शैक्षिक डामाडोलले देश ध्वस्त हुने !
- बैशाख ८, २०८३
एकदिन वडा कार्यालयमा एक स्थानीय शिक्षकसँग वडाकै विकास निर्माण सम्बन्धमा छलफल गर्दै थियौँ । उहाँ मलाई विभिन्न सल्लाहहरू दिँदै हुनुहुन्थ्यो । कुरा गर्दैगर्दा कार्यालय सहायक ५ बजेको जनाउ दिन आउनुभयो । मैले अफिस बन्द गर्नुहोस् हामी पनि निस्कन लागेको भन्दै कुर्सीबाट उठेँ । शिक्षक साथी पनि पछि भेटौँला भन्दै उठ्नुभयो । बाहिर निस्किने बित्तिकै शिक्षक साथीको मोबाइलमा कल आयो । कल गर्ने व्यक्तिले मेरो मोबाइल स्वीचअफ भएकोले उहाँलाई गरेका रहेछन् । हुन पनि त्यस दिन मेरो मोबाइल चार्ज गर्न नपाएर अफ थियो । शिक्षक साथीले मोबाइलमा कुरा गरेपछि मलाई भन्नुभयो, “वडाको माइला काकाले फोन गरेका छन् । तपाईँको फोन नलागेर मलाई गरेका रहेछन् । वडामा हिजो दुर्घटना भएको रहेछ । त्यस व्यक्तिको अहिले न्युरो अस्पतालमा मृत्यु भयो । बाइकले हान्ने व्यक्तिसँग कुराकानी गर्नुप¥यो । वडाध्यक्षज्यू आउनु प¥यो भनेको छ । म पनि सँगै आउँछु ।”
शिक्षक साथीसँग कुरा टुङ्ग्याएर घर जाने योजना थियो । दिनभरिको व्यस्तताले म थाकिसकेको थिएँ । घर गएर एक छिन आराम गर्ने अनि अध्ययन गर्ने मनमनै योजना गरेको थिएँ । तर, टोलमै दुर्घटना भई मानवीय क्षति भएको जानकारी पाएपछि हामी दुवैजना मृतकको घरमा पुग्यौँ । घरमा कोही रोइरहेका थिए कोही घर बाहिर लाभा बनाउँदै थिए । कोही मलामी लान पराल र छ्वालीबाहिर निकाल्दै थिए । हामी पुगेपछि मृतकका परिवारलाई घटना विवरण सुनाउन अनुरोध गरँे । परिवारले बताएअनुसार दुर्घटना लाइसेन्स नभएको भर्खरको एउटा केटाले बाइक स्पिडमा थियो र बाइक नियन्त्रण बाहिर गई बाटो छेउमा हिँडिरहेकी महिलालाई ठक्कर दिएको रहेछ । तिनी महिलाको टाउकोमा चोट लागेका कारण मृत्यु भएको रहेछ । साथै, बाइकवाला पक्षले मृतक पक्षलाई १५ लाख रुपियाँ दिने गरी सहमति भइसकेको रहेछ । साढे सात लाख रुपियाँ भक्तपुर पुगेपछि दिने मौखिक सहमति भएको रहेछ ।
दुवै पक्षबीच छलफल भई लेनदेन गरी केस मिलाउने सहमति भएको जानकारी पाएपछि धैर्यधारण गर्नुस् भन्दै हामी निस्कियाँै । शिक्षक साथी बैठक छ भनी कार्यालयमा जानुभयो । म नगरपालिकाको बैठक छ भनी नगरपालिकामा गएँ ।
नगरपालिकाको बैठक सकाएर भ¥याङ्गमा ओर्लिदै गर्दा शिक्षक साथीले आत्तिएर कल गर्दै भन्नुभयो, “बाइक चलाउने पक्षले अहिले पचास हजारमात्र दिन सकिने र बाँकी भोलिमात्र दिन्छु भन्यो रे । वडाध्यक्षज्यू कुराकानी गर्न आउनुप¥यो भन्छ । मोबाइल किन स्वीचअफ गरेको हो ? जिल्ला प्रशासन कार्यालयमा जानुप¥यो ।” मैले “हुन्छ, सहमतिअनुसार साढे सात लाख नदिइकन कहाँ हुन्छ र ?” भन्दै फोन राखिदिएँ ।
एकैछिनमा म जिल्ला प्रशासन कार्यालय पुगेँ । त्यहाँ अर्को एक जना वडाध्यक्ष र शिक्षक साथी पुगिसक्नुभएको थियो ।
मैले मृतकको पतिसँग सोधँे, “कति पैसा पाउनुभयो ? सहमति के थियो ? अब के गर्ने योजना छ ? लास कहाँ छ ?” उहाँले भन्नुभयो, “लास घाटमा छ । मलाई पचास हजारमात्र दिन्छु भन्यो । जब कि साढे सात लाख दिने मौखिक सहमति थियो । अनि भोलि साढे सात लाख दिने भनेको छ । लास घाटमा पुगेपछि पचास हजारमात्र दिन खोजेको र बाँकी भोलिमात्र दिन्छु भनेकोले जिल्ला प्रशासन कार्यालयमा आएका हौँ र वडाध्यक्ष दुवै जनालाई कल गर्न लगाएका हौँ । सरहरू, दुवै बसेर सहमतिअनुसार पैसा लिई दिनुप¥यो ।”
घटना विवरण सुनेपछि हामीले प्रहरीसमक्ष बाइक चलाउने परिवारलाई सहमतिअनुसार पैसा दिन अनुरोध गर्यौँ । त्यसपछि मात्र लास सदगत गर्ने बताएँ । त्यसपछि उहाँहरूले भन्नुभयो, “सहमतिअनुसार पन्ध्र लाखमा साढे सात लाख आजै दिनुपर्ने हो । तर, पैसा भन्ने बित्तिकै कहाँ हुन्छ र ? त्यसैले अहिलेलाई पचास हजार जुटाएँ । यो लिनुस्, बाँकी भोलि दिउँला । हाम्रो भान्जा जेलमा छ । हामीलाई विश्वास गर्नुस् ।” मैले भनेँ, “कसरी विश्वास गर्ने ? भोलि पनि पैसा जुटाउन सकिएन भनेमा कसले जिम्मा लिन्छ ? लाइसेन्सविना बाइक चलाउने तपाईँको मान्छे ? आजै पैसा दिन्छु भनी सहमति गर्ने तपाईँहरू नै । हाम्रो मानवीय क्षति पनि भयो । तीन जना बच्चाहरू छन् । अनि हामीले सहनुपर्ने कुरा न्यायोचित भएन नि ।”
मेरो कुरा सुनेपछि त्यहाँ अलि हो हल्ला भयो । कोही पैसा नदिने, जे गर्न सक्छ गर भन्ने आवाज पनि सुनियो, मान्छे मरिसक्यो सकेको गर्नु भन्ने आवाज पनि सुनियो । बैठकमा उनीहरूको सङ्ख्या बढी थियो । शिक्षक साथी र अर्को वडाध्यक्ष साथीले पनि मेरैजस्तै धारणा राख्नुभयो । तर, उनीहरू कुनै पनि हालतमा पैसा ल्याउने पक्षमा देखिएन । प्रहरीहरू पनि आपसमा कुरा मिलाउनुस् भन्दै पन्छिए ।
प्रहरी कार्यालयबाट हामी बाहिर निस्कियौँ । उक्त कुरा एक कान दुई कान हुँदै मैदान भयो । एकैछिनमा प्रहरी कार्यालयमा धेरै मान्छे जम्मा भए । घाटमा पनि परिवारका मानिस र गुठीयारहरूबीच हल्लाखल्ला भयो । लास सदगत नगर्ने कुरो उठ्यो । सहमतिअनुसार पैसा नपाएसम्म लास सदगत नगर्ने मौखिक सहमति भयो । साथै घाटबाट जिल्ला प्रहरी कार्यालयमा लास ल्याउने सल्लाह भयो । मैले पुनः परिवार, गुठीयार र लास बोक्ने गाडी ड्राइभरलाई लास जिल्ला प्रशासन कार्यालयमा ल्याउन अनुरोध गरेँ । नभन्दै लास र लाससँगै सयौँ मानिस प्रहरी कार्यालयमा जम्मा भए ।
लास प्रहरी कार्यालयमा ल्याइएपछि साथीहरू उत्तेजनामा देखिए । त्यसपछि म अलि अग्लो ठाउँमा गई केही भनाइ राखेँ । सम्बन्धित पक्षसँग वार्तामा सकारात्मक कुरा भइरहेकोले कुनै अप्रिय घटना हुन नदिन अनुरोध गरेँ । तर, भिडबाट आवाज सुनियो, “बाइक चलाउने परिवारलाई बाँकी नराख्ने कुरो उठ्यो । वडाध्यक्षले राम्ररी वार्ता गर्नुस् । नभए हामी ठीक गछौँ ।” मैले “हुन्छ, शान्तसँग बस्नुस् र घर नजानुस् । वार्ता सफल नभएसम्म प्रहरी कार्यालय घेराउ गरिरहनुस्” भनी अपिल गरेँ । प्रहरीले भिड बढेकोले लाठीचार्ज गर्न खोजियो । तर, मैले प्रहरीलाई पनि संयमित हुन अनुरोध गरँे । साथै भिडलाई अलि पछि हट्न अनुरोध गरेँ ।
त्यसपछि प्रहरीको अगुवाइमा छलफल सुरु भयो । सबभन्दा पहिले मैले आफ्नो धारणा राखेँ, “बाहिर सयौँ मानिस जम्मा भइसकेका छन् । भोलि पैसा दिने भए लास प्रहरी कार्यालयमा राख्नुस् । भोलि सबै पैसा पाएपछि लास लग्छौँ । सहमति तोडेपछि मानिस आक्रोसमा आउनु स्वाभाविक हो । बाँकी तपाईँहरू हेर्नुस् ¤”
मेरो भनाइ सकेपछि प्रतिउत्तरमा एक जनाले जवाफ फर्काउनु भयो, “म बाइक चलाउने बाबुको मामा हुँ । मैले नै बाबुलाई पालिराखेको हुँ । यसको आमा र बुबा अलगअलग बस्छन् । उनीहरू पनि आउँदै छन् । उनीहरूले पैसा ल्याउँछु भनेका छन् । केही बेर कुर्नुस् । आजै सहमतिअनुसार पैसा दिन्छु । अनिमात्र लास पनि लानुहोला ।”
त्यसपछि, हामी पैसाको प्रतिक्षामा बस्न थाल्यौँ । यसबीच धेरै होहल्ला चलिरहयो । गुठीयारहरू लास लान पाए हुने भनी कराउन थाले । कोही यिनीहरूले पैसा ल्याउँदैनन्, झुक्याएका मात्र हुन् भन्न थाले । कोही भोलिमात्र पैसा लिए भइहाल्यो नि भन्दै थिए । कोही पैसा लिएपछि मात्र लास लाने भनेर कराइरहेका थिए ।
करिब रातको नौ बजेतिर आमा र बुबा दुवै आए । त्यसपछि वार्ता पुनः सुरु भयो । सुरुमै केराको आमा, बुबा र मामाले सामूहिकरूपमा माफी मागे । अनि पाँच लाखमात्र पैसा ल्याउन सकिएको र बाँकी भोलि सबै दिन्छु भनी कबुलियतनामा गर्न तयार रहेको जानकारी दिए । हामीले पनि निकै ढिला भइसकेकोले पाँच लाख लिई बाँकी भोलि सबै पैसा लिने कबुलियतनामा वकिललाई लेख्न लगायौँ । बाइक चलाउने केटाका आमा, बुबा र मामाले कबुलियतनामामा सही गरिसकेपछि सबैलाई धन्यवाद दिई लास घाटतर्फ लगियो, हामी घरतर्फ आयौँ ।
Leave a Reply