भर्खरै :

विदेशी दलाल भएरै देशमा शासन चलाइरहने ?

नेपाली काङ्ग्रेसको नेतृत्वमा बनेको सरकारले देशलाई घाटा पार्ने, अप्ठ्यारो हुने, अहित हुने, नेपाल र नेपालीलाई भन्दा विदेशीहरूको स्वार्थ पूरा गर्ने कामबाहेक देश र जनताको हितमा खासै काम गर्न सकेको छेन । नेकाको सरकारले नेका नेपालको होइन भारत र अमेरिकाको पार्टीजस्तै ठानेर काम गरिरहेको छ । विदेशी पुँजीपरस्त नेकाले नेपाल र नेपाली जनतालाई प्राथमिकता नदिई विदेशीलाई जोड दिइरह्यो । नेकाको पालामा विदेशी शक्ति राष्ट्र भारत र अमेरिकासँग भएका सन्धि र सम्झौताहरू असमान देखिएका छन् । अमेरिकाको एक कम्पनीसँग नेपाल सरकारले गरेको एमसीसी सम्झौता यसको पछिल्लो दृष्टान्त हो । यसबाट नेकाको सरकार विदेशीपरस्त भएको पुष्टि भयो ।
विदेशी योजना, विदेशी सहयोग, विदेशी ऋण, विदेशी अनुदान, विदेशी विज्ञ, विदेशी कम्पनी, विदेशी उद्योगी या व्यापारी, विदेशी ज्ञान, विदेशी एजेन्डा, विदेशी ठेकेदार, विदेशी कर्मचारी, विदेशी लेखा अधिकृत, विदेशी थिचोमिचो, विदेशी अतिक्रमण र विदेशी सरकारकै दबाब र प्रभावमा सरकार सञ्चालन भइरहेको स्थितिमा नेपाल सरकार र सत्तारुढ दलको भूमिका के ? के नेपाल सरकार आलुबारीको ख्याक हो ? के नेपाल सरकार विदेशीको कठपुतली हो ? के नेपाल र नेपालीको अस्तित्व छैन ? के नेपालमा कुनै विज्ञ र योजनाकार कोही छैन ? नेपाललाई यति वर्षभित्र यो ठाउँमा पु¥याउने भन्ने योजना सरकारले बनाउनु पर्दैन ? के सरकारको नेतृत्व गर्ने दल या सरकारमा सहभागी हुने दलका नेताहरू जहिल्यै विदेशी कृपा र विदेशीको साथमा अल्झिरहने ? जहिल्यै भागबन्डा र गठबन्धन जोडेर बहुमत प्राप्त गरी सरकारको नेतृत्व गरेर राजस्वमा रजाइँ गरेर नेता तथा कार्यकर्ता पाल्ने !
यही विदेशी सहयोग, ऋण, अनुदान र असमान सन्धि–सम्झौताले आज देश बन्धकको मुलुकजस्तै बनिरहेको छ । विदेशी शक्ति राष्ट्रले भनेपछि मान्नैपर्ने, विदेशीको दबाबमा असमान सन्धि सम्झौता गर्नैपर्ने कस्तो बाध्यता ¤ यो देशको कस्तो व्यवस्था ¤ नेपालीको गन्तव्य नेपाल सरकारले कोर्ने कि विदेशीले ¤ विदेशी सहयोग र ‘अनुदान’ पाउन पनि विदेशी सर्त ¤ मानाँै विदेशी ‘ऋण’, विदेशी ‘अनुदान’ र विदेशी ‘सहयोग’ सत्तारुढ दलका नेता, मन्त्री र सांसदहरूको नसानसामा बगिरहेको छ । नेपाललाई आत्मनिर्भर बनाउन, देशमा आधारभूत आवश्यकता परिपूर्ति गर्न कहाँ, के उद्योग, कस्तो योजना बनाउँदा ठीक हुन्छ भनेर चिन्तन मनन गर्नुपर्दैन ? अध्ययन, अनुसन्धान र खोजीनीति गर्नुपर्दैन ?
लेखक सोमत घिमिरले फागुन १० गते ‘नयाँ पत्रिका’ मा प्रकाशित ‘विदेशी सहयोग ः भ्रष्टीकरणको औजार शीर्षकमा लेखे, “विदेश ऋण र अनुदानले हामीलाई शिरदेखि पाउसम्म मुद्दामा विचलित बनाएर भ्रष्टीकरण गरेको छ ।” उनले भने, “हाम्रो राजनीतिक नेतृत्वलाई यसले भ्रष्ट बनायो । राजनीतिक तह, कर्मचारीतन्त्र विदेशी ऋण र अनुदानले उठ्नै नसक्ने गरी थिलथिलो भइसक्यो । हामीसँग विज्ञ जनशक्ति नभएर के विदेशी विज्ञ आयात ग¥र्याैँ ? विदेशी ऋण, सहयोग र अनुदानले हामीलाई सबैभन्दा ठूलो नकारात्मक प्रभाव केही पारेको छ भने हामी केही गर्न सक्दैनौँ भनेर हीनताबोध बढाएको छ । अहिले एमसीसीले पूरै राजनीतिक दल, बौद्धिक वर्ग, सञ्चारकर्मी सब विभाजित छ ।” तर, पनि सत्तासीन दलका नेता, मन्त्री, सांसद र कार्यकर्ताहरू होसमा आएका छैनन् । विदेशीकै आडभरोसामा सरकार सञ्चालन गरिरहने विचार सत्तासीन दलका नेताहरूको दिमागमा घुसिरहेको छ । यसबाट सरकार मुक्त हुने कहिले ? नेपालकै भरमा नेपालीहरूकै बुद्धि र भरोसामा उभिएर सरकार सञ्चालन गर्ने कहिले ? सञ्चालन गर्ने वातावरण तयार गर्ने कहिले ? सत्तासीन दल विदेशी दलाल भएरै देशमा शासन चलाइरहने ? के यही हो हाम्रो लक्ष्य !

Leave a Reply

Your email address will not be published. Required fields are marked *