युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
- बैशाख ८, २०८३
बुझ्न चाहनुहुन्छ ? किन पुटिनले त्यस्तो गरिरहेका छन् ? नक्सामा हेरौँ
(द एटलान्टिक, अक्टोबर ३१, २०१५)
भ्लादिमिर पुटिनले आफू एक धार्मिक मानिस र रुसी अर्थोडक्स (पुरातनपन्थी) चर्चको एक ठूलो समर्थक भएको बताउँछन् । यदि त्यसो हो भने उनी प्रत्येक राति सुत्नुभन्दा अगाडि आफ्नो प्रार्थनाका क्रममा ‘ईश्वर’ सित माग गर्थे होलान् : हे ईश्वर ! तिमीले पूर्वी युक्रेनमा किन अग्ला–अग्ला पहाड राखेनौ ?
यदि ‘ईश्वर’ ले पूर्वी युक्रेनमा अग्ला–अग्ला पहाड बनाएको भए पश्चिमा विस्तारवादी शासकहरूको दिमागमा युरोपेली मैदानी भूमिहरूमा यतिविधि बृहत् विस्तारहरूको विचार आउने थिएन र इतिहासमा रुसमाथि पटक–पटक आक्रमण हुने थिएन । तर, स्थिति त्यस्तो नभएकोले उनीभन्दा पहिलेका रुसी नेताहरूजस्तै सायद पुटिनले पनि आफूसित विकल्प नभएको अनुभूति गर्छन् र रुसको पश्चिम भागका मैदानी भूमिमाथि नियन्त्रण राख्ने कोसिससम्म भए पनि गर्छन् । त्यसैले विश्वभर नै भू–बनोटले या देशहरूको भौतिक स्थितिले उनीहरूको छनोटलाई सीमित गर्दै राजनीतिक नेताहरूलाई बन्दी बनाइदिन्छ र चलखेलको निम्ति ठाउँ पनि बनाइदिन्छ । भूगोलका यी नियमहरू विशेषतः शक्तिको रक्षा गर्न कठिन रहेको देश रुसमा स्पष्ट छ र त्यहाँ शताब्दियौँसम्म नेताहरूले बाहिरतिर जोड दिने नीतिले त्यसको क्षतिपूर्ति गर्दै आएको छ ।
पश्चिमा नेताहरूले अहिलेसम्म पुटिनका उद्देश्यहरू विश्लेषण गर्न सकेको देखिँदैन । विशेषगरी युक्रेन र सिरियासम्बन्धी उनका कदम पश्चिमाहरूलाई निराश पार्नेखाले छन् । रुसको वर्तमान नेतृत्वलाई सन् १९३९ को विन्स्टन चर्चिलको प्रख्यात अवलोकनपछिको भनाइकै आधारमा वर्णन गर्न लागिएको छ । चर्चिलले त्यतिबेला सोभियत रुसलाई– रहस्यले बेरिएको रहस्यभित्रको एक पहेली– भनेका थिए । तर, बाह्य देशमा पुटिनको सैन्य हस्तक्षेपलाई रुसी नेताहरूको सन्दर्भमा यो भूगोललाई सम्बोधन गर्ने धेरै अघिदेखिको प्रयासका रूपमा हेर्नु उपयोगी हुनेछ । यस्तोमा पुटिनका उद्देश्यहरू यस्तो रहस्यमय हुनुमा कुन ठूलो कुरा भयो र ? तपार्इँ त्यसलाई स्पष्टरूपमा नक्सामा पढ्न सक्नुहुन्छ, देख्न सक्नुहुन्छ ।
विश्वको सबैभन्दा ठूलो भूमि भएको, युरोप र एसियालाई जोड्ने, लाखौँ वर्ग किमि जङ्गल, ताल, नदी, हिउँ जम्ने घाँसे मैदान र पहाडहरू भएको देश रुसमा सुरक्षा समस्या जमिनका साथसाथै समुद्र भएर पनि आउँछ । बितेको ५ सय वर्षको इतिहासमा रुसमाथि पश्चिमबाट कैयौँ पटक आक्रमण भए । पोल्सहरू (पोल्यान्डका) सन् १६०५ मा युरोपेली मैदान पार गरेर नै रुसमाथि हमला गर्न आएका थिए, तिनीहरूकै सिको गर्दै राजा चाल्र्स छैटौँको नेतृत्वमा (स्विडेनका) स्विडिसहरूले हमला गरेका थिए । नेपोलियनको नेतृत्वमा फ्रान्सेलीहरूले सन् १८१२ मा र जर्मनहरूले सन् १९१४ र १९४१ मा रुसमाथि हमला गरेका थिए । पोल्यान्डमा उत्तरमा बाल्टिक सागरदेखि दक्षिणमा कार्पाथियन पहाडसम्म मात्र ३०० माइलको मैदानी भाग छ । तर, त्यस बिन्दुदेखि मैदानी भाग चौडा हुँदै रुसी सीमा (लिथुआनिया, बेलारुस र युक्रेन) सम्म २००० माइल पुगेको छ । त्यहाँबाट मैदानी भाग हुँदै मस्कोसम्म सिधा मार्ग छ । भूगोलको यो अवस्था सम्झिसकेपछि इतिहासमा रुसले पटक – पटक पोल्यान्डमाथि हमला गरी कब्जा गर्न खोज्नुको रहस्य बुझ्न सजिलो हुन्छ । पोल्यान्डलाई कब्जा गरेर त्यहाँ आफ्नो देशको सिमाना कायम गर्ने रुसी शासकहरूको प्रयासपछाडि रुसमाथि हमला गर्न आउने पश्चिमा शक्तिको फौजलाई तुलनात्मकरूपमा साँघुरो मार्ग भएको पोल्यान्डमै रोक्न सकिन्छ भन्ने हो । जति चौडा मैदान भयो त्यति हमलाकारी फौजलाई रोक्न कठिन हुने गर्छ ।
युरोपेली मैदान
अर्कोतिर, रुसको विशाल भूमिले नै त्यसको रक्षा गरेको छ । इतिहासमा दुई पटक शत्रु सेना मस्कोनजिकसम्म आइपुगेको थियो । तर, जब तिनीहरू रुसभित्र पस्दै गए पछाडि निकै लामो अस्थिर आपूर्ति रेखा भएकोले कब्जा गरिएका रुसी भूमि रक्षा गरिरहनु निकै कठिन हुन गयो । नेपोलियनले त्यो गल्ती १८१२ मा गरेका थिए र सन् १९४१ मा हिटलरले त्यही गल्ती दोहो¥याए । यही रणनीतिक महत्वलाई इतिहासदेखि नै रुसी नेताहरूले हिसाब गर्दै आएका छन् र आफ्नै न्यानो पानी सहितको बन्दरगाहमार्फत महासागरसम्मको पहुँचको कमी उनीहरूले अनुभव गर्दै आएका छन् । त्यस देशको उत्तरतिर आर्कटिक महासागरमा रहेका बन्दरगाहहरू वर्षमा धेरै महिनासम्म बरफ बनेर जमेका हुन्छन् । रुसको सुदूर पूर्वमा प्रशान्त महासागरमा रहेको बन्दरगाह भ्लादिभोस्तकलाई जापानी समुद्रले घेरेको छ र त्यहाँ जापानीहरूको प्रभुत्व छ । यस स्थितिले रुसको व्यापारको लहरमा मात्र बाधा पु¥याएको छैन बरु विश्वका सबैभन्दा महत्वपूर्ण सामुद्रिक मार्गहरूमा पहुँचको कमीले विश्व शक्तिको रूपमा रुसी जलसेनाको परिचालनमा समेत अवरोध हुँदै आएको छ ।
रुसको अवधारणा
एक अवधारणाको रूपमा रुसको थालनी नवौँ शताब्दीमा भएको हो । पूर्वी स्लाभिक (वन्य जाति) काबिलाहरूको खुकुलो महासङ्घबाट टुक्रेको किभियन रुस नामको जातीय समूहले किभ र निपर नदीका किनाराका विभिन्न नगर स्थापना गरेका थिए । ती सबै नगरलाई अहिले युक्रेन नामले चिनिन्छ । आफ्नो साम्राज्य विस्तार गर्दै मङ्गोलियाबाट अगाडि बढेका मङ्गोलहरूले निरन्तररूपमा पूर्वी र दक्षिणी युरोपमा हमला गर्दै रहे र १३ औँ शताब्दीमा आएर मङ्गोल साम्राज्य आफै बिलायो । त्यतिबेला घटबढ भइरहने रुस मस्को सहरको उत्तरपूर्वमा वा वरपर रहेको थियो । सुरुआतको रुसलाई द ग्रान्ड प्रिन्सिपालिटी अफ मस्को नामले चिनिन्थ्यो र सुरक्षा गर्नै नसकिने स्थितिको थियो । त्यहाँ कुनै पहाड पर्वत छैन, कुनै मरुभूमि पनि छैन र केही नदीमात्र छन् ।
त्यसपछि पहिलो जार (रुसी सम्राट) इभान द टेररको उदय हुन्छ । उनले नै देशभित्र शक्ति सञ्चय गरेर आफ्नो स्थान सुरक्षित राख्दै देशको रक्षाको लागि वरपरको देशमाथि हमला गर्ने अवधारणाको अभ्यास सुरु गरेका थिए । रुसको मध्यम विस्तार त इभानका हजुरबुबाकै पालामा सुरु भएको थियो तर सो¥हौँ शताब्दीमा आफू सत्तामा आएपछि इभानले गति दिए र उनले आफ्नो देशको भूभाग पूर्वमा युराल पहाड, दक्षिणमा क्यास्पियन सागर, उत्तरमा आर्कटिक महासागरसम्म विस्तार गरे । पछि रुसले क्यास्पियन सागर र कृष्णसागरलाई समेत आफ्नो देशमा मिलाएर ककेसस पहाडलाई मङ्गोल साम्राज्य र आफ्नो देशबीचको सिमाना बनायो । इभानले पूर्वमा चेचन्यामा एक सैनिक आधार स्थापना गरेर पूर्वबाट मङ्गोल स्वर्ण फौज, अटोमन साम्राज्य वा पर्सियालीहरूले गर्ने हमलालाई असफल पार्ने कदम चाले ।
अहिले रुसीहरूसित केही मात्रामा भए पनि बफर क्षेत्र र एक काँठ क्षेत्र छ । त्यसकारण, बाहिरी हमलाको अवस्थामा केही समयका लागि पछाडि हट्नका लागि ठाउँ मिलेको छ । कसैले पनि रुसमाथि आर्कटिक समुद्र भएर हमला गर्न सक्दैन, न युराल पहाड भएर रुसमाथि हमला गर्नु नै लाभदायक हुन्छ । कसैले रुसमाथि दक्षिण वा दक्षिण पूर्वबाट हमला गर्नका लागि उसित निकै ठूलो सेना र लामो आपूर्ति रेखा हुनुपर्ने हुन्छ र त्यो मार्गबाट हमला गर्दा हमलाकारीहरू स्वयम् रक्षात्मक भएर अगाडि बढ्नुपर्ने हुन्छ ।
अठारौँ शताब्दीको १७२१ मा पिटर द ग्रेटले रुसी साम्राज्य स्थापना गरे । उनको शासनकालमा र पछि क्याथरिन द ग्रेटको शासनमा रुसी साम्राज्य पश्चिमतिर विस्तार हुँदै युक्रेन कब्जा गरी कार्पाथियन पहाडसम्म पुग्यो । रुसी साम्राज्यले पछि आजको लिथुआनिया, लात्भिया र इस्टोनियालाई पनि आफूमा गाभ्यो र बाल्टिक सागर भएर आफूमाथि हुनसक्ने हमलाविरुद्ध बलियो प्रतिरक्षा निर्माण ग¥यो । त्यसबाट मस्को वरपर निकै ठूलो घेरा निर्माण भयो । आर्कटिकबाट सुरु भएर बाल्टिक सागर क्षेत्र भएर युक्रेन पार गरी कार्पाथियन पहाड, कृष्ण सागर, ककेसस पहाड हुँदै क्यास्पियन सागर र घुमेर युराल पहाड हुँदै सीधा आर्कटिक वृतसम्म रुसी महासङ्घको सिमाना भयो । पछि रुसी साम्राज्य पूर्वमा विस्तार भएर प्रशान्त महासागरसम्म र त्यसभन्दा पर उत्तरी अमेरिकाको अलास्कासम्म पुग्यो ।
दोस्रो विश्वयुद्धको अन्तमा सन् १९४५ मा सोभियत रुसी सेनाले जर्मनीले कब्जा गरेका पूर्वी र मध्य युरोपका ठूलो भूभाग आफ्नो नियन्त्रणमा लियो । ती भूभागमा रहेका देशहरूलाई मुक्त ग¥यो र कसैको दाबी नभएका केही भूभाग सोभियत सङ्घमा मिलाइयो । त्यसपछि सोभियत रुसको आकारले पुरानो जार साम्राज्यलाई उछिन्यो । त्यसपछि पनि सोभियत रुसको लागि हमलाको खतरा टरेन । यस पटक सङ्घारमा मङ्गोलहरू थिएनन् न नाजी फौज नै थियो, सन् १९४९ पछिको खतरा पश्चिमा साम्राज्यवादी सैनिक सङ्गठन – उत्तर एटलान्टिक सन्धि सङ्गठन– नेटो (ल्ब्त्इ) थियो र आज पनि छ । सन् १९९१ मा सोभियत समाजवादी गणराज्य सङ्घको विघटनपछि रुसको आकार निकै खुम्चियो । युरोपतिरको रुसी सिमाना सोभियत सङ्घ टुक्रेर नयाँ बनेका देशहरू इस्टोनिया, लात्भिया, बेलारुस, युक्रेन, जर्जिया र अजरबैजानमा सीमित भयो । त्यसैबेला नेटो विस्तार हुँदै पूर्वी युरोपका देशहरूसम्म आइपुगेको थियो ।
रुसको फेरबदल भइरहेको सिमाना
रुसका मुख्य दुई कमजोरीहरू एक, यसमाथि थलीय आक्रमणको जोखिम र दुई, यसको न्यानो पानीको बन्दरगाहको अभाव युक्रेनमा सन् २०१४ मा सहीसिद्ध भयो । युक्रेनको राजधानी किभमा रुस समर्थक सरकार रहेसम्म रुसको बफर क्षेत्र अक्षुण्ण मान्न र युरोपेली मैदानी भागमाथि निगरानी राख्न सकिएको थियो । यदि युक्रेन नेटोमा नगइकन स्वतन्त्र देशको रूपमा रहिरहेको भए पनि युक्रेनको क्रिमियास्थित रुसको सेवास्टोपोल जलसेनाको अखडा सुरक्षित रहने अवस्था हुन्थ्यो । जब लामो समयको विरोध प्रदर्शनका कारण रुस समर्थक भिक्टर यानुकोभिचको सरकारलाई ढालियो, किभको सत्तामा अति पश्चिमा समर्थक नयाँ दक्षिणपन्थी सरकार आयो, पुटिनले छनोट गर्नुपर्ने अवस्था आयो । उनले या त युक्रेनको भौगोलिक अखण्डताको सम्मान गरेर सेवास्टोपोलको रुसी जलसेनाको अखडा फिर्ता गर्नुपथ्र्यो या त भूगोलको कार्ड खेल्न रुसी नेताहरूले शताब्दियौँ अघिदेखि चाल्दैआएको कदम चाल्नुपथ्र्यो । पुटिनले पछिल्लो विकल्पलाई आफ्नै तरिकाले लागु गरेर रक्षाका लागि आक्रमणको सिद्धान्तमै पुगे । क्रिमियालाई रुसमा गाभेर रुसको एउटैमात्र न्यानो पानीको बन्दरगाहसम्मको पहुँचलाई सुनिश्चित पारे र रुसी सिमानासम्मको आइपुगेको नेटोलाई रोक्नतिर लागे ।
सिरियाली बफर क्षेत्र
रुसको सुरक्षाको त्यही विकल्प सिरियामा पुटिनका मित्र बशर अल अस्सदको पक्षमा सिरियामा गरेको हस्तक्षेपमा देख्न सकिन्छ । सिरियाको भूमध्य सागर तटीय बन्दरगाह सहर तार्टुसमा रुसको एक जलसेना आधार छ । सिरियामा अस्सद असफल भएमा वा बाथ पार्टीको सत्ता ढलेमा सिरियाको नयाँ सरकारले रुसी सेनालाई तत्कालै निकालाबाहर गर्नेछ । नेटोका सदस्य राष्ट्रहरूसित अर्को भूगोलमा हुनसक्ने सङ्घर्षमा तार्टुस आधार शिविरको महत्वलाई पुटिनले राम्ररी बुझेका छन् ।
रुसले युक्रेन र सिरियामा आफ्नो आशा मारिसकेको छैन । ग्रान्ड प्रिन्सिप्यालिटी अफ मस्कोदेखि पिटर द ग्रेट, स्तालिन र अहिले आएर पुटिनलगायत सबै रुसी नेताहरूले एकैखाले समस्या सामना गरे । उनीहरूको विचारधारा जुनसुकै होस्, त्यसले फरक पारेको देखिँदैन । रुसलाई पहिले चाहे जार शासनले, बीचमा चाहे साम्यवादीहरूले वा अहिले दलाल पुँजीवादीहरूले कब्जा गरेकै किन नहोस् रुसका बन्दरगाहहरू अहिले पनि जम्ने गर्छन् र युरोपेली मैदान अहिले पनि खुला छ ।
(टिम मार्सल लन्डनमा रहेका लेखक र स्काइ न्युजका पूर्व विदेश संवाददाता हुन् ।)
अनुवाद : प्रकाश
Leave a Reply