न्गुएन थि डिन्ह (Nguyen Thi Dinh)
- भाद्र १२, २०८३
भक्तपुर नगरवासी जनताको मतबाट हामी निर्वाचित भएको चार वर्ष आठ महिना बित्यो । पाँच वर्षको निम्ति हामी निर्वाचित भएका हौँ । यो ११ औँ नगरसभा हाम्रो कार्यकालको अन्तिम नगरसभा हो । हामी निर्वाचित भई सपथ ग्रहण गरेकै मितिदेखि नगर र नगरवासीहरूको हितलाई केन्द्रमा राखी काम गर्दै छौँ । १५ वर्षसम्म जनप्रतिनिधिविहीन अवस्था, २०७२ सालको भूकम्पबाट पुरै नगर क्षत विक्षतको स्थिति, नयाँ संविधान र सङ्घीयता कार्यान्वयन गर्नुपर्ने बेला निर्वाचित भएको हुँदा सुरुका दिनहरूमा स्थिति केही जटील थियो । हाम्रो सामु विकास निर्माणलगायत थुप्रै चुनौतीहरू थिए । इमानदारीपूर्वक जनताको सेवा गर्ने भावनाले जनताकै साथ र सहयोगमा कामलाई अगाडि बढायौँ । यस अवधिमा हामीले शिक्षा, स्वास्थ्य, सम्पदा पुनः निर्माण, सरसफाइलगायत नगर र नगरवासीहरूको जीवनसँग प्रत्यक्ष जोडिएका विषयहरूका साथै थुप्रै विकास निर्माणका कामहरू सम्पन्न गर्यौँ । कतिपय संरचनाहरू अझै निर्माणाधीन अवस्थामा छन् । ती सबै संरचनाहरू सम्पन्न गर्न हामी निरन्तर प्रयत्नरत छौँ ।
‘कला—संस्कृतिको नगर’, ‘नाचगानको राजधानी’ उपमा पाएको यस नगरलाई पछिल्लो चरणमा जर्मनी वास्तुकलाविद् निल गुत्सोले ‘संसारको जीवित सङ्ग्रहालय’ को परिभाषा गर्नुभएको छ । आकारले सानो यो नगरलाई ‘ज्ञानविज्ञानको केन्द्र’, पर्यटकीय गन्तव्यस्थल बनाउन हाम्रा अग्रजहरूले सुरु गर्नुभएको अभियानलाई हामीले निरन्तरता दिँदै छौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुरको भविष्यको कल्पना गर्दै २०५९ असोजमा ‘सय वर्षपछिको भक्तपुर’ नामक एक पुस्तक प्रकाशित गर्नुभयो । त्यो पुस्तक हामी जनप्रतिनिधिहरूले काम गर्ने पथप्रदर्शक हो । हामी भक्तपुरलाई सफा, सुन्दर र शान्त नगरको रूपमा विकास गर्ने कोसिस गर्दै छौँ । जनताको साथ र सहयोगले काम गर्न हामीले सहज महसुस गरेका छौँ । जनप्रतिनिधि र जनताबीचको राम्रो समन्वयले भक्तपुर नगर यो अवस्थामा पुग्न सम्भव भएको हो ।
हामीले स्थानीय तहको स्वायत्ततालाई विशेष ध्यान दिएका छौँ । स्वायत्ततामाथि कहीँकतैबाट हुने हस्तक्षेप हामीलाई स्वीकार्य छैन । सङ्घीयता संविधानले अँगीकार गरिसक्दा पनि सिंहदरबारमा बस्ने पदाधिकारीहरूले एकात्मक सोच त्याग्न सकेका छैनन् । स्थानीय तहले गर्ने विभिन्न काममा बाधा हाल्नु र स्वतन्त्ररूपमा काम गर्न नदिई नियन्त्रण गर्न खोज्नु उचित होइन । केन्द्र र प्रदेशले स्थानीय तहलाई दिने विशेष अनुदानमा वृद्धि गर्नुपर्नेमा उल्टै सशर्त र समपूरक बजेटमा वृद्धि गर्नु सङ्घीयता र संविधानको भावनाविपरीत छ । स्थानीय तहलाई कर्मचारी भर्नाको अधिकार नदिइ केन्द्र र प्रदेशले कर्मचारी नियुक्ति गरी पठाउनु, प्रदेशले कर्मचारीको सरुवा बढुवा गर्नु र स्थानीय तहले तलब खुवाएका शिक्षकहरूलाई केन्द्र मातहत राख्नु स्थानीय तहको स्वायत्ततामाथि हस्तक्षेप हो । आर्थिक ऐन, नियमावलीविपरीत स्थानीय तहलाई उपभोक्ता समितिमार्फत काम गराउन रोक लगाउने सहरी विकास तथा भौतिक पूर्वाधार मन्त्रालयले परिपत्र गर्नु, निरन्तर सञ्चालन भइरहेको ख्वप बहुप्राविधिक अध्ययन संस्थानलाई ‘आफ्नै’ १०० शय्याको अस्पताल नभएको भनी शिक्षा मन्त्रालयले नर्सिङको भर्नामा रोक लगाउनु केन्द्र सरकारका जनविरोधी कामहरू हुन् । यस्ता थुप्रै चुनौतीहरूबीच भक्तपुर नगरपालिकाले जनताको हितलाई ध्यानमा राखी काम गर्दै छ ।
अब आ.व. २०७८।७९ को बजेट कार्यान्वयनको अवस्थाबारे सामान्य जानकारी गराउन चाहन्छौँ :
आयतर्फ :
आन्तरिक स्रोततर्फ चालु आ.व. २०७८।७९ को पुस मसान्तसम्म ६ महिनाको अवधिमा ९ करोड १५ लाख राजस्व सङ्कलन भयो । गत वर्ष सोही अवधिमा करिब रु. ६ करोडमात्रै सङ्कलन भएको थियो । यस वर्ष रु. ३ करोड १५ लाखले राजस्व सङ्कलन वृद्धि भएको छ । पर्यटनतर्फ गत वर्षको तुलनामा ७० लाखले वृद्धि भयो भने गैर पर्यटनतर्फ २ करोड ४५ लाख वृद्धि भएको छ । यस आ.व. २०७८।७९ मा गैरपर्यटनतर्फ विभिन्न कर दस्तुरमा १६ करोड अनुमान गरिएकोमा पुस मसान्तसम्मको ६ महिनाको अवधिमा ८ करोड (५० प्रतिशत) सङ्कलन भयो । पर्यटन शुल्कमा आ.व. २०७८।०७९ मा रु. १० करोड अनुमान गरिएकोमा कोभिड १९ महामारीको कारण पुस मसान्तसम्ममा करिब १ करोडमात्रै सङ्कलन भयो । यो लक्ष्यको १० प्रतिशतमात्र हो । कोभिड १९ को असरलाई समेत विचार गरी घरजग्गा कर तथा बहाल करमा दिइँदै आएको ५० प्रतिशत छुटलाई यस वर्ष पनि निरन्तरता दिइएको छ भने पर्यटनसँग सम्बन्धित व्यवसायमा ४ महिनाको कर छुट दिइएको छ । कर प्रशासनलाई व्यवस्थित गर्न कर टोली परिचालन तथा सूचना प्रविधिको प्रयोगमा जोड दिइएको छ ।
चालु खर्चतर्फ :
यस नपाको आ.व. २०७८।७९ मा चालु खर्च शीर्षकमा रु. १,१०,२२,१७,२०० (एक अर्ब दश करोड बाइस लाख सत्र हजार दुई सय) र पुँजीगत खर्च शीर्षकमा रु. ८२,९७,८२,८०० (बयासी करोड सन्तान्नब्बे लाख बयासी हजार आठ सय) गरी कुल रु. १,९३,२०,००,००० (एक अर्ब त्रियानब्बे करोड बीस लाख) विनियोजन भएकोमा आ.व. २०७८।७९ को माघ २४ गतेसम्ममा चालु खर्च शीर्षकतर्फ रु. ४१,४६,००,००० (एकचालीस करोड छयालीस लाख) मात्र खर्च भई विनियोजित रकमको ३७.६१ प्रतिशत खर्च भएको छ भने पुँजीगत खर्च शीर्षकतर्फ रु. १९,३५,००,००० (उन्नाइस करोड पैतीस लाख) खर्च भई विनियोजित रकमको २३.३१ प्रतिशत खर्च भएको छ । यस आ.व.मा कुल विनियोजित बजेटको २९.३६ प्रतिशत खर्च भएको जानकारी गराउन चाहन्छौँ ।
शिक्षा :
शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै आएको भक्तपुर नगरपालिकाले ‘एक घर एक स्नातक’ अभियानलाई पूर्णता दिने क्रमलाई निरन्तरता दिँदै थप विकासको निम्ति आवश्यक व्यवस्था गर्दै छ । कुनै पनि नगरवासी विद्यार्थी आर्थिक कारणले उच्च शिक्षा हासिल गर्नबाट वञ्चित नहोस् भनी नगरपालिकाले गरिब विद्यार्थीलाई रु. ५ लाखसम्म शैक्षिक ऋण, नपाका कलेजहरूमा करोडौँ रूपैयाँको छात्रवृत्ति, देशका जुनसुकै कलेजमा अध्ययन गरे पनि इतिहास, भूगोल, राजनीतिशास्त्र, नेपालभाषा र संस्कृति पढ्ने नगरवासीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । यस वर्ष १०४ जना विद्यार्थीलाई शैक्षिक ऋण प्रदान गर्ने स्वीकृत भएको छ ।
कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम बनाइ नगरभित्र सञ्चालित विद्यालयहरूमा पठनपाठन गर्दै भक्तपुरको इतिहास, भूगोल, कला—संस्कृति, सम्पदा, मौलिक सीप तथा प्रविधि र विभिन्न पक्षका विशिष्ट व्यक्तित्वहरूको जीवनीबारे जानकारी दिने प्रयास गर्दै आएका छौँ । शैक्षिक गुणस्तर माथि उठाउन कक्षा ५ र ८ को नगरस्तरीय परीक्षाको बन्दोबस्त गरेका छौँ । आधारभूत तह शैक्षिक जग भएको हुँदा त्यसमा सुधार ल्याउन समय–समयमा दिँदै आएको सहयोगको अतिरिक्त थप भौतिक सुधारको लागि सबै आधारभूत विद्यालयलाई रु. १ लाखका दरले सहयोगको क्रम जारी छ ।
नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमा लामो समयदेखि कार्यरत शिक्षक कर्मचारीहरूको मनोबल बढाउन यस कार्यकालमा कानुनबमोजिम सबैलाई स्थायी गरेका छौँ । ख्वप इन्जिनियरिङ कलेज पूर्वाञ्चल विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त ११७ कलेजहरूमध्ये सर्वोत्कृष्ट हुन सफल भयो भने ख्वप कलेज अफ इन्जिनियरिङमा अध्ययनरत छात्र रमण श्रेष्ठ यो वर्ष त्रिभुवन विश्वविद्यालयअन्तर्गत सिभिल विभागतर्फ सर्वोत्कृष्ट हुन सफल भएको छ । भक्तपुर नपाद्वारा सञ्चालित शैक्षिक संस्थाहरूमा ७२ जिल्लाका ७ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता हामीले पूरा गर्दै आएका छौँ ।
विद्यार्थीमा पठन संस्कृतिको विकासको लागि जनज्योति पुस्तकालयलाई स्तरीय बनाउनुका साथै वडा–वडामा रहेका पुस्तकालयहरूलाई पनि व्यवस्थित गर्ने प्रयास गर्दै छौँ । पुस्तकालय समितिको प्रतिवेदनको आधारमा आवश्यकताअनुसार प्रत्येक वडामा सञ्चालित पुस्तकालयहरूलाई आर्थिक सहयोगको नीति बनाई लागू गर्दै छौँ ।
स्वास्थ्य :
नगरवासीहरूको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै भक्तपुर नपाद्वारा सञ्चालित ख्वप अस्पताललाई १०० शय्याको बनाउने तयारी गर्दै छौँ । हाल २५ शय्याको स्वीकृति प्राप्त उक्त अस्पतालले दैनिक ५०० देखि ६०० जनाभन्दा बढी बिरामीहरूलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको छ । इन्टरनल मेडिसिन, हाडजोर्नी, स्त्री रोग, बाल रोग, दन्त रोग, नाक–कान–घाँटी, छालालगायतमा विशेषज्ञ सेवा प्रदान गर्दै आएको उक्त अस्पताल सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ । ख्वप अस्पतालले आ.व. २०७७÷७८ मा ४० जिल्लाका १,१२,०२२ जनालाई स्वास्थ्य उपचार सेवा प्रदान गर्यो भने २०७८÷७९ को ६ महिनामा ८३,२३५ जनालाई उपचार सेवा प्रदान गरेको छ । जनताको स्वास्थ्य उपचारमा सहज पहुँच पु¥याउने हाम्रो उद्देश्यअनुसार अस्पतालले दैनिक ११ घण्टा ओपीडी सेवा प्रदान गर्दै आएकोमा सार्वजनिक बिदाका साथै शनिबारमा समेत सो सेवा प्रदान गर्दै आएको छ । वडा–वडामा स्वास्थ केन्द्रहरू निर्माण गरी नगरवासीहरूलाई छिटो छरिटो स्वास्थ्य सेवा प्रदान गर्ने नीति अनुसार भक्तपुर नपा वडा नं. २ ब्यासी, वडा नं. ५ भगवती स्थान र वडा नं. १ सल्लाघारीमा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गरी सेवा प्रदान गर्दै आएकोमा वडा नं. १० मा पनि आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण भइरहेको छ । ख्वप अस्पताल कोभिड युनिटमा ५४७ जना सङ्क्रमितको उपचार गरिसकेको र श्वासप्रश्वास पुनःस्थापना केन्द्रले २२४ जना बिरामीको उपचार सेवा प्रदान गरिसकेको छ ।
कोरोना भाइरसको महामारीको कारण भक्तपुरवासीहरूले पनि निकै पिडा भोग्नुप¥यो । जनताको समस्या सम्बोधन गर्न नगरवासीहरूकै सहयोगमा भक्तपुर नगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गरी सम्पूर्ण नगरवासीलाई निःशुल्क अक्सिजन वितरण गर्दै आएको छ । स्वास्थ्य विशेषज्ञहरूका अनुसार खोप नै कोरोना रोगबाट बच्ने भरपर्दो उपाय भएको तथ्यलाई ध्यानमा राखी वडा–वडामा खोप केन्द्रहरू स्थापना गरी व्यापकरूपमा खोप अभियान चलायौँ । भक्तपुर नगरपालिकाले हालसम्म मोर्डना १२,८४६, भेरोसेल १,१५,११३, कोभिशिल्ड १२,२९५ र जोनसन ३,८९६ मात्रा गरी कुल १,४४,१५० जनाले खोप लगाइसकेका छन् ।
त्यसैगरी नगरस्तरीय नागरिक आरोग्य केन्द्रले साउनदेखि पुस मसान्तसम्मको ६ महिनामा १,१९८ बिरामीलाई आयुर्वेदिक उपचार सेवा प्रदान गर्यो भने सामुदायिक आँखा केन्द्रबाट विगत ६ महिनामा १२,८९८ जनालाई आँखा उपचार सेवा प्रदान गरेको छ ।
नगरवासीहरूको स्वास्थ्य उपचारमा सहजता प्रदान गर्न घरदैलो नर्सिङ सेवा सुरु गरिएकोमा त्यसलाई अझ प्रभावकारी बनाउँदै लाने प्रयास गर्दै छौँ । मुटु, मस्तिष्कघात, क्यान्सर, मृगौला रोग लागेकाहरूलाई प्रतिव्यक्ति रु. १५,०००।– आर्थिक सहयोग गर्दै आएकोमा विगत ६ महिनामा ११५ जना बिरामीहरूलाई जम्मा रु. १७,२५,००० आर्थिक सहयोग प्रदान गरियो ।
ज्येष्ठ नागरिकहरूको लागि आदर निकेतनको सञ्चालनका लागि भक्तपुर नपा वडा नं. ६ अँचा पोखरीमा भवन निर्माण भइरहेको छ । वडा–वडामा नियमितरूपमा पाठेघर र स्तन क्यान्सर परीक्षण शिविर, दन्त शिविर तथा आँखा शिविरहरू सञ्चालन गर्दै आएका छौँ ।
पशु सेवा प्राविधिक केन्द्र भक्तपुरको तर्फबाट बितेको ६ महिनामा कुकुर, गाई, भैँसी, बाख्रा, कुखुरालगायत ४७६ बिरामी पशुपक्षीहरूलाई उपचार सेवा प्रदान गरिएको छ ।
सम्पदा तथा कला–संस्कृति संरक्षण र विकास निर्माण :
‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ भन्ने नारालाई सार्थक बनाउन हामी प्रयासरत छौँ । पूर्खाले सिर्जेका सम्पदाहरू हाम्रा अमूल्य निधि हुन् । त्यसको संरक्षण र संवद्र्धन गर्नु हाम्रो कर्तव्य हो । जनप्रतिनिधिको रूपमा निर्वाचित भएपछि हामीले भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरू पुनःनिर्माण र जीर्णोद्धारमा जोड दियौँ । जनताको सम्पत्ति जनताकै सहभागितामा बनाउने नीति लियौँ । सम्पदा पुनःनिर्माण र जीर्णोद्धारको काम ठेक्काबाट गर्न नहुनेमा हामी स्पष्ट छौँ । यद्यपि, सङ्घ र प्रदेशको बजेटबाट हुने अधिकांश काम ठेक्काबाट सम्पन्न गर्नुपर्ने हाम्रो बाध्यता हो । जनताको आर्थिक तथा भौतिक सहयोग र श्रमदान जुटाई उपभोक्ता समितिमार्पmत पारदर्शी ढङ्गले गुणस्तरीय काम सम्पन्न गर्दै आयौँ । यही नै हाम्रो विशेषता हो ।
हामी विदेशीसँग भिख मागेर बनाएका सम्पदाहरूबाट खुसी हुनुभन्दा आप्mनै पौरखमा जीर्णोद्धार र पुनःनिर्माण भएको सम्पदाहरूप्रति गर्व गर्छौं । आत्मनिर्भर भएर बाँच्ने नेमकिपाले सिकाएको महत्वपूर्ण शिक्षा हो । भूकम्पपछि नेपाल सरकार र जर्मनी सरकारबीच भक्तपुरको सम्पदा पुनःनिर्माणको लागि रु.१ अर्ब २० करोड सहयोग सम्झौता भएकोमा सम्झौताका बुँदाहरू हाम्रो हितमा नभएको कारण हामीले त्यो सहयोगलाई अस्वीकार गर्यौं । आज देशमा एमसीसीको चर्चा भइरहेको बेला त्यसको स्मरण गर्नु सान्दर्भिक देखिन्छ ।
२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त १२० भन्दा बढी सम्पदाहरूमध्ये अधिकांश सम्पदाहरूको जीर्णोद्धार र पुनःनिर्माण सम्पन्न भएका छन् । २६ वटा मन्दिर, ४० वटा पाटी, ६ वटा द्योछेँ, ३ वटा प्रवेशद्वार, ७ वटा इनार, ८ वटा सत्तल पाटी, ७ वटा ढुङ्गेधारा, ११ वटा अन्य गरी हालसम्म ११८ वटा सम्पदाहरूको जीर्णोद्धार सम्पन्न भएका छन् । यसबीच खौमा ढोका, वत्सला मन्दिर पुनःनिर्माण, ङातापोल्हँ र भैरवनाथ मन्दिर जीर्णोद्धार सम्पन्न भयो भने गय्ःभिन्द्यो पुल र छिपा ताँ पुनःनिर्माण सम्पन्न भएका छन् । त्यसैगरी बाराही पुल, हनुमानघाट पुल, ब्रह्मायणी पुल, धाँलाखुसी र लिबाली पुल निर्माणाधीन अवस्थामा छन् । भक्तपुरको दूधपाटीदेखि च्याम्हासिंहसम्म नगरको मूल सडकमा करिब ३ कि.मि. ढुङ्गा छपाइ काम सम्पन्न भयो भने भनपा ७ मा सुधारिएको शव दाहगृह, भनपा १ स्थित रानीपोखरी र भाज्या पुखुको पुनःनिर्माण कार्य अन्तिम चरणमा छ । लक्ष्मीनरसिंह मन्दिर, इखालाछी मठ निर्माणाधीन अवस्थामा छन् भने खोला सुधार र ऐतिहासिक महत्वका घाट सुधारका कामहरू भइरहेका छन् । साथै कमलविनायक र लिबाली आवास योजनाभित्रका सडकहरू कालोपत्रे गर्ने काम क्रमशः भइरहेको छ ।
नगरभित्रका अमूर्त सम्पदाहरूको संरक्षणको लागि हरेक वर्ष एउटा विधाको सांस्कृतिक प्रतियोगिता गर्दै आएकोमा कोरोना महामारीको कारण २०७७ सालमा प्रतियोगिता गर्न सम्भव भएन । २०७८ सालमा पछिमा बाजा प्रतियोगिता गर्ने घोषणा गरिसकेकोमा कोरोनाकै कारण स्थगित गर्नुपरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा ९(३) बमोजिम नगरको पुरानो सहरलाई सीमाङ्कन गरी सांस्कृतिक क्षेत्र घोषणा गरी पुरानो सहरलाई जीवन्तता दिन जोड दिँदै छौँ । प्राचीन नगरको संरक्षण गर्न सांस्कृतिक क्षेत्रमा घर जग्गा नगरवासीहरूबीच मात्रै खरिद–बिक्री गर्ने कानुनी व्यवस्था गरिएकोमा केही सम्पदा विरोधीहरूले सर्वोच्च अदालतमा नगरपालिकाको निर्णयलाई चुनौती दिँदै मुद्दा दिएपछि अदालतको अन्तरिम आदेशको कारण त्यो कार्यान्वयनमा बाधा पुगेको छ । अदालतले सम्पदा संरक्षणको पक्षमा निर्णय दिने अपेक्षा गर्दछौँ ।
भनपा वडा नं. ५ स्थित जगन्नाथ क्षेत्र संरक्षणको लागि डा. पुरुषोत्तमलोचन श्रेष्ठको संयोजकत्वमा जगनाथ क्षेत्र अध्ययन तथा उत्खनन् समिति गठन गरी काम भइरहेको छ ।
बजार अनुगमन :
उपभोक्ताको हितलाई ध्यानमा राखेर नगरपालिकाले नियमित बजार अनुगमन गर्दै आएको छ । अनुगमनको क्रममा पसल नवीकरण नगरिएको, सरसफइमा कमी, नियमानुसार नापतौल नवीकरण नभएको, मिसावट सामग्री र म्याद नाघेका वस्तुहरू बिक्री गर्ने गरेको पाइएको हुँदा त्यस्ता व्यापारीहरूलाई नियमानुसार कारबाही गर्दै आएका छौँ । सडक पेटीमा जथाभावी सामान बेच्ने, तोकिएको भन्दा बढी मूल्य असुल गर्ने र गुणस्तरहीन सामान बेचबिखन गर्नेहरूलाई पनि कानुनबमोजिम कारबाही गर्दै आएका छौँ ।
खेलकुद :
हरेक वर्ष एउटा खेलको अन्तर नगर खेलकुद प्रतियोगिता सम्पन्न गर्ने निर्वाचन घोषणापत्रमार्पmत प्रतिबद्धता गरेअनुसार खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएका छौँ । पहिलो, दोस्रो, तेस्रो र चौथो वर्ष क्रमशः भलिबल, कराँते, एथलेटिक्स र बुद्धिचाल प्रतियोगिता सम्पन्न ग¥यौँ । २०७८ साल फागुनमा प्रतियोगिता सञ्चालन गर्ने तयारी पनि गर्दै छौँ ।
हरेक वर्ष अन्तर विद्यालय खेलकुद प्रतियोगिता सम्पन्न गर्दै आएका छौँ । २०७८ साल मंसिर २० गतेदेखि २४ गतेसम्म सञ्चालित नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा १३ वटा विभिन्न विधामा ७१ वटा विद्यालयका कुल १,८८५ खेलाडीहरूले सहभागिता जनाएका थिए । सबै नागरिकहरूलाई खेलकुदको माध्यमबाट स्वस्थ राख्ने प्रयास गर्नुका साथै प्रत्येक वडामा व्यायामशालाहरू स्थापना गरी शारीरिक व्यायाम नागरिक जीवनको एक महत्वपूर्ण हिस्सा बनाउने प्रयास गर्दै छौँ । हालसम्म नगरका २३ ठाउँमा व्यायामशालाहरू स्थापना गरी नगरवासीहरूलाई सेवा प्रदान गर्दै आएका छौँ । विभिन्न ६ वटा खेलकुदको नियमित प्रशिक्षण, विद्यालयहरूमा खेलकुद प्रशिक्षण दिन पूर्णकालीन प्रशिक्षकको व्यवस्था तथा विद्यालयहरूमा छात्राहरूका लागि आत्मरक्षासम्बन्धी तालिमलाई पनि निरन्तरता दिंदै आएका छौँ । वडा–वडामा खेलकुद समितिहरूको गठन गरी युवाहरूलाई खेलकुदमा सहभागी बनाउने हाम्रो प्रयास जारी छ । कमलविनायक कभर्ड हलमा बक्सिङ रिङको व्यवस्था गरिएको छ ।
भनपा वडा नं. ८ स्थित लिबालीमा कभर्ड हल निर्माण अन्तिम चरणमा पुगेको छ भने वडा नं. १० मा निर्माणाधीन अबस्थामा छ । खेलाडीहरूको चाहनालाई ध्यानमा राखी आवश्यकताअनुसार कभर्ड हल निर्माण कार्यलाई जोड दिँदै छौँ ।
सरसफाइ तथा वातावरण सुधार :
फोहरमैला व्यवस्थापन हाम्रो ठूलो चुनौती हो । जस्तोसुकै अप्ठेरो स्थितिमा पनि नगरको सरसफाइमा कमी आउन दिएनौँ । हनुमन्ते खोला र कासान खोला सुधारको लागि फोहरलाई प्रशोधन गर्न नगरको दुई ठाउँमा उपचार पोखरी निर्माणको लागि पहल ग¥यौँ र हाल ती उपचार पोखरीहरू निर्माणाधीन छन् । आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी) को सहयोगमा भइरहेको उक्त कामले तीव्रता पाउँदै छ ।
नगरको वातावरण सुधारको लागि सडकका किनारामा रुख रोप्ने, पुराना सहरका महत्वपूर्ण सम्पदा क्षेत्रमा हरियाली प्रवद्र्धन गर्ने तथा हरेक महिनाको १ र १५ गते नियमित सर–सफाइको आयोजना गरी भक्तपुरलाई स्वच्छ, सफा र सुन्दर नगर निर्माण गर्ने काममा जोड दिंदै आएका छौँ ।
खानेपानी :
खानेपानी भक्तपुर नगरको स्थायी समस्याजस्तै बनिरहेको छ । खानेपानीको आप्mनै स्रोत नहुनु, नगरकोट र बोडेको पानीको भरपर्नुपर्ने कारणले नगरवासीहरूले खानेपानीको ठूलो समस्या भोग्दै आएका छन् । सम्भव भएका विभिन्न ठाउँहरूमा डीप बोरिङ गरी वडा–वडामा खानेपानी सहज वितरणको व्यवस्था मिलाउँदै छौँ । खानेपानीको स्थायी समाधानको लागि मेलम्चीको भर पर्नुबाहेक हामीसित अर्को विकल्प छैन । त्यसको निम्ति निरन्तर प्रयास जारी छ । हाल कटुञ्जेमा ट्याङ्की निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
क्यान्सर अस्पताल सरकारी स्वामित्वमा :
भक्तपुर नगरपालिका वडा नं. १ स्थित सार्वजनिक जग्गामा निर्मित क्यान्सर अस्पताल केही समय अघिसम्म एउटा एनजीओले सञ्चालन गर्दै आएको थियो । सरकार, विदेशी अनुदान र नगरपालिकाको जग्गामा सञ्चालित उक्त अस्पतालका सञ्चालकहरूले सबै निजी सम्पत्तिको रूपमा ब्रह्मलुट गरी अकुत सम्पत्ति कमाइरहेका थिए । अस्पतालमा भइरहेको व्यापक भ्रष्टाचार सार्वजनिक भएपछि नगरपालिकाले सरकारी स्वामित्वमा ल्याउन पहल ग¥यो । लामो विवादपछि अन्ततः उक्त अस्पताल सङ्घीय सरकारको मातहतमा गएको छ । त्यसबाट जनतालाई सस्तो र गुणस्तरीय उपचार सेवा प्राप्त भइरहेको छ । भक्तपुर क्यान्सर अस्पताल सरकारीकरण हुनु एउटा महत्वपूर्ण उपलब्धि हो । त्यस्तै भक्तपुर अस्पताल व्यवस्थापन समितिमा नगरपालिकाको प्रतिनिधित्व भएपछि क्रमशः सुधार हुँदै छ । गत वर्ष उक्त अस्पताल बाग्मती प्रदेशकै उत्कृष्ट घोषित भएको छ ।
सहकारी सम्बन्धमा :
भक्तपुर नगरभित्र सञ्चालित १५६ वटा सहकारीहरूलाई सहकारी सिद्धान्तअनुसार सञ्चालन गर्न नगरपालिकाले समय–समयमा अनुगमन गर्दै आएको छ । अनुगमनको क्रममा देखिएका कमी कमजोरी सुधारको लागि सुझावहरू दिने र त्यसको कार्यान्वयन गराउने प्रयास गर्दै आएको छ । साथै भक्तपुर नगरपालिकाको सहकारी ऐनविपरीत नगरपालिकाको स्वीकृति बिना गर्दै आएको छ ।
देको–मिवा–इतापाके आवास योजना :
भक्तपुर नगरलाई व्यवस्थित सहरको रूपमा विकास गर्न भनपा वडा नं. २ र ६ मा १६५३ रोपनीमा देको मिवा इतापाके आवास योजना सञ्चालन भइरहेको छ । जनताको हितलाई ध्यानमा राखी भएको उक्त योजनामा जनताको गुनासो सम्बोधन गर्ने क्रममा केही ढिलाइ हुन गएको हो । यद्यपि, चरणबद्धरूपमा जग्गा फिर्ता दिने काम अगाडि बढाइएको छ ।
प्रकाशन तथा सञ्चार :
भक्तपुर नगरपालिकाका हरेक गतिविधिबारे जनतालाई जानकारी दिने उद्देश्यले मासिक ‘भक्तपुर’, नेपालभाषाको पाक्षिक ‘ख्वप पौ’ निरन्तर प्रकाशित गर्दै आएका छौँ । त्यसैगरी अनलाइन पत्रिका ‘भक्तपुर खबर डट कम’, ‘भक्तपुर म्युनिसिपालिटी’ फेसबुक पेज र भक्तपुर एफएममार्फत ‘ख्वप सः’ कार्यक्रमलाई पनि निरन्तरता दिएका छौँ ।
नगरपालिकाद्वारा पुनःनिर्माण र जीर्णोद्धार गरिएका सम्पदाहरूको सङ्क्षिप्त विवरणसहित ‘फोटो पुस्तक’, भक्तपुरका विभिन्न पक्षबारे जानकारी दिने उद्देश्यले स्थानीय पाठ्यक्रमको सन्दर्भ सामग्री ‘ख्वपको पहिचान’ भाग १ र २ प्रकाशित भइसकेको छ भने भाग ३ प्रकाशोन्मुख अवस्थामा छ । भक्तपुर नपाले गरेका अभ्यासहरूलाई समेटेर प्रकाशित गरेको ‘हाम्रो अभ्यास’, महत्वपूर्ण सम्पदाहरू जीर्णोद्धारपछि त्यसका सम्पूर्ण विवरणसहित ‘भैरवनाथ मन्दिर जीर्णोद्धार‘, ‘ङातापोल्हँ जीर्णोद्धार—२०७७’, ‘वत्सला मन्दिर जीर्णोद्धार—२०७८’ पुस्तक प्रकाशित भइसकेको छ भने ‘रानीपोखरी जीर्णोद्धार’ पुस्तक प्रकाशनको तयारीमा छौँ । त्यसैगरी भक्तपुरका विभिन्न पक्ष समेटिएका महत्वपूर्ण पुस्तकहरू प्रकाशित गर्दै जाने नीति लिएका छौँ । यसले भविष्यमा भक्तपुरबारे बुझ्न र अध्ययन अनुसन्धान गर्न चाहनेहरूको लागि ठूलो मद्दत मिल्ने हाम्रो विश्वास छ ।
कर्मचारी सम्बन्धमा :
लामो समयदेखि भनपामा सेवारत रहेका कर्मचारीहरूको वृत्ति विकासको लागि आवश्यक ऐनको व्यवस्था गरी ८६ जना कर्मचारीहरूलाई एक तह वृद्धि गरियो भने कानुनबमोजिम तह वृद्धि गर्न समस्या परेकाहरू ३० जना कर्मचारीलाई दुई ग्रेड थप गरी सेवा सुविधा दिइएको छ । १०० जना कर्मचारीहरूलाई १ तह स्तर वृद्धि गरिएको छ । अन्य कर्मचारीहरूलाई पनि कानुनबमोजिम सुविधा दिने प्रयास गर्दै छौँ ।
निजी आवास पुनःनिर्माण :
२०७२ सालको भूकम्पले झन्डै ८ हजार घरमा आंशिक र पूर्ण क्षति भएको थियो । तीमध्ये ५,६८१ परिवारले लाभग्राही सूचीमा दर्ता गरी सम्झौता गरेकोमा ५,६८० परिवारले पहिलो किस्ताबापत रु. ५०,०००।– पाए भने हालसम्म दोस्रो किस्ता लिनेहरूको सङ्ख्या २,३५५ र तेस्रो किस्ता लिनेहरूको सङ्ख्या २,१८४ रहेको छ । दोस्रो र तेस्रो किस्ता नलिएकाहरूलाई शीघ्र घर निर्माणको लागि जोड दिँदै छौँ ।
सीपमूलक तालिमहरू :
युवाहरूलाई सीपमूलक तालिम दिई आत्मनिर्भर बनाउनेतर्फ भक्तपुर नपाले निरन्तर जोड दिँदै आएको छ । कृषिसम्बन्धी माटो परीक्षण, कीटनासक औषधिको प्रयोग, उन्नत जातको बीउबाट उत्पादन तथा कृषि प्राविधिक नर्सरीसम्बन्धी, च्याउ खेती, बेमौसमी तरकारी खेतीसम्बन्धी तालिमहरूलाई निरन्तर सञ्चालन गर्दै आयौँ भने सिजनअनुसार किसानहरूको लागि आलु, धान र गहुँको बीउ वितरणलाई निरन्तरता दिँदै आएका छौँ ।
चिनियाँ भाषा, जापानी भाषाको नियमित तालिम, सिकर्मी, डकर्मी, सञ्चारसम्बन्धी, सिलाइ–बुनाइ, पाक शिक्षा तथा अन्य विभिन्न सीपमूलक तालिमहरू दिँदै आएका छौँ ।
नगरपालिकाबाट हुने कामलाई व्यवस्थितरूपमा अगाडि बढाउन ऐन, नियम, विनियम र कार्यविधि गरी हालसम्म ४६ वटा कानुन निर्माण गरी कार्यान्वयन गर्दै आएका छौँ ।
अन्त्यमा,
भक्तपुर नगरपालिकामा हामी निर्वाचित भएदेखि आजको दिनसम्म नगरवासीहरूले पु¥याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दछौँ । हामी जनप्रतिनिधिहरूले सधैँ नगरवासीहरूको प्रगतिलाई ध्यानमा राखी सेवामा समर्पित भएर काम गर्दै छौँ । बाँकी दिनमा पनि जनताको हितमा उदाहरणीय कामहरू गर्दै भक्तपुरलाई देशको नमुना नगरको रूपमा विकास गर्न हाम्रो कार्यकालको अन्तिम दिनसम्म लागिरहने प्रतिबद्धता व्यक्त गर्दछौँ । धन्यवाद !
(२०७८ माघ २६ गते भक्तपुर नगरपालिकाको एघारौँ नगरसभाको उद्घाटन समारोहमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्य)
Leave a Reply