भर्खरै :

जनरल चाल्र्स दे गाल : एक अध्ययन – १८

राजाको देशमा प्रजा
दे गालका साथीले ‘दे गालले पुँजीवादी व्यवस्थाअनुसार आफूलाई ढालेको र पुँजीपतिहरूलाई आफ्नो सेवक बनाएको’ लेखे । कुरा उल्टो थियो । पुँजीपतिहरूले दे गाललाई सत्तामा बसालेर आफ्नो सेवक बनाएका थिए । सन् १९६६ मा दे गालले भने, “सन् १९५९ यता फ्रान्सको आर्थिक, सामाजिक र वित्तीय नीति कहिल्यै फेरिएन ।” दे गालले विदेश मामिलामा ध्यान दिन्थे । घर सम्हाल्ने जिम्मा अन्य मन्त्रीको थियो । सन् १९५८ यता दे गालले पुँजीपतिहरूलाई नाफा कमाउने खुल्ला छुट दिए । पूरै राज्य संयन्त्र योजनाबद्धरूपमा पुँजीपति वर्गको पक्षमा गयो । पुँजीपतिहरूले योजना निर्माणमा हात हाले । पुँजीपतिहरूले धेरै सहुलियत पाए । त्यसैले सन् १९६५ सम्ममा औद्योगिक उत्पादन ४३ प्रतिशतले बढ्यो । तर, यसको मूल्य तल्लो वर्गले तिर्नु प¥यो । इन्धनको मूल्य बढ्यो । करको बोझ बढ्यो । महँगी अकासियो । पाँचौँ गणतन्त्रको १० वर्षे शासनकालमा ४० प्रतिशत महँगी बढ्यो । पुँजीपतिहरूको नाफाको लागि निम्नवर्गको ढाड सेकियो ।
आवासको समस्या चर्कियो । प्रत्येक वर्ष फ्रान्समा ३ लाख ७० हजार घर थपिन्थ्यो । तर, एक करोड ५० लाख फ्रान्सेलीहरू बेघरबार थिए । पेरिसमा बर्सेनि १० हजार घर बन्थे । तर, त्यो धनीहरूको लागि थियो । कसैले किन्न नसकेर ती घर खाली रहन्थे । नगरपालिकाले सस्तो घर बनाएको थियो । न्यून आम्दानीले गर्दा ती पनि बिक्दैनथे । फ्रान्स पश्चिम युरोपको सबैभन्दा महँगो देश बन्यो । पुँजीपतिहरू भने कालोबजारीबाट मालामाल भइरहेका थिए । उद्योगको तीव्र विकाससँगै श्रमिकहरूको शोषण पनि चर्को थियो । औद्योगिक मजदुरको ज्याला अपुग थियो । उद्योगहरूको केन्द्रीकृत उत्पादनले ८ लाख किसान मारमा परे । सरकारलाई कुनै चिन्ता थिएन ।
मजदुर र किसानहरूले विरोध प्रदर्शनहरू गर्न थाले । सन् १९५९ को भन्दा १९६१ को हडताल तीन गुणा ठूलो थियो । १९६३ मा त्यो झन् बढ्यो । किसानहरूले सडक बन्द गर्न थाले । सन् १९६३ मा दे गाल पहिलोचोटि कामदार वर्गसँग प्रत्यक्ष मुठभेडमा पुगे । वर्गसङ्घर्षले उनी बुझ्न नसकिने ठान्थे । तर, उनी सधैँ पुँजीपतिहरूको पक्षमा जान्थे । सन् १९६३ मा मुद्रास्फितिले विदेश सम्बन्धमा पनि फ्रान्सको बेइज्जत भयो । दे गालले त्यसलाई नियन्त्रण गर्न उर्दी जारी गरे । तर, मुद्राको मूल्य ‘स्थिर’ बनाउन खोज्दा श्रमजीवी वर्गको ज्याला फ्रीज भयो । यसरी फेरि पनि कामदार वर्गले नै मूल्य चुकाउनुप¥यो ।
‘सामाजिक सुधार’
सन् १९६५ को डिसेम्बरमा फ्रान्सेली पुँजीपतिहरूले ‘घोडा’ फेर्न खोजे । राष्ट्रपति निर्वाचनमा दे गालले इतिहासमा न्यून मत पाए । उनको तुलनामा वामपन्थी दलका फ्राङ्कोइ मितेराँले राम्रो मत ल्याए । उनले व्यक्तिको सत्तालाई नागरिकको सत्ताले विस्थापित गर्ने नारा दिएका थिए । जनता दे गालका आर्थिक र सामाजिक नीतिहरूबाट पीडित थिए । दे गाल गाउँ डुल्न जाँदा भित्तामा ‘दे गाललाई धपाऊ’ भन्ने नाराहरू लेखिएका हुन्थे । त्यसैले पुँजीपतिहरूले ‘घोडा’ फेर्न चाहेका थिए । चुनावपछि दे गालले सामाजिक सुधारमा ध्यान दिनुपर्ने देखे ।
विश्वयुद्धपछि फ्रान्स योजनाबद्धरूपले पुँजीवादको बाटोमा हिँडेको थियो । तर, त्यो योजनाले धरातल छोएको थिएन । दे गालले ल्याएको चौथो योजना (१९६२–१९६५) ले राज्य र एकाधिकार पुँजीको घाँटी जोड्यो । पाँचौ योजना (१९६५–१९७०) ले एकाधिकार पुँजीको दबदबा कायम ग¥यो र विदेशी पुँजीसँग होडबाजीमा जोड दियो । यी योजना ल्याउँदा दे गालले सामाजिक सुधारमा जोड दिएको बताए । तर, तिनले उपभोग घटाए, ज्याला फ्रीज गरे र बेरोजगारी बढाए । भित्री मनले दे गालले न्यायपूर्ण समाज बनाउने सोचेको हुनसक्छ । तर, उनको सरकारले आणविक हतियार र विशेष आक्रामक दल बनाएर राज्यको ढुकुटी उडायो । यसबीच उनले पुँजीपतिहरूको नाफामा कमी आउन दिएनन् ।
दे गाल भन्थे, “वर्गसङ्घर्षले मान्छेमान्छेबीचको सम्बन्धमा विष छर्छ र युद्ध ल्याउँछ ।” उनी देशलाई वर्गमा ‘बाँड्न’ रुचाउन्नथे । केही वामपन्थीहरू उनीबाट प्रभावित भए । आफ्नो असीम शक्तिको प्रयोग गरेर दे गालले क्रान्ति ल्याउन सक्छन् भनेर उनको पछि लागे । अल्जेरियाको मुक्तिबाट उनीहरू हर्षित थिए । सन् १९५९ जनवरीमा दे गालले जारी गरेको अध्यादेशमा परिवर्तनको कुरा थियो । संरा अमेरिकामा जनतालाई शेयर किन्ने व्यवस्था मिलाएर ‘जनताको पुँजीवाद’ न्वारन गरिएको थियो । फ्रान्समा पनि सन् १९६५ मार्चमा यही नीति लागु गरियो । तर, एक प्रतिशतले पनि शेयर किनेनन् । नाफामा कामदारहरूले पनि हिस्सा पाउनुपर्ने दे गालका वामपन्थी प्रशंसकले संसद्मा बोले । यसले कुनै लछारपाटो लाएन । दे गालकै अगुवाइमा एउटा अध्ययन टोली (कमिसन) बनाइयो । सरकारी अध्ययन टोली (कमिसन) हरूले पुँजीवादमा पुँजीपतिहरू र तिनका वकिलहरुसँग सल्लाह गरेरै समय खेर फाल्छन् र पैसा उडाउँछन् । फ्रान्समा पनि त्यही भयो ।
सन् १९६७ मार्चमा फ्रान्समा संसदीय चुनाव भयो । दे गालले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर ‘युएनआर’ पार्टीको लागि भोट माग्दै हिँडे । तैपनि उनको दलले धेरै मत ल्याउन सकेन । खासमा वामपन्थी दलहरूले उनको दलले भन्दा १३ लाख मत बढी ल्याएका थिए । यस हिसाबले दे गालको शासन अल्पतन्त्रको थियो । त्यसैले चुनावपछिको पत्रकार सम्मेलनमा उनले धेरै बोलेनन् ।
विदेश नीति र अमेरिका
दे गाल विदेश नीतिमा अघिल्ला शासकहरूभन्दा सफल रहे । बेलायती प्रम चर्चिलले एकचोटि दे गाललाई अमेरिकासामु झुक्न सुझाव दिएका थिए । बेलायतमा राजा कमजोर भएको तर त्यसका नेता कर्मकाण्डी भएको दे गालले टिप्पणी गरे । पश्चिम युरोपका नेताहरूबारे उनले भने, “यिनीहरूले स्वीकार गरे वा नगरे पनि, जाने वा नजाने पनि, यी सबै नेताहरू आफ्नो स्वार्थबाहेक अर्थोक सोच्दैनन् । यिनीहरूलाई आफ्नो देशको अलिकति पनि चिन्ता छैन ।” दे गाल यस मानेमा फरक देखिए । उनी फ्रान्सलाई संरा अमेरिकाको कठपुतली बनाउन चाहँदैनथे । यसको लागि उनले साम, दाम, दण्ड, भेद सबै नीतिको सहारा लिए । उनले सबै भावनाको सहारा लिए । उनले पश्चिमेली चाणक्य मेकियावेलीलाई पछ्याए । राष्ट्रिय स्वाधीनता दे गालको विदेश नीतिको मूल मर्म रह्यो ।
सन् १९५८ सेप्टेम्बरमा दे गालले अमेरिकी राष्ट्रपति आइजनहावर र बेलायती प्रम म्याकमिलनलाई एउटा पत्र लेखे । अन्तर्राष्ट्रिय मामिलामा सामूहिक निर्णय लिन तीन देशको उच्च गठबन्धन बनाउने प्रस्ताव गरे । तर, त्यो प्रस्ताव अरूले स्वीकार्ने कुरा भएन । त्यसपछि दे गालले एटलान्टिक क्षेत्रमा तैनाथ फ्रान्सेली सेनालाई फिर्ता बोलाए । नेटोमा संलग्न फ्रान्सेली सेनाको सङ्ख्या घटाउँदै लगियो । दे गालअघि चौथो गणतन्त्रले एटलान्टिक गठबन्धनलाई ठूलो महत्व दिएको थियो । दे गालको कदमले गर्दा आइजनहावरले फ्रान्स भ्रमण गरे । भ्रमण व्यर्थ भयो । आइजनहावर फर्केपछि दे गालले भने– “फ्रान्सले आफ्नो सुरक्षा आफ्नै बलबुतामा गर्नुपर्छ । नेटो पक्षधर मन्त्रीले प्रश्न उठाउँदा दे गालले उनलाई ओठे जवाफ दिएर चुप लगाए ।” ती मन्त्री फ्रान्सको प्रमुख पुँजीवादी दलका नेता थिए र भिशे सरकारकै पालादेखि अमेरिकी समर्थक भएका थिए । दे गालको उत्तर थियो, “नीति निर्धारण म एक्लै गर्छु, आफ्नै जिम्मामा गर्छु । यसको निर्णय गर्ने अधिकार मलाई मात्र छ ।”
संरा अमेरिकी अखबारहरूले दे गाललाई खिसी गरेर लेखिरहे । यस्तैमा नयाँ राष्ट्रपति केनेडी फ्रान्स भ्रमणमा आए । दुई देशबीच मनमुटाव थियो । कङ्गोमा लुमुम्बाको हत्या र हस्तक्षेप गरेकोमा फ्रान्सले खुलेरै संरा अमेरिकाको विरोध गरेको थियो । केनेडीले फ्रान्सलाई भाग दिन खोजे । दे गालले अस्वीकार गरे । संरा अमेरिकाले सबै देशलाई क्युवासँग सम्बन्ध चुँडाल्न भन्दा फ्रान्सले आफ्नो दूतावास बन्द गरेन । (पुँजीवादी दाजुभाइ हुनाले पछि क्युवाली मिसाइल सङ्कटमा फ्रान्स अमेरिकी शिविरमा लागेको थियो ।) भियतनाममाथि आक्रमण गर्न फ्रान्सलाई सहयोगी भइदिन केनेडीले अनुरोध गरे । दे गालले उनलाई भियतनाममा संरा अमेरिका फस्न सक्ने कुरा बताए । केनेडीको भ्रमण विफल भयो । तैपनि उनले दे गाललाई सम्मान गरे र उनको विचारको कदर गरे । आफू मर्नुभन्दा १३ दिनअगाडि अमेरिकास्थिति फ्रान्सेली राजदूतलाई केनेडीले भनेका थिए, “म फ्रान्सको राष्ट्रपति हुन्थेँ भने मैले पनि जनरल दे गालकै बाटो लिने थिएँ ।” सुरुमा केनेडीलाई कच्चो ठिटो मानेका दे गालले उनको हत्यापछि भने, “जोन्सन (केनेडीपछिका राष्ट्रपति) को लागि इतिहास पर्दापछाडिको खेल हो । केनेडी अर्कै थिए । अमेरिकी राजनीति फेरि जोरजबर्जस्तीमा खस्किने भयो ।”
युरोप र स्वतन्त्रता
दे गालले फ्रान्सको स्वतन्त्रताको निम्ति युरोपेली देशहरुसँग सम्बन्ध विस्तार गर्न खोजे । संयुक्त बजार वा व्यापारको नाममा फ्रान्स, पूर्वी जर्मनी, इटाली, बेल्जियम, नेदरल्यान्ड र लक्जेम्बर्ग ६ वटा देशले एउटा समुदाय बनाएका थिए । फ्रान्सले पश्चिम जर्मनीसँग सम्बन्ध बढाउन अगुवाइ ग¥यो । बेलायतलाई तह लगाउन त्यसो गरिएको थियो । बेलायत अमेरिकी गोटी बनिसकेको थियो । युरोपेली समुदायभित्र पसेर बेलायतले ती ६ देशको बजारमा अमेरिकी साँढेलाई घुसाउन चाहन्थ्यो । यसको लागि उसले ‘खुला व्यापार क्षेत्र’ को विचार अघि सा¥यो । पश्चिम जर्मनीसँग मिलेर दे गालले उसको प्रयास असफल पारिदिए । केही मुद्दाहरूमा फ्रान्सले जर्मनीलाई सघायो ।

PX 96-33:11 02 June 1961
President Kennedy and President De Gaulle at the conclusion of their talks at Elysee Palace, Paris, France.
Please credit “John Fitzgerald Kennedy Library, Boston” for the image.


दे गाल युरोपेली समुदायले आफ्नो स्वतन्त्रता कुण्ठित पारेको हेर्न चाहन्नथे । जर्मनीका तत्कालीन शासक आदेनावा दे गालको यो विचारसँग डराए । दे गालले आफ्नो विचार राख्न छोडेनन् । उनले नयाँ विश्व (संरा अमेरिका) ले पुरानो विश्व (युरोप) लाई आश्रित बनाएसम्म युरोप युरोपेली हुन्न भनी लेखे । सुरुमा शीतयुद्धको पक्ष लिए पनि दे गालले बिस्तारै शीतयुद्धलाई स्वदेशी स्वतन्त्रताको लागि खतरा देख्न थाले । सन् १९६१ मा बसेको ६ देशको बैठकमा ‘युरोपेली एकता’ को कुरा चल्यो । खासमा सोभियत सङ्घको खतरा देखाएर अमेरिका उनीहरूलाई आफ्नो पक्षमा तान्न चाहन्थ्यो । दे गालले त्यस्तो एकताको विरोध गरे ।
पश्चिम जर्मनी दे गालसँग सुरुमा डराएको थियो । किनभने दे गाल जर्मनीलाई पूर्णतः निः शस्त्र बनाउन चाहन्थे । उनले हात बढाएपछि जर्मन चान्सलर आदेनावाले साथ दिए । तर आदेनावा अमेरिकालाई चिढाउन चाहन्नथे । उनले अमेरिकी नेतृत्वमा रहेको एटलान्टिक गठबन्धन छोडेनन् । फ्रान्सले नेटोमा आफ्ना सैनिकहरू घटाउँदा पश्चिम जर्मनीले विरोध ग¥यो । युरोपेली साझा बजारको मामिलामा पनि खटपट भयो । तैपनि दे गालले पश्चिम जर्मनीको भ्रमण रद्द गरेर आदेनावालाई बेखुसी हुन दिएनन् । नयाँ चान्सलर आएपछि पश्चिम जर्मनीसँग फ्रान्सको सम्बन्ध चिसिँदै गयो ।
युरोपले मानेको भए
सन् १९६३ सम्ममा युरोपेली देशहरूको आर्थिक स्थिति सुध्रियो । उत्पादनको क्षेत्रमा अमेरिकी सहयोगविना तिनीहरू आत्मनिर्भर हुँदै थिए । अमेरिकी बैङ्ककमा झन्डै आधा सुन घट्यो । युरोपेली देशहरू उसको प्रतिस्पर्धामा गए । ती देशका नेताहरू वासिङ्टनको आदेश पालन गर्न उदासीन हुन थाले । तर, उनीहरूले दे गालले जस्तो ठाडै अमेरिकाको विरोध गर्ने आँट गरेनन् । बेलायत अमेरिकाको चाकरीमा लाग्यो । उसले आफूलाई पनि ६ वटा देशले साझा बजारमा पहुँच दिनुपर्ने माग ग¥यो । साथै उसले ‘बहुपक्षीय आणविक बल’ को नाममा अमेरिकालाई पश्चिम युरोपको हतियार उद्योगमा भित्र्याउन खोज्यो । दे गालले त्यसको कडा प्रतिवाद गरे ।
सन् १९६२ मा बेलायती प्रम फ्रान्सको भ्रमणमा थिए । दे गालले सम्बन्ध बलियो हुने सोचे । फ्रान्सले आणविक बम बनाइसकेको थियो । विदेशी सेनामा निर्भर हुन नपरोस् भनेर ‘विशेष आक्रामक दल’ बनाउने लक्ष्य लिएको थियो । बेलायत र फ्रान्स मिलेको भए अमेरिकाको भर नपरी आफ्नो सैन्यशक्तिको विकास गर्न सक्ने थिए । पश्चिम युरोप अमेरिकी ‘ओत’ मुनि बस्नुपर्दैनथ्यो । दे गालले यो कुरा बेलायती प्रमलाई बताए । प्रमले बुझेझैँ गरे तर निर्णय दिएनन् । प्रमले साझा बजारमा बेलायतलाई पनि सामेल गराउन अनुरोध गरे । दे गालले ‘स्वतन्त्र युरोप’ को नारामा सहमत भएमात्र आफ्नो बजारको ढोका खोल्ने सर्त तेस्र्याए । मलिन अनुहार बनाएर बेलायती प्रम अमेरिका गए । त्यहाँ उनलाई केनेडीले धुमधाम सहयोग गरे । दे गालले खुलेरै त्यो भेटमाथि कटाक्ष गरे ।
बेलायती प्रमले धोका दिएपछि दे गालले विदेश नीति अझ कसिलो बनाए । अमेरिकाको सहयोगमा हुने भनिएको ‘बहुपक्षीय आणविक बल’ का विरुद्ध उनले सैन्य उद्योगमा जोड दिए । देशलाई एक्लो बनाउने भए भनेर केही पुँजीवादी नेताले दे गालको रुखोपनको विरोध गरे । अमेरिका पक्षधर फ्रान्सेली अखबारहरूले उनको खोइरो खने । तर, फ्रान्सेली हतियार उद्योग र ‘विशेष आक्रामक दल’ बाट फाइदा पाउने पुँजीपतिहरूले दे गालको पक्ष लिन छोडेनन् । अर्कोतिर जमिनदारहरू पनि युरोपेली साझा बजारले आफूलाई फाइदा हुने देखेर दे गालको पछि लागिरहे । संरा अमेरिकी स्वार्थविरुद्ध दे गालले स्वदेशी पुँजीपतिहरूको सेवा गरिरहे । उनी ‘धनी भएर के भयो, सभ्यताले त फ्रान्सभन्दा पछाडि छ’ भनेर अमेरिकालाई खिसी गर्थे ।
एकताका राष्ट्रपति केनेडी अमेरिकी सामानमा कर घटाउन पश्चिम युरोपको भ्रमणमा गएका थिए । दे गालले विरोध जनाए । अमेरिकी अधिकारीहरूले उनलाई चुप लगाउन खोजे, केहीले धम्क्याए । तैपनि केनेडीको हत्या भएपछि दे गाल अमेरिका गए । फासीवादी सङ्गठन ‘ओएएस’ का मान्छेले उनको हत्या गर्नसक्थे । दे गालले त्यसलाई बेवास्ता गरे । उनले भने, “राष्ट्रपति केनेडी गोली लागेर ढलेको सिपाहीझैँ कर्तव्य पूरा गर्दै र देशको सेवा गर्दागर्दै ढल्नुभयो । महान् उदाहरण र सम्झना छोडेर जानुभयो ।” ज्याकलिन केनेडीले दे गाललाई उच्च सम्मान दिइन् । दे गालले राष्ट्रपति जोनसनलाई कहिल्यै महत्व दिएनन् । उनले अमेरिकाभन्दा फरक देखिने मौका सकेसम्म गुमाएनन् । उनले भियतनाममा अमेरिकी हस्तक्षेपको विरोध गरिरहे । नेटोबाट फ्रान्सेली सेना घटाइरहे । सिटोबाट फ्रान्स बाहिरियो । सन् १९६४ मा फ्रान्सले चिनियाँ जनगणतन्त्रलाई मान्यता दियो ।
‘बहुपक्षीय आणविक बल’ जर्मनीलाई आणविक शक्ति बनाउने योजना ठहरियो । यसलाई फ्रान्सले युरोपघाती र युद्ध भड्काउने योजना भनेर विरोध ग¥यो । जोनसनले त्यसलाई ‘सङ्कुचित राष्ट्रवाद’ भनी आलोचना गरे । सन् १९६५ मा दे गालले अन्तर्राष्ट्रिय लेनदेन डलरमा गर्न नहुने विचार राखे । डलरको सट्टा सुनमा गर्न सकिने बताए । त्यसबेला फ्रान्सले आफ्नो मुद्रा सुनसँग साट्दै थियो । अमेरिकी सुनको भण्डार घट्दै थियो । युरोपका सबै देशले फ्रान्सको सिको गरेको भए अमेरिका टाट पल्टिने थियो । अमेरिकाको सबैभन्दा कमजोर बिन्दुमा दे गालले प्रहार गरेका थिए । सन् १९६९ सम्ममा फ्रान्स अमेरिकी चङ्गुलबाट मुक्त हुने विवादास्पद विचार दे गालले राखेका थिए ।
सन् १९६६ मा दे गालले नेटोसँग सैन्य सहकार्य तोड्ने उद्घोष गरे । उनले १४ वटा नेटो देशहरूलाई फ्रान्सका सम्पूर्ण कर्मचारी र सैनिकलाई २९ वटा अमेरिकी आधार क्षेत्रबाट हटाउने कार्यसूची पठाए । यो दे गालको ठूलो लडाइँ थियो । तर, उनको वर्गीय पक्षधरताले बाधा दियो । बेलायत र जर्मनीका अगुवाहरूले उनको साथ दिएनन् । स्वदेशमा अमेरिकापक्षधर नेताहरूले उनको विरोध गरे । कम्युनिस्ट पार्टीमात्र नेटोको विरोधी थियो ।
सोभियत सङ्घसँग दे गालको सम्बन्ध राम्रो रह्यो । सन् १९६४ मा उनले सोभियत सङ्घसँग दीर्घकालीन व्यापार सम्झौता गरे । वैज्ञानिक, प्राविधिक र साँस्कृतिक सम्बन्ध जोडियो । अमेरिका र पश्चिम जर्मनीले बिच्काएपछि नै दे गाल सोभियत रुसतिर फर्केको जानकारहरूले बताए । दे गाल सोभियत रुसको भ्रमणमा गए । जर्मनीमा जर्मन भाषा बोलेका उनले रुसमा रुसी वाक्यहरू बोलेर सर्वसाधारणलाई खुसी बनाउन खोजे । सोभियत नेताहरुसँग दे गालले विश्वका विभिन्न राजनीतिक घटनाक्रमबारे छलफल गरे । सन् १९६७ को मध्यपूर्वी सङ्कट र भियतनाम युद्धमा दुई देशबीच एकै राय निस्कियो । दे गालको सोभियत सङ्घको भ्रमणले गर्दा पश्चिमा नेताहरू चिढिए ।
प्रस्तुति : सुरेन

Leave a Reply

Your email address will not be published. Required fields are marked *