रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
राजाको देशमा प्रजा
दे गालका साथीले ‘दे गालले पुँजीवादी व्यवस्थाअनुसार आफूलाई ढालेको र पुँजीपतिहरूलाई आफ्नो सेवक बनाएको’ लेखे । कुरा उल्टो थियो । पुँजीपतिहरूले दे गाललाई सत्तामा बसालेर आफ्नो सेवक बनाएका थिए । सन् १९६६ मा दे गालले भने, “सन् १९५९ यता फ्रान्सको आर्थिक, सामाजिक र वित्तीय नीति कहिल्यै फेरिएन ।” दे गालले विदेश मामिलामा ध्यान दिन्थे । घर सम्हाल्ने जिम्मा अन्य मन्त्रीको थियो । सन् १९५८ यता दे गालले पुँजीपतिहरूलाई नाफा कमाउने खुल्ला छुट दिए । पूरै राज्य संयन्त्र योजनाबद्धरूपमा पुँजीपति वर्गको पक्षमा गयो । पुँजीपतिहरूले योजना निर्माणमा हात हाले । पुँजीपतिहरूले धेरै सहुलियत पाए । त्यसैले सन् १९६५ सम्ममा औद्योगिक उत्पादन ४३ प्रतिशतले बढ्यो । तर, यसको मूल्य तल्लो वर्गले तिर्नु प¥यो । इन्धनको मूल्य बढ्यो । करको बोझ बढ्यो । महँगी अकासियो । पाँचौँ गणतन्त्रको १० वर्षे शासनकालमा ४० प्रतिशत महँगी बढ्यो । पुँजीपतिहरूको नाफाको लागि निम्नवर्गको ढाड सेकियो ।
आवासको समस्या चर्कियो । प्रत्येक वर्ष फ्रान्समा ३ लाख ७० हजार घर थपिन्थ्यो । तर, एक करोड ५० लाख फ्रान्सेलीहरू बेघरबार थिए । पेरिसमा बर्सेनि १० हजार घर बन्थे । तर, त्यो धनीहरूको लागि थियो । कसैले किन्न नसकेर ती घर खाली रहन्थे । नगरपालिकाले सस्तो घर बनाएको थियो । न्यून आम्दानीले गर्दा ती पनि बिक्दैनथे । फ्रान्स पश्चिम युरोपको सबैभन्दा महँगो देश बन्यो । पुँजीपतिहरू भने कालोबजारीबाट मालामाल भइरहेका थिए । उद्योगको तीव्र विकाससँगै श्रमिकहरूको शोषण पनि चर्को थियो । औद्योगिक मजदुरको ज्याला अपुग थियो । उद्योगहरूको केन्द्रीकृत उत्पादनले ८ लाख किसान मारमा परे । सरकारलाई कुनै चिन्ता थिएन ।
मजदुर र किसानहरूले विरोध प्रदर्शनहरू गर्न थाले । सन् १९५९ को भन्दा १९६१ को हडताल तीन गुणा ठूलो थियो । १९६३ मा त्यो झन् बढ्यो । किसानहरूले सडक बन्द गर्न थाले । सन् १९६३ मा दे गाल पहिलोचोटि कामदार वर्गसँग प्रत्यक्ष मुठभेडमा पुगे । वर्गसङ्घर्षले उनी बुझ्न नसकिने ठान्थे । तर, उनी सधैँ पुँजीपतिहरूको पक्षमा जान्थे । सन् १९६३ मा मुद्रास्फितिले विदेश सम्बन्धमा पनि फ्रान्सको बेइज्जत भयो । दे गालले त्यसलाई नियन्त्रण गर्न उर्दी जारी गरे । तर, मुद्राको मूल्य ‘स्थिर’ बनाउन खोज्दा श्रमजीवी वर्गको ज्याला फ्रीज भयो । यसरी फेरि पनि कामदार वर्गले नै मूल्य चुकाउनुप¥यो ।
‘सामाजिक सुधार’
सन् १९६५ को डिसेम्बरमा फ्रान्सेली पुँजीपतिहरूले ‘घोडा’ फेर्न खोजे । राष्ट्रपति निर्वाचनमा दे गालले इतिहासमा न्यून मत पाए । उनको तुलनामा वामपन्थी दलका फ्राङ्कोइ मितेराँले राम्रो मत ल्याए । उनले व्यक्तिको सत्तालाई नागरिकको सत्ताले विस्थापित गर्ने नारा दिएका थिए । जनता दे गालका आर्थिक र सामाजिक नीतिहरूबाट पीडित थिए । दे गाल गाउँ डुल्न जाँदा भित्तामा ‘दे गाललाई धपाऊ’ भन्ने नाराहरू लेखिएका हुन्थे । त्यसैले पुँजीपतिहरूले ‘घोडा’ फेर्न चाहेका थिए । चुनावपछि दे गालले सामाजिक सुधारमा ध्यान दिनुपर्ने देखे ।
विश्वयुद्धपछि फ्रान्स योजनाबद्धरूपले पुँजीवादको बाटोमा हिँडेको थियो । तर, त्यो योजनाले धरातल छोएको थिएन । दे गालले ल्याएको चौथो योजना (१९६२–१९६५) ले राज्य र एकाधिकार पुँजीको घाँटी जोड्यो । पाँचौ योजना (१९६५–१९७०) ले एकाधिकार पुँजीको दबदबा कायम ग¥यो र विदेशी पुँजीसँग होडबाजीमा जोड दियो । यी योजना ल्याउँदा दे गालले सामाजिक सुधारमा जोड दिएको बताए । तर, तिनले उपभोग घटाए, ज्याला फ्रीज गरे र बेरोजगारी बढाए । भित्री मनले दे गालले न्यायपूर्ण समाज बनाउने सोचेको हुनसक्छ । तर, उनको सरकारले आणविक हतियार र विशेष आक्रामक दल बनाएर राज्यको ढुकुटी उडायो । यसबीच उनले पुँजीपतिहरूको नाफामा कमी आउन दिएनन् ।
दे गाल भन्थे, “वर्गसङ्घर्षले मान्छेमान्छेबीचको सम्बन्धमा विष छर्छ र युद्ध ल्याउँछ ।” उनी देशलाई वर्गमा ‘बाँड्न’ रुचाउन्नथे । केही वामपन्थीहरू उनीबाट प्रभावित भए । आफ्नो असीम शक्तिको प्रयोग गरेर दे गालले क्रान्ति ल्याउन सक्छन् भनेर उनको पछि लागे । अल्जेरियाको मुक्तिबाट उनीहरू हर्षित थिए । सन् १९५९ जनवरीमा दे गालले जारी गरेको अध्यादेशमा परिवर्तनको कुरा थियो । संरा अमेरिकामा जनतालाई शेयर किन्ने व्यवस्था मिलाएर ‘जनताको पुँजीवाद’ न्वारन गरिएको थियो । फ्रान्समा पनि सन् १९६५ मार्चमा यही नीति लागु गरियो । तर, एक प्रतिशतले पनि शेयर किनेनन् । नाफामा कामदारहरूले पनि हिस्सा पाउनुपर्ने दे गालका वामपन्थी प्रशंसकले संसद्मा बोले । यसले कुनै लछारपाटो लाएन । दे गालकै अगुवाइमा एउटा अध्ययन टोली (कमिसन) बनाइयो । सरकारी अध्ययन टोली (कमिसन) हरूले पुँजीवादमा पुँजीपतिहरू र तिनका वकिलहरुसँग सल्लाह गरेरै समय खेर फाल्छन् र पैसा उडाउँछन् । फ्रान्समा पनि त्यही भयो ।
सन् १९६७ मार्चमा फ्रान्समा संसदीय चुनाव भयो । दे गालले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर ‘युएनआर’ पार्टीको लागि भोट माग्दै हिँडे । तैपनि उनको दलले धेरै मत ल्याउन सकेन । खासमा वामपन्थी दलहरूले उनको दलले भन्दा १३ लाख मत बढी ल्याएका थिए । यस हिसाबले दे गालको शासन अल्पतन्त्रको थियो । त्यसैले चुनावपछिको पत्रकार सम्मेलनमा उनले धेरै बोलेनन् ।
विदेश नीति र अमेरिका
दे गाल विदेश नीतिमा अघिल्ला शासकहरूभन्दा सफल रहे । बेलायती प्रम चर्चिलले एकचोटि दे गाललाई अमेरिकासामु झुक्न सुझाव दिएका थिए । बेलायतमा राजा कमजोर भएको तर त्यसका नेता कर्मकाण्डी भएको दे गालले टिप्पणी गरे । पश्चिम युरोपका नेताहरूबारे उनले भने, “यिनीहरूले स्वीकार गरे वा नगरे पनि, जाने वा नजाने पनि, यी सबै नेताहरू आफ्नो स्वार्थबाहेक अर्थोक सोच्दैनन् । यिनीहरूलाई आफ्नो देशको अलिकति पनि चिन्ता छैन ।” दे गाल यस मानेमा फरक देखिए । उनी फ्रान्सलाई संरा अमेरिकाको कठपुतली बनाउन चाहँदैनथे । यसको लागि उनले साम, दाम, दण्ड, भेद सबै नीतिको सहारा लिए । उनले सबै भावनाको सहारा लिए । उनले पश्चिमेली चाणक्य मेकियावेलीलाई पछ्याए । राष्ट्रिय स्वाधीनता दे गालको विदेश नीतिको मूल मर्म रह्यो ।
सन् १९५८ सेप्टेम्बरमा दे गालले अमेरिकी राष्ट्रपति आइजनहावर र बेलायती प्रम म्याकमिलनलाई एउटा पत्र लेखे । अन्तर्राष्ट्रिय मामिलामा सामूहिक निर्णय लिन तीन देशको उच्च गठबन्धन बनाउने प्रस्ताव गरे । तर, त्यो प्रस्ताव अरूले स्वीकार्ने कुरा भएन । त्यसपछि दे गालले एटलान्टिक क्षेत्रमा तैनाथ फ्रान्सेली सेनालाई फिर्ता बोलाए । नेटोमा संलग्न फ्रान्सेली सेनाको सङ्ख्या घटाउँदै लगियो । दे गालअघि चौथो गणतन्त्रले एटलान्टिक गठबन्धनलाई ठूलो महत्व दिएको थियो । दे गालको कदमले गर्दा आइजनहावरले फ्रान्स भ्रमण गरे । भ्रमण व्यर्थ भयो । आइजनहावर फर्केपछि दे गालले भने– “फ्रान्सले आफ्नो सुरक्षा आफ्नै बलबुतामा गर्नुपर्छ । नेटो पक्षधर मन्त्रीले प्रश्न उठाउँदा दे गालले उनलाई ओठे जवाफ दिएर चुप लगाए ।” ती मन्त्री फ्रान्सको प्रमुख पुँजीवादी दलका नेता थिए र भिशे सरकारकै पालादेखि अमेरिकी समर्थक भएका थिए । दे गालको उत्तर थियो, “नीति निर्धारण म एक्लै गर्छु, आफ्नै जिम्मामा गर्छु । यसको निर्णय गर्ने अधिकार मलाई मात्र छ ।”
संरा अमेरिकी अखबारहरूले दे गाललाई खिसी गरेर लेखिरहे । यस्तैमा नयाँ राष्ट्रपति केनेडी फ्रान्स भ्रमणमा आए । दुई देशबीच मनमुटाव थियो । कङ्गोमा लुमुम्बाको हत्या र हस्तक्षेप गरेकोमा फ्रान्सले खुलेरै संरा अमेरिकाको विरोध गरेको थियो । केनेडीले फ्रान्सलाई भाग दिन खोजे । दे गालले अस्वीकार गरे । संरा अमेरिकाले सबै देशलाई क्युवासँग सम्बन्ध चुँडाल्न भन्दा फ्रान्सले आफ्नो दूतावास बन्द गरेन । (पुँजीवादी दाजुभाइ हुनाले पछि क्युवाली मिसाइल सङ्कटमा फ्रान्स अमेरिकी शिविरमा लागेको थियो ।) भियतनाममाथि आक्रमण गर्न फ्रान्सलाई सहयोगी भइदिन केनेडीले अनुरोध गरे । दे गालले उनलाई भियतनाममा संरा अमेरिका फस्न सक्ने कुरा बताए । केनेडीको भ्रमण विफल भयो । तैपनि उनले दे गाललाई सम्मान गरे र उनको विचारको कदर गरे । आफू मर्नुभन्दा १३ दिनअगाडि अमेरिकास्थिति फ्रान्सेली राजदूतलाई केनेडीले भनेका थिए, “म फ्रान्सको राष्ट्रपति हुन्थेँ भने मैले पनि जनरल दे गालकै बाटो लिने थिएँ ।” सुरुमा केनेडीलाई कच्चो ठिटो मानेका दे गालले उनको हत्यापछि भने, “जोन्सन (केनेडीपछिका राष्ट्रपति) को लागि इतिहास पर्दापछाडिको खेल हो । केनेडी अर्कै थिए । अमेरिकी राजनीति फेरि जोरजबर्जस्तीमा खस्किने भयो ।”
युरोप र स्वतन्त्रता
दे गालले फ्रान्सको स्वतन्त्रताको निम्ति युरोपेली देशहरुसँग सम्बन्ध विस्तार गर्न खोजे । संयुक्त बजार वा व्यापारको नाममा फ्रान्स, पूर्वी जर्मनी, इटाली, बेल्जियम, नेदरल्यान्ड र लक्जेम्बर्ग ६ वटा देशले एउटा समुदाय बनाएका थिए । फ्रान्सले पश्चिम जर्मनीसँग सम्बन्ध बढाउन अगुवाइ ग¥यो । बेलायतलाई तह लगाउन त्यसो गरिएको थियो । बेलायत अमेरिकी गोटी बनिसकेको थियो । युरोपेली समुदायभित्र पसेर बेलायतले ती ६ देशको बजारमा अमेरिकी साँढेलाई घुसाउन चाहन्थ्यो । यसको लागि उसले ‘खुला व्यापार क्षेत्र’ को विचार अघि सा¥यो । पश्चिम जर्मनीसँग मिलेर दे गालले उसको प्रयास असफल पारिदिए । केही मुद्दाहरूमा फ्रान्सले जर्मनीलाई सघायो ।

PX 96-33:11 02 June 1961
President Kennedy and President De Gaulle at the conclusion of their talks at Elysee Palace, Paris, France.
Please credit “John Fitzgerald Kennedy Library, Boston” for the image.
Leave a Reply