भर्खरै :

तपाईँकै समयमा बैठक बोलाउँदा पनि नभ्याउने !

एक दिन म वडा कार्यालयमा सेवाग्राहीसँग कुराकानी गरिरहेको थिएँ । सेवाग्राहीहरूको त्यति भिड थिएन । त्यत्तिकैमा वडामा ज्येष्ठ जनप्रतिनिधिको प्रवेश भयो । प्रायः दैनिक आइरहने भएकोले मैले कुनै आश्चर्य मानिनँ । उहाँ सोफामा बस्ने बित्तिकै तातो पानी मगाएँ । सेवाग्राहीहरू गइसकेपछि उहाँले आफ्नो घरमा एक जना बुढी आइमाई घरायसी समस्याबारे सल्लाह लिन आएको बताउनुभयो । त्यस बुढी आईमाईले वडाध्यक्ष भेट्न अनुरोध गरेको पनि उहाँले बताउनुभयो । त्यस आईमाई वडामा आयो कि आएन भनी प्रश्न गर्नुभयो । मैले आउनुभएको छैन भनी जानकारी गराएँ । त्यही समयमा एक जना ज्येष्ठ आईमाई ‘नमस्कार बाबु’ भन्दै अफिसमा आउनुभयो । ज्येष्ठ जनप्रतिनिधिले उहाँ नै आफूले भनेको आइमाई भएको जानकारी दिनुभयो ।
त्यसपछि मैले बुढी आमालाई नमस्कार फर्काउँदै सोफामा बस्न अनुरोध गरँे र आफूलाई परेको समस्या बताउन अनुरोध गरेँ । बुढी आमाले भन्नुभयो, “बाबु मेरा दुई जना छोराहरू छन् । हामी यही टोलमा बस्छौँ । जेठा छोरा र उनको परिवार एउटै घरमा बसेको छ । तर, भान्छा अलग–अलग छ । कान्छा छोरा कोटेश्वरमा डेरामा बस्छ । उसबाट सन्तानहरू छैनन् । घरमा म एक्लै खाना पकाएर खान्छु । मलाई अब कान्छा छोराले पाल्छु र कोटेश्वरमा सँगै बस्न आऊ भन्छ । जेठा छोरा र तिनको परिवारले वास्तै गरेनन् । कान्छा छोराको सन्तान छैन भनेर सम्पत्ति अंशबन्डा गर्न मान्दैन । मेरो पनि उमेर गइसक्यो । म मरेपछि सबै सम्पत्ति खाने दाउ मेरो छोराको मनमा छ । त्यसैले बाबुले हाम्रो सम्पत्ति अंशबन्डा गरिदिनुप¥र्यो ।” त्यत्तिकैमा कान्छा छोरा र बुहारी वडामा आइपुग्नुभयो । सामान्य परिचयपछि मैले कान्छा छोरालाई सोधँे, “आमा तपाईँको डेरामा बस्छु भन्नुहुन्छ । तपाईँले आमालाई कोटेश्वरमा लगेर पाल्ने हो ?” उहाँले भन्नुभयो, “हो, सर । दाइले हाम्रो सम्पत्ति खाउँला भनेर अंशबन्डा गर्न नै मानेन । अस्ति घरायसी छलफल हुँदा घरको मूल्य ३० लाख राख्ने, तीन अंशियारलाई १०÷१० लाख बाँड्ने र घर दाइले लिने सहमति भएको थियो । आमा र मलाई घरको १०÷१० लाख दुई महिनाभित्र दिने सल्लाह भएको थियो । तर, सल्लाहअनुसार नभएकोले हामी यहाँ वडामा आएका हौँ ।” त्यसपछि बुहारीलाई सोधेँ, “बुहारी, सासू आमालाई पाल्ने हो ?” सम्पत्ति लिएपछि आमा त पाल्नुपर्छ नि । घरमा आमालाई हेरचाह गर्ने भनेकै बुहारीले हो नि ।” फेरि उहाँले भन्नुभयो, “आमालाई त पैसा नदिए पनि पाल्छौँ । त्यो त हाम्रो कर्तव्य नै हो । तर, दाइले हामीलाई निःसन्तान भनेर हेप्छ सर ।”
मैले जेठो छोराको नाम र मोबाइल नं. लिएँ र कल गरेँ । फोन रिसिभ हुनेबित्तिकै “नमस्कार दाइ म वडाध्यक्ष बोलेको” भनेँ । उहाँले पनि नमस्कार फर्काउँदै के कामले फोन गर्नुभएको भनी प्रतिप्रश्न गर्नुभयो । मैले भनेँ, “तपाईँको आमा, भाइ र बुहारी वडामा आइराख्नुभएको छ । तपाईँ एकचोटि अहिले वडामा आउनुस् । तपाईँको पारिवारिक सम्पत्तिको विषयमा छलफल गर्नु छ ।” उहाँले मलाई जवाफ फर्काउनुभयो, “अहिले त म काठमाडौँ पुगिसकेँ । भोलि ११ बजेतिर आउँदा हुँदैन ?” मैले “हुन्छ” भनी फोन राखिदिए ।
त्यसपछि आमा र छोरालाई एउटा सामान्य छलफल गरी पाउँ भनी निवेदन दिनुहोला भनी अनुरोध गरेँ । कान्छा छोराले पारिवारिक निवेदन लेख्नुभयो । त्यसपछि भोलि ११ बजे वडामा भेट्ने बाचासहित बिदा गरँे ।
भोलिपल्ट ११ बजे बुढी आमा, कान्छा छोरा र बुहारी वडामा आउनुभयो । प्रथम प्रहर भएकोले वडामा सेवाग्राहीको अलि भिड थियो । १२ बजेसम्म जेठा छोरा आउनुभएन । त्यसपछि मैले जेठा छोरालाई कल गरँे । कल रिसिभ गर्नासाथै मैले “नमस्कार दाजु” भन्दै अभिवादन गरँे । उहाँले पनि “नमस्कार सर” भन्नुभयो । मैले हिजो फोनमा कुराकानी भएको स्मरण गराएँ र वडामा आउन अनुरोध गरेँ । त्यसपछि एकैचोटि उहाँ रिसाएर भन्नुभयो, “तपाईँ यो वडाकै राजा हुनुभयो कि के हो ? तपाईँले बोलाएकै समयमा आउनुपर्ने ? तपाईँले बोलाउँदैमा आउनुपर्छ भनी कहाँ लेखेको छ ? मेरो फुर्सद छैन । म जागीदार मान्छे हुँ । जागीर छोडेर वडामा कहाँ आउन सकिन्छ ? मेरो परिवार तपाईँले पालिदिने हो ? जागिर छोडेर वडामा आउनलाई ?”
उहाँको जवाफले मेरो कन्सिरी तात्यो । मलाई पनि रिस उठ्यो । तापनि, मैले नम्र स्वरमा भनेँ, “तपाईँलाई तपाईँकै समयमा बैठक बोलाउँदा पनि नभ्याउने ¤ म तपाईँजस्ता जनताले जिताएको जनप्रतिनिधि हुँ ।” त्यसपछि उहाँको कडा जवाफ आयो, “सकेको गर्नुस् ।” वडाध्यक्ष भएपछि कस्तो–कस्तो कडा जवाफ सुन्नुपर्छ । आमाबुबाले नसुनाएको कडा–कडा शब्द सुनुप¥र्यो बरु एक झापड पिटेमा त्यति चित्त दुख्दैन । उहाँको जवाफले मुटुसम्म घोच्यो । मैले तुरुन्तै पुलिसलाई कल गरेर जेठा छोरालाई भ्यानसहित पक्रेर ल्याउन निर्देशन दिएँ । प्रहरीलाई फोन गरेको पाँच मिनेटभित्र जेठा छोरा हस्याङफस्याङ गर्दै वडामा आउनुभयो । उहाँले माफी मागेपछि बल्ल मेरो मन हलुको भयो । त्यसपछि पारिवारिक छलफलअनुसार भएको सहमति किन कार्यन्वयन भएन भनी उहाँसँग मैले प्रश्न गरेँ । उहाँ मसँग डराएको अनुभव भयो । उहाँले भन्नुभयो, मलाई पारिवारिक सहमति मन्जुरी छ । तर, मेरो परिवार ठूलो भएको र भाइको सन्तान नभएकोले भ¥याङ्गपट्टि मलाई लिने र बाँकी दुई भाग भाइ र आमालाई लिँदा फरक पर्दैन । मसँग किन्न पैसा नभएकोले दुई भाग कित्ता गर्न र नामसारी गरेर बेचे पनि फरक पर्दैन ।” जेठो छोराको सकारात्मक सोचपछि सचिवलाई र ज्येष्ठ जनप्रतिनिधि बोलाएर माइन्युटिङ्ग गर्न लगाएँ । ३५ दिने भाखा राखी नामसारी गर्ने र त्यसको लागि जेठो छोराले कागजहरू दिनुपर्ने निर्णय भयो । मैले बैठक समापन गरेँ ।
३५ दिन गइसकेपछि फेरि बुढी आमा र छोरा वडामा आउनुभयो । दाइले वडाको सहमति कार्यान्वयन नगरेको र सकेको गर्न चुनौती दिएको उहाँले बताउनुभयो । मैले तुरुन्त कल गरँे र सहमति कार्यान्वयनको बारेमा सोधेँ । उहाँले सहमति हुँदैन भनी जवाफ दिनुभयो । मैले ३५ दिन समय नाघेको जानकारी दिएँ । उहाँले भन्नुभयो, “तपाईँले सकेको गर्नुस् । म वडाको सहमतिअनुसार गर्दिनँ ।” मैले आमा र छोरालाई निर्वाचित समितिमा छलफल गरेर जवाफ दिउँला भनी बिदावारि गरँे ।
शुक्रबारको नियमित बैठकमा थप समस्यालाई विषय प्रवेश गराएँ । जनप्रतिनिधि साथीहरूले एउटा छोराको मन्जुरीनामा भए पनि नामसारीको सिफारिस दिन सल्लाह दिनुभयो । समितिको सल्लाहअनुसार भोलिपल्ट नै आमा छोरालाई नामसारीको निवेदनसाथ उपस्थित हुन अनुरोध गरेँ । भोलिपल्ट आमा छोरा निवेदनसाथ वडामा आउनुभयो । तर, बुढी आमाको सक्कल नागरिकता र श्रीमान्को मृत्यु प्रमाणपत्रको सक्कल पुर्जाको सक्कलप्रति जेठा छोरासँग रहेछ । मैले फोन कल गरेर जेठो छोरालाई भनँे, “तपाईँले आमाको सक्कल नागरिकता, मृत्यु दर्ताको प्रमाणपत्र र पुर्जा सक्कल भाइलाई दिएर पठाउनुस् । नामसारीको सिफारिस तयार भइसकेको छ । मेरो आग्रहअनुसार सबै कागजपत्र प्राप्त भयो । मैले सरजमिन गराई नामसारीको सिफारिस दिई पठाएँ ।
नामसारी सकिएको लगत्तै आमालाई सानो छोराले पाल्न लगे । त्यस क्रममा आमालाई क्यान्सर रोग लाग्यो । कान्छा छोराले किमियोथेरापी सुरु गरे । तीन चार पटक थेरापी गरेपछि आमालाई उपचार गर्न पैसा नभएको भन्दै कान्छा छोरा र बुहारीले कोठाबाट आमालाई निकाली दिए । त्यसपछि आमा विवाहित छोरीको घर साँखुमा बस्न जानुभयो ।
करिब दुई महिनापछि वडामा छोरी आइन् । उनले आफ्नो परिचय दिएपछि मात्र छोरी भनी थाहा पाएँ । छोरीले आमाको बारे बताइन् । दुवै छोराहरूले नहेरेकाले आफूले आमाको घर नामसारी गरिलिन लागेको र त्यसको लागि घरबाटोको सिफारिस लिन निवेदन लिएर आएको भन्दै निवेदन मलाई दिनुभयो । “मैले आमा खोइ ?” भनी प्रश्न गरेँ । आमालाई किमो गरेकोले गा¥हो भएको हुँदा नल्याएको भन्नुभयो ।
मैले दुवै दाजु भाइलाई कल गरी भोलि ११ बजे वडामा आउन अनुरोध गरेँ र नआएमा बहिनीलाई घरबाटोको सिफारिस र नामसारीको सिफारिस जान्छ, भोलि सम्पत्ति अन्यथा भएमा दुवैको जिम्मेवारी हुने बताएँ । नभन्दै भोलि बिहान १० बजे दुवै छोरा र जेठा छोराको छोरा पनि आउनुभयो । साथै आमा पनि आउनुभयो । आमा रोगको कारण निकै गलेको देखिन्थ्यो ।
मैले पहिले कान्छा छोरालाई भनेँ । आमा पाल्छु भनी कोटेश्वर लाने अनि आमा रोगी भएपछि बहिनी कहाँ पठाउने ? त्यसपछि जेठो छोरालाई भनेँ, “तपाईँले मलाई सकेको गर्नुस् भनेको होइन ? आमा र भाइलाई मुद्दा हाल्ने तपाईँ नै होइन ? जननिर्वाचित समितिको निर्णयले यो घर आमाको नाममा ल्याएको हुँ । अब छोरीको नाममा जान्छ । ल भन्नुस् के गर्ने ?” मेरो कुरा सुनेर नाति र नातिबुहारीले भन्नुभयो, “सर हामीले बुबाहरू दुवै जनालाई मनाएर ल्याएका छौँ । बज्यैलाई पनि अब हामी वडाकै सहमतिअनुसार हिँड्ने भयौँ । बज्यैलाई उपचार गर्न हाल चार लाख दिने, बाँकी ६ महिनाभित्र ८ लाख दिने सहमति भयो । पैसा चुक्ता गरेपछि मात्र बुबाको नाममा नामसारी गरिलिने सहमति भयो । बुढी आमासँग कुरा गर्दा हिजो बेलुकी नै वडाध्यक्षले भनेअनुसार वडामा बसेर अन्तिम निर्णय लिने सहमति भएको बताउनुभयो । त्यसपछि नातिले ६ लाख टेबुलमा राखिदिनुभयो र आमालाई मेरै हातबाट पैसा लिन अनुरोध गरेँ । मैले पनि माइन्युट बनाई हस्ताक्षर गराएँ र बिदावारी गरेँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *