भर्खरै :

एमसीसीविरोधी आन्दोलन पनि वर्गसङ्घर्ष

एमसीसी सम्झौताबारे हाल भइरहेको सडक र सदनको सङ्घर्ष पनि वर्गीय सङ्घर्ष नै हो । भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद पक्षधर पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने दल र विस्तारवादी, साम्राज्यवादी र पुँजीवादविरोधी दलबीचको यो सङ्घर्ष सैद्धान्तिक र वैचारिक सङ्घर्ष हो । एमसीसीको विरोधमा सङ्घर्ष गर्ने या एमसीसी सम्झौता खारेजीको माग गर्दै आन्दोलनरत दलहरू देश र जनताको पक्षमा छन् । पुँजीपति वर्गको पक्ष लिने दलका नेता, मन्त्री र सांसदहरू एमसीसी सम्झौता पारित गर्न लागिरहेका छन् भने अन्य दलहरू सम्झौता खारेजीको पक्षमा छन् । देशभक्त सांसदहरूले सम्झौताको विपक्षमा मतदान गरेर असफल पार्नुपर्छ । यसैका लागि देशका सच्चा कम्युनिस्ट पार्टी, वामपन्थी पार्टी र देशभक्त जनता, नागरिक समाज र भूतपूर्व सेना आदि आन्दोलनरत छन् ।
नेकाले एमसीसी सम्झौता जसरी भए पनि पारित गर्न लागेको कारण जनालाई सचेत पार्न एमसीसीविरोधी आन्दोलन देशभर फैलिरहेको हो । सरकार र सांसदहरूलाई खबरदारी गर्न आन्दोलन राजधानीकेन्द्रित भइरहेको हो । नेमकिपाले एमसीसी खारेज नगरेसम्म आन्दोलन जारी राखेको छ, अन्य दल र एमसीसीविरोधी जनताले पनि आन्दोलनलाई निरन्तरता दिइरहेका छन् । एमसीसीविरोधी आन्दोलन र आन्दोलनको प्रचारप्रसारले जनता सुसूचित भएका छन् । एमसीसी सम्झौता देश र जनताको पक्षमा नभएको कुरा जनताले बुझ्न थालेका छन् खेतमा काम गर्ने किसान, कारखानामा काम गर्ने मजदुर, शिक्षक, युवा, विद्याथी, महिला, कर्मचारी तथा अन्य विभिन्न पेशामा आबद्ध नागरिक एमसीसीका सर्तहरू देशघाती भएको कुरा बुझ्दै छन् । एमसीसी विरोधी आन्दोलनले जनता सजग, सतर्क र सुसूचित भइरहेका छन् । यो एमसीसीविरोधी आन्दोलनको सफलता हो । यसले जनतामा ऊर्जा थपेको छ । देशभक्ति भावनाको विकास भएको छ । देश जोगाउनुपर्छ, देशलाई बन्धक राखेर देशघाती सम्झौता स्वीकार्न नहुने भावना जागेको छ । एमसीसी सम्झौता पारित गर्ने र नगर्ने आधार सत्ताको चलखेल होइन, सत्ताको अङ्कगणित होइन भन्ने कुरा बुझ्न थालेको छ । एमसीसी सम्झौतालाई समर्थन गर्ने दल र दलका नेता, मन्त्री र सांसदहरूको अर्को निर्वाचनमा हराउनुपर्छ भन्ने सन्देश गाउँ–गाउँको आँगनमा पुगेको छ । यो आन्दोलनको सकारात्मक पक्ष हो । एमसीसी सम्झौताका देशघाती सर्तहरूको कुरा जनताको घर आँगनमा पुगेको छ, गाउँ–ठाउँको बस्ती बस्तीमा पुगेको छ । विद्यालय, कलेज, कलकारखाना, सरकारी सङ्घ–संस्थामा पुगेको छ । एमसीसी सम्झौतामा सरकारले हस्ताक्षर गर्न नहुने, संसद्मा पेश गर्न नहुने र सोको पक्षमा मतदान गर्न नहुने भन्ने कुरा जनतामाझ पुगेको छ । यसरी नै कुनै पनि निर्वाचनमा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले आ–आफ्नो दलको सिद्धान्त र विचार जनताको घर–आँगन या बस्ती बस्तीमा पु¥याउनुपर्छ । यसले जनतालाई सचेत पार्छ, सुसूचित पार्छ । राजनीति देश र जनताको सेवा गर्न हो भन्ने भावना जाग्छ । भागबन्डा, पद र पैसाको निम्ति राजनीति गर्न नहुने भन्ने विचार जनतामाझ पुग्छ । यसले पद र पैसाको निम्ति राजनीति गर्ने दलका उम्मेदवारलाई निर्वाचनमा हराउनुपर्छ भन्ने सन्देश प्रवाह गरको छ । यो हरेक राजनीतिक दलले निर्वाह गर्नुुपर्ने काम हो । त्यो काम दलले पूरा गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *