‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
चुँडालेर मासु खसालेर आँसु कृषकले खन्छन् खेत
चामलसित दसैँ–तिहारमा बल्लतल्ल गर्छन् भेट
– केवलपुरे किसान
प्राचीन कालदेखि नेपालको मुख्य पेशा कृषि हो । गोपालवंशको प्रारम्भदेखि नै कृषिको थालनी भयो । गोपालहरू गौचरनको साथै खेतीपाती पनि गर्दथे । यिनीहरूले खेतीको निम्ति रुख काटेर जङ्गल सफा पारेका थिए । गोपालवंशको समयमा प्रारम्भ भएको कृषि प्रणाली किरात तथा लिच्छविकालमा विकसित हुँदै गएको थियो ।
प्राचीन कालमा कपिलवस्तु र रामग्रामका बासिन्दाहरू रोहिणी नदीमा बाँध बाँधेर आ–आफ्नो खेतमा सिँचाइ गर्ने गर्दथे । एक पटक रोहिणी नदीको पानीको बाँडफाँडको कुरालाई लिएर कपिलवस्तु र रामग्रामका बासिन्दाको बीचमा विवाद चल्यो । यस विवादले युद्धको रूप लिन थालेको थियो । त्यसै बखत गौतम बुद्धले यस युद्धलाई रोकेर दुबैका बीचमा सम्झौता गराइदिए भन्ने कुरा धम्मपद अट्टकथा नामक बौद्ध ग्रन्थमा लेखिएको पाइन्छ ।
लिच्छविकालमा काठमाडौँ उपत्यकामा कृषि व्यवसायको लागि आवश्यक कुलो र सिँचाइ उपलब्ध गराउन बाग्मती, विष्णुमती, मनहरा आदि ठूला साना नदीमा बाँध बाँधिएको थियो । कृषिको व्यवस्था मिलाउन नदी, पहाड, जङ्गल, पुल, सिमलको रुख, बरको रुख लगाएर साँध राख्थे । धान, पशु र द्रव्यद्वारा सरकारले कृषकको सहायता गथ्र्यो । बाली तयार भएपछि सुविस्ताअनुसार कृषकले सापट फिर्ता दिन्थे । कृषकहरू ह«ष्टपुष्ट रहेमा राजकोष बढ्ने हुनाले उनीहरूको स्वास्थ्य राम्रो गर्न तथा व्यायामको निमित्त सरकारको तर्फबाट धन मिल्दथ्यो ।
यस्तो रकम व्यायामशाला, व्यायामशालाको लागि सामान, व्यायाम गर्नेहरूको लागि खाद्यको निमित्त खर्च गरिन्थ्यो । कृषकहरूको बिग्रेको स्वास्थ्य सुधारको निमित्त औषधालयहरूको स्थापना गरिन्थ्यो ।
लिच्छविकालीन अभिलेखमा उल्लेख भएअनुसार त्यस समयमा धान, गहुँ, दाल, फलफुल आदिको खेती गरिन्थ्यो । पाटनस्थित भीमसेन स्थानको शिवदेव र अंशुवर्माको संयुक्त अभिलेखमा लसुन र प्याजमा लाग्ने कर (पलाण्डुकर) माफ गरिएको कुरा लेखिएको छ । यसबाट त्यस बखत अन्य तरकारीहरूको पनि उत्पादन हुन्थ्यो भन्ने कुरा थाहा पाइन्छ ।
कृषि उत्पादनकै आधारमा भूमिको श्रेणी निर्धारण हुन्थ्यो । भूमिको नाम देखाउन भूमि पिण्डकर ‘मानिका’ शब्दको प्रयोग गरिएको थियो । आज प्रचलित ‘माना’ शब्द यसै मानिकाको अपभ्रंश मानिन्छ ।
कृषि उत्पादनमा वृद्धि गर्न कुलोको व्यवस्था गरिएको थियो । त्यसबखत कुलोलाई तिलमक भनिन्थ्यो । कुलोको प्रयोग गर्दा विवादमा उठेमा पाञ्चालीले छिनोफानो गर्दथे ।
पाटन बुङ्गमतिको अभिलेखमा अंशुवर्माले कुखुरा, सुँगुर, माछाहरूको हेरचाहले खुसी भएका हामीबाट महाधिकरण पस्न नपाउने गरी तिनीहरूलाई निगाह गरिएको छ भन्ने वाक्य लेख्न लगाएका थिए । यसबाट यिनीहरू पशुपालन तथा कृषि उत्पादनबाट खुसी हुने रहेछन् भन्ने थाहा पाइन्छ । अंशुवर्माले कृषिको विकासका निमित्त भूमिको वर्गीकरण गरेका थिए ।
वर्गीकरणको आधारमा भूमिकर बुझाउनु पर्दथ्यो । लिच्छविकालको शिलालेखमा यति भूमिको यति कुत भनी लेखिएको छ । कृषिमा लाग्ने कारणलाई ‘भाग’ भनिन्थ्यो । यसबाट भूमि भन्नाले जग्गाको नाप बुझाउँछ । यस समयमा कृषि व्यवसाय महत्वपूर्ण भएको हुनाले कृषि उत्पादन वृद्धिका निमित्त सर्वत्र कृषकहरूबाट वर्षाको निमित्त पूजा प्रार्थना आदि गरिएको उदाहरण गोपालराज वंशावलीमा उल्लेख छ । यस्तै लिच्छविकालको मीन नारायणको शिलालेखमा एउटा नहर बनाउने काम सम्पन्न नभएमा गाउँका ठूलाले त्यो काम पूरा गर्ने अभिभारा कृषकहरूलाई दिएको उल्लेख छ ।
नेपालमा खासगरी काठमाडौँ उपत्यकामा प्राचीनकालदेखि नै मुख्य बालीको रूपमा धानको उत्पादन हुन्थ्यो । लिच्छविकालको अभिलेखमा धान्य तथा तेण्डल (धान र चामल) को प्रशस्त उल्लेख गरिएको छ । त्यसबेलाका अभिलेखहरूमा गोहले, गोयुद्धजस्ता शब्दहरूको प्रयोग भएको हुनाले तिनताका खेत जोत्नको निमित्त गोरुको प्रयोग हुने कुरामा धेरै हदसम्म विश्वास गर्न सकिन्छ । अर्को एक प्राचीन धार्मिक ग्रन्थ कटनाक संहिता नामक ग्रन्थमा चौबीस वटा गोरु प्रयोग गर्न सकिने हलो बनाएको कुरा लेखिएको छ ।
यस समयमा खेत, पाखो, जङ्गल गरी तीन भागमा बाँडिएको थियो । खेतीयोग्य जमिन समान महत्व रहेको जानकारी प्राप्त भएको छ । पहिलोमा खेती गरिन्थ्यो भने दोस्रोमा पशुपालन गरिन्थ्यो । जङ्गलबाट आवश्यक पर्ने काठ, दाउरा उपलब्ध हुन्थ्यो । पहिलो राजदरबारका व्यक्तिहरूको स्वामित्वमा, दोस्रो सङ्घसंस्थाहरूको स्वामित्वमा र तेस्रो जनसाधारणको स्वामित्वमा हुन्थ्यो ।
मध्यकालीन अर्थ व्यवस्थामा कृषि मेरुदण्डको रूपमा रहेको थियो । बहुसङ्ख्यक जनताको आयस्रोत तथा जीविकोपार्जन र राज्यको आयस्रोत रहेको कृषिजन्य भूमिमा राज्यको स्वामित्व बढी भए पनि सामान्य अवस्थामा भने जनस्वामित्व कायमै थियो । काठमाडौँ उपत्यकामा त्यतिबेला कृषि पेशा निकै फस्टाएको थियो । यहाँको मलिलो माटोमा त्यत्तिबेला धान, गहुँ, तोरी आदि उब्जनी हुन्थ्यो ।
कृषिको निम्ति चाहिने पानीको व्यवस्था मिलाउन कुलो तथा बाँधको बन्दोबस्त पनि गरिएको थियो । कुलोको निर्माण गर्न जनसहभागिताको उपयोग पनि गरिन्थ्यो । यस सम्बन्धमा केही नियमहरू बनेका थिए । यसअनुसार राजकुलोको पानीले धान रोप्न परेमा आधा दामको दरले पैसा तिर्नुपर्ने, कुलो बनाउन सहयोग नगर्नेले दण्ड तिर्नुपर्ने, खेतमा पानी लाउँदा ठूलो र सानो भनी पालो मिच्न नपाइने थियो ।
कुलोसम्बन्धी हेरविचार गर्ने अधिकारीलाई ढलपा भनिन्थ्यो । खेतको नापका निम्ति कर्ष इत्यादि शब्दहरूको प्रयोग गरिएको पाइन्छ । त्यसबेला चार कर्षको एक रोपनी भनिन्थ्यो । बाली तथा पशुपालन विषयमा भने मल्लकालमा धरपौहरूबाट पनि केही जानकारी पाइन्छ । मल्लकालमा उपत्यकामा थरीथरीका फलफुल प्रशस्त मात्रामा उब्जनी हुन्छ भन्ने उल्लेख छ ।
मध्यकालमा नेपालका श्रमिकहरूलाई महत्वपूर्ण स्थान दिएको पाइन्छ । धार्मिक ग्रन्थ, रुद्र सुक्तमा वैदिक आदर्शको एक उदाहरण यहाँ प्रस्तुत छ– ‘चर्मकारेम्भ्यो नमः रथकारेम्भ्यो नमः कुलालेभ्यो नमः स्तेनाना पतये नमः’
अर्थात् ‘हामीलाई सार्की, सिकर्मी तथा कुमालेलाई मात्र नमस्कार गर्न सिकाउँदैन । परन्तु निमुखा श्रमिकहरूलाई पनि नमस्कार गर्न सिकाउँछ ।’ भनेर लेखिएको छ । रुद्र सुक्तमा यसप्रकार श्रमको मूल्याङ्कन गरिएको पाइन्छ ।
त्यस समयमा जयस्थिति मल्लले जग्गाको निम्ति छुट्टै व्यवस्था गरेका थिए । उनले जग्गालाई उब्जनीको आधारमा अब्बल, दोयम, सिम र चाहार गरी चार वर्गमा वर्गीकरण गरेका थिए । यस्तै रामशाहले कृषियोग्य भूमिको विस्तार गर्न उत्पादनयोग्य बनाएमा तीन वर्षसम्म जग्गा खनजोत गर्नेको नै हुने र पछिमात्र जग्गाधनीको अधिकार कायम रहने नियम बनाएका थिए ।
पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेपछि कृषि क्षेत्रमा पनि केही परिवर्तन गरेका थिए । कपासको उत्पादनबाट कपडा उद्योगको विकास गर्न सकिन्छ भन्ने यिनको धारणा थियो । यसैले यसभन्दा अघि धान, गहुँ, जौँ, भटमास, दालजस्ता खाद्यवस्तुको उत्पादनमा जोड दिइन्थ्यो भने पृथ्वीनारायण शाहले कपासजस्तो नगदे बालीको उत्पादन बढाउन प्रोत्साहित गरेका थिए ।
मध्यकालमा नुवाकोट, पूर्वी तराई, पश्चिमी तराईका कृषियोग्य भूमिमा प्रशस्त उब्जनी हुन्थ्यो । धान र गहुँ प्रमुख खाद्यबालीको रूपमा उत्पादन गरिन्थ्यो । मार्सी र तौली धानबाहेक अन्य विभिन्न किसिमका धानबालीहरूको पनि उत्पादन हुन्थ्यो । काठमाडौँ उपत्यकाको पाखा जग्गामा तोरी, कोदो, चना, केराउजस्तो खाद्य पदार्थ तथा तरकारी प्रशस्त मात्रामा उत्पादन हुन्थ्यो । मकैको खेती पछिमात्र सुरु भएको थियो ।
त्यसबेला आफ्नै खेती तथा भूमिबाट उत्पादित अन्नको प्रयोग सामाजिक दृष्टिले ठूलो इज्जतको रूपमा लिने परम्परा चल्यो । त्यो समय जनसङ्ख्याको चाप पनि त्यति धेरै नहुनाले कृषि उत्पादनबाट खान लाउन प्रशस्त मात्रामा पुग्थ्यो ।
त्यस्तै सन् १७९३ मा नेपाल भ्रमण गर्ने विलियम कर्क पेट्रिकले यहाँ सिँचाइको समस्या नभएको र माटो उच्च गुणको या उर्वर भएकोले कम श्रमले धेरै असल जातका अन्न उब्जन्छ । जसको निमित्त त्यति धेरै श्रमशक्तिको खर्च गर्नु नपर्ने कुराको चर्चा गरेका हुन् । उनले भूमिको उत्पादकत्वका सन्दर्भमा चर्चा गर्दा करिब चार बिगाह जति जग्गामा १०० मुरीसम्म अन्न उपत्यकामा फल्ने कुरा उल्लेख गरेका छन् । कर्क पेट्रिकले काठमाडौँ उपत्यका तथा आसपासमा हुने कृषि उत्पादन विषयमा चर्चा गर्दा धान, गहुँ, तेलहनको उत्पादन हुने वर्णन गरेका छन् ।
यसरी हामी देख्छौँ कि हाम्रो कृषि प्रणालीको विकास प्राचीनकालदेखि नै हुँदै आएको छ, कृषकहरूको मिहेनतको फलले । यसरी नेपालमा कृषिको विकास भएको हो । नेपालका कृषकहरू लगनशील, स्वाभिमानी जागरुक भएको कृषिको ऐतिहासिक वर्णनले प्रमाणित गर्छ ।
सन्दर्भ सामग्रीः
१) प्राचीन नेपाल– डी.आर. रेग्मी
२)An Account of the Kingdom od Nepal—Krick Patrick
३) नेपालको समाजिक, आर्थिक तथा प्रशासनिक इतिहास– डा. रामप्रसाद उपाध्याय
४) काठमाडौँ उपत्यकाको मध्यकालीन इतिहास– रमेश ढुङ्गेल, ऐश्वर्यलाल प्रधानाङ्ग
५) ‘नेपाल’ पत्रिका– त्रिभुवन विश्वविद्यालय
Leave a Reply