युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
- बैशाख ८, २०८३
अन्य युरोपेली शक्तिसँगै बेलायत विश्व कब्जा गर्न लम्कियो
१६ औँ शताब्दीमा युरोपबाहिर बेलायतको मुख्य काम समुद्री डकैती र साम्राज्य बनाउने सम्भावना खोज्दै रेकीमा जानु थियो । यस्तैमा उसले ठूलो दुस्साहस ग¥यो । राजदरबारले ड्रेकको यात्रामा खर्च दियो । यो यात्रा १५७७ देखि ८० सम्म चल्यो । पाँचवटा जहाजमा ११६ जना यात्री थिए । त्यो टोलीले म्यागेलान जलडमरुको फेरो मा¥यो । चिली र पेरुका समुद्री किनारमा राखेका खजाना भरिएका स्पेनी जहाजहरू कब्जा ग¥यो र लुट्यो । घर फर्किँदै गर्दा त्यो टोलीले मोलुक्का सँगर, जाभा, केप अफ गुड होप र गिनीजस्ता मसला पाइने टापुहरूसँग सम्पर्क बनायो ।
१६ औँ शताब्दीको अन्त्यतिर बेलायतले निर्णायक विजय पायो । आफ्नो समुद्री किनारमा स्पेनको अरमाडा जहाजलाई हराएर बेलायत समुद्री शक्ति बन्यो । त्यसपछि बेलायत ‘नयाँ विश्व’ (अमेरिका) र एसिया कब्जा गर्नतिर लाग्यो । ‘नयाँ विश्व’ को क्यारियाली क्षेत्रमा उसले उखु उत्पादन गर्ने उपनिवेश बनायो । सन् १६२० को दशकपछि बेलायत अफ्रिकी दासहरूको व्यापारमा सक्रिय बन्यो । सँगसँगै सन् १६०७ देखि १७१३ सम्म उसले उत्तर अमेरिकामा १५ वटा उपनिवेशहरू बनायो । त्यसमध्ये १३ वटा उपनिवेशले सन् १७७६ मा आफूलाई मुक्त घोषणा गरे । आफ्नो भूभाग जोडेर तिनले संरा अमेरिका बनाए । बाँकी दुइटा उपनिवेश बेलायतसँगै बसे र पछि गएर क्यानाडाको भाग बने ।

एसियामा बेलायती राजदरबारले अर्कै नीति लियो । आफै गएर उपनिवेश बनाउनुभन्दा उसले उपनिवेशलाई शोषण गर्ने बन्दोबस्त मिलायो । यो काम उसले भारतबाट सुरु ग¥यो । यसको लागि उसले सन् १६०० मा इस्ट इन्डिया कम्पनीलाई संरक्षण दियो । इस्ट इन्डिया कम्पनी व्यापारीहरूको समूह थियो । यी व्यापारीहरू बेलायतका आफूजस्तै अन्य समूहसँग प्रतिस्पर्धा गर्थे । सन् १७०२ मा राज्यले इन्ट इन्डिया कम्पनीलाई व्यापारको एकाधिकार दियो र उसलाई उपमहाद्वीप हात पार्न लडाइँमा पठायो । सन् १७५७ मा भएको प्लासीको लडाइँमा बेलायत विजयी भयो । बङ्गाल अङ्ग्रेजहरूको हातमा गयो । अर्को दुई शताब्दीभरि बेलायतले लगातार संरक्षणवादी अर्थ नीति लागू ग¥यो । १९ औँ शताब्दीमा बेलायत सबैभन्दा ठूलो आर्थिक शक्ति बन्यो । त्यसपछि उसले साम्राज्यवादी खुला व्यापार नीति थोप¥यो । उदाहरणको लागि हतियारबन्द जहाजको मद्दतले उसले चीनमाथि ‘खुला व्यापार नीति’ थोप¥यो । चीनलाई भारतीय अफिम किन्न बाध्य पा¥यो । सट्टामा चीनले आफूलाई चियापत्ती बेच्नुपर्ने बनायो । यो चियापत्ती प्रशोधन गरेर बेलायतले युरोपेली बजारमा बेच्यो ।
अन्य स्थानमा बेलायतले एसिया (बर्मा, मलेसिया), अष्ट्रेलिया (अष्ट्रेलिया, न्यूजील्यान्ड), उत्तर अफ्रिका (इजिप्ट) र निकट एसियासम्म आफ्नो साम्राज्य फैलायो ।
उप–सहारा क्षेत्रको अफ्रिकामा १९ औँ शताब्दीसम्म बेलायतको मुख्य स्वार्थ दास व्यापार मात्र थियो । त्यसपछि उसले अफ्रिका कब्जा गर्ने लक्ष्य लियो । एसियाका अन्य भागमा जस्तै बेलायत पोर्चुगलको पाइला पछ्याउँदै भारत पुगेको थियो । पोर्चुगलीहरूले अलिकति भारतीय भूभाग कब्जा गरेका थिए । तिनीहरूले व्यापार कोठीहरू बनाए र धार्मिक आतङ्कवाद थोपरे । सन् १५६० मा गोवामा इनक्विजिसन वा धार्मिक अदालत स्थापना गरे । त्यसले सन् १८१२ सम्म आफ्नो क्रुरता लाद्यो । सन् १५६७ मा सबै हिन्दु पर्व र कर्ममाथि प्रतिबन्ध लगाइयो । अर्को दुई शताब्दीमा गोआको धार्मिक अदालतले १६ हजार व्यक्तिलाई मृत्युदण्ड दियो । हजारौँ भारतीयहरूलाई क्रुसमा राखेर जलायो ।
इन्डिजहरूमाथि बेलायती कब्जा
भारत कब्जाको क्रममा बेलायतले आफ्ना युरोपेली प्रतिस्पर्धीहरू डच र फ्रान्सेलीहरूलाई खेद्यो । फ्रान्सले आफ्नो आधार जोगाउन मरिहत्ते गरेको थियो, तर सकेन । राज्यले फ्रान्सेली व्यापारीहरूलाई पुग्दो मद्दत नदिनाले बेलायतसँगको सात वर्षे लडाइँमा उनीहरू हार्नु प¥यो । भारतमाथि नियन्त्रण जमाउन बेलायतले व्यवस्थित रूपमा स्थानीय शासक र शासक वर्गबीच मित्रहरू खोज्यो । अङ्ग्रेजहरूले खाँचो पर्दा बल प्रयोग गर्न हिच्किचाएनन् । १७५७ को प्लासीको लडाइँमा र सन् १८५७ को सिपाही विद्रोहको दमनमा अङ्ग्रेजहरूले हिंसाको प्रयोग गरे ।
अङ्ग्रेजहरूले स्थानीय सत्ता संरचनालाई आफ्नो सेवामा ढाले । स्थानीय शोषकहरूलाई चलाएनन् । जमिनदारहरूले आफ्ना शासकको आदेश मान्थे र सम्पन्न जीवन बाँच्थे । यसमा अङ्ग्रेजहरूले हेरफेर गरेनन् । उनीहरूले जमिनदारलाई आदेश दिने शासकहरूलाई समाते । ती शासकहरू अङ्ग्रेजहरूसामू लाचार थिए । समाजमा जातप्रथा कायम राखियो र एक प्रकारले जातप्रथा ब्यूँताइयो । आजको भारत यसले पनि आक्रान्त छ । खासमा जन्मका आधारमा हुने जातीय विभाजन ब्यूँताउनाले समाजमा वर्गविभाजन र लैङ्गिक विभेद कठोर बन्यो ।

भारत र बेलायतबीच हुने व्यापारमा कर र असमान सर्तहरू थिए । यिनै प्रावधानको माध्यमबाट भारतीय जनताले बेलायतलाई धनी बनाउन खुनपसिना बगाए । साथमा उनीहरूले बेलायती व्यापारी, उद्योगपति र राजनीतिक नेताहरूलाई पनि धनाढ्य बनाए । बेलायतीहरू मात्र धनी भएनन् । भारतका बैङ्कपति, व्यापारी र कारखाना मालिकहरूले पनि धेरै धन थुपारे । तिनकै भरमा इस्ट इन्डिया कम्पनी र बेलायतले भारतमा लामो समय शासन गरे । जब कि जनताले सधैँ बेलायती शासनको विरोध गरेका थिए ।
कपास उद्योगको उदाहरण
भारतमा उत्पादन हुने कपडा र कपासको गुणस्तर विश्वको अन्य भागको भन्दा कम थिएन । बेलायतले भारतको उत्पादन विधिको नक्कल गर्ने प्रयास गरे र स्वदेशमै उस्तै गुणस्तरको कपास उत्पादन गर्न खोजे । तर, लामो समयसम्म गुणस्तरीय कपास उत्पादन भएन । बेलायती कपास मिलका मालिकहरूको लगातारको दबाबपछि बेलायत सरकारले बेलायती साम्राज्यभित्र भारतीय कपास निर्यात गर्न प्रतिबन्ध लगायो । त्यसपछि उसले भारतीय कपासलाई साम्राज्यबाहिर पनि निर्यात गर्न प्रतिबन्ध लगायो । यसरी भारतीय कपडाले बाहिरी बजार पाएन । यिनै उपायबाट बेलायतले आफ्नो कपास उद्योगबाट नाफा लिन सकेको थियो ।
आज बेलायत र अन्य औद्योगिक शक्तिहरूले व्यवस्थितरूपमा विश्व व्यापार सङ्गठनभित्रका देशहरूमा बौद्धिक सम्पत्ति अधिकार सन्धि (टीआरआइपी) लगाउँछन् । भारतजस्ता देशहरूले आफ्नो नक्कल गरे पैसाको माग गर्छन् । तर, झन्डै तीन शताब्दीअघि भारतीय उत्पादनको विधि र डिजाइन (खासगरी कपडा उद्योग) को नक्कल गर्दा उनीहरूले चुँ बोलेका थिएनन् ।
नाफा बढाउन र भारतीय कपास उद्योगसँग प्रतिस्पर्धा गर्न बेलायती कपास कम्पनीका मालिकहरूले नयाँ उत्पादन विधि प्रयोग गर्ने निर्णय गरे । उनीहरूले वाफले चल्ने मेसिन, नयाँ तान र स्वचालित चर्खा प्रयोग गरे । बलपूर्वक अङ्ग्रेजहरूले भारतको विकासलाई जरैबाट फेरे । १८ औँ शताब्दीको अन्त्यसम्म भारतीय अर्थतन्त्रले उच्च गुणस्तरका तयारी सामान निर्यात गथ्र्यो । त्यसले घरेलु माग पनि पूरा गथ्र्यो । तर, १९ औँ र २० औँ शताब्दीमा त्यसमाथि युरोपेली (खासगरी बेलायती) उत्पादनहरूले आक्रमण गरे । बेलायतले भारतलाई आफ्ना तयारी मालसामान निर्यात गर्न रोक लगायो । १९ औँ शताब्दीमा भारतलाई चीनमा अफिम निर्यात गर्न बाध्य पा¥यो । यसैगरी उसले चीनलाई अफिम किन्न बाध्य पा¥यो । भारतीय बजारमा बेलायती मालसामानको छेलोखेलो भयो । सारमा, बेलायतले भारतमा अल्पविकास उत्पादन ग¥यो ।
सामूहिक सम्पत्तिको खोसखास र लुटपाट
पुँजीवादको थालनीदेखि नै सामूहिक सम्पत्तिको विचारलाई पुँजीपति वर्गले व्यवस्थितरूपमा चुनौती दिँदै आएको छ । धनलाई वस्तुकरण गरेर र निजी स्वामित्वमा राखेर उसले यस्तो गर्छ । धेरै शताब्दीअगाडि युरोपमा उद्योगहरू देखिन थाले । त्यसपछि पुँजीपतिहरूले सर्वसाधारणको जमिन खोसेर तिनलाई जीविकाको स्रोतसाधनबाट वञ्चित गर्न खोजे । गाउँले जनतालाई सहरमा बसाइसराइ गर्न बाध्य पारे । सहरको दरिद्रता र कारखानाको न्यून ज्याला स्वीकार्न बाध्य पारे । युरोपेली प्रभुत्वमा परेका टाढाका महादेशहरूले उनीहरूले स्थानीय जनताको जमिन र स्रोतसाधन खोस्ने मनसाय बनाए । उनीहरूले स्थानीय जनतालाई साम्राज्यवादी कोर्रा हाने र कडा श्रम गर्न बाध्य पारे ।

१६ औँ देखि १९ औँ शताब्दीसम्म पालैपालो पुँजीवादको चङ्गुलमा परेका अनेक देशहरूमा सामूहिक सम्पत्ति नष्ट हुँदै गयो । ती सबै देश विनाशको यो अवधिबाट गज्रे । यसको दस्तावेज धेरै लेखकहरूले दिएका छन् । कार्ल माक्र्सले ‘पुँजी भाग १’ मा, रोजा लक्जेम्बर्गले ‘पुँजीको सञ्चय’ मा, कार्ल पोलानीले ‘विराट रूपान्तरण’ मा, सिल्भिया फेडेरिकीले ‘क्यालिबन र बोक्सी’ मा यसको विवरण दिएका छन् । राउल पेकको फिल्म ‘युवा कार्ल माक्र्स’ मा सामूहिक सम्पत्तिको विनाशसँग सम्बन्धित रोचक दृश्य देखाइएको छ । जर्मनीको राइनल्यान्ड क्षेत्रको जङ्गलमा घरमा बाल्ने दाउरा बटुल्न गएका गरिब जनतामाथि क्रुरतापूर्वक दमन गरिएको फिल्मले देखाएको छ । दाउरा बटुल्ने उनीहरूको युगौँ पुरानो कानुनी र परम्परागत हकको पक्षमा कार्ल माक्र्स उभिनुहुन्छ । यसरी उहाँ पुँजीवादी विचारको विपक्षमा उभिनुहुन्छ । यो विषयबारे डानियल बेनसइदले ‘खोसिएकाहरूः दाउरा चोरीमा कार्ल माक्र्सको बहस’ नामक सानो पुस्तक लेखेका छन् । अर्को पुस्तक ‘गरिबको अधिकार’ मा उनले साझा सम्पत्तिको चालू विनाश प्रक्रियाबारे चर्चा गरेका छन् ।
‘पुँजी’ मा कार्ल माक्र्सले पुँजीवादी व्यवस्थाले युरोपमा गरेको लुटपाटको शैलीबारे यसरी व्याख्या गर्नुभएको छ ः
आदिम सञ्चयका सुखद तरिकाहरू यस्ता थिए– गिर्जाघरको धनसम्पत्ति लुट्नु र राजकीय सम्पत्ति षड्यन्त्रपूर्ण कब्जा गर्नु, सामूहिक भूमि लुट्नु, सामन्ती र कुलको सम्पत्ति हसुर्नु तथा जथाभावी आतङ्क फैलाएर यी सबै सम्पत्तिलाई आधुनिक निजी सम्पत्तिमा फेर्नु । पुँजीवादी खेतीपातीका लागि तिनीहरूले खुला मैदान कब्जा गरे । भूमिलाई पुँजीको अभिन्न अङ्ग बनाए । तर, सहरिया उद्योगहरूलाई चाहिने ‘मुक्त’ र आश्रयहीन सर्वहारा वर्गको आपूर्ति गरे । (पुँजी, भाग १, आठौँ खण्ड, पाठ २७)
युरोपमा पुँजीवादी उत्पादन प्रणाली थोपरियो । तिनताका यो प्रणाली विश्वभरि पनि फैलिँदै थियो ः
अमेरिकामा सुन र चाँदी फेला पर्नु, आदिवासीहरूलाई मार्नु, दास बनाउनु र खानीमा जिउँदै गाड्नु, इस्ट इन्डिजमा लडाइँ जितेर लुटपाट मच्चाउनु, अफ्रिकालाई काला जातिको शिकार खेल्ने मैदान बनाउनु– यी सबै घटना पुँजीवादी उत्पादनको झिसमिसे थिए । ती सुखद पाइलाहरू आदिम सञ्चयका मुख्य चालक हुन् । (पुँजी, भाग १, आठौँ खण्ड, पाठ ३१)
प्रभुत्व र हैकमको साधनको रूपमा विदेशी ऋण
ऋण दिएर प्रभुत्व लाद्नु प्रमुख पुँजीवादी शक्तिहरूले १९ औँ शताब्दीभरि लिएको साम्राज्यवादी नीति थियो । २१ औँ शताब्दीसम्म आइपुग्दा पनि यो रोग हटेको छैन । खालि शैली फेरिएको छ । (नेपालमा एमसीसीको सहयोग यही साम्राज्यवादी नीतिकै निरन्तरता हो । अनु.) कच्चा देशको रूपमा सन् १८२० देखि १८३० सम्म ग्रीस दाता शक्तिहरूको भनेबमोजिम चल्यो । उसलाई ऋण दिने देश बेलायत र फ्रान्स थिए । हाइटी फ्रान्सबाट फ्रान्सेली क्रान्तिताका मुक्त भएको थियो । सन् १८०४ मा हाइटीले स्वतन्त्रता घोषणा गरेको थियो । तैपनि सन् १८२५ मा ऋण दिएर फ्रान्सले उसलाई अधिनस्थ बनायो । सन् १८८१ मा ऋण दिएर फ्रान्सले ट्युनिसियालाई संरक्षित राज्यमा फे¥यो । सन् १८८२ मा बेलायतले इजिप्टमा त्यसै ग¥यो । सन् १८८१ पछि अटोमन साम्राज्यले बेलायत, फ्रान्स, जर्मनी, इटली र अन्य दाताहरूसामु आत्मसमर्पण ग¥यो । उसको पतनको दिन सुरु भयो । १९ औँ शताब्दीमा दाताहरूले जबरजस्ती चीनलाई आफ्नो भूभाग दिन र बजार खुला राख्न भने । बोल्शेभिक क्रान्ति नभएको भए दाता शक्तिहरूले जारशाही रुसको पनि शिकार गरेका थिए । बोल्शेभिक पार्टीले एकतर्फीरूपमा विदेशी ऋण नतिर्ने घोषणा गरेका थिए ।
१९ औँ शताब्दीको पछिल्लो ५० वर्षमा सीमान्त शक्तिहरूसँग साम्राज्यवादी पुँजीवादी शक्ति बन्न सक्ने क्षमता थियो । जस्तोः अटोमन साम्राज्य, इजिप्ट, रुसी साम्राज्य, चीन र जापान । तर, यसमा जापानमात्र सफल भयो । जापानले आफ्नो आर्थिक प्रगतिको लागि विदेशी ऋण लिएन भन्दा हुन्छ । यही प्रगतिले ऊ १९ औँ शताब्दीको पछिल्लो ५० वर्षमा अन्तर्राष्ट्रिय शक्ति बन्यो । मेइजी अवधिमा सन् १८६८ मा जापानले आधुनिक सुधार गर्न थाल्यो । यिनै सुधारबाट जापानले तुलनात्मकरूपमा उल्लेख्य र स्वायत्त पुँजीवादी बाटो लियो । जापानले त्यो बेलाको सबैभन्दा उन्नत पश्चिमा उत्पादन प्रविधिहरू आयात ग¥यो । आफ्नो भूभागमा पैसामार्फत विदेशी स्वार्थहरू घुस्न दिएन । विदेशी ऋण अस्वीकार ग¥यो र रैथाने पुँजीको बाटोमा तेर्सिने घरेलु बाधाहरूलाई हटायो । १९ औँ शताब्दीको अन्त्यमा जापान धर्मनिरपेक्ष निरङ्कुशतन्त्रबाट जल्दोबल्दो पुँजीवादी शक्तिमा फेरियो । जापान प्रमुख साम्राज्यवादी शक्ति हुनुको पछाडि विदेशी ऋण नलिनुमात्र थिएन । बरु, तीव्रगतिको पुँजीवादको विकास र आक्रामक विदेश नीतिले उसलाई त्यहाँ पु¥याएको थियो । अरू पनि थुप्रै कारणहरू छन्, तर यहाँ ती सबैको चर्चा गरिन्न । जे होस्, विदेशी ऋण नहुनुले यसमा मुख्य भूमिका खेलेको थियो ।
अनुवाद ः संयम
Leave a Reply