भर्खरै :

रुसलाई छोए अमेरिकालगायत पश्चिमा देशहरू पनि ध्वंश हुने

काठमाडौँ, १९ फागुन । संरा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले नेपालका प्रम शेरबहादुर देउवालाई फागुन १८ गते फोन गरी रुसले युक्रेनमा आक्रमण गरेको र नेपालको संसद्बाट एमसीसी सम्झौता अनुमोदन गरेको विषयमा कुराकानी गरेको समाचार सार्वजनिक भयो ।
मर्यादाअनुसार अमेरिकी विदेशमन्त्रीले नेपालका परराष्ट्रमन्त्रीसँग कुराकानी गर्ने हो । १०–१५ वर्षअगाडि काठमाडौँस्थित भारतीय राजदूतले नेपालका तत्कालीन प्रमलाई फोन गरी सीधै भेट्न गएको र उपरखुट्टी लगाएर प्रमतर्फ जुत्ता देखाएको तस्बिरसहित समाचार प्रकाशित भएको थियो ।
गएको माघ २७ गते अमेरिकी सहायक उपमन्त्री डोनाल्ड लुले नेपालका प्रम देउवा, एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोन गरी एमसीसी सम्झौता संसद्बाट अनुमोदन नभए ‘राम्रो नहुने’ धम्की दिएका थिए । अमेरिकी सहायक उपमन्त्रीले नेपालका सहायक मन्त्रीसँग फोन गर्नु मर्यादाअनुकूल हुने थियो ।
अमेरिकी विदेशमन्त्री ब्लिन्कन र प्रम देउवाले युक्रेनबारे कुराकानी भएको स्वीकार गरे । प्रम देउवाले युक्रेनबारे अमेरिकासँग होइन संरा सङ्घमा कुरा गर्नुपथ्र्यो, अमेरिकी विदेशमन्त्रीसँग गरेको कुराकानी असंलग्न परराष्ट्र नीतिविपरीत हो । कुनै पनि अन्तर्राष्ट्रिय संस्था सम्बन्धित देशको निर्देशनमा चल्ने भए त्यो संस्थाको औचित्य हुनेछैन ।
अमेरिकी मन्त्री ब्लिन्कनले प्रम देउवासँग संसद्बाट एमसीसी सम्झौता अनुमोदन भएको हुँदा नेपालमा रोजगारी सिर्जना तथा पूर्वाधार निर्माण र नेपालको जीवनस्तर सुधार्न मद्दत मिल्ने दाबी गरे । एमसीसी सम्झौताअनुसारको वर्षको ११ अर्ब रूपियाँ अमेरिकी रकम पाँच वर्षसम्म आउने भनिएको छ । यो रकम अमेरिकी आज्ञाकारी हुन्जेलमात्र नेपालले पाउने हो । वैदेशिक रोजगारीमा गएका ८० लाख नेपाली युवाहरूबाट प्राप्त हुने बर्सेनि १० खर्बको रेमिट्यान्सले नेपाली जनताको जीवनस्तर सुधार भएको छैन । एमसीसी सम्झौताको ५५ अर्ब रूपियाँले नेपाली जनता सुखी हुने ब्लिन्कनको भनाइ ‘हावाको महल’ मात्र हो ।
ब्लिन्कनले प्रम देउवालाई कोरोना महामारीपछिको पुनस्र्थापना र जलवायु परिवर्तनको चुनौतीसँग मिलेर सामना गर्ने पनि अर्ती दिए । विश्वव्यापी कोरोना महामारी र जलवायु परिवर्तनको जिम्मेवार देश अमेरिका नै हो । अमेरिकी सरकारले कोरानाको सुरुमै बाँकी विश्वसँग सहकार्य गरेको भए कोरोनाबाट यति धेरै जनधनको क्षति हुन्नथ्यो । अमेरिकी आदिवासी, कालावर्ण र एसियाली अमेरिकीहरूको स्वास्थ्य बीमासमेत नभएको कोरोना महामारीमा पुष्टि भयो । संसारमा सबभन्दा बढी कार्बन उत्सर्जन गर्ने देश पनि अमेरिका नै हो ।
बीस वर्षअगाडि अमेरिकाले अफगानिस्तानमा आक्रमण गर्दा नेपालमा दोस्रो पटक प्रम भएका देउवाले अफगानिस्तान आक्रमणमा गएको हवाईजहाजमा इन्धन भर्न काठमाडौँ विमानस्थलमा अनुमति दिने बताएका थिए । बीस वर्षसम्म अमेरिकाले ध्वस्त पारेको अफगानी जनताको ७ विलियन डलर अमेरिकाले जफत ग¥यो । अमेरिकी सरकारको यो नीति अफगानिस्तानको घाउमा नुनचुक दल्नेजस्तै हो । त्यो रकम अविलम्ब फिर्ता गर्नुपर्दछ ।
अमेरिकाले युक्रेनलाई नेटोलाई पूर्वतिर विस्तार गर्ने काममा सामेल गराउन खोजेपछि रुसले त्यसो नगर्न सचेत गराएको थियो । रुसको आग्रहलाई अमेरिकाले बेवास्ता गरेपछि रुसले युक्रेनलाई नेटोमा नजान अहिले सचेत गराएको हो । रुसले साँच्चै आक्रमण गरेको भए युक्रेनमा धेरै जनधनको क्षति हुनेथियो ।
अमेरिकाले युक्रेनबारे क्वाडको बैठक पनि बसाल्यो । नेटो सेना परिचालन गर्ने साइत हेर्दै छ अमेरिका । युक्रेनका राष्ट्रपति राजनीतिज्ञभन्दा हास्य कलाकार हुन् । उनले रुसी आक्रमणबारे युरोपेली संसद्सँग कुरा गरे पनि । तर, रुसबारे पाकिस्तान र भारत एकै लाइनमा छन् । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले रुसको विरोधमा अमेरिकी सेना युक्रेनमा नराख्ने बताए भने अमेरिकी राष्ट्रपति बाइडेनले रुसले पश्चिमलाई कमजोर ठानेको जस्ता उत्तेजनामूलक कुरा गरे ।
रुसका राष्ट्रपति पुटिनले रुसी सेनाको उद्देश्य युक्रेनलाई असैन्यीकरण र तटस्थ राख्नुमात्र भएको स्पष्ट गरेका छन् ।
विश्वका शान्तिप्रेमी जनताले अमेरिका वा नेटो सेना रुसविरूद्ध जाइलागे तेस्रो विश्वयुद्ध हुने र यसलाई अमेरिकालगायत पश्चिमा धेरै देशहरुसमेत ध्वंश हुने बताउँदै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *