भर्खरै :

‘प्रा. माणिकलाल श्रेष्ठको स्मृतिमा’ पुस्तक सार्वजनिकीकरण

  • फाल्गुन २२, २०७८
  • लक्ष्मण जोशी
  • विचार

जन्मपछि मृत्यु प्राकृतिक नियम हो । जन्म स्वाभाविक कुरो हो तर मृत्युसम्म गर्ने कार्यले जन्म सार्थक हुन्छ र मृत्युले दुःखी बनाउँछ । दिवङ्गत प्राध्यापक माणिकलालको सार्थक जीवनलाई स्मरण गर्न हामी यहाँ भेला भएका छौँ ।
प्रोफेसर माणिकलाल श्रेष्ठको निधन भएको वार्षिकीको अवसरमा स्रष्टा समाज नेपालले प्रकाशन गरेको ‘प्रा. माणिकलाल श्रेष्ठको स्मृतिमा’ पुस्तकको सार्वजनिकीकरण भएको छ ।
प्राध्यापक श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीको सदस्य हुनुहुन्थेन । तर, उहाँ हाम्रो एक नजिकको मित्र र कामरेड हुनुहुन्थ्यो । किनभने, उहाँ एक कम्युनिस्ट हुनुहुन्थ्यो साथै एक साम्राज्यवादविरोधी अन्तर्राष्ट्रवादी योद्धा हुनुहुन्थ्यो । जनताको पक्षका एक प्रिय विद्वान हुनुहुन्थ्यो । साथै निडर र निर्भिक प्रखर वक्ता हुनुहुन्थ्यो । त्यसैले उहाँ हाम्रा प्रिय कामरेड हुनुहुन्थ्यो ।
एक प्रिय कामरेडको निधनबाट भएको शोकलाई शक्तिमा बदल्न प्रेरणाको लागि प्राध्यापक श्रेष्ठको स्मृतिमा पुस्तक प्रकाशन गरिएको छ ।
पुस्तकमा प्राध्यापक श्रेष्ठले विभिन्न अवसरमा लेख्नुभएका दस ओटा लेख रचना सङ्कलन गरिएको छ । ती रचनाले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयलाई समेटेको छ । पुस्तकले कम्युनिस्ट आन्दोलनबारे महत्वपूर्ण जानकारी दिनेछ । साम्राज्यवादी र उपनिवेशवादीलगायतका प्रतिक्रियावादीहरूको षड्यन्त्रलाई उदाङ्ग्याउँदै सही र तथ्यपूर्ण जानकारी ऐतिहासिक प्रमाणका साथ दिनेछ । यसबाट पाठकहरूको बौद्धिक भोकलाई तृप्ति प्रदान गर्ने विश्वास छ ।
यसमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को एक रचना पनि समावेश गरिएको छ । यस लेखले एक कम्युनिस्ट नेताको दृष्टिबाट प्राध्यापक श्रेष्ठको विचार र व्यक्तित्वलाई सटिकरूपमा चिनाउनेछ । सङ्कलित प्रा. श्रेष्ठको जीवन परिचय, अन्तर्वार्ता र जवाफले उहाँ को ? के र कस्तो हुनुहुन्थ्यो भन्ने कुरा सजीवरूपमा दिनेछ ।
सारमा, यो पुस्तकले प्राध्यापक माणिकलाल श्रेष्ठको बहुआयामिक व्यक्तित्व, विचार र जीवन दर्शनलाई चिनाउनुका साथै बहुमूल्य ऐतिहासिक, सैद्धान्तिक, सामाजिक र सांस्कृतिक शिक्षा र चेतना पनि दिनेछ । तसर्थ, पुस्तकको प्रकाशन उहाँप्रति श्रद्धाञ्जली हो नै साथै हाम्रा पाठकहरूका निम्ति पठनीय र सङ्ग्रहणीय पनि हुने आशा र विश्वास छ ।
यस कार्यक्रमलाई सार्थक बनाउन हामीलाई समय दिनुभएकोमा नेमकिपाका श्रद्धेय अध्यक्ष का. रोहितप्रति आभार व्यक्त गर्दै हाम्रो आमन्त्रणलाई स्वीकार गरी उपस्थित भइदिनुभएकोमा अतिथि, सबै दाजु–भाइ तथा दिदी–बहिनीहरूप्रति धन्यवाद ज्ञापन गर्दछु ।
(प्रा. माणिकलाल श्रेष्ठको प्रथम वार्षिक स्मृतिमा स्रष्टा समाज नेपालद्वारा शुक्रबार आयोजित पुस्तक सार्वजनिकीकरण कार्यक्रममा व्यक्त विचार–सं.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *