भर्खरै :

जनरल चाल्र्स दे गाल : एक अध्ययन – १६

 
अल्जेरिया सङ्कट र स्वेज नहर
जनवरी १९५६ मा फ्रान्समा संसदीय निर्वाचन भयो । ‘सामाजिक गणतन्त्रवादीहरू’ पूरै परास्त भए । वामपन्थीहरूले धेरै सीट ल्याए । तिनकै समर्थनमा समाजवादी गेय मोलेत प्रधानमन्त्री बने । तर, उनले राम्ररी शासन गर्न सकेनन् । उनले ट्युनिसिया र मोरक्कोबाट फ्रान्सको औपनिवेशिक शासन हटाउनुप¥यो । अल्जेरियामा सन् १९५४ को अन्त्यतिरबाट स्वाधीनता सङ्घर्ष चर्किँदै थियो । त्यहाँ ९० लाख अरबी र १२ लाख युरोपेलीहरू बस्थे । त्यहाँका युरोपेलीहरू अत्यन्त जातिवादी थिए । कम्युनिस्टहरूबाहेक सबै दलले अल्जेरियाको सङ्घर्ष दबाउनुपर्ने बताए । अल्जेरियाको समस्या शान्तिपूर्ण बाटोबाट समाधान गर्ने वचन दिएका गेय मोलेतले अन्तमा दमनको बाटो लिए । त्यसको लागि धेरै हतियार, जनशक्ति र स्रोतसाधन चाहिन्थ्यो । अल्जेरियामा सैन्य दमनले गर्दा अन्तर्राष्ट्रिय मञ्चहरूमा फ्रान्स सरकारको आलोचना भयो । कतिपय व्यक्तिहरूले जनरल दे गालले मात्र अल्जेरिया समस्या समाधान गर्न सक्ने भनेर हाकाहाकी बोले । कतिपय नेताहरू यस विषयमा कुराकानी गर्न दे गालको गाउँले घर पुगे । दे गालले आफ्ना कुरा नबताई उनीहरूका कुरा सुन्थे । फ्रान्समा जनअसन्तोष चुलिँदै थियो । तर, दे गालले अल्जेरिया समस्याबारे मुख खोलेनन् ।
स्वेज नहरलाई इजिप्टले राष्ट्रियकरण गरेपछि फ्रान्सेली पुँजीपतिहरू रुष्ट भए । तिनैको रिसलाई समन गर्न प्रम मोलेतले अल्जेरियाको युद्धमा अर्को मोर्चा खोले । मोलेतले बेलायती प्रम इडन र इजरायली प्रम बेन गुरियोँसँग गोप्य सम्झौता गरे । ३० अक्टोबर १९५६ मा तीनवटै देश मिलेर इजिप्टमाथि आक्रमण गरे । राष्ट्र सङ्घ र सोभियत सङ्घले त्यसको विरोध गरे । संरा अमेरिकाले पनि तिनलाई खुलेर सहयोग गर्न सकेन । २ दिनमै तिनीहरू युद्धविराम घोषणा गर्न बाध्य भए । स्वेज नहरको मुद्दामा फ्रान्स हारेपछि अल्जेरियाली देशभक्तहरूको हिम्मत बढ्यो । दे गालले यी सबै घटना चुपचाप हेरिरहेका थिए । उनलाई सैन्य जनरलहरूले लडाइँको जानकारी गराइरहन्थे । उनी इजिप्टमाथि हमलाको पक्षमा थिए तर रणनीतिक भुलचुकका उनी विरोधी थिए । फ्रान्स त्यतिबेला बेलायत र इजरायलभन्दा पछि परेकोमा उनको गुनासो थियो ।
इजिप्टमाथिको आक्रमणले गर्दा फ्रान्सले आफ्नो एकतिहाइ तेल आपूर्ति गुमायो । महँगी बढ्यो । मुद्रा सञ्चिती रित्तिएझैँ भयो । ‘चौथो गणतन्त्र’ कमजोर भएकोमा दे गाल खुसी थिए तर युद्धमा फ्रान्सको पराजयले अपमानित पनि थिए । बिरामी भए पनि दे गालले घटनाक्रममा ध्यान दिइरहे । उनले राजनीतिक दलका नेताहरूलाई कुकुरसँग तुलना गर्न थाले । तैपनि उनले अल्जेरियाको विषयमा एक शब्द बोलेनन् । सन् १९५७ को सुरुतिर अल्जेरियाली समस्या टुङ्गिने देखियो । त्यो युद्धबारे फ्रान्समा तीनथरी विचार थिए । अतिवादीहरू अल्जेरिया फ्रान्सको हुनुपर्छ र विद्रोहलाई जस्तो मूल्य चुकाएर भए पनि दबाउनुपर्छ भन्थे । पेरिसका निम्न पुँजीपतिहरूको सोच यस्तै थियो । बहुसङ्ख्यक जनता शान्तिपूर्ण समाधानको पक्षमा थिए । तेस्रोथरीले अल्जेरियालाई स्वतन्त्रता दिनुपर्ने धारणा राख्थे । सुरुमा यस्तो सोच्नेहरू एकदम थोरै थिए । कम्युनिस्ट पार्टीमात्र यसको पक्षमा थियो । पत्रपत्रिका, सडक, सदन र निजी भेटघाटहरूमा पनि यी तीन विषयमा छलफल चलिरहन्थ्यो । हिन्द – चीनको लडाइँमा फ्रान्सको धेरै धन खर्च भइसकेको थियो । जनता आजित भइसकेका थिए ।
सरकार निर्माणको सङ्कट
दे गालले अल्जेरियाबारे मौनता साँधिरहे । नजिकका मान्छेहरूसँग उनले अल्जेरियाको मुक्ति अपरिहार्य हुने बताएको पाइन्छ । तैपनि दे गालको धारणाबाट अनेक हल्लाखल्ला भइरह्यो । सहारा मरुभूमिमा तेलको खानी फेला परेको थियो । दे गाल सहारा मरुभूमिमा भ्रमणमा गए । त्यहाँ पनि उनले केही बोलेनन् । खासमा दे गाल सबै दलको समर्थन पाउन चाहन्थे । समर्थन पाएर मात्र हुन्नथ्यो, शक्ति समीकरण आफ्नो पक्षमा आउनुपर्छ भन्ने उनले बुझेका थिए । उनी आफ्नै नजिकका मान्छेहरूमा पनि विश्वास गर्न सक्दैनथे किनभने उनीहरूले पटकपटक धोका दिएका थिए । तीमध्ये अल्जेरियाका पूर्व गभर्नर जनरल सोस्तेलले दे गाललाई आसलाग्दो आँखाले हेरे । दे गालका अन्य समर्थकहरूको पनि यस्तै सोच थियो । लडाइँ झन्झन् क्रुर हुँदै जाँदा केही समर्थक दे गालले मात्र अल्जेरियालाई स्वतन्त्रता दिने विषयमा फ्रान्सलाई राजी बनाउन सक्ने ठान्थे । त्यसैले दे गाललाई सत्तामा ल्याउन उनीहरू तत्कालीन सरकारलाई कमजोर बनाउनतिर लागे । यसरी मे १९५७ मा मोलेतको सरकार भङ्ग भयो ।

१२ जूनमा अर्को सरकार बन्यो । प्रम बुर्गेस दक्षिणपन्थी र प्रतिक्रियावादी थिए । अढाई महिनापछि त्यो सरकार पनि ढल्यो र फ्रान्समा पुनः सरकार निर्माणको सङ्कट देखियो । सोभियत सङ्घले भर्खरै अन्तरिक्षमा यान पठाएको थियो । फ्रान्समा ‘सरकार बनाउनभन्दा मान्छे चन्द्रमामा जान सजिलो होला’ भन्ने आहान लोकप्रिय भयो । फ्रान्समा बिजुलीको हाहाकार थियो । बन्दहडतालले देशै ठप्प थियो । सन् १९५६ मा फ्रान्सभरि झन्डै ९ लाख मजदुर हडतालमा उत्रिएका थिए भने अर्को वर्ष मजदुरको सङ्ख्या २९ लाख पुगेको थियो । यी मुद्दाहरूले गर्दा जोकोही सरकार बनाउन हिम्मत गर्दैनथ्यो । तर, प्रयासहरू भइरहे । दे गालले अरू देशले पेटको चिन्ता नगरी संसार जितिरहेको बेला फ्रान्सेलीहरूलाई देशको भन्दा पनि पेटको चिन्ता भएकोमा दुःख व्यक्त गरे । उनलाई फ्रान्सेलीहरूको भन्दा ‘फ्रान्स’ को चिन्ता थियो ¤
हडतालहरूमा वामपन्थीहरूको शक्ति बढेपछि अन्य नौ दल मिलेर दक्षिणपन्थी फेलिक्स गाइलार्डको नेतृत्वमा सरकार बनाए । उनी घोर रुढीवादी थिए । उनले देश र विदेशमा चौथो गणतन्त्रको बदनाम मात्र गरे । अन्तर्राष्ट्रिय मञ्चहरूमा अङ्ग्रेजीभाषी मुलुकहरूले फ्रान्सलाई दोस्रो दर्जाको देशमा गन्न थाले । अल्जेरिया युद्ध देखाउँदै संरा अमेरिकाले उत्तर अफ्रिका र मध्यपूर्वमा आफ्नो पकड बलियो बनाउन खोज्यो । प्रम गाइलार्डले अमेरिकी र बेलायती हस्तक्षेप निस्तेज बनाउन खोजे । तर, खर्चको अभावमा उनी अमेरिकाले भनेझैँ गर्न बाध्य भए । सन् १९५७ को अन्त्यतिर उनले अमेरिकासँग ६५ करोड डलर सहयोग लिन चाहिरहेका थिए । बदलामा उनले फ्रान्सेली भूमिमा अमेरिकालाई हवाई आक्रमण गर्न मिल्ने भूभाग दिनुपर्ने थियो ।
प्रम गाइलार्डले अर्को समस्या पनि ल्याए । अल्जेरियाली विद्रोहीहरू लुकेको निहुँमा उनले ट्युनिसियाको एउटा गाउँमा हवाई हमला गरे । धेरै बालबालिका र युवायुवती हताहत भए । तर, तीमध्ये कोही पनि अल्जेरियाली थिएनन् । यो घटनाको सर्वत्र विरोध भयो । ट्युनिसियाले राष्ट्रसङ्घको सुरक्षा परिषद्मा सहयोग माग्यो । यही बहानामा अमेरिकाले ती भेगमा अनेक अफिसहरू बनायो । यसलाई फ्रान्सको आन्तरिक मामिलामा अमेरिकी हस्तक्षेपको रूपमा हेरियो । दे गालका समर्थकहरूले यही मौकामा सरकारले अल्जेरियालाई नाटोको संरक्षणमा लान खोजेको हल्ला पिटे । संसद्मा यस विषयमा चर्काचर्की भयो । दे गालका समर्थक सोस्तेलले अमेरिकी अफिसहरू उत्तरी अफ्रिकाबाट फ्रान्सको नामनिसान मेटाउने मिसन भएको बताए । उनले अमेरिकी तेल कम्पनीका मालिकहरूले यसमा चलखेल गरेको र सहाराको तेलखानी आफ्नो कब्जामा पार्न खोजेको आरोप लगाए । विदेशी अपमानको सिलसिला तोड्नुपर्ने र विदेशीहरूलाई सहुलियत दिन बन्द गर्नुपर्ने उनको आह्वानसँगै गाइलार्डको सरकार ढल्यो । योसँगै फ्रान्समा ‘चौथो गणतन्त्र’ को अवसान भयो र फ्रान्समा दे गाललाई ‘ब्यूँताउने’ योजनाले गति लियो ।
विद्रोही समूह र फ्रान्सेली सेना
दे गालका समर्थकहरूले उनलाई सत्तामा ल्याउने तयारी गरे । दे गालले राजनीतिमा वामपन्थीहरू हावी भएको महसुस गरे । उनी धेरै अघिदेखि उचित समयको पर्खाइमा थिए । यसबीच मौनता नै उनको साथी थियो । अब उनले सेनाको पनि आड लिने सोच्दै थिए । दे गाल सेनामा प्रवेश गर्दा सेना गणतन्त्रविरोधीहरूको लुक्ने थलो थियो । फ्रान्स वामपन्थी हुँदै जाँदा सेना दक्षिणपन्थी हुँदै गयो । सेनाका अफिसरहरू चौथो गणतन्त्र, संसद् र राजनीतिक दलहरूको खोइरो खनिरहन्थे । सेनाभित्र धेरैचोटि विद्रोहका प्रयास भएका थिए । तर विद्रोहीहरूले नाममात्रको दण्ड पाउँथे । युरोपेली मूलका अल्जेरियावासीले पनि विद्रोहहरू गरे । तिनीहरूले अतिवादी समूह बनाएका थिए । उनीहरू ‘चौथो गणतन्त्र’ लाई विस्थापित गर्न चाहन्थे । अन्य ससाना विद्रोही समूहहरू फ्रान्सभित्रै क्रियाशील थिए । तिनीहरू फासीवादी थिए । तिनका लडाकूहरूको सङ्ख्या ४० हजार थियो । हिटलर र मुसोलिनीभन्दा विपरीत तिनीहरूसँग जनमत थिएन । यी तीनवटै धारका विद्रोहीहरू गणतन्त्र र कम्युनिस्टहरूलाई घृणा गर्थे । उनीहरू औपनिवेशिक सोचबाट ग्रस्त थिए ।
अतिवादीहरू दे गाललाई रुचाउन्नथे किनभने कुनै बेला दे गालले फ्रान्स र रूसका कम्युनिस्टहरूसँग हात मिलाएका थिए । उनले भिशे सरकार, १९४४–१९४६ मा उसले लागु गरेका सुधारका कार्यक्रम र फासीवादको विरोध गरेकोमा उनीहरू दे गालसँग रुष्ट थिए । अमेरिकासँग भन्दा रूससँग नजिकिएकोमा पनि उनीहरूको गुनासो थियो । त्यसैले दे गालले अतिवादीहरूको समर्थन लिन सक्दैनथे । दे गालले कहिल्यै पनि औपनिवेशिक सोचको पक्ष लिएनन् ।
फ्रान्सेली सेना सुरुदेखि नै दुई खेमामा बाँडिएको थियो । फ्रान्सभित्र खटिनेहरूको एउटा खेमा थियो भने उपनिवेशहरूमा तैनाथ सैनिकहरूको अर्को खेमा थियो । देशको सीमा सुरक्षा गर्नु नै देशभित्रका सैनिकको चिन्ता र चासोको विषय हुन्छ । जस्तो दे गाल आफैले पनि आधुनिक युद्धबारे गहिरो चिन्तन गरेका थिए । त्यसैले उनलाई उपनिवेश र औपनिवेशिक सोचमा धेरै चासो थिएन । उनी चरम उपनिवेशवादी भइदिएको भए फ्रान्सको सेना सर्लक्कै उनको पक्षमा आउने निश्चित थियो । सेनाका अन्य जनरलहरू उनीजत्तिको चर्चित थिएनन् । दे गालजस्तै फ्रान्सका पुँजीपतिहरू पनि अतिवादीहरूबाट सतर्क थिए । त्यसैले सरकार बनाउने अतिवादी नेताहरूको प्रयास व्यर्थ भयो ।
अल्जेरियामा षड्यन्त्र
विश्वभरिको स्वतन्त्रता सङ्घर्षको लहरसँगैै अल्जेरिया ढिलोचाँडो स्वतन्त्र हुने फ्रान्सेली पुँजीपतिहरूले देखे । अल्जेरियालाई कुनै सम्झौतामा अल्झाउन आवश्यक थियो । युरोपमा साझा बजारको अवधारणा आएसँगैै होडबाजीमा फ्रान्सलाई टिकाउनु थियो । उपनिवेशहरूको लडाइँका कारण महँगीले आकाश छोएको थियो । पुँजीपतिहरूलाई ठूलो सुधार आवश्यक थियो । ठूला धनाढ्यहरूलाई ‘चौथो गणतन्त्र’ नफाप्ने भयो । उकुसमुकुसबीच सेनाको अतिवादी तप्का र फ्रान्सेली फासीवादले टाउको उठाउन सक्थ्यो । यस्तो भएमा कम्युनिस्ट पार्टीवरपर एकजुट भएर जनताले पुनः लोकप्रिय मोर्चा बनाउन सक्ने सम्भावना थियो । देश पुनः दोस्रो विश्वयुद्धको स्थितिमा पुग्न सक्थ्यो । यसलाई रोक्न फ्रान्सका पुँजीपतिहरूले दे गाललाई सत्तामा ल्याउने वातावरण मिलाउन थाले । दे गालका समर्थकहरूले अल्जेरियास्थित सेनाको अतिवादी तप्काको विद्रोह उपयोग गर्ने योजना बनाए ।
फेलिक्स गेलार्डको सरकार ढलेपछि त्यसको ठाउँमा दे गालका पुराना साथी सत्तामा आए । उनले आफ्नो विश्वासपात्रहरूको प्रयोग गरेर एक अवकाशप्राप्त जर्नेललाई अल्जेरिया पठाए । यिनै जर्नेलले असन्तुष्ट सैन्य विद्रोहीसँगै सम्पर्क बढाउन थाले । त्यस्तै, सोस्तेल पनि दे गालको सेवामा पहिलेदेखि नै सक्रिय थिए । उनले विद्रोही सैन्य नेताहरूको सहानुभूति दे गालतिर मोड्न सकेजति गरे । दे गाल भने यी तयारीबाट पर बसिरहेका थिए । उनले अल्जेरियामा सैन्य विद्रोह गर्ने नेताहरूसँगै पत्राचार त गरे तर तिनलाई कुनै आश्वासन दिएनन् । उनी आफ्ना मान्छेहरूसँगै एकदम कम खुल्थे । बरु, उनी समाजवादी नेतासँगै बढी खुले । यसको एउटा कारण के थियो भने समाजवादी दल कम्युनिस्टसँगै मिलेको खण्डमा फ्रान्सको इतिहासले अर्कै मोड लिने सम्भावना थियो । यसले फ्रान्सेली धनाढ्यहरूलाई चुनौती दिनसक्थ्यो ।
यस्तो नहोस् र स्थिरता छाओस् भनेर फ्रान्सको पुँजीपति वर्गले तीव्र गतिमा दे गालको बाटो सफा गर्दै गयो । ‘चौथो गणतन्त्र’ प्रतिको श्रमजीवी जनताको घृणालाई पनि यसमा प्रयोग गर्ने उसले योजना बनायो । फ्रान्समा अल्जेरियाली मुक्ति योद्धाहरूसँगै सम्झौता गर्ने प्लेभेँ सरकार बन्दै छ भन्ने हल्ला चलाएर फासीवादीहरू र ‘फ्रान्सेली अल्जेरिया’ भन्ने सैन्य नेताहरूको आन्दोलनमा घिउ थपियो । दे गाललाई भेट्न खोज्नेहरूको धुइरो लाग्यो । तर, उनले आफ्नो विचार प्रकट गरेनन् । पेरे ल्फिम्लिनको नेतृत्वमा नयाँ सरकार बन्ने भयो । ठूला धनाढ्यहरूलाई रिझाउन उनले दक्षिणपन्थी कार्यक्रम सार्वजनिक गरे । साथमा उनले अल्जेरियाली मुक्ति योद्धाहरूसँगै सम्झौता गर्ने मनसाय जाहेर गरे । त्यसपछि अल्जेरियाका अतिवादी जर्नेलहरूको पारो तात्यो । यही मेलोमा पेरिस र अल्जायर्स दुवै सहरमा फासीवादी जुलुसहरू भए । पेरिसमा मात्र १६ वटा फासीवादी सङ्गठन सक्रिय थिए । ती जुलुसमा दे गालपन्थीहरूले आगो हम्काएका थिए ।
१९५८ मे १३ मा अल्जायर्समा ठूलो जुलुस गरेर अतिवादी सैनिकहरूले ससानो विद्रोह गरे । उनीहरूले चाला देखेर कम्युनिस्टहरूले ल्फिम्लिनलाई मत दिएर प्रधानमन्त्री बनाए । नयाँ प्रमले संसद्मा विद्रोहीहरूको निन्दा गरे तर अल्जेरियामा अतिवादी सैन्य जनरल सालाँलाई समर्थन गरे । कम्युनिस्टहरूमाथि पूर्ण निर्भर नहुन यसो गरिएको थियो । अतिवादीहरूलाई खुसी नपारे कम्युनिस्टहरू माथि आउन सक्ने सम्भावना थियो । यस्तैमा मे १४ मा अतिवादीहरूले अल्जेरियामा ‘दे गाल जिन्दावाद’ को नारा घन्काए । मे १५ मा दे गालको वक्तव्य सार्वजनिक भयो । उनले १२ वर्ष चलेको दलीय व्यवस्थाको विरोध गरे र देशलाई मुक्ति दिलाउन आफू हरदम तयार भएको बताएका थिए । उनले कुनै ठोस योजना प्रस्तुत नगरी आफूलाई मुक्तिदाताको रूपमा प्रस्तुत गरे । अल्जेरियाका अतिवादीहरूको उनले निन्दा गरेनन् किनभने सरकार अतिवादीहरूबाट डराएको उनी हेर्न चाहन्थे । दे गालको वक्तव्यको स्वागत गर्दै सरकारले उनको स्पष्ट योजनाबारे प्रश्न ग¥यो । दे गालले पत्रकार सम्मेलन गरेर दलका केही नेताहरूको तारिफ गरे । खासमा उनी आफ्नो पक्षमा मान्छे तान्न चाहन्थे । दक्षिणपन्थी आजाद दलले दे गाललाई समर्थन गर्ने बतायो । अन्य दलका केही नेताहरू उनको पछि लाग्ने भए ।
विद्रोही सेनाले कोर्सिका टापु कब्जा ग¥यो । त्यो सेना अब पेरिस आउने र सत्ता कब्जा गर्ने हल्ला पिटियो । खासमा उनीहरूसँगै धेरै सैनिक थिएनन् । उनीहरू पेरिस आएमा कम्युनिस्ट पार्टी र समाजवादी दल मिलेर तिनको प्रतिकार गर्नसक्ने सम्भावना थियो । विद्रोही सेना हल्ला गरेजति बलियो थिएन । सरकारलाई तर्साउन मात्र उनीहरूको डर देखाइएको थियो । सरकारले अल्जेरियाको सैन्य विद्रोहको विरोध गर्न दे गालसँगै हारगुहार ग¥यो । उनले त्यसो गर्न अस्वीकार गरे र देशको एकताबारे एउटा वक्तव्य निकाले । वक्तव्यमा दे गालले सम्भावित गृहयुद्ध टारेको भ्रम छर्न भरसक कोसिस गरिएको थियो । सरकारले दे गालको लागि बाटो छोड्न विश्वासको मत पाउँदापाउँदै पनि राजीनामा दिने निर्णय ग¥यो । उसले अतिवादी सेनाको डर देखाइरहेको थियो । पेरिसमा अतिवादी र फासीवादीहरूको विरोधमा विशाल जनप्रदर्शन भयो । यसबाट अतिवादी सेनाको प्रयास विफल हुने देखियो । अतिवादीहरूले पेरिसमा सैनिक कारबाही गर्ने योजना बनाउँदै हेलिकप्टरबाट पेरिस आएर दे गाललाई सरकार प्रमुख बन्न प्रस्ताव गरे । अतिवादी टुकडी सानो हुनाले दे गालले आफू विद्रोहीको हेलिकप्टरमा नचढ्ने बताए । त्यसपछि दे गाललाई युरोपेली घरानियाँ बैङ्कपति रुथशिल्डका मान्छे पोम्पिदोले भेटे । जनउभारको डरले गर्दा सबै काम फटाफट गर्न पोम्पिदो भरपर्दा व्यक्ति थिए । उनले ‘चौथो गणतन्त्र’ को सेवा गरिसकेका थिए । उनले दे गाललाई भावी मन्त्रीमण्डलको खाका देखाए ।
प्रम ल्फिम्लिनले राजीनामा दिए । दे गालले सभामुखसँगै दुई वर्षको लागि असीमित शक्तिको माग गरे । सांसदहरू यो मागमा राजी भएनन् । तर, पर्दा पछाडिका खेलाडीहरूले दे गालको पक्षमा सांसदहरू ताने । दे गालले पनि आफू संसद्प्रति जवाफदेही हुने नरम कुरा गरे । पोम्पिदो सांसदहरू खेलाउन सफल भए । यस कामको लागि उनलाई रुथशिल्ड बैङ्कले ६ महिनाको बिदा दिएको थियो । सभामुखले दे गालको विपक्षमा गए आफूले राजीनामा दिने धम्की दिएर संसद्मा मतदान गराए । कम्युनिस्टहरू र आधा समाजवादीहरूले विपक्षमा मत दिए । त्यसबेला एक समाजवादी नेताले भने, “विद्रोह वा सैन्य कूको धम्कीले झुकेर मतदानमा जानुहुन्न । परिणाम जे आए पनि त्यो स्वतः स्फूर्त नभई दबाबपूर्ण निर्णय हुनेछ ।”
यसरी नाटकको सफल मञ्चन भयो र फ्रान्सेली पुँजीपतिहरूले ६७ वर्ष पुगेका दे गालको हातमा सत्ता थमाए । फ्रान्सेली क्रान्तिको घाँटी निमोठेर यसरी नै कुनै बेला नेपोलियनलाई सत्तामा ल्याइएको थियो ।
प्रस्तुतिः सुरेन

Leave a Reply

Your email address will not be published. Required fields are marked *