थिए । लेखक जेम्स वाल्डविनले पछि सो तस्विरको प्रसङ्गमा फ्रान्सबाट संरा अमेरिका फर्किन आफूलाई त्यही तस्बिरले अभिप्रेरित गरेको बताएका थिए । अमेरिकामा आफूले दैनिक भोग्ने गरेको अपमानबाट भाग्दै उनी फ्रान्स गएका थिए ।
तेस्रो तस्बिर एलिजावेथ इकफोर्डको हो । उनी लिटिल रक सेन्ट्रल हाइस्कुलमा जाँदै गर्दा उनको पछाडि एक हुल गोराहरूले उनीमाथि अपमानपूर्ण गालीगलौज गरिरहेका थिए । लिटिल रक सेन्ट्रल हाइस्कुलमा जाने पहिलो पुस्ताका अफ्रिकी अमेरिकीहरूलाई द लिटिल रक नाइन पुस्ता भनिन्छ । यसरी एलिजावेथको अपमान गर्ने विद्यार्थीहरूको हुलमा एक जना थिइन् पन्ध्र वर्षकी हेजल ब्रायन । उनी पनि त्यही विद्यालयकी छात्रा थिइन् । उनी रिसले यति चुर थिइन् कि उनको अनुहार पूरै रिसालु देखिएको थियो ।

दोरोथी काउन्टसको अपमान
अमेरिकाको दक्षिणी भाग र कर्णाटकबीचको यो बेमेल तुलनाले हामीलाई केही कुरा बताएको छ । युवाहरूबीच फैलिएको त्यस्तो ऐतिहासिक कट्टरता पछिसम्म पनि कायम रहने गरेको छ । हेजल मासरी बनेका हेजल ब्रायनले केटाकेटी छँदा आफूले गरेको त्यो कामको प्रायश्चित गरेर बिताइन् । इकफोर्डले उनलाई माफी पनि दिइन् । उनीहरू केही समयको लागि साथी पनि बने । तर, लिटिल रक नाइनका अरूले उनलाई माफी गर्न सकेनन् । हेजलको ठाउँ त्यो तस्बिरले इतिहासमा निश्चित गरिदियो । विकिपेडियामा ‘घृणा’ शब्दको अर्थ बुझाउन हेजल रहेको त्यही तस्बिर प्रयोग गरिएको छ ।
यो तुलनाले हामीलाई पूर्वाग्रहको सबभन्दा प्रमुख कारण भौतिक सेवा र सुविधाबाट वञ्चित हुनु हो भन्ने कुरा स्मरण गराएको छ । भौतिक वञ्चितीकरण भन्नाले आवास, शिक्षा र स्वास्थ्य सेवाबाट वञ्चित गर्नु हो । बुर्काको विषयमा फ्रान्समा पनि यस्तै खालको बहस भएको थियो । फ्रान्सबाट भारतमा आयातित यो बहस भारतीय जनता पार्टी र त्यसका बुद्धिजीवीहरू कर्णाटकमा फ्रान्सेली धर्मनिरपेक्षताप्रति उत्साहले अचानक अधिनस्थ भएको सङ्केत भने होइन । यसले समुदायमा रहेको धार्मिक विभेदको फोहोरी भारतीय वास्तविकता अब शिक्षा क्षेत्रमा पनि फैलिएको उजागर गरेको छ ।
बिरामी समाजका पूर्वाग्रहबाट सबभन्दा बढी पीडित त्यहाँका सबभन्दा सीमान्तकृत नागरिक बन्ने निराशाजनक तथ्य यसले उजागर गरेको छ । लेखक बाल्डविनले काउन्ट्सलाई लेखेको पत्रमा ती युवतीहरू वास्तवमै अवर्णनीय घमण्ड, तनाव र पीडाबाट पीडित भएको लेखेका छन् । जसले उनीहरूको आत्मस्वाभिमान र परपीडकहरूको आक्रोशबीच द्वन्द्व अझ बढेको छ ।
उत्साहित बन्ने कुनै कारण छैन
हेजल मासरीको पश्चाताप कुनै नजिर होइन । पगरी गुथेका हिन्दु विद्यार्थीहरूले पनि आफ्नो कामको निम्ति मासरीले जस्तै प्रायश्चित गर्लान् भनी अपेक्षा गर्नुपर्ने कुनै कारण छैन । त्यत्तिबेला अमेरिकामा विभेद औपचारिक हिसाबले समाप्त हुने दिशामा थियो । मासरीको हृदयपरिवर्तन अंशतः उत्तरी अमेरिकी राज्यहरूबाट उनले पाएका आक्रामक चिट्ठीको परिणाम पनि थियो । हेजलको तस्बिर प्रकाशन भएपछि उत्तर अमेरिकी राज्यहरूबाट त्यस्ता आक्रामक प्रतिक्रियाहरू उनले पाएकी थिइन् ।

रुबी बिज्रेजको निष्काशन
दक्षिणी अमेरिकाका ती गोराहरूलाई ६ वर्षको काली बालिकामाथि ढुङ्गा वर्षाउने र काला विद्यार्थीहरूमाथि थुक्ने हतारोको आंशिक कारण पराजित मानसिकताको उपज पनि थियो । उनीहरू पराजित भइसकेका थिए र उनीहरूलाई त्यो कुरा थाहा थियो । अर्कोतिर हिन्दूत्व अहिले उदयीमान छ । भारतीय निकायहरू या त निरीह छन् अथवा नतमस्तक छन् । मोदीको राजनीतिक विपक्षी विभाजित छ ।
यी भिन्नताको पृष्ठभूमिमा के यो तुलनाले हामीलाई भन्न सक्ने केही कुरा छन् ? दक्षिणी अमेरिकाका गोराहरूको मनस्थितिबारे बाल्डविनको बुझाई उपयोगी छ । सन् १९६५ मा क्याम्ब्रिज युनियनमा उनले दिएको भाषणमा भनेका छन्, “…उनीहरू त्यो कुरा विश्वास गर्न नै हुर्काइएका हुन् । त्यही भएर अहिलेसम्ममा त उनीहरूसँग विश्वास गर्नुको विकल्प नै रहेन । जीवन जस्तोसुकै भयावह किन नहोस्, जीवन जतिसुकै भयानक किन नहोस्, उनीहरू जतिसुकै विफल भए पनि, उनीहरूलाई विपत्तिले जतिसुकै गाँजे पनि उनीहरूसँग सन्तोषको एउटा ठुलो ज्ञान छ जो एउटा स्वर्गीय यथार्थबोधजस्तै छ ः कम्तीमा उनीहरू काला होइनन् ।”
यो आत्मसन्तोष र अरूको भौतिक बञ्चितीकरण मिलेर नै बहुमतको राजनीतिले आकार लिने हो : जतिसुकै विफल भए पनि, जतिसुकै विपत्तिले गाँजे पनि उनीहरू कम्तीमा मुसलमान थिएनन् ।
म फेरि बाहिर मुसलमान भएर हिँड्नुको अपराधवापत शिक्षाबाट वञ्चित गरिएका र कलेजबाहिर उभ्याइएका ती छात्राहरूलाई सम्झन चाहन्छु । हामी बहुमतवादी कट्टरताले पु¥याउने क्षतिबाट सजग बन्नुपर्छ । विद्यालयमा आफूले भोगेको त्यो तिक्त समयबाट एलिजावेथ इकफोर्ड कहिल्यै पनि बाहिर निस्कन सकिनन् । उनलाई पोस्ट–ट्रमाटिक स्टे«स डिसआर्डर भएको पछि पत्ता लाग्यो जसबाट उनी कहिल्यै पनि मुक्त हुन सकिनन् ।
कर्णाटकका यी छात्राहरूले पनि यस्तै अनुभव गर्न सक्छन् । तर, ती छात्राहरूलाई कलेजबाहिर उभ्याउने प्रधानाध्यापकहरू, उनीहरूलाई नराखी पनि कक्षामा पढाउने शिक्षकहरू र उनीहरूप्रति ऐक्यबद्धता व्यक्त गर्ने साथीहरूको लागि पनि यो घटना अविस्मरणीय रहनेछ । बहुमतवादी राजनीतिले बहुमतलाई पनि अप्रभावित राख्दैन । बाल्डविनको कुरालाई सारमा भन्दा ती छात्राहरूको नैतिक जीवनले हिन्दूत्व नाम गरेको महारोगलाई नस्ट पार्नेछ ।
उनीहरू र हामीहरू भन्ने दाग भने कहिल्यै पखालिनेछैन ।
द स्क्रोल डट आइएनबाट नेपालीमा अनुदित सामग्री
Leave a Reply