भर्खरै :

पौष्टिक परिकार हाम्रो संस्कृतिको हिस्सा हो

स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार सन् १९९६ मा दुई प्रतिशत नेपाली मोटा थिए । तर, २०१६ मा यो २२ प्रतिशत पुगेको छ । तीमध्ये महिला नै बढी मोटा छन् । मोटोपन भएपछि उच्च रक्तचाप, मधुमेह, घुँडा दुख्ने, कलेजोमा बोसो जम्मा हुन सक्छ । मधुमेहको समस्या भएपछि मिर्गौला र आँखामा समस्या पर्न सक्छ । यस्तो नहोस् भनेर नै स्वस्थ जीवनशैली, भोजन र योगासन, हिँडाइमा धेरै ध्यान दिनुपर्छ । महिलाहरूले युवावस्थामा जति खाए पनि हुन्छ, पछि स्वास्थ्यका बारेमा ध्यान दिउँला भन्नु उचित होइन ।
युवावस्थामै बजारका पाकेट बन्द तयारी खाना, होटलहरूमा खुवाइने खानामा नुन, चिनी र चिल्लो बढी हुन्छ । तर, शरीरलाई आवश्यक पर्ने सूक्ष्म पौष्टिक तत्व, भिटामिन र रेसादार पदार्थ हुँदैन ।
रगतको कमी नहोस् भनेर हाम्रो परम्पराअनुसार फलामको भाँडामा पकाइएको खाना नियमित खाइन्छ । खाना खाँदा अचार वा कागतीको प्रयोग गर्दा रक्तअल्पता कम हुने सम्भावना हुन्छ ।
स्थानीयरूपमा पाइने कर्कलो, सिस्नो, फर्सीको मुन्टा आदि सागपातले पनि रगत बढाउन मद्दत गर्छन् । यस्तै घर वरिपरि नै पाइने विभिन्न गेडागुडी, दलहन, सागपात, दूध, दही, ठाउँअनुसार पाइने विभिन्न अन्न जस्तो मकै, गहुँ, कोदो, फापर, उवा, जौ, चना आदि महिला, युवती, गर्भवती र सुत्केरीलाई पर्याप्त मात्रामा खुवाउन सके समुदायको नै स्वास्थ्य राम्रो हुन्छ ।
हाम्रो चाडपर्वसँग जोडिएका खानाहरू स्वस्थकर मात्रै छैनन्, ऋतु परिवर्तनसँगै कस्तो भोजन गर्ने भन्ने ज्ञान पनि दिन्छन् । यिनमा भिटामिन, कार्बोहाइड्रेड, प्रोटिन सूक्ष्म पोषण तत्व पर्याप्त रहेको हुन्छ ।
लसुन, प्याज, अदुवा, बेसार, खुर्सानी, धनियाँ, जिरा, मरिच, दालचिनी, टिम्मुर, जिम्बु, कागती आदि औषधीय गुणहरू भएका वस्तुहरूको प्रयोग गरेर पकाउनु नेपाली परम्परागत खानाका विशेषता हुन् । यी वस्तुमा रोगसँग लड्ने शक्ति छ भन्ने अध्ययनबाट पनि प्रमाणित भइसकेको छ । चामल, दाल, गहुँ, कोदो, फापर, जुनेलो, उवा, तरुल, चुकन्दर, सखरखण्डका साथै चेपाङहरूले खाने गिठा, भ्याकुर आदि पनि ऊर्जाका स्रोत हुन्, यिनमा रेसादार पदार्थका साथै सूक्ष्म पोषक तत्वहरू पनि हुन्छन् ।
हाम्रा वर्षभरिका परम्परागत चाडपर्वहरू पनि प्रायशः पौष्टिक भोजनसँग जोडिएका छन् । भदौ महिनामा हामीले जनैपूर्णिमा मनायौँ, क्वाँटी खायौँ । वैशाखको अक्षय तृतीयामा जौको सातु र सर्बत खाने चलन छ । यसले शीतलता दिन्छ । असार पन्ध्रमा हामी दही–चिउरा खान्छौँ । त्यसैगरी साउने सङ्क्रान्ति, साउन १५, ठूली एकादशी, दसैँ, तिहार, छठ, ल्होसार, माघे सङ्क्रान्ति आदि पर्वमा खाइने भोजनमा समयानुसार आवश्यक पर्ने पौष्टिक तत्व सहजै पाइन्छ ।
यस्तै विभिन्न जातजाति तथा समुदायले चाडपर्वमा खाने खाना पनि समयानुसारका पौष्टिक छन् । हामीले हाम्रा पुर्खाहरूले यस्तो चलन किन चलाएका होलान् भनेर विचार ग¥यौँ भन्ने अनुभव हुन्छ कि उनीहरूलाई परम्परागतरूपमा कुन बेलामा के फल्छ, त्यहीअनुसार खानुपर्छ भन्ने ज्ञान थियो । हामीले त्यो ज्ञानलाई आत्मसात् गरेर, आफ्नो सहजताअनुसार विभिन्न स्वस्थ परिकारहरू बनाउन सक्छौँ । यसले गर्दा हामीले थोरै स्वस्थकर खाना प्रयोग गर्न सक्छौँ । उदाहरणका लागि जाडोको बेलामा कोदोका विभिन्न परिकार जस्तो पकौडा, सुप आदि अन्य परिकारसँग खाँदा शरीरमा पौष्टिक तत्व पर्याप्त पुग्छ ।
पोषण भनेको मनलाई आनन्द दिने हुनुपर्छ, संस्कृतिसँग मिल्ने खालको हुनुपर्छ । मन नपरी नपरी खाएको खानाले फाइदा गर्दैन । मानसिक तनाव भएका बेला खाना खाएमा खान स्वस्थकर नै भए पनि पाचन राम्रो हुँदैन, पेट गडबडी हुन्छ । स्वस्थ वातावरणमा खुसी भएर खाएको खानाले सकारात्मक ऊर्जा दिन्छ भने रिसाएर पकाएको र खाएको खानाले नकारात्मक ऊर्जा दिन्छ । त्यसैले स्वस्थ वातावरणमा खुसी मनले घरमै पकाएको ताजा र सन्तुलित खाना खाई नियमित व्यायाम गरेर जीवनलाई स्वस्थ र आनन्दमय बनाउन सकिन्छ ।
बेवास्ता वनस्पति, बियाँ र बोक्रालाई ?
चरी अमिलो
जताततै पाइने चरी अमिलाको महत्वका बारेमा प्रायशः वास्ता गरिन्न । वास्तवमा भिटामिन ‘सी’ युक्त चरी अमिलो औषधियुक्त छ ।
महिला स्वास्थ्यका लागि भिटामिन ‘सी’ को ठूलो महत्व छ । यसको प्रयोगले शरीरमा रहेको भोजनबाट लौहतत्वलाई शोषण गर्न सहयोग गर्छ । शरीरमा रगतको मात्रा पर्याप्त भए रोगसँग लड्ने शक्ति हुन्छ ।
विशेषगरी कोरोनाको समयमा भिटामिन ‘सी’ को महत्व अझ बढ्न गएको छ । विभिन्न बिरुवाका बारेमा जानकारी राख्नेहरूले चरी अमिलोलाई पानीमा उमालेर कुल्ला गर्दा मुखको घाउ निको हुने बताउँछन् । युरोपतिर चरी अमिलोलाई सलादमा हालेर पनि खान्छन् । भिटामिन ‘सी’ शरीरले आफैँ उत्पादन गर्न सक्दैन हरेक दिन रोगसँग लड्न नयाँ कोषहरू बनाउन यसको आवश्यक पर्छ । त्यसैले आफ्नै घर–अँगनमा रहेको चरी अमिलोलाई प्रयोग गर्न सकिन्छ ।
सिस्नो
हामी प्रायः ‘सिस्नो’ खाने भन्दा सजाय दिने भन्ने ठान्छौँ । तर, सिस्नोको पात खान हुन्छ, सिस्नोमा औषधीय गुण हुन्छ । भिटामिन ‘ए’ र ‘सी’ का साथै यसमा क्याल्सियम, आइरन, जिङ्क, पोटासियम, म्याग्नेसियम, फस्फोरस पनि पाइन्छन् ।
उत्तरी तथा पूर्वी युरोपमा यसको झोल खान्छन् । यो शाकाहारीहरूका लागि उत्तम हुन्छ ।
पहिले ‘सिस्नो खाने मान्छेलाई’ हेयको दृष्टिकोणले हेर्ने चलन थियो । पछिल्लो समय तारे होटलमा खाँदा सिस्नोको सुप बनाएर वा दाल तरकारीमा हालेर दिने चलन छ ।
सिस्नोको पात उमालेर चिया जसरी पनि प्रयोग गर्न सकिन्छ । सिस्नो प्रायः नेपालको पहाडी र हिमाली भेगको जङ्गलमा पाइन्छ ।
गाउँघरमा सिस्नोलाई कनिकामा मिसाएर बाक्लो हुने गरी पकाइन्छ । यसले गर्दा ऊर्जा पनि दिने भएकाले सिस्नोको खोले राम्रो मानिन्छ । सिस्नोको सुप बनाउँदा फापरको आटा, कोदाको पिठो पनि राख्न सकिन्छ । स्वादअनुसार मसला राखी झानेर खाँदा स्वाद र स्वास्थ्य दुवै पाइन्छ ।
लट्टे
१०० ग्राम लट्टेको दानामा २८.८ प्रतिशत प्रोटिन पाइन्छ पातमा पर्याप्त लौह तत्व हुन्छ ÷कुपोषणबाट बच्न ठूलो मद्दत गर्छ ।
हामी प्रायः बाहिरका औषधि किनेर खान्छौँ, लट्टेलाई हेला गर्छौँ । लट्टेका दाना ‘ग्लुटिनरहित’ भएकाले गहुँ पचाउन नसक्नेहरूका लागि पनि यसको प्रयोग गर्न सकिन्छ ।
यसलाई उत्तम तरकारी र अन्न मानिन्छ । यो सजिलै फल्छ । । लट्टेका दानाको विभिन्न खाद्यपदार्थ बनाउन सकिन्छ । तराईतिर यसलाई राम दाना भनिन्छ । पहाडी क्षेत्रमा ‘लट्टे’, वा ‘लुँडे’ भनिन्छ । कर्णालीमा ‘मार्से’ भनिन्छ ।
यो प्रायः व्रतको दिनमा खाने चलन छ । यसले ऊर्जा दिने भएकाले पुर्खाहरूले व्रतको दिनमा खाने चलन चलाएका हुनसक्छन् ।
लट्टेको दानालाई विदेशतिर ‘सुपर फुड वा उत्तम भोजन’ भनिन्छ र सलाद, सुप बनाएर खाइन्छ । ‘नजिकको तीर्थ हेला’ भनेझैँ यो सजिलै पाइने हुनाले वास्ता नगरेजस्तो लाग्छ ।
धेरै स्याहार नचाहिने, मल पनि नचाहिने लट्टेलाई भान्सामा प्रयोग गरेर रोगसँग लड्ने शक्ति बढ्छ भन्ने स्पष्ट छ ।
हरियो र रातो लट्टे दुवैको स्वाद मीठो हुन्छ । यसको पातमा कोदो र फापरको पिठो हालेर पकाउँदा स्वाद तथा पौष्टिकता दुवै पाइन्छ ।
लट्टेको दानालाई भुटेर दूधसँगै पकाउँदा स्वादिष्ट खाजा हुन्छ÷दाना पिसी आटामा मिसाएर स्वस्थकर रोटी बन्छ । यसको पिठोको सुप पनि बनाएर खान सकिन्छ र तरकारीसँग पकाएपछि त सुपको स्वाद र पौष्टिकता झनै बढ्छ ।
लट्टेको दानामा गहुँभन्दा बढी रेसादार र लौहतत्वका साथै भिटामिन इ, भिटामिन सी, फोलिक एसिड क्याल्सियम पनि भएकाले महिला, गर्भवती सुत्केरी सबैका लागि अति नै उपयोगी छ ।
(लेखकको फेसबुक पृष्ठबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *