भर्खरै :

भारतीय सामान आयातः नेपाली उद्योग बन्द हुने स्थितिमा

जुम्लाको अति दुर्गम डोंग्री र च्याम गाउँका किसान काठमाडौँ आएका रहेछन् । उनीहरूसँग वनस्पतिको तेल प्रशोधन गर्ने मेसिन रहेछ । त्यसैबाट तेल प्रशोधन गरेर बिक्री गर्ने उनीहरूको पेसा रहेछ । उक्त तेलको गुणस्तर मापनको लागि काठमाडौँ आएका रहेछन् ती किसान ।
किसानको सहयोगको निम्ति हामी केही साथीसहित केही दिन अगाडि जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड उद्योगको कार्यालयमा पुगेका थियौँ । निमित्त महाप्रबन्धक उषा रिजाल र प्रमुख प्रशासकीय रेवतीराज अधिकारी भेटिनुभयो । उहाँसँग हामीले जुम्लामा उत्पादन हुने जडिबुटी र शिलाजितबारे जिज्ञासा राख्यौँ । त्यस क्रममा देवदारको तेल, धुपीको तेल, गुइया र तितेपातीको तेल, समय सुगन्धवालको तेल, जटामसी आदिको तेलबारे कुरा ग¥यौँ । उहाँले उक्त तेलको गुणस्तर नाप्न वनस्पति विभागको ल्यावमा थापाथली काठमाडौँमा जान र जचाउन सल्लाह दिनुभयो । उहाँको भनाइ थियो – “तेल किन्नेबारे किसानहरू तेल ल्याउँछन् तर हामीबाट भन्दा अन्यत्र बढी मोल पाएमा निरन्तरता दिँदैनन् । हामीलाई त्यसको असर पर्छ ।” हामीले लिखित सम्झौता गरेर लिनुहोस् भन्यौँ । त्यसपछि हामीले उद्योगको बारेमा केही जान्ने प्रयास ग¥यौँ ।
विगतबाट स्थापित नेपालका थुप्रै उद्योगहरूलाई नेपाल सरकारले बन्द गरेको छ, निजीकरण र बिक्री गरेको छ । थोरै उद्योगहरू कछुवाको गतिमा चलेका छन् । चालु उद्योगमध्ये ‘जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड’ पनि एक हो । अधिकृत पुँजी पाँच करोडको लागतमा स्थापित जडिबुटी कम्पनीले हाल तेल कारखाना चलाएर सञ्चो, पीडा नासक तेल, बाम तेल, भिक्स, पेस्ट शिलाजित (शिलाजु र जडिबुटी मिसाएर) बनाउने गर्दाे रहेछ ।
त्यसको कच्चा पदार्थ उत्पादन आफैले गर्ने गरेको जानकारी उषा रिमाल नि. महाप्रबन्धकले दिनुभयो ।
कच्चा पदार्थ उत्पादनको लागि जडिबुटी प्रशोधन केन्द्रले देशको विभिन्न ठाउँमा ५०० बिगाहा जमिनमा खेती गर्दाेरहेछ । बाराको तामागढी, मोरङ, बेलवारी तरहरा, टीकापुर आदि स्थानहरूमा जडिबुटी उत्पादन गरिने रहेछ ।
लेमनग्रास, तामारोजा, सिट्रोनेला, शिलाजु सङ्कलन आदि जम्मा गरेर सामान बनाउने गरेको प्रमुख प्रशासकीय अधिकृत रेवतीराज अधिकारीले हामीलाई जानकारी गराउनुभयो ।
जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा पनि ‘खुला बजार’ अर्थतन्त्रको प्रभाव परेको छ । त्यसलाई पनि निजीकरण गर्न सरकार लागिपरेको देखिन्छ । आफ्ना मान्छे कर्मचारी राख्न दलहरूको होडबाजी छ । राम्रो होइन हाम्रो मान्छे राख्ने काम बढ्दो छ ।
जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीको माग के छ भने हाम्रो उद्योगमा बनेको सामान बाहिरी देशबाट ल्याउन रोक्नुपर्छ । हाम्रो सामान गुणस्तरीय र केही महँगो छ । बाहिरी देशबाट आएको त्यही वस्तु सस्तो र गुणस्तरहीन छ ।
जिल्ला–जिल्लामा कच्चा पदार्थ उत्पादन गर्ने वातावरण सरकारले व्यवस्था गर्नुपर्छ भन्ने उनीहरूको गुनासो छ ।
स्वदेशमा उत्पादन हुने वस्तुलाई विदेशबाट आउन नदिएमात्र हाम्रा उद्योग नाफामा जान्छ अनि राष्ट्रिय आय वृद्धि हुन्छ । अहिले सरकारले राष्ट्रिय आयलाई ध्यान नदिई आफ्ना मान्छे कर्मचारीमा राख्ने,, काम गर्नेहरूको मनोबल घटाउने काम गरेको देखिन्छ ।
जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीले कोभिड–१९ महामारी घटाउन स्यानीटाइजर बनाउने गरेको रहेछ । तर, बाहिरबाट स्यानीटाइजर आउँदा त्यसले बजार पाउन सकेन ।
भारतले हाम्रो ‘सञ्चो’लाई भारतमा प्रदर्शनी गर्न दिँदैन । तर, भारतको जुनसुकै सामान पनि परीक्षण नगरी नेपालमा आउने गर्छ । यसबाट नेपालको उत्पादनले बजार पाउँदैन उसले खोसेर लिन्छ ।
भारतीय उत्पादन आयातका कारण हाम्रो यो उद्योग पनि बन्द हुने देखिन्छ ।
सम्बन्धित मन्त्रालयको ध्यान जानु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *