भर्खरै :

युक्रेन युद्धले दिएको सन्देश युद्ध हामीलाई प्रिय छैन

बिहीबार बिहानीको झिसमिसेसँगै रुसले युक्रेनमा ‘विशेष सैन्य कारबाही’ थालेको घोषणा ग¥यो र यो पङ्क्ति कोर्दै गर्दासम्म अथवा शनिबार अपराह्नसम्ममा रुसी सेनाले युक्रेनको राजधानी किभ, चेर्नाेविल आणविक केन्द्रलगायत अन्य प्रमुख सहरहरू कब्जामा लियो । सो रुसी सैन्य कारबाहीको २४ घण्टा नबित्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले वार्ताको लागि रुसी राष्ट्रपति भ्यादिमिर पुटिनलाई निमन्त्रणा दिइसकेको छ र प्रतिउत्तरमा पुटिनले युक्रेनी सेनाले हतियार बिसाएमा यो सम्भव भएको जनाएको छ । रुसले यो विशेष सैन्य कारबाही युक्रेनलाई कब्जा गर्ने उद्देश्यले नभएको र विशुद्धरूपमा युक्रेनको असैन्यकीकरणको लागि भएकोले कुनै गैरसैन्य स्थानलाई निशाना नबनाएको रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले प्रस्ट पारेका छन् ।

पुटिन & जेलेन्स्की


बाहिरबाट झट्ट हेर्दा एउटा सार्वभौम देश युक्रेनमाथि एउटा शक्तिशाली देश रुसले अनाहकमा आक्रमण गरेर युद्ध थोपरेको हो कि भन्ने आशयबाट रुसलाई आक्रमक देशको रूपमा चित्रण गरेर रुसको विरोधमा प्रदर्शनहरू भइरहेका छन् । हो, हामी सर्वसाधारण जनतालाई युद्ध कहिल्यै प्रिय हुँदैन । तर, हतियारका व्यापारीहरू जहिल्यै संसारको कुनै पनि कुनामा युद्ध होस् र आफ्नो व्यापार राम्रो होस् भन्ने कामना गर्छन् र युद्धकै लागि देशहरूलाई उक्साइरहेका हुन्छन् । विश्वले झेलेको पहिलो अकल्पनीय विश्वयुद्धका कारणहरूमध्ये साम्राज्यवादी देशहरूबीचको हतियारको व्यापार एउटा प्रमुख कारण थियो । नेहरुले आफ्नो पुस्तक ‘ग्लिनप्र्सस अफ वल्र्ड हिस्ट्रमा’ हतियारको व्यापार सम्बन्धमा लेखेको पङ्क्ति सम्झँदा अहिले सान्दर्भिक हुन्छ – कस्तो व्यापार हो यो जुन अरूको रगतमा फल्छ, फुल्छ (What a business is this that thrives on others’ blood) !
युक्रेन युद्धको यो स्थिति एक्कासि आएको पक्कै होइन । पश्चिमाहरू विशेष गरेर सिङ्गो विश्वलाई आफ्नो प्रभाव क्षेत्र ठान्ने अमेरिकाको हैकमवादी नीतिको भन्छ, संसारको कुनै पनि सार्वभौम देश उसैको खटनपटनमा चल्नुपर्छ । उसको सबभन्दा ठूलो उसको अर्घेल्याइँ भनेको संसारमा समाजवादी विचार र समाजवादी राजनैतिक पद्धतिप्रतिको उसको द्वेष हो ।
युरोप र विश्वमा रुसको भूमिका
दोस्रो विश्वयुद्धको दुई वर्षको अवधिमा युरोपको चारै दिशामा जर्मन सेना हाबी हुँदै थियो । पश्चिममा फ्रान्स र उत्तरमा बाल्टिक सागरका राज्यहरू तथा नर्डिक देशहरूलाई जर्मन सेनाले कब्जा गरिसकेको थियो, बेलायतलाई कुल्चिन जर्मन सेनालाई इङ्गलिस च्यानलले रोक्यो । दक्षिण – पूर्वमा भूमध्यसागर र पूर्वमा सोभियत रुसको लेनिनग्राड, मस्को र स्तालिनग्राडसम्म जर्मन सेनाको कब्जामा गइसकेको थियो । तर, सोभियत रुसको ठूलो युद्धकौशल, रणनैतिक चाल, साहस र बलिदानको कारण आखिरमा पूर्वी मोर्चाबाट नाजी सेना पछि हट्नै प¥यो । पूर्वी मोर्चामा सोभियत रुससँग अल्झिनु नपरेको भए बेलायतलाई पनि जर्मन सेनाले कुल्ची सक्थ्यो । सोभियत रुसबाट नाजी सेना धपाइएपछि दोस्रो विश्वयुद्ध नयाँमोडमा पुगेको थियो । नाजी सेनाको पतन यहीँबाट सुरु भयो । ‘विगथ्री’ को नामबाट चिनिने तीन नेताहरू सोभियत रुसका स्तालिन, बेलायतका चर्चिल र अमेरिकाका रुजवेल्ट नाजीवादीविरुद्धको मोर्चामा थिए । स्तालिनको युद्धकौशल र साहसलाई रुजवेल्ट र चर्चिलले हरहमेसा मुक्तकण्ठले प्रशंसा गर्थे । तर, युद्धको अन्तिम चरणमा युरोप र एसियामा सोभियत रुसको वर्चस्व देखिने डरले पश्चिमा शक्तिहरूलाई औडाहा भयो । नाजी सेनालाई परास्त गर्न आवश्यक सोभियत साहस र बलिदानलाई प्रशंसा गर्दागर्दै उनीहरूले सोभियत रुसको समाजवादी विचार र राजनैतिक प्रणालीलाई दुत्कार्न थाले । पश्चिमाले वकालत गर्ने प्रजातन्त्र र यसका मूल्यमान्यताभन्दा समाजवाद कमजोर भएर होइन बरु उत्कृष्ट भएकोले उनीहरू छटपटाएका थिए । कसरी ?

पहिलो विश्वयुद्धको अन्त्यसम्ममा आधुनिकीकरण, औद्योगिकीकरण र विकासको दृष्टिले जारकालीन रुस दयनीय अवस्थामा पुगिसकेको थियो । तर, समाजवादी कार्यनीति, देशभक्तिपूर्ण सोच, उत्साह र दीर्घकालीन र योजनाबद्ध विकासको नीतिले तीन दशकको अथक प्रयासले रुसलाई एक आधुनिक र विकसित देशको दाँजोमा पु¥याउने कार्यको नेतृत्व जोसेफ स्तालिनले नै गरेका थिए । यही विकासको चरणमा पुग्न पश्चिमा देशहरूलाई करिब डेढ सय वर्ष लागेको थियो । पहिलो मानव निर्मित भूउपग्रह स्पुतनिक सन् १९५७ मा अन्तरिक्षमा पठाएर विश्वलाई अन्तरिक्ष युगमा पर्दापण गर्ने देश पनि सोभियत रुस नै थियो । संसारमा पञ्चवर्षीय योजनाको माध्यमले विकासका योजनाबद्ध कार्यहरू गर्ने तौरतरिका सिकाउने देश पनि सोभियत रुस नै थियो । बिसौँ शताब्दीमा विश्वलाई सोभियत रुसले लगाएकोे सबभन्दा ठूलो गुण भनेको पश्चिमा शक्तिहरूको उपनिवेशको पञ्जाबाट एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका गरिब र निरीह देशहरूलाई मुक्त गर्न सहयोग गर्नु हो । समाजवादी क्रान्तिको सफलता सँगसँगै उपनिवेशविरुद्धको यो अभियानलाई सँगै लैजाने सोचको जन्मदाता पनि बोल्सेविक क्रान्तिको नेतृत्व गर्ने लेनिन थिए । (The Red Flag: Communism and the Making of the Modern world- David Priestland, Penguin Books)
पश्चिमा उक्साहट र युक्रेनको मुख्र्याइँ
युरोप र विश्वलाई सोभियत रुसले लगाएका त्यो गुण अवश्य पनि मानवताको लागि थियो । त्यो विकासको लागि थियो तर पश्चिमा शक्तिहरूको हैकम र स्वार्थको भने पूरा विरुद्धमा थियो । त्यसैले एक महाशक्ति देश सोभियत रुसको अस्तित्व मेटाउन पश्चिमा शक्तिहरू हरेक क्षण लागिरहे । सन् १०९० को दशकमा सोभियत सङ्घको विघटनपछि कमजोर भइसकेको रुसलाई अझ कमजोर पार्ने र समाजवादी विचार र प्रणालीको अवशेष नै बाँकी नराख्ने नियतले अमेरिका र पश्चिमाहरूले अमेरिकाको उक्साहटमा रुसलाई घेराबन्दी गर्ने कार्य जारिराखे । ‘वार्सापाक्ट’ नै विघटन भइसकेको अवस्थामा असान्दर्भिक भइसकेको पश्चिमा सैन्य गठबन्धन नेटोलाई अमेरिकाले गरेको वाचाविरुद्ध झन्झन् पूर्वतिर फैलाउने कार्यले रुसी जनतालाई मर्माहत तुल्यायो । कुनै पनि देशभक्तलाई आफ्नो देश कमजोर भएको र विदेशीले हेपेको सह्य हुँदैन । महाशक्ति भइसकेको रुसी जनतालाई यो के पाच्य हुन्थ्यो र ? उनीहरूले पश्चिमको दलाली गर्ने नेतृत्वबाट उन्मुक्ति र एक देशभक्त, निडर र देशप्रति इमानदार नेतालाई सत्तामा पु¥याए । हो, पुटिनले आफ्नो देशको स्वार्थ र सुरक्षालाई प्राथमिकतामा राखे र पश्चिमाहरूको हेपाहा नीतिको निरन्तर विरोध गरिरहे । दुई महासागरको बीचमा सुरक्षित अमेरिका आफ्नो सुरक्षा चासो भन्दै दक्षिणी चीन सागर पुग्ने, हिन्दमहासागर पुग्ने, नेपाल पुग्ने, मध्यपूर्व पुग्ने र युरोप पुग्ने, संसारभर आफ्नो सैन्य अखडा स्थापना गर्ने, अनि रुसले आफ्नो सुरक्षा चासो भनी आफूसँग सिमाना जोडेका देशहरूलाई चासो देखाउन नपाउने ?
पश्चिमा उक्साहटलाई आफ्नो शक्ति ठान्ने, पश्चिमा देशहरूको स्वार्थलाई सर्वोपरि ठान्ने, राजनैतिक सुझबुझ नभएको र युरोपको ऐतिहासिक, भूराजनैतक संवेदनशीलता नबुझ्ने भोलोदिमीर जेलेन्सकीको केटाकेटीपन र मुख्र्याइँले आज युक्रेनले युद्ध भोग्नुप¥यो । केही दिनअगाडि उनको जिद्दीपना पराकाष्ठामा पुग्यो र उसले घोषणा ग¥यो – युक्रेनले हरहालतमा नेटोको सदस्यता लिइछाड्छ । उसले सोचेको थियो रुस अफगानिस्तानजस्तै होला, इराकजस्तै होला, लेबनान र यमनजस्तै होला । आफ्नै देशको इतिहास र देशहरूको शक्ति सन्तुलनको राजनीतिबाट अनभिज्ञ रहने कच्चा नेताको मुख्र्याइँको कारण युक्रेनमा युद्ध भएको हो भन्दा अतिशयोक्ति नहोला ।
हामीले के पाठ सिक्ने ?
भ्लादिमिर पुटिनलाई आज पश्चिमा मिडियाले तानाशाह, क्रुर नेता आदिको संज्ञा दिँदै छन् । उनी गोर्भाचोभ र यल्सीनजस्तो पश्चिमसँग बिकेका दलाल नेता होइनन् । रुसलाई अपमान गर्दै गरेका पश्चिमाको रवैयालाई सहन गर्न नसकेर रुसी जनताले सत्तामा ल्याएका र देशको लागि गर्ने ह्याउ भएका नेता ठहरिए पुटिन । उनी हाम्र्राजस्ता विदेशीको दलाली र धम्कीले डराउने नेता ठहरिएनन् । पश्चिमा शक्तिको डटेर मुकाबिला गर्ने अठोट गरे । उता युक्रेनका राष्ट्रपति राजनैतिक सुझबुझ नभएका विदेशीको दलालीमा लिप्त र देश र छिमेकको सुरक्षा संवेदनशीलता नबुझ्ने कच्चा नेता ठहरिए । युक्रेनको काँधमा बन्दुक हालेर अमेरिकाले रुसलाई हान्न लागेको उनले भेउ नै पाएनन् । यसबाट नयाँ पुस्ताले र हामी नेपाली जनताले सिक्नुपर्ने पाठ भनेको देश हाँक्ने नेतृत्व छान्न फेसबुक, ट्वीटर र टिकटकको हा…. हा…… मा गर्ने सेलिब्रिटी होइन, सच्चा देशभक्त, इमानदार र क्षमतावानलाई छान्न सक्नुपर्छ । एमसीसीको ५५ अरबको लोभ देखाएर नेपालको काँधमा अमेरिकाले बन्दुक हालेर हाम्रा छिमेकीलाई ताक्ने काममा हामी अनभिज्ञ भयौँ भने युक्रेनको नियति हामीले भोग्नुपर्ने दिन नआउला भन्न सकिँदैन ।
१४ फागुन २०७८

Leave a Reply

Your email address will not be published. Required fields are marked *