भर्खरै :

आर्थिक अनुशासन र पारदर्शितामा जोड

भक्तपुर नगरपालिकाको एघारौँ नगर सभा बुधबारदेखि सुरू भएको छ । भक्तपुरलाई सफा, सुन्दर, शान्त, सुरक्षित र सम्पदास्थल बनाउने उद्देश्यले भनपा लागिपरेको बेलाबखत चर्चा हुन्छ । निर्वाचनताका जनतासमक्ष बाँडेको पार्टीको घोषणापत्र, प्रतिबद्धता बुद्धिजीवी, विज्ञ तथा विद्वत् वर्ग र नगरवासीहरूको सुझाव र सल्लाहको आधारमा भनपाले काम गरिरहेको यथार्थ हो । नपाका जनप्रतिनिधिहरूले आर्थिक अनुशासन र पारदर्शितामा जोड दिए । भ्रष्टाचारशून्य बनाउन लागिपरेका जनप्रतिनिधिहरूले कहिले पनि असम्भव सपना बाँडेनन् । गर्न सकिने र गर्नुपर्ने काम गरेर बढीभन्दा बढी जनता र समाजको सेवा गर्नु नै नपाको लक्ष्य ठान्यो । हरेक क्षेत्रमा नगरलाई नमुना बनाउने नपाको अभिलाषा पूरा गर्न नपा लागिरह्यो ।
व्यापक जनताको निःस्वार्थपूर्वक सेवा गर्नु नै आफ्ना जीवन पद्धति ठान्ने जनप्रतिनिधिहरूले इमानदारीपूर्वक गरेको काम सबैको निम्ति आत्मगौरव गर्न लायक छ । नेमकिपाका जनप्रतिनिधिले विवेक र विचारलाई बन्धक राखेनन्, समाजवादी विचार बोकेरै नीति निर्माण गरे । विदेशी दातृ निकायसँग हात फैलाएर, कमिसनमा पल्केर कहिल्यै काम गरेनन् । विदेशी शक्ति राष्ट्रको दास मानसिकतामा भुलेनन् । आफ्नो स्वाभिमानीमा आँच पु¥याउने, विश्व सम्पदा स्थलमा सूचिकृत सम्पदा स्थलमा मर्का पर्ने सर्तमा भुलेर आर्थिक सहयोग लिएनन् ।
सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने निर्णय ग¥यो । भनपाका जनप्रतिनिधिहरूले आफ्नो कार्यकालको अन्तिम दिनसम्म इमानदारीपूर्वक काम गरिरहने विश्वास व्यक्त गरे । जनप्रतिनिधिहरूले आफ्नो कार्यकालमा भएको कार्यको समीक्षा गर्ने र जनताले पनि समीक्षा गरिरहेको उल्लेख गरे । केन्द्रीय सरकारले बेवास्ता गर्दा र कोभिड–१९ को कारण आन्तरिक स्रोतमा असर परेको कारण दुई–तीन वटा योजनाबाहेक सबैजसो काम सम्पन्न भएको र कति काम चालु भएको विचार नगरसभामा व्यक्त भयो । सभामा स्वायत्ततामाथि कहीँ कतैबाट हुने हस्तक्षेप स्वीकार्य नहुने, स्थानीय तहलाई कर्मचारी भर्नाको अधिकार नदिई केन्द्र र प्रदेशले कर्मचारी नियुक्ति गर्ने कामलाई जनप्रतिनिधिहरूले स्थानीय तहको स्वायत्ततामाथि हस्तक्षेप भएको बताए । भक्तपुरलाई देशको नमुना नगरको रूपमा विकास गर्न कार्यकालको अन्तिम दिनसम्म लागिरहने प्रतिबद्धताले नगरवासीमा खुसी छाएको छ । भनपाका जनप्रतिनिधिले गरेका काम–कारबाहीको नगरवासीले राम्रो मूल्याङ्कन गरिरहेका छन्, सही मूल्याङ्कन गरेर जनप्रतिनिधिहरूलाई थप प्रेरणा दिने, हौसला बढाउने काममा जनताले सधैँ साथ र सहयोग गरिरहने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *